फागु पूर्णिमाको अवसर पारेर फिल्म 'हामी तीन भाइ' को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआरको युट्युब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो।
टिजरमा एउटा गाउँका तीन दाजुभाइको कथा प्रस्तुत गरिएको छ। विनोद न्यौपाने, कुशल विष्ट र फलित राईले दाजुभाइको भूमिका निर्वाह गरेका छन्। उनीहरू खेतबारीमा गोरूले झैँ आफै नारिएर जोतिरहेको देखिन्छन्, जसले उनीहरूको आपसी मेलमिलाप र आत्मीय सम्बन्धलाई संकेत गर्छ।
सानै उमेरमा आमा-बुवा गुमाए पनि उनीहरूका लागि दाजु नै आमा-बुवा सरह भएको भाव टिजरले व्यक्त गर्छ। तर, आमा-बुवाको माया नपाएका ती तीन भाइमध्ये एक जना दाजु विनोदसँग विवाहपछि खटपट सुरू हुन्छ। टिजरले मिलेर बसेका दाजुभाइबीच विवाहपछिको सम्बन्ध, खटपट र संघर्षलाई चित्रण गरेको छ। टिजरमा लक्ष्मी बर्देवा, राजाराम पौडेल, रविन्द्र झाल, आश्मा गिरी लगायतलाई समेत देख्न सकिन्छ। हेर्दा फिल्म कमेडी तथा मार्मिक कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ।
मधुसुदन भट्टराईको निर्देशनमा बनेको 'हामी तीन भाइ' मा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विशेष श्रेष्ठ, सुष्मा जिसवा, शिव बहादुर भण्डारी, गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन, सुष्मा जिम्बालगायत कलाकारहरूको अभिनय छ।
प्रसिद्धि सिने आर्टस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन्। कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन् भने सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे भट्टराई हुन्। साजित महत प्रस्तुतकर्ता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, शिव ढकालको छायांकन र बनिश शाहको सम्पादन छ।
'हामी तीन भाइ' आगामी चैत १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
भिडिओः