एमाले नेता गोकुल बाँस्कोटाको नक्कल गरेर चर्चा कमाएका भरतमणि पौडेल फेरि एकपटक चर्चामा आएका छन्। यसपालि उनको चर्चा पूर्वयुवराज पारस शाहसँगको कुराकानीले भएको हो।
पौडेलले 'कमेडी च्याम्पियन २' मा पूर्वयुवराज शाहको नक्कल गरेका थिए। शाहको हुलिया, बोली र हाउभाउ दुरुस्तै उतारेका उनको प्रस्तुति दर्शकले खुबै मन पराए। गत शुक्रबार राजधानीको दरबारमार्गस्थित ओपियम क्याफेमा शाहसँग भेटेर कुराकानी गर्ने मौका पाएको उनले बताए।
'मलाई उहाँसँग भेटेर आफूले गरेको नक्कल कस्तो लाग्यो भनेर सोध्न मन थियो,' पौडेलले सेतोपाटीसँग टेलिफोनमा भने, 'मैले उहाँसँग करिब एक घन्टा समय बिताएँ। भेटघाटमा पूर्वयुवराज आफूले सोचेभन्दा एकदमै सरल र मिजासिलो लाग्यो। उहाँले भेट्नेबित्तिकै सुरूमै भन्नुभयो, 'के छ यार!'
पूर्वयुवराज शाहले उनको प्रस्तुतिको तारिफ गर्दै भने, 'फन्नी, फन्नी। एकदम रमाइलो। किप इट अप (राम्रो गर्दै जानू) भन्नुभयो।'
यसअघि कमेडी च्याम्पियनमै पौडेलले गरेको एमाले नेता गोकुल बाँस्कोटाको नक्कल पनि रातारात भाइरल भएको थियो। उनले बाँस्कोटाको नक्कल गर्दै भनेका थिए, 'हेप्नी! मान्छेलाई डिस हान्ने! यस्ता-यस्ता कुरा गर्यौ भने नि भाइ हामी मान्छेलाई कोल्याप्स गर्दिन्छौं।'
यसरी गोकुलदेखि पारससम्मको सफल नक्कल गरिसकेका पौडेलको कमेडियन यात्रा कसरी सुरू भयो?
भरतमणिमा सानैदेखि गाउँघरका मानिसलाई जिस्क्याउने र अग्रजहरूको नक्कल गर्ने गर्थे। गाउँका ठूला मान्छेहरू उनलाई कहिले फकाएर, कहिले तर्साएर अरूको नक्कल गराउन लगाउँथे।
'सानोमा फलानो यसरी बोल्नुहुन्छ, ढिस्कानो यसरी बोल्नुहुन्छ भनेर नक्कल गर्थें,' उनले केही समयअघि हामीसँग भनेका थिए, 'गाउँमा त फलैंचा हुन्छ, त्यहाँ सबै जना जम्मा भएको बेला ठूला मान्छेहरूले 'यसको नक्कल गर' भनेर भन्नुहुन्थ्यो। कहिलेकाहीँ त समातेर यसको नक्कल गरिनस् भने घर जान पाउँदैनस् भनेर भन्नुहुन्थ्यो।'
गाउँघरमा हसाउँदा हसाउँदै उनमा कमेडीप्रति मोह बढ्दै गयो। तर परिवारको चाहना उनले सरकारी जागिर खाइदिओस् भन्ने थियो। उनलाई भने सरकारी जागिरमा फिटिक्कै मन थिएन। यहाँसम्म किन, उनी पढ्न पनि उतिसाह्रो रूचि राख्थेनन्।
'आमाबुवाले दुःख गरेर पढाए पनि म पढाइमा गतिलो थिइनँ,' उनले हाँस्दै भने, 'मेरो ११-१२ कै परीक्षामा तीन-चारवटा दाग लागेको छ।'
जति प्रयास गर्दा पनि पढाइमा रूचि नदेखिएपछि आमा-बुवाले पनि उनलाई कलाकारिता नै गरोस् भनेर छाडिदिए।
कमेडीमा अत्यधिक रूचिका कारण उनी गाउँमा कतै कार्यक्रम भयो कि दौडिहाल्थे। मौका पाउनfसाथ माइक समातेर दुई-चार जना नेताको नक्कल गर्न भ्याइहाल्थे। त्यो सम्झँदै उनी सुनाउँछन्, 'मान्छे गलल हसाउन पाउँदा मज्जा लाग्ने तर पढ्न परेपछि चाहिँ निद्रा लागेर, अल्छी लागेर हैरान हुन्थ्यो।'
ताप्लेजुङ, दोखुका पौडेल २०६९ देखि काठमाडौंमा भाडामा बस्दै आएका छन्। ताप्लेजुङमै हुँदा सामुदायिक रेडियो 'रेडियो तमोर' मा साताको एकदिन कमेडी कार्यक्रम चलाउँथे। त्यो बेला नै जिल्लाभरि उनका धेरै फ्यान थिए। तर आफ्नो जिल्लामा सीमित रहेर कला विस्तार हुँदैन भन्ने उनलाई लाग्यो। उनले काठमाडौं आउने सोच बनाए।
२०६९ माघमा उनी रेडियो तमोरको जागिर छाडेर काठमाडौं आए। कलाकारितालाई निखार्ने सोचले काठमाडौं आएका उनले रेडियो कान्तिपुरको 'साथीसँग मनका कुरा' कार्यक्रमका लागि अडिसन दिए। तर छनौट भएनन्। फेरि ताप्लेजुङ नै फर्किए। अनि उही पुरानो अफिस रेडियो तमोर पुगे।
काठमाडौंबाट निराशा लिएर फर्किएका उनलाई रेडियो तमोरका अग्रज सहकर्मीहरूले हौसला दिए।
'रेडियो तमोरका सरहरूले तपाईं पनि कलाकारितामा केही गर्न खोज्दै हुनुहुन्छ। हामीले पनि काठमाडौंमा स्टेसन खोलेका छौं। आउनुस् सँगै काम गरौं भन्नुभयो। अनि म त गदगद् भएर हुन्छ भनेर काठमाडौं आएँ,' उनले सुनाए।
आत्मविश्वासका साथ मञ्चमा आउने उनी पूर्वेली लवजमा सहजताका साथ कमेडी गर्न सक्छन्। आफ्ना सबै प्रस्तुतिमार्फत् दर्शकलाई बाँधिराख्न र अपिल गर्न सफल छन्। यही बलियो पक्षका कारण उनी यसपालि कमेडी च्याम्पियनमा विजयी भए।
भरतमणि पौडेलको कमेडी यात्रा, हेर्नुहोस् भिडिओमा: