काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा केही बेरमा मतगणना सुरू हुने भएको छ।
बिहीबार सम्पन्न निर्वाचनको मतगणना आजै रातिबाट सुरू गर्न सर्वदलीय सहमति भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।
'काठमाडौं क्षेत्र नम्बर १ मा साढे १० बजेपछि गणना गर्ने सहमति भएको छ,' उनले भने, 'अब केही बेरमै सुरू हुन्छ।'
उनका अनुसार काठमाडौं-१ को मतगणना नयाँ बानेश्वरस्थित सहकारी विभागको भवनमा हुनेछ।
काठमाडौं महानगरभित्रका वडा नम्बर १०, ११, २९ र ३१ पर्ने यो क्षेत्रमा नेपाली कांग्रेसका प्रबल थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
उनका अनुसार अरू क्षेत्रमा पनि मतगणना सुरू गर्ने समयबारे निर्णय गर्न सर्वदलीय बैठक बसिरहेको छ।
'अरू क्षेत्रमा पनि गणना सुरू गर्न बैठक बसिरहेको छ। गणनाका आचारसंहितामा छलफल भइरहेका छन्,' उनले भने।