२०७६ साल माघ ११ गतेको बिहान मलाई ब्युँझाउन मेरो सूर्य धादिङवेशीमा उदायो। होटेलसँगै बसपार्क थियो। बाहिरको होहल्लाले मलाई बिउँझायो। होटेलको कोठामै टाँसिएको बरन्डातिर निस्केर रमिता हेर्न मन लाग्यो।
धादिङको पहाडी भेग जस्तै- सत्यदेवी, दार्खामा चल्ने सामान्यभन्दा सानो खाले बस तथा महेन्द्रको बोलेरो जिप तथा यात्रीहरूको भिडभाड थियो। यात्रीहरू धेरैजसो पहाडी भेसभुसा लगाएका अधिकांश तामाङ जातिका देखिन्थे। छुट्टै किसिमको दृश्य थियो मज्जा आउने अनि अनौठो पनि। केही चाहिँ विदेशी पर्यटक पनि थिए।
रुबी भ्याली पदयात्राको लागि मूल प्रवेश द्वार पनि धादिङवेशी नै हो। यहाँबाट बोराङ, पानसाङ भन्ज्याङ, सोमदाङ, गत्लाङ हुँदै रुबी उपत्यकाको पदयात्रा गरिन्छ। रुबी एउटा अमूल्य पत्थर हो जो गणेश हिमालको इलाकामा १९ टनको एकै ढिक्का भएको भुवनहरि सिग्देलको नियात्रामा लेखिएको छ। त्यस बेला गणेश हिमालमा जस्ताखानी पाइन्छ भनेर भनिन्थ्यो तर जस्ता होइन रुबी रहेछ भनेर गत्लाङका एक स्थानीयले मलाई भनेका थिए।
उनले थप्दै भने- ‘झुक्क्याएर सबै रुबी सिद्ध्याए जस्ताको नाममा!’
२०३९ साल तिर त्रिशूली सोम्दाङ बाटो तत्कालीन शाही नेपाली सेनाले बनाउन सुरु गरेको मलाई सम्झना छ- त्यही रुबी हात पार्न होला नि!
मेरो ओभरसियर पढ्दाको साथी गणेश पाठक जागिर खान गएका थिए त्यो प्रोजेक्टमा। एकछिनको दृश्यावलोकनपछि फेरि ओच्छ्यानमै पल्टन आए। खुट्टा र जीउ थाकेको थियो। कारण हिजो फुर्के खोलाबाट साइकल चलाउँदै आएकोले।
अक्सफामको जागिरमा बाहिर बराबर जानु पर्ने हुन्थ्यो। साइकल मैले नियमित नै चलाउने गर्थेँ। मेरो सुपरभाइजर क्रिश होडर पनि साइकल चलाउने भएकोले मलाई साथी पनि भयो- अफिसको काममा बाहिर जिल्ला जाँदा जहाँ अनुकूल हुन्छ साइकल चलाउने गर्थे! यही क्रममा धादिङको साइकल यात्रा जुरेको हो।
फुर्केखोला पृथ्वी राजमार्गको मूलबाटोबाट धादिङवेशी तिर मोडिने जक्सन हो। फुर्केखोलासम्म साइकल अफिसको गाडीमा ल्याएको थिएँ। त्रिशूली खोलामा हालेको पुलले धादिङ र मकवानपुर जिल्ला छुट्टाउँछ। पुल तरेपछि सुरुमा बाटो उकालो लाग्छ। अलि गाह्रो गाह्रो भयो साइकल चलाउन। अगाडि बढ्दै जाँदा बाटो पनि साँघुरो हुँदै गएको छ- सायद गाडी कम गुड्ने भएकोले होला साँघुरो बाटो बनाएको।
गाडीको आवतजावत कम भएकोले साइकल चलाउन सजिलो तथा रमाइलो नै भएको सम्झन्छु। कतै बाटोको दायाँतिर पातलो जंगल छ भने बायाँ खोला, कतै दायाँ-बायाँ दुई तिरै घर छन्, कतै खेतका फाँट नै छन्- भिन्न भिन्न दृश्य। जंगल भएकोले डाँडा हरियै देखिन्थ्यो। हरेक यात्रामा गन्तव्य त महत्त्वपूर्ण हुन्छ नै तर त्यो जत्तिकै बाटोमा गरिने दृश्यावलोकन अझ महत्त्वपूर्ण हुन्छ।
साइकल चलाउँदा असिनपसिन हुने त छँदै छ। डोपामाइन र इण्डोफर्म हार्मोनको उत्सर्जनले आत्मविश्वास बढ्ने, नयाँ नयाँ बिचार फुर्ने तथा सकारात्मक सोच आउँछ। अक्सर साइकल चलाउँदा रमाइलो कुरा सम्झिने। त्यस्तै त्यस्तै सम्झना यो यात्राको क्रममा मा पनि आयो जुन यही धादिङवेशी आउँदा बेलाकै हो, विगतमा।
सन्दर्भ थियो विसं २०५०/५१ साल तिरको। राष्ट्रिय स्तरको गैर सरकारी संस्था नेपाल वाटर फर हेल्थ (नेवा) मा इन्जिनियरिङ कोअर्डिनेटर हुँदाको हो। नेवा सन्था खानेपानी, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा ख्याति प्राप्त संस्था हो- सायदै होला नेवाको नाम नसुनेको यस क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाले। धादिङकै धुवाकोट भन्ने गाउँमा खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालनमा थियो नेवाबाट। आन्तरिक लेखा परीक्षण चित्रकार एन्ड कम्पनीबाट मिस्टर चित्रकार आउनु भएको थियो, उहाँ त्यही कम्पनीका चार्टर्ड एकाउन्टेन्ट हुन्। धादिङको माथिल्लो बजारसम्म मात्र गाडी जान्थ्यो। हामी अफिसकै ल्यान्डरोभर भन्ने ब्रिटिस गाडीमा माथिल्लो बजारमा ओर्लियौँ। दिउँसो ३ बजेको समय थियो- गर्मीको बेला।
त्यति बेला तल्लो बजार, बिच बजार र माथिल्लो बजार भनेर छुट्टिने गरी खेतका फाँटहरू थिए। अहिले त सबै घर बनिसकेको छ लहरै। माथिल्लो बजार पुगेपछि गाडीबाट ओर्लियौँ र हिँड्न कम्मर कस्सियो। मसँग नेवाकै कृष्णमणि अधिकारी जी (लेखा प्रमुख) पनि थिए। हामी दुई जना र चित्रकार जी गरेर जम्मा तीन जना। म र कृष्णजी त्यति बेला ३०-३२ वर्षको लक्का जवान, चित्रकार जी हामीभन्दा डेढी उमेरको देखिन्थे। हिँड्न अगाडि चित्रकार जीले हाफ पेन्ट, हिँड्ने खालकै टि-सर्ट, हिँड्ने नै जुत्ता, टाउकोमा घाम छेक्ने टोपी सहितको पोसाक लगाए। हामी ट्वाल्ल परेर हेर्न थाल्यौँ उहाँको पोसाक देखेर।
उहाँ अलिअलि विदेशी पाराको पनि देखिनु हुन्थ्यो, पैसा त अडिट फर्म नै चलाएपछि कमाएकै होला। हामी त ३० दिन गनेर महिनाको एक पटक तलब थाप्नेमा पर्यौँ। उहाँको हाउभाउ आफ्नै बलबुताले भ्याए जति अनुमान लगायौँ। कृष्णमणिजी र मैले बडी ल्याङग्वेजबाट इसारा गर्यौँ- शो देखाएको होला भनेर। हाम्रो त्यो बेला हिँड्ने पोसाक र गाडीमा गुड्ने पोसाक फरक हुन्न थ्यो- त्यसैले हामीलाई त्यो भान पर्यो।
पोसाक फेरे लगत्तै वहाँ त फटाफट हिँड्न थाल्नु भयो। हामीलाई लागेको थिएन उहाँ हामी जस्तो हिँड्न सक्नु होला भनेर- उमेर हाम्रोभन्दा बढी नै भएकोले। तर हाम्रो अड्कललाई उहाँले बाटैभरि गलत साबित गर्दै जानु भयो। बाटैभरि वहाँ अगाडि नै हुनुभयो। हामी उहाँ थाक्नु हुन्छ अनि हामी अगाडि पुग्छौँ भनेर ढुक्क थियौँ। हाम्रो त्यो अनुमानलाई तब घात पुग्यो जब धुवाकोट पुग्ने बेलामा आधा घण्टाको ठाडो उकालोमा सुइसुइ अगाडि लागेको लागै हुनुभयो र हामीभन्दा अगाडि नै गाउँ पुग्नु भयो।
धुवाकोट धादिङको नुवाकोटसँगै जोडिएको गाउँ हो। यो गाउँमा विभिन्न जातका मानिसहरूको बसोबास छ- तामाङ, ब्राह्मण, क्षेत्री, नेवार अनि केही घर दलित पनि छन्। खानेपानीको लागि सामुदायिक धाराको योजना थियो। सरसफाइको लागि चर्पी तथा स्वच्छताका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा व्यवहार परिवर्तनको लागि चेतनामूलक क्रियाकलापहरू सञ्चालनमा थिए।
नेवाबाट कार्यक्रम स्थलमै बस्ने गरी सब-ओभरसियर तथा हेल्थ मोटिभेटर खटिएका हुन्थे भने स्थानीय गैर सरकारी संस्थामार्फत योजना कार्यान्वयन हुन्थ्यो। नेवाको योजना अवधिभर एउटा अफिस पनि स्थापना गरिएको हुन्थ्यो। हामीलाई कार्यक्रम स्थलमा नेवाका स्टाफ गणबज्र लामा र लक्ष्मी पौड्याल, गैर सरकारी संस्थाका प्रतिनिधि तथा स्थानीय उपभोक्ताहरूले स्वागत गरे। बेलुका भइसकेको हुनाले औपचारिकताको लागि परिचय तथा भ्रमणको उद्देश्य मात्र गरी बास तथा गाँसमै केन्द्रित भइयो।
भोलिपल्ट समुदायसँग मिटिङ, धारा, शौचालय तथा जनचेतना मूलक कार्यक्रमको संयुक्त रूपमा निरीक्षण गर्ने काम भयो। पानीको मुहान, रिजरभ्वायर ट्याङ्की र धारा सहितको खानेपानी संरचना बनेको थियो। ५-१० घरलाई एउटा धारा सबैलाई पायक पर्ने गरी ठाउँ-ठाउँमा जम्मा ३२ धारा बनाइएको थियो। उपभोक्ता समिति गठन गरेर हेरचार गर्ने व्यवस्था गरिएको थियो।
निरीक्षण सकेर सबैसँगै फर्कियौँ। फर्किने बेलामा अब सोध्नै पर्यो भनेर चित्रकारजीलाई तारिफ गर्दै कुरा राखेँ- ‘ओहो! तपाईं त कस्तो हिँड्न सक्ने!’
प्रशंसा कसलाई मन नपर्ला र? अनि उनले सविस्तारै वर्णन गरे- ‘म कुलेखानी लगायत काठमाडौँ बाहिरको लेखा परीक्षण (अडिट) गर्न जाँदा अक्सर आधा बाटो गाडी आधी बाटो दौडेर जान्थेँ।’
त्यो सुन्दा हामी छक्क परेका थियौँ। आरामसँग गाडीमा गइरहँदा बिचमा ओर्लेर दौडिने भनेको त हामीले कल्पना पनि गर्ने सकेनौँ, यस्तो पनि हुन्छ र भनेर। हामीलाई मनमनमा ए त्यसो पो भन्ने पर्यो। उहाँको यो तरिका मलाई मन मस्तिष्कमा गढिराखेको थियो। खोइ कृष्णजीले त्यसलाई कसरी लिनु भयो?
यस्तै यस्तै पुराना कुरा सम्झँदै झन्डै आधा बाटो कटिसकेछ। धादिङवेशी पुग्ने क्रममा यहाँ निकै घुम्तीहरू (७ घुम्ती) को बाटो आउँछ। साइकलबाट जाँदा सबभन्दा गाह्रो उकालो खण्ड नै यही हो। झन्डै ३ देखि ४ किलो मिटर त छ यो उकालो। मैले फेरि सम्झेँ यो घुम्ती खण्ड ठाडो र कच्ची भएकोले अलि जोखिमयुक्त पनि थियो पहिले २०५०-५१ साल तिर। घुम्तीमा चट्टानयुक्त जमिन भएकोले साँघुरो बाटो- दुइटा ठुला गाडी पास नहुने भएकोले बसले निकै हर्न बजाउने गरेको सम्झेको छु।
त्यति बेला यो सडकलाई पर्यावरणीय दृष्टिकोणले बनाएको भन्ने सुनेको थिएँ। जसअनुसार बनाउँदा वातावरणीय प्रभावलाई कम गर्न र दीर्घकालीन दिगोपनलाई प्रवर्द्धन गर्न स्थानीय स्रोतहरू, सरल प्रविधिहरू र जैविक इन्जिनियरिङ प्रविधिहरूको प्रयोगमा जोड दिइएको हुन्छ। सरल भाषामा भन्ने हो भने रुख सकेसम्म नकाट्ने, डोजर नलगाउने र बेल्चा कोदालो प्रयोग गर्ने अनि स्थानीय श्रम।
तर यस पटक जाँदा बाटो पुरै पिच तथा फराकिलो थियो, मात्र अलि ठाडो बाटो। फुर्के खोलादेखि धादिङवेशी जम्मा १९ किलोमिटर पार गर्न झन्डै २ घण्टा लागेछ, ५ बजे तिर पुगेँ। होटेल देउरालीमा मेरो बसाइ भयो। अर्को साथी श्रीभक्त बस्नेत होटेल जनजीविका बस्नु भएको थियो। उहाँ माथिल्लो स्तरको कर्मचारी- साह्रै परिश्रमी, सहयोगी तथा रमाइलो व्यक्ति। सबैले मन पराउने।
धादिङमा झन्डै ३० जना जति कर्मचारीहरू विभिन्न जिम्मेवारीमा कार्यरत थिए। होटेल देउरालीमा बेलुकाको सामूहिक भोजन खाने योजना मुताबिक ७ बजे सबै एकत्रित भयौँ। साइकलमा आएको भनेपछि अलिकति सबैको ध्यानाकर्षण मप्रति हुने नै भयो। के हो? कसो हो? कहाँबाट चढ्नु भयो? भन्ने सामान्य प्रश्न थिए। अरूले जे सोचे पनि आफूलाई चाहिँ मै हुँ भन्ने हुँदो रहेछ साइकलको यात्रामा, सायद इण्डोफर्म र डोपामाइन हर्मोनको प्रभाव हो कि? अनि कर्मचारी धेरैजसो ३०-३५ वर्षका युवक र युवतीसँग छुट्टै रमाइलो वातावरण हुने। कोही कोही पाको उमेरका थिए, पुराना कुरा निकाल्ने, म यस्तो थिएँ उस्तो थिएँ भन्ने। अनि हामीले पुरानो कुरा गर्न नपाइने भनेर नियम नै बनाएका थियौँ। अनौपचारिक कुरो नै भयो १० बजेसम्म। बियर र ह्विस्की खाएका थिए, कुरा तन्कियो।
दुई दिनको बसाइमा सत्यदेवी जाने योजना थियो। सत्यदेवी खनियाबास गाउँपालिकामा पर्ने दुर्गम बस्ती हो। धादिङ जिल्लाका योजना प्रबन्धक अरुण पौडेल मसँगै जाने भए। समयको पाबन्दीले गर्दा गाडीमै गइयो। साइकल त धादिङकै अक्सफाम अफिसमा ताला लगाएर छोडियो।
गाउँ चट्ट मिलेको झन्डै ७० घर रहेछ। धादिङबाट सत्यदेवी पहाडी बाटो, हिउँदमा त राम्रै छ तर वर्षा याममा ठाउँ-ठाउँमा पहिरोले बिगार्ने! ४ घण्टामा गाउँ पुगियो। बास बस्ने एउटै मात्र ठाउँ रहेछ सानो चिया पसल। खाना पनि पाइन्छ। चिया पसलको साहुनी गठिलो आकर्षक थिइन्। सुत्ने कोठा तथा शौचालय आधारभूत भए नि साहुनीको अनुहार र जीउडालले मन जित्यो बास बस्नलाई।
बेलुकातिर दालभात खाने सिलसिलामा अरुणजी, म र योजना हेर्ने प्राविधिक गफ गर्न थाल्यौँ। प्राविधिकले योजनाको प्रगति एवं स्थानीय वस्तुस्थिति के कस्तो छ भन्ने कुरा सविस्तार वर्णन गर्दै थिए। गाउँको सुकुटी र तीनपाने मिठो हुन्छ भनेकोले गफको लागि साथी बनाइयो। तीनपानेले जीउ रन्काएपछि बिस्तारै एक एक गर्दै कुरा पस्के प्राविधिकले।
उनले भने, ‘हजुर बसेको चिया पसलको श्रीमान् काठमाडौँको जेलमा छ हत्याको आरोपमा।’
‘एक वर्ष अगाडि एक जना गोरखाका असईलाई काटेको ठाउँ उ त्यही पुलिस चौकी निरै हो’ भन्दै औँलाले चौकी तिर देखाउँदै भने।
एक जना त्यही खटिएका असईले श्रीमान् विदेश हुँदा स्त्रीसँग लसपस गरेको शंकामा श्रीमान् चाहिँले खुकुरीले काटेका भनेर सुनाए। उनका अनुसार यहाँका प्रत्येक घरका कोही न कोही जेलमा छन् रे; कोही नेपालमा, कोही इन्डोनेसिया, कोही मलेसिया, विभिन्न कसुरमा!
यस्तो कुरा सुनेपछि चिया पसलकी राम्री महिलासँग पनि बेलुकाको भात खाने बेलामा ‘दाल थप, भात थप, तरकारी थप’ भन्ने बाहेक बढी कुरा केही गरिएन। भलाद्मी बनियो। ती महिला पनि खासै कुरा गर्न नरुचाएको देखिन्थ्यो। बुढा जेलमा परेकाले मनमा पिर त पक्कै होला।
बिहानै गाउँ डुल्न र योजना हेर्न गइयो। त्यहाँका स्कुले केटाकेटीहरू स्कुल जान लागेकाले बाटैमा भेटिए। लाज मान्ने, बाहिरी वातावरणसँग नभिजेको जस्तो टाढैबाट भाग्ने। कुरा नफर्काउने। अरू गाउँका केटाकेटीभन्दा फरक देखिन्थे।
गाउँको सिरानमा रिजर्भ खानेपानीको ट्यांकी बनेको। त्यो ठाउँबाट पारि उत्तरतिर गणेश हिमाल, त्यसको आधार शिविर, गाउँहरू- बोराङ, तिप्लिङ, सांग भन्ज्याङ, रुबीभ्यालीको पदमार्ग देखिन्थ्यो। साह्रै आकर्षक र मनमोहक। कस्तो राम्रो दृश्य, कस्तो राम्रो भूगोल। जति शब्द प्रयोग गरे पनि वर्णन गर्न नसकिने। यही ट्यांकी भएरै बाटो पनि बनिरहेको रहेछ, मध्ये पहाडी राजमार्ग नुवाकोट जोड्ने। मनमनै सोचेँ, कुनै बेला यो बाटो साइकल चलाउनु पर्छ कि भनेर!
सत्यदेवी गाउँ चट्ट मिलेको झन्डै ७० घर रहेछ। २०७२ को भूकम्पले खानेपानी लगायतका पूर्वाधारहरू क्षति भएको थियो। हिजो कुरा गरेको पुलिस चौकी पनि भत्किएर पाल टाँगेर अफिस चलाएको देखियो। खानेपानी समेत नहुँदा त्यहाँका मानिसहरू बसाइसराइ गर्ने क्रममा थिए। भूकम्प पूर्व प्रयोग गरिएको पानीको मुहान सुकेर धारामा पानी नआएकोले भूकम्पपश्चात् दुई वर्षसम्म जेनतेन जीविका चलाउन बाध्य भएका ती नागरिकलाई अक्सफाम आएपछि निकै राहत भएको कुरा अनुगमनको समयमा त्यहाँका उपभोक्तासँगको छलफलमा हामीलाई सुनाए। नयाँ खानेपानी योजनामा अर्कै मूलबाट खानेपानी ल्याई रिजर्भ ट्यांकी तथा घर-घरमा धारा जडान गर्ने गरी संरचना बनाइएको थियो।
योजना निरीक्षणपश्चात् म, अरुणजी र प्राविधिक भाइ धादिङवेशी फर्कियौँ। बाटोमा तीनै जना गफिँदै आयौँ खनियाबासको इतिहास। विसं २०१६ सालतिर जब नेपाली कांग्रेसको सरकार थियो, यहाँ निकै ठुलो क्रान्ति भएको रहेछ यहाँका सामन्तहरूका विरुद्ध। तामाङहरूले स्थानीय रिजाल थर भएकाले गरेको थिचोमिचोको विरोधबाट सुरु भएको रहेछ। यो आन्दोलनपछि राजनीतिकरण हुन गई कांग्रेस र पञ्चायत व्यवस्थाको भिडन्तमा परिणत भएको रहेछ। फलस्वरूप तत्कालीन सत्ताले स्थानीय तामाङहरूलाई निकै दमन गरेको रहेछ। त्यसैको प्रभावले गर्दा यो ठाउँपछि सम्मै विकासबाट टाढा भएको र स्थानीय जनताहरू पिछडिएको देखिन्छ।
योजनाको निरीक्षणपछि फेरि धादिङवेशीमै आइयो र त्यो रात पनि होटेल देउरालीमै बसियो। बेलुका झन्डै १० जना स्टाफहरू सँगै डिनर खाइयो। बियर आदि, इत्यादि खाए पिए। जागिरे जीवनको अति महत्त्वपूर्ण क्षण भनेको यस्तै अनौपचारिक माहौल पनि हो। साथीभाइहरूसँग रमाउन कसलाई मन लाग्दैन होला। मुख्य कुरो त अवसर पाउनु पर्यो।
जागिरे जीवनमा मेरो पेसाले नै मलाई यो अवसर जुरेको हो। सानो उमेरमा पनि मैले यो अवसर पाएँ। म ९ वर्षको उमेरमै दार्जिलिङ, कालिम्पोङ, सिक्किम, राजविराज, भद्रपुर, विराटनगर, आसाम जस्ता ठाउँहरूमा पुग्ने भाग्य मिल्यो दाइ नेपाल बैंक राजविराजमा मेनेजर हुँदा। म १० देखि १२ वर्ष हुँदा भद्रपुरमा दाजुसँग थिए। त्यति बेला पनि पटक-पटक ठाउँ-ठाउँमा घुमियो।
इन्जिनियर पेसामा आएपछि देश विदेश निकै घुमियो। नेदरल्यान्डमा १८ महिना वातावरण व्यवस्थापनको स्नातकोत्तर अध्ययनको सिलसिलामा उत्तर, पश्चिम र दक्षिण युरोपका १२-१५ देश घुमियो। अस्ट्रेलिया, युरोप, उत्तर अमेरिका, अफ्रिका, एसिया महादेशका ४० वटा देशमा पुगियो। नेपालकै कुरा गर्ने हो भने ७० जिल्ला पुगियो। फुर्ती लायो नभन्नु होला।
भोलिपल्ट काठमाडौँ फर्कने दिन। साइकल निकालेँ अफिसबाट। साइकल पन्चर होला भनेर जगेडा ट्युब पनि हुन्छ हाम्रो साथमा। मेरो लुगाफाटो त रुकश्याकमा राखेर अफिसकै गाडीमा पठाइदिए। गाडी चालकलाई मभन्दा ३० मिनेटपछि आउनू भनेर म चाहिँ ३० मिनेट अगाडि लागेँ ताकि फुर्के खोलामा सँगै पुगियोस्, त्यहीँ सँगै भेटेर जाने सल्लाह मुताबिक।
आएकै बाटो फेरि फर्कने हो। सात घुम्तीमा उकालो चढेको बाटो अब सररर ओरालो लाग्यो। बाँकी बाटो त स-साना उकाला र ओराला थिए। दूरी त जम्मा १९ किलोमिटर मात्र हो तर साइकलमा यात्रा गर्दा बाटो वरिपरिका गाउँ, गाउँले जनजीवन, खेतीपाती, खोल्सामा सुनिने पानीको कलकल आवाज, जंगल, भूगोल अनि समस्तमा प्रकृतिको अनुभव गर्न पाइने नै मुख्य विशेषता हो।
भनिन्छ नि- ‘एक साइकल यात्रीले विभिन्न तहका नागरिकले भन्दा धेरै बढी मात्रामा यो सुन्दर संसार देखेको र भोगेको हुन्छ।’ त्यसै कारण मैले साइकल यात्रालाई आफ्नो जीवन पद्धति बनाउँदै आएको छु।



