बिहीबार देशभर प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ।
निर्वाचनमा आम जनतासँगै विभिन्न क्षेत्रका कलाकारहरूले समेत उत्साहपूर्वक मतदान गरिरहेका छन्। मतदानपछि कलाकारहरूले सामाजिक सञ्जालमा तस्बिर राख्दै निर्वाचनले देशले खोजेको सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गरेका छन्।
वरिष्ठ अभिनेता हरिवंश आचार्यले सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै लेखेका छन्– 'मैले मेरो लोकतान्त्रिक अधिकारको प्रयोग गरी मतदान गरेँ। आशा गर्छु यो निर्वाचनले देश्ले खोजेको असल र सक्षम नेतृत्व पाउनेछ। साथै जटिल परिस्थितिबाट देशलाई निर्वाचन गराई निकासको बाटोमा पुर्याइदिनु भएकोमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई बधाई तथा धन्यवाद।'
हरिवंशले काठमाडौं बुढानिलकण्ठबाट मतदान गरेका हुन्।
त्यस्तै, अभिनेता विजय बरालले सर्लाही पुगेर मतदान गरेसँगै लेखेका छन् – 'आज मैले मेरो अधिकार मात्र होइन, जिम्मेवारी पनि पूरा गरेँ। मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस्।'
अभिनेत्री रेखा थापाले काठमाडौं क्षेत्र नंं. ४ बाट मतदान गरेकी छन्। मतदानपछि उनले सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै लेखेकी छन्– 'मिलेर र मिलाएर देश बनाउन शुभकामना सबै दललाई।'
हास्यकलाकार मनोज गजुरेलले भक्तपुरको सूर्यविनायक–२ बालकोटस्थित बालविनायक स्कुलको केन्द्रबाट मतदान गरेसँगै तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्।
गायक, अभिनेता तथा रास्वपाका समानुपातिक उम्मेद्वार प्रकाश सपुतले बागलुङ पुगेर मतदान गरेका छन्। तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै प्रकाश लेख्छन्– 'स्थिरता, शान्ती र समृद्धिको आशासहित मत राखियो। अधिकार र जिम्मेवारी पूरा गरियो।'
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले गृहथलो मोरङ पुगेर मतदान गरेकी छन्। मोरङ–६ को आदर्श बालिका मावि केन्द्रबाट मतदान गरेपछि दीपाश्रीले तस्बिर र भिडिओ समेत सामाजिक सञ्जालमा साझा गरेकी छन्। गायिका रचना रिमालले झापा पुगेर मतदान गरेसँगै सामाजिक सञ्जालमा आफ्नो तस्बिर साझा गरेकी छन्।
अभिनेता जितु नेपालले काठमाडौं क्षेत्र नं. २ बाट मतदान गरेका छन्। मतदानपछि सामाजिक सञ्जालमा तस्बिर राख्दै उनले अब बीचबीचमा बारम्बार भोट हाल्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। साथै, इलेक्ट्रोनिक प्रणालीद्वारा एकै दिनमा परिणाम आउने व्यवस्था, लोकतान्त्रिक प्रक्रियामा सबैले सहज रूपमा सहभागी हुनु, र जेन्जीहरूको माग पूरा गर्नु महत्वपूर्ण भएको उल्लेख गरेका छन्।
अभिनेत्री सुरक्षा पन्तले बुटवल पुगेर मतदान गरेकी छन्। निर्मल शर्मा, सन्तोष सेनलगायत फिल्मकर्मीले पनि मतदानपछि तस्बिर साझा गरेका छन्।









