किताबै त हो, के छ र यसमा?
किताब पढेर कोही रुन्छन्?
यस्तो प्रश्न गर्नेहरूलाई यो पल्ट मेरो एउटै उत्तर- स्वस्पर्श पढ्न भ्याउनुभयो? अझ त्योभित्र जंगबहादुर र मन्दिरेको घटना पढ्न भ्याउनु भएको छ कि छैन?
पढिसक्नु भएको छ र पनि आँसुका धारा छुटेनन् भने तपाईंको मन र भावना निकै बलियो रहेछ भन्ने बुझ्नुपर्छ।
तर यदि पढ्नु भएको छैन र यो प्रश्न तेर्स्याउँदै हुनुहुन्छ भने तपाईंले पुस्तक अध्ययन र अध्ययन गर्दै गर्दा आउने भावना र लेखकले उल्लेख गरेका घटनासँग जोडिँदै जाने लहरोलाई बुझ्नु भएको छैन। मलाई लाग्छ, त्यसैले तपाईं यस्ता प्रश्न तेर्स्याउने हिम्मत गरिरहनु भएको छ।
तपाईं जसले यस्ता प्रश्नको भार पढ्नमा रुचि राख्नेहरूलाई सोध्नुहुन्छ, एकपल्ट पुस्तक अध्ययनको गहिराइमा डुबेर अनुभव गर्न सुझाव दिन चाहन्छु। त्यति गरिसक्दा पनि तपाईंलाई यही प्रश्न पाठकलाई सोध्न मन लाग्छ भने तपाईंलाई पुस्तकमा रमाउने वरदान छैन।
वास्तवमा किताबले जीवन दिन्छ। किताब पढ्ने लतले जिन्दगीलाई अर्कै मोड तिर धकेल्छ। जुन मोडमा जीवन सहज र खुसी हुन्छ, त्यसलाई म शब्दमा बयान गर्न सक्दिनँ। हुन त लेखकको लेखन शैली र लेखन कलाले पनि पाठकलाई कुन मोडतिर आकर्षित गर्ने हो भन्ने कुरा भर पर्छ।
आज म डा.नवराज केसीद्वारा लिखित स्वस्पर्श पुस्तक पढ्दै गर्दा मनमा उठेका भावना र पुस्तक मैले कस्तो पाएँ भन्ने विषयमा बताउन चाहन्छु। यस पुस्तकको पहिलो पात्रलाई पढ्दै गर्दा मैले मेरा आँखालाई वर्षा हुनबाट रोक्न सकिनँ। म आफै जाजरकोट पुगेर जंगबहादुरको समीपमा उभिएको छु र प्रत्येक घटनाको साक्षी बनिरहेछु भन्ने आभास भइरह्यो। पढ्दै जाँदा घटनामा यस्तो मोड आयो कि अब यस अघि पढ्न नपरे हुन्थ्यो भन्ने पनि नभएको होइन।
एक रात किताब पढ्दा पढ्दै आँसु रोक्न गाह्रो भएर मैले पढ्ने सिलसिला नै बन्द गरिदिएँ। दोस्रो दिन मैले आफ्नो मन बलियो पारेर यसलाई अझ अघि पढ्दै गएँ। घटनाको बिचमा देखिएको जंगबहादुर आफ्नी आमाको पछ्यौरीको गुँडभित्र लुकेर मुस्कुराउँदै गरेको तस्बिर मेरो मनको भित्तामा नच्यातिने गरी टाँसिएको छ।
जंगबहादुरको घटना पढिसकेपछि हिजोआज जंगबहादुर के गर्दै होलान्, कस्ता भए होलान्, ती बालक आफ्नी दिदीसँग विद्यालय गए कि गएनन् होला भनेर जान्ने चाह बढेर आएको छ। किताबको बिचमा भएको घटनाकी पात्र पत्रीका अलि ठुली थिइन् होला भन्ने चित्र कोरेको थिएँ। तर पछिल्लो पानामा कोरिएको रंगिन तस्बिरले पत्रीका सानी भएकी देखियो। त्यति सानी केटीले आफ्ना साना जुम्ल्याहा भाइलाई बोकेर दिनभरि यताउता गरिरहन्थिन्। पत्रीका जुम्ल्याहा भाइहरूको भारी होइन, कर्तव्य बोक्दै थिइन्।
उता मन्दिरेको कहानीले मेरो मन मस्तिष्क उत्तिकै खिच्न भ्यायो। जब उनी आफ्नो श्रीमतीको चिसो शरीर बोकेर उनको अन्तिम इच्छा पूरा गर्न गाउँ फर्किए, मैले मन थाम्न सकिनँ। डा.नवराज तपाईंको लेखन शैलीले मन खुब रुवाएको छ। मैले यी सबै पाठ गर्दै गर्दा तपाईं त्यो घटनाका साक्षी हुँदै गर्दा तपाईंलाई कस्तो भयो होला भन्ने पनि आकलन गर्न भ्याएँ। साथै त्यो बेला मैले तपाईंको मुहारको भावलाई पनि एक हिसाबले आफ्नो मस्तिष्कमा कोरिसकेको छु। तपाईंको लेखन शैली यति सरल पाएँ कि शब्द-शब्द पढ्दै गर्दा तपाईंले प्रत्यक्ष देख्नु भएको व्यक्ति, घटना, अवस्था, परिवेश सबै कुरालाई मैले मेरो मस्तिष्कमा लगालग चित्र बनाएर तपाईंको लेखाइसँगै निरन्तर अघि बढिरहेँ।
एक जोडी बाआमाको प्रेमकथाले एकछिन श्वास रोक्ने बनाउँछ। कोरोना महामारीको समयको घटनालाई यसले देखाएको छ। कोरोनाबाट ग्रसित आफ्नी श्रीमतीलाई अस्पताल पुराएर निको बनाएर मात्रै घर फर्काएका एक बा र एक आमाको घटनाले एकछिन त खुब मर्माहत बनायो। बा भनेको बा हो, जसको सोचको सुरुवात परिवारबाट हुन्छ र त्यही गुटमुटिएर सकिन्छ। यसले मज्जाले देखाउँछ, ‘समयले उमेर मात्र होइन, मायाको भाउ पनि बढाउने रहिछ।’ केही सातापछि बा र आमाको फिल्मी भेट, आहा! डा. कवि नवराजको कविताका हरफ प्रशंसाको योग्यको छ।
किताबमा उल्लेख गरिएकी सानी नानीसम्म आइपुग्दा मेरो मन भने भक्कानिँदा भक्कानिँदै थाकिसकेको थियो। सानी नानीले सानै उमेरमा आफ्नै परिवारको सदस्यबाट जे भोगिन्, त्यो निकै नै दर्दनाक थियो। उति बेला बन्नै लागेका र अहिले बनिसकेका डा. तपाईंले ती नानीसँग जसरी उपचारका क्रममा व्यवहार गर्नु भयो र वास्तविक समस्या तपाईंले आफैले नजानेरै पनि पत्ता लगाउनु भयो, त्यहाँसम्म पढ्दा लेखन, घटनाक्रम निकै उत्कृष्ट थियो। सानी नानीले जे भोगिन्, सानै उमेरमा मैले व्यक्तिगत रूपमा भोगेको लैङ्गिक हिंसाको तितो सम्झना भयो। त्यो व्यक्ति जो दुर्भाग्यले परिवारको सदस्य थियो, त्यसप्रति घृणा भाव जाग्नु नौलो कुरो भएन। यस संसारमा हरेक मानिसलाई बिरामी हुँदा ओखती मिलोस् नमिलोस्, समस्या आइलाग्दा समाधान फेला परोस् नपरोस्। तर हरेकलाई हरेक यस्ता क्षणमा एउटा मन बुझ्ने साथी जरुर मिलोस्।
नवराज जो मानसिक रोगको अँध्यारो गुफाभित्र जीवन कटाइरहेका थिए, उनको घटना पढिसक्दै गर्दा उनले जस्तै आफ्नो मनले भनेको र चाहेको काम गरे आफ्नो र अरूको जीवन सरल, सुखी हुने कुरा प्रस्ट बुझिन्छ। यिनको घटना पढिसक्दा जनावरलाई निःस्वार्थ माया गर्ने ऊर्जा पलाएको मलाई उनका कथाले साँच्चै भावविह्वल बनाएको थियो। सडकको कुकुरदेखि गिद्धसम्मलाई प्रेमपूर्ण भाव दर्साउँदै बताइएका घटनाले एक हिसाबले प्रेरित पनि गराएकै हो। उनी माया बढ्ने जागिर गर्थे अनि भन्थे- अरूलाई दिएको माया आफ्ना लागि उपचार पो हुने रहेछ। म आफै पनि जनावर प्रेमी हुँ। तर जति डा. नवराजले जे गरे त्यसको एक भाग पनि मैले गर्न सकेको छैन। सडकमा कसैले हातखुट्टा र मुख समेत बाँधेर छोडिदिएको कुकुरलाई भेडाले हाँस्ने बनाएछन्। घटनाको बिचमा देखिएको हँसिलो कुकुर र नवराज भेडाको तस्बिर, आहा! आफ्नो थकित ज्यान र खानपिनको पर्बाह नगरी बाटोमा अलपत्र छाडिएका कुकुर, बाछा, गिद्ध अनेक अनेक जनावरकै लागि यिनले धेरै समय खर्चिए। कस्तो निःस्वार्थ भाव!
रिटायर्ड आमासम्म आइपुग्दा मैले पासाङलाई भेट्न भ्याएँ। पासाङले भकभकाउँदै आमालाई राष्ट्रिय गानको पहिलो हरफ सुनाउने प्रयासपश्चात् दुवै आमाछोरा अङ्गालोमा मरिमरी हाँस्दै गर्दा हाँसोमा पनि भकभकाएको पासाङलाई सम्झिएर म पनि यता खित्खित् गर्दै हाँस्दै रहेछु। पछिल्लो वाक्यहरूमा आँखा डुलाउँदै जाँदा पासाङको उपलब्धि देखेर मेरा परेली भिज्ने अनुमति मागिरहेका थिए।
पाना पल्टाउँदै जाँदा विद्यालयमा एक्लो लाइन खडा भएर समाजको अछुतो रेखामा अल्झिएकी अस्मिता वादीका बुबाले सिकाएको आफैलाई दोब्बर प्रेम गर्ने कुरा, आफूलाई बेचेर पनि छोरीलाई पढाउँछु भन्ने बोलीमा कति धेरै यथार्थ, सपना र कुनै कुरासँग दाँज्न नसकिने प्रेम लुकेका छन्। भर्खरै उम्रिन लागेको बोटलाई बलियो खम्बा बनेर ‘म छु नि है’ भन्ने बुबा कति महान्।
अस्मिता वादीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा भोगेको जातीय विभेदका घटनालाई मैले ठ्याक्कै आफ्नै घटना जस्तै सम्झेको छु। उनले जस्तै जातीय विभेद मैले मेरो बाल्यकालमा कयौँ पल्ट छरछिमेक र समाजमा भोगेकै हुँ। त्यहीँ भोगाइले आज म जे छु, त्यो हुन सक्ने साहस, हौसला र आँट आएको हो। किताबको २५२ पेजमा उल्लेखित एउटा अध्ययन प्रतिवेदनमा लेखिएको वाक्यले मेरो ध्यानलाई खिचेको छ, ‘हाम्रो समाजमा सबैभन्दा धेरै डिप्रेसन र एन्जाइटी दलित समुदायमा छ।’ यसपछिका हरफ पढ्दै जाँदा डा. कविका कविताका प्रत्येक शब्द-शब्द अत्यन्तै गहन र मार्मिक पाएँ।
अस्मिताका बाले भने झैँ संसारका हरेक बाआमाले भन्न सकुन्, ‘छोरीलाई जतिसम्म पढाउन मिल्ने ठाउँ छ, त्यतिसम्म पढाउँछु।’ र पढेका ती छोरीहरूले आफ्ना परिवार र समाजलाई यसको सकारात्मक दृष्टान्त दिन सकुन्। वास्तवमा हाम्रो समाजमा युगौँ युगसम्म यो कस्तो नरोकिने अमानवीय हुरी चलेको? हेपिएकी छोरी पो कमजोर हुन्छे, पढ्न र संसार बुझ्न छाडिएकी छोरी त जगत्को सबैभन्दा बलवान प्राणी हो। अझै अघि-अघि आँखा डोरायौ भने कर्णालीका वादी बस्तीबाट उद्धार गरेर ल्याइएका अन्य साना नानीहरूका कुरा छन्। जहाँ उनीहरूसँगै अस्मिता बस्छिन्। उनी जब जब समयको वरपर आफ्ना आँखा डुलाउँछिन् अभावै अभाव र विभेदका बिचमा पनि सपनै सपना पाउँदछिन्।
पुस्तकको अन्त्य अन्त्यमा आइपुग्दा अझै यस्ता संघर्षरत पात्रका घटनामा डुब्न पाए हुने भन्ने भान भएको थियो। मैले डा. कविलाई यी सबै पात्रहरूकै जीवन घटनासँग भेटे। किताबका बिचबिचमा उनका उल्लिखित कविता निकै प्रशंसा योग्य छ। म आफैँ पनि कविता लेख्न र वाचन गर्नमा रुचि राख्ने व्यक्ति हुँ। घटनाक्रमसँग मिल्दोजुल्दो शब्द छनौट गरेर मार्मिक, प्रेरणादायी र समाजको ऐना देखाउने कविताका हरफले मेरो मनलाई कहिल्यै नमेटिने गरी रङाएको छ।
तपाईं जसले यो पुस्तक पढ्न भ्याउनुभयो, तपाईंलाई बधाई! जसले पढ्न भ्याउनुभएको छैन, पढ्नुहोस्, वास्तविक जीवन के हो, समाजमा कस्ता कस्ता जकडिएका कुराहरू छन् र त्यसका बाबजुद पनि एक व्यक्तिले कसरी आफ्नो जीवनमा सफलता प्राप्त गरिरहेको छ भन्ने कुरा बुझ्न र प्रेरणा पाउन सकिन्छ।
तपाईंलाई जीवनयात्राको शुभकामना!