राष्ट्रिय मानवअधिकार आयोगको सचिव रहिसक्नुभएका वेद भट्टराई नेपाली साहित्यको फाँटमा नवोदित स्रष्टा हुन्। नेपाली साहित्यको समसामयिक धारामा (२०३६) फुटकर कवितामार्फत उदाएका स्रष्टा भट्टराई लामो समयसम्म गुमनाम रहेका स्रष्टा हुन्। फुटकर कविता लेख्न थालेको करिब ४६ वर्षपछि ग्रहणदान (२०८२) कविता सङ्ग्रहमार्फत नेपाली साहित्यमा देखा परेका भट्टराई मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा सक्रिय व्यक्तित्वको रूपमा रहेको पाइन्छ।
यथार्थता र मानवताको धरातलमा लेखिएको यस सङ्ग्रहको कवितामा कविको युवा अवस्थाको मनोभावना, जीवन र समाजको प्रतिबिम्ब झल्किएको छ। उनको यसअघि एक मात्र कृति मानवअधिकारको गहिराई प्रकाशन भएको छ। उनका कवितामा समाजका परिघटना, मानिसका भावना, संस्कार र संस्कृतिलाई उजागर गरिएको छ।
ग्रहणदान भट्टराईको पहिलो कविता सङ्ग्रहमा आजभन्दा करिब चार दशकअघि नै लेखिएका कविताहरू समावेश गरिएको छ। यसमा केही बाल्यावस्थाका, केही युवावस्थाका कविताहरू रहेका छन्। यस सङ्ग्रहभित्र चार दशकअघि लेखिएको ५१ वटा र त्यसको दुई दशकपछि लेखिएको एक वटा र त्यसको करिब तीन दशकपछि लेखिएको एक वटा कविता गरी जम्माजम्मी ५३ वटा फुटकर कविताहरू सङ्ग्रहित रहेका छन्। तीमध्ये पनि मुक्तक शीर्षकभित्र ६ वटा मुक्तकहरू समावेश गरिएको छ। चौधदेखि अठार/बिस वर्षका बिचमा लेखिएका यी कवितामा जीवनलाई परिभाषित गर्ने काम कविले यी कवितामार्फत गरेको देखिन्छ।
यस सङ्ग्रहमा विसं २०३६ देखि २०७२ सालसम्मका अवधिमा लेखिएका र विभिन्न पत्रपत्रिकामा छापिएका कविताहरू सङ्कलन गरिएको छ। यसमा जीवन, माया, प्रेम, स्नेह, युद्ध, शान्ति, देशप्रेम, द्वन्द्व र विग्रह, गरिबी, सम्पन्न, विपन्न वर्गका पीडा गरिब, अन्याय, धर्म, संस्कृति, रूढीवादी मानसिकता, मानवतावादी चिन्तन, मानव समाज, मानवीय संवेदना र पात्रको मनोदशालाई प्रस्फुटन गरिएका छन्। चार दशकअघिको परिस्थिति र मनोदशा चित्रण गरिएका यस सङ्ग्रहका कवितामा जीवनबोध र युगबोधको सूक्ष्म चित्रण गरिएको छ।
प्रस्तुत कविता कृतिमा धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक, प्रशासनिक नैयायिक, साहित्यिक, मनोवैज्ञानिक र समसामयिक जीवनलाई उजागर गरिएको छ। समाजको यथार्थ चित्रण गर्ने क्रममा विकृति,विसङ्गति र बेथितिको चित्रण गरिएको छ।
अन्यायीले मान पाउँछन्
साधुहरूले शूल
मान्छे हेरेर न्याय गरिन्छ
गरिन्न हेरेर भूल!
अन्यायीले मान पाउँछन्
न्यायीले लात
बेइमानीको स्वागत हुन्छ
इमानदारको घात! ( पृ.१४)
यहाँ न्यायालयका बेथिति, विकृति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरिएको छ। यस क्रममा न्यायका निम्ति आवाज उठाउँदा दण्डित हुनुपर्ने कविभित्रका वैचारिक चिन्तन प्रकट भएका छन्। न्याय निष्पक्ष नरहेको बताउँदै असल, इमानदार भएर बाँच्न कठिन रहेको विचार व्यक्त भएको छ।
जीवनका ऊहापोहको चित्रण गर्ने क्रममा कविले अभाव, सङ्घर्ष, निरसता, शून्यता र विवशता नै जीवनको सार भएको औँल्याएका छन्। एकान्तप्रेमी कविलाई महलभन्दा झुपडी नै प्यारो लाग्ने कुरा व्यक्त गदै स्वार्थरहित र समानताका पक्षमा वकालत गरेका छन्:
परायको विशाल महलभन्दा
अँध्यारो आफ्नु झुपडी नै मनपर्छ!
यस्तो स्वार्थ र पक्षपातभन्दा
निस्वार्थ र समानता नै मनपर्छ!! (पृ.२३)
नेपाली समाजमा विधवा नारीका भोगाइको यथार्थ चित्रण गर्ने काम कविले ‘विधवा नारी’ कवितामार्फत गरेका छन्। नारी संवेदनालाई उजागर गदै विधवा नारीले समाजमा भोग्नुपर्ने विविध समस्यालाई प्रकृतिबाट विम्ब लिएर चित्रण गरेको पाइन्छ।
मेरो अनन्त वेदना
मेरो अनन्त चाहना!
म भित्र नै लुकाउँछु
म भित्र नै मेटाउँछु!! (पृ.२७)
कविले दिशाहीन जीवनको चित्रण गदै आफू अलमलिएको, आफ्नो लक्ष्य हराएको, आफू भौँतारिरहेका विचार व्यक्त गरेका छन्। देशप्रेमको भावना व्यक्त गरिएको ‘आह्वान’ कवितामा युवाहरूलाई स्वदेश फर्कन आह्वान गरिएको छ। अतीतबाट पाठ सिक्दै वर्तमानको निर्माण गर्नुपर्ने, वर्तमानमा बाच्नुपर्ने, वर्तमानलाई सजाउनुपर्ने र वर्तमान नै भविष्यको संवाहक भएको विचार व्यक्त भएको छ। (युवाहरूको विदेश पलायनका कारण अभिभावकले भोग्नुपरेका पीडा, स्वदेश प्रेमको भावना उजागर गरिएको छ।)
बनाऔँ यहीँ स्वर्ग नबनाई नर्क
विदेश होइन बस्ने स्वदेश फर्क!
खुवा होस् विदेशी त्यसमा नभुल्नु
गला लाग्छ रोटी पिई पानी निल्नु!!
बहाऔँ पसिना असारे झरीझैँ
गरौँ परिश्रम यहीँ स्वदेशमा नै! (पृ.३२)
प्रस्तुत कविता कृतिमा कर्मचारीतन्त्र, शासक र तिनका मनोवृत्ति, प्रशासन तन्त्रका जटिलता, कुकृत्य, भ्रष्टाचारी प्रवृत्ति, विकृति, विसङ्गतिको चित्रण एवं गरिबप्रति सहानुभूति प्रकट गरिएको छ। जनताका आँखामा छारो हाल्ने प्रवृत्ति, गलत मानसिकता, स्वार्थी प्रवृत्ति र सामन्ती प्रवृत्तिको उजागर गरिएको छ।
बिन्ती छ, ए! उच्च पदस्थ कर्मचारीहरू
ए! माननीय मन्त्रीहरू
सबै मन्त्रालय, विभाग र अड्डाको प्रमुखहरू
तिम्रा ती दिनहुँ दुरुपयोग भइरहेको पैसाहरू
तिम्रै अघिल्तिर रहेका गरिबको
जीविकाका लागि देउन् बरु!! (पृ.३५)
युद्धको विपक्षमा र शान्तिको पक्षमा आह्वान गरी कविले युद्धबाट होइन शान्तिबाट सुख र समृद्धि प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। युद्धले कसैको हित नगर्ने हुँदा युद्धले विकास होइन, विनाश निम्त्याउँछ, शान्तिद्वारा नै विकास र स्वर्गीय सुख प्राप्त हुन्छ भन्ने परिकल्पना कवितामार्फत कविले गरेका छन्।
मलाई एउटा
शङ्कर चाहिएको छ
आओ, कोही शङ्कर बनेर आओ–
सागर मन्थन गरेर
युद्ध जति पिउन!
आओ, कोही शान्ति बनेर आओ–
मलाई पूर्ण शान्ति
चाहिएको छ
मलाई अझै अर्को एउटा बुद्ध
चाहिएको छ (पृ ७८–७९)
प्रस्तुत सङ्ग्रहका कवितामा युगीन चेतना, समयको परिवर्तनसँगै युग पनि परिवर्तन भएको विचार प्रकट गरिएको छ। यसमा सन्तानप्रतिको प्रेम, सहिदप्रतिको सम्मान, मातृभूमिप्रति बलिदान दिन तत्पर हुनुपर्ने भाव अभिव्यक्त गरिएको छ। आत्मविश्वास डगमगाउन नचाहेको धारणा प्रस्तुत गरेको पाइन्छ। मानवको दोहोरो चरित्र उजागर गरिएको छ। एकताको सन्देश प्रकट भएका यी कवितामा बारम्बार गल्ती दोहोराइरहने प्रवृत्तिप्रति व्यङ्ग्य प्रकट गरिएको छ। पूर्वीय दर्शनका मान्यताहरूको निरूपण गरिएको यस कविता कृतिमा जीवनको विविध आयामको चित्रण गरिएको छ। कविले फुट्नुमा होइन जुट्नुमा विश्वास व्यक्त गदै विश्वबन्धुत्वको भावना प्रकट गरेका छन्।
एउटै घर टुक्राएर
जनकसँग छुट्टिएर
जीवनको अर्थ बिर्सिएर
‘स्वतन्त्र’ बन्न चाहनेहरूलाई देखे–
विश्व नै एउटा परिवार हो कि?
– भनिदिऊँ जस्तो लाग्छ!! (पृ.५८)
नागरिकको कर्तव्य र दायित्व भुल्न नहुने सन्देश प्रकट गरिएका यस कविता सङ्ग्रहमा भविष्यप्रति आशावादी बुन्नुपर्ने धारणा प्रस्तुत गरिएको छ। नेपाल र नेपाली हुनुको गौरव, सगरमाथाको शान एवं कवित्व साधना दुर्लभ भएको विचार व्यक्त भएको छ। यसै गरी संस्कार र संस्कृतिको महत्त्व दर्साइएको यी कवितामा जीवनका निरीहता, अस्तित्वहीनता, मूल्यहीनताको चित्रण गरी अस्तित्वको खोजी गरिएको छ। यिनमा सङ्कीर्ण एव परम्परावादी चिन्तन र त्यसलाई त्यागेर फराकिलो दृष्टिकोण निर्माण गर्नुपर्ने सन्देश प्रकट भएका छन्।
शीर्षक कविता ‘ग्रहणदान’मा मानवतावादका पक्षमा वकालत गरिएको छ। मान्छे भएर अर्को मान्छेप्रति गर्ने व्यवहारप्रति असन्तुष्टिको भाव व्यक्त भएका छन्।
ग्रहणदान! ग्रहणदान!!
हामी मान्छेले, मान्छेलाई
हाम्रा रोगहरू उसैलाई
हाम्रा शोकहरू उसैलाई
हाम्रा दारिद्रयहरू उसैलाई
हाम्रा पापहरू उसैलाई! (पृ.१०८)
वर्तमान युगका बेथिति, विसङ्गति, असमानताको चित्रण गदै कवितामा वर्गीय विभेद, स्वार्थीपना, स्वतन्त्रता, नैतिक आचरण, मान्छेको स्वाभिमान, अपराध कर्मप्रति पश्चात्ताप बोध, साहित्यिक व्यक्तित्वको स्मरण गदै तिनका योगदानको चर्चा समेत गरिएको छ। यसमा बहत्तर सालको विनाशकारी भूकम्प र भूकम्पको कारण उत्पन्न त्रासदी एवम् दैवी विपत्तिका कारण भोग्नुपरेको ऐतिहासिक, भौतिक र मानवीय क्षतिलाई उजागर गरिएको छ।
प्रस्तुत कविता सङ्ग्रहका कविता गद्यमय वा पद्यमुक्त भाषामा संरचित रहेका छन्। यी कविताहरू केही लामा आकारका, केही मध्यम आकारका र केही लघु आकारका रहेका छन्। कतिपय कविताका शीर्षक प्रश्नात्मक शैलीका छन्। यी कविता आद्यानुप्रास, मद्यानुप्रास अन्त्यानुप्रास र अन्तरअनुप्रासको ढाँचामा संरचित रहेका छन्। कतिपय कवितामा शब्दहरूको पुनरावृत्ति रहेको छ। उपमा अलङ्कारको अत्यधिक प्रयोग भएको पाइन्छ। प्रकृति, संस्कृति, समाजलगायत विभिन्न क्षेत्रबाट विम्ब र प्रतीक लिएर सिर्जना गरिएका यी कविता रोचक र वर्तमान सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको छन्।
फुटकर कविताको सङ्ग्रह हुँदाहुँदै पनि कविताको उपभेद अन्तर्गतको मुक्तक समावेश गरिनु अलि उपयुक्त देखिँदैन। वर्णविन्यासका कमीकमजोरी पनि उत्तिकै रहेका छन्। कतिपय कविताहरू कलात्मक एवम् सशक्त विषयवस्तुका रहेका छन् भने कतिपय मध्यम स्तरका रहेका छन्। कविताको शीर्षक बहुअर्थक रहेको छ। यसले ग्रहण लागेको बेला (धार्मिक भावनाले) गरिबहरूलाई अन्न, वस्त्र, पैसा आदि वस्तुको दान गरिएका भन्ने अर्थ बुझाउँछ।
समग्रमा भन्नुपर्दा धेरै वर्ष अगाडि लेखिएका कविता भए पनि वर्तमानमा पनि उत्तिकै सान्दर्भिक र पठनीय रहेका छन्। मानवीय मनोभावना व्यक्त भएका यो कविता सङ्ग्रहमा यथार्थको धरातलमा मानवतावादको वकालत गरिएको हुँदा हरेक पाठकका लागि रोचक र उपयोगी रहेको देखिन्छ।
