भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहको नक्कल गरेको प्रस्तुति रियालिटी सो 'कमेडी च्याम्पियन २' को सर्वाधिक चर्चित प्रस्तुति थियो। भरत कमेडी च्याम्पियन विजेता बन्नुमा पारस शाहको नक्कल गरिएको प्रस्तुतिले महत्वपूर्ण भूमिका खेल्यो।
उनले दर्शक र सोका निर्णायकहरुबाट समेत पारस शाहको हुलिया, बोली, हाउभाउ दुरुस्तै बनाएको प्रतिक्रिया पाएका थिए।
भरतका अनुसार उनले पारस शाहको नक्कल गर्न लामो समयदेखि तयारी गरेका थिए। पारस शाहको नक्कल उनका लागि लक्की साबित भयो।
पारस शाह बनेको प्रस्तुति अत्याधिक मन पराइएदेखि नै भरतलाई पूर्वयुवराज शाहसँग भेट्न मन लागेको रहेछ। हालै भरतले आफ्नो त्यो रहर पूरा गरेका छन्। भरतले सुमन कोइराला (कमेडियन दले दाइ) का साथमा पारस शाहसँग भेट गरेका हुन्। भरतले पारस शाहसँग गत शुक्रबार राजधानीको दरबारमार्गस्थित ओपियम क्याफेमा भेटेका हुन्।
सेतोपाटीसँग टेलिफोनमा भरतले भने, 'मलाई उहाँसँग आफूले गरेको नक्कल कस्तो लाग्यो भनेर सोध्न मन थियो। त्यही कारण आफैंले उहाँलाई भेट्ने इच्छा गरेको थिएँ।'
भरतका अनुसार उनले राजसंस्थासँग नजिक रहेको शाही शक्त्ति नेपालका अध्यक्ष मुनेन्द्रराज भण्डारी मार्फत् पारश शाहसँग भेटेका हुन्। अध्यक्ष भण्डारीमार्फत् पारस शाहले भरत र सुमनलाई समय दिएकाे जानकारी दिए।
उनले र सुमनले पारश शाहसँग करिब एक घन्टा समय बिताएका थिए। भेटघाटमा पूर्वयुवराज आफूले सोचेकोभन्दा एकदमै सरल र मिजासिलो लागेको भरत बताउँछन्।
पूर्वयुवराज गम्भीर होलान् भन्ने भरतको अनुमान रहेछ। तर उनको अपेक्षाविपरीत पारश शाहले भेट्नेबित्तिकै सुरूमै भनेछन्, 'के छ यार!'
'उहाँमा वर्षौंपछि साथी भेटेको जस्तो उत्साह पाएँ। भन्दै हात मिलाउनु भयो,' भरतले भने, 'बसौंबसौं के भइरहेछ आजकाल भन्दै कुरा सुरू भयो।
आफू ठिक रहेको बताउँदै भरतले सोधे, 'हजुरको के छ? स्वास्थ्य कस्तो छ?'
पारशले भने, 'मेरो स्वास्थ्य एकदम ठिक छ।'
त्यसपछि भरतले आफूलाई भेट्नासाथ सोधौं सोधौं लागेको प्रश्न सोधे, 'मेरो प्रस्तुति हेर्नुभयो? कस्तो लाग्यो?'
'फन्नी, फन्नी। एकदम रमाइलो। किप इट अप (राम्रो गर्दै जानु) भन्नुभयो,' पारसले भने।
भरतका अनुसार उनको प्रस्तुति पारसले मन पराएका रहेछन्।
भरतले फेसबुकमा पारस र सुमनसँग खिचेको तस्बिर पोस्ट गरेका छन्। पूर्वयुवराज पारससँगको भेटपछि खुसी साट्दै फेसबुकमा उनी लेख्छन्, 'उहाँको शुभचिन्तक थिएँ। भेटघाटपछि झन् ठूलो प्रसंशक भएँ, साच्चै नै भन्ने नै हो भने उहाँ साह्रै रमाइलो साथीजस्तै हुनु हुँदोरहेछ।'
यो पनि हेर्नुहोस्: