अंग्रेजी नयाँ वर्षमा चितवनमा दीप श्रेष्ठ एकल साँझ हुने भएको छ।
भरतपुरको लेक ट्वान्टी थाउजेन्ट फार्म एण्ड रिट्रिट, हवेलीको आयोजनामा सांगीतिक कार्यक्रम हुन लागेको हो।
कोभिड–१९ संक्रमणबाट नयाँ जीवन पाएका वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले एकल साँझमा २० भन्दा बढी गीत गाउने छन्। हवेलीले गरेको पत्रकार सम्मेलनमा गायक श्रेष्ठले मृत्युको मुखबाट बाँचेर आएकोले थप ऊर्जासहित गीत प्रस्तुत गर्ने बताए।
गायक श्रेष्ठ कोभिड-१९ संक्रमणका कारण २३ दिनसम्म अस्पताल बसेर निको भएका थिए। सोही कारण यस कार्यक्रमलाई उनले पुर्नजन्मको उत्सवको रूपमा लिएको बताए।
एकल साँझ पुस १६ गते साँझ ६ बजेबाट हवेलीमा सुरू हुनेछ।
‘संगीताञ्जली दीप श्रेष्ठ एण्ड व्याण्ड म्युजिकल नाइट’ नाम दिइएको कार्यक्रम राति १२ बजेसम्म चल्ने हवेलीका सञ्चालक देवेन लोहनीले जानकारी दिए।
उनले नेपाली सांगीतिक क्षेत्रका एक ताराको रूपमा रहेका गायक श्रेष्ठको प्रस्तुति हेर्न पोखरा, धरानलगायतका सहरबाट पनि दर्शक आउने बताए।
कार्यक्रमलाई कलाकार गौरी मल्लले सञ्चालन गर्नेछिन्। साथै बेली डान्सर बिनु शाक्य र गायिका अञ्जना राईको समेत प्रस्तुति समेत रहने छ।
कार्यक्रममा प्रवेशका लागि २ हजार रुपैयाँको टिकट रहेको लोहनीले बताए। उनले कार्यक्रममा एक हजार ५ सय भन्दा बढीको सहभागिता रहने जानकारी दिए ।