निकै लामो समयदेखि एउटा चलचित्र हेर्न म असहज महसुस गरिरहेको थिएँ। त्यो चलचित्र थियो विकास बहलद्वारा लिखित तथा निर्देशित ‘गुडबाई’। सन् २०२२ मा रिलिज भएको यो हिन्दी पारिवारिक–ड्रामा चलचित्र हो।
यो चलचित्र हेर्न असहज लाग्नुको मुख्य कारण यसको कथा थियो, एउटा परिवारमा अचानक आमाको मृत्यु हुन्छ र पूरा परिवार शोकमा डुब्छ। यो विषय सोच्न मात्र पनि कठिन लाग्थ्यो। परिवारको कुनै एक अभिभावक गुमाउँदाको पीडा शब्दमा व्यक्त गर्न सकिने कुरा होइन। यही कारणले गर्दा मैले यो चलचित्र नहेर्ने निर्णय गरेको थिएँ। तर केही दिनदेखि फुर्सद थियो, क्रिसमसको इभ पनि पर्यो र अन्ततः मैले यो चलचित्र हेर्ने आँट गरेँ।
कथा एउटा मध्यम वर्गीय परिवार वरिपरि घुम्छ। आमाको अचानक निधन भएपछि सन्तान र आफन्तहरू एक ठाउँमा भेला हुन्छन् र कथा अघि बढ्छ। हरेक पात्रले शोकलाई आफ्नै तरिकाले व्यक्त गर्छ, कोही रिसाउँछ, कोही मौन बस्छ त कोही टाढा भाग्न खोज्छ। आफ्नो भावना कसरी पोख्ने वा व्यक्त गर्ने भन्ने कुरा अझै पनि हाम्रो समाजमा सहज रूपमा सिकाइँदैन, यो यथार्थलाई चलचित्रले राम्ररी उजागर गरेको छ।
आमा गुमाउँदाको पीडा सन्तानका लागि कस्तो हुन्छ र बुढेसकालको सहारा गुमाउँदाको पीडा एक श्रीमानका लागि कति गहिरो हुन्छ भन्ने कुरा रश्मिका मन्दाना, पवेल गुलाटी र अमिताभ बच्चनले आफ्नो अभिनयमार्फत अत्यन्त प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्। समाजमा थुप्रै उदाहरण छन् जहाँ महिलाले श्रीमानको निधनपछि पनि एकल जीवन धैर्यतापूर्वक बिताएका छन्, तर धेरै पुरुषहरू श्रीमती गुमाएपछि आफूलाई एक्लो र असहाय महसुस गर्छन्। जीवनभर जसले ख्याल राख्यो, आज उही नहुँदा जीवन असहज लाग्नु स्वाभाविक हो।
हाम्रो समाजमा अझै पनि महिलालाई मात्र घर–परिवार सम्हाल्ने, भावनात्मक कुरा बुझ्ने जिम्मेवारी सुम्पिन्छौँ भने पुरुषलाई शारीरिक रूपमा बलियो ठानेर केवल आय–आर्जनको भूमिकामा सीमित गर्छौँ। सायद यही कारणले महिला कमजोर र पुरुष शक्तिशाली देखिन्छन् किनकि महिला रुन सक्छन् तर पुरुषलाई रुन नदिइने समाजमा हामी बाँचेका छौँ।
अब फेरि चलचित्रकै मूल प्रश्नतिर फर्कौँ, गुडबाई मा आखिर ‘गुड’ के छ? जीवनमा हामी धेरै पटक गुडबाई भन्दै रोएका छौँ तर हाँस्दै भनिएका गुडबाई सायद निकै कम छन् वा छैनन् नै। तर चलचित्रको अन्त्यसम्म आइपुग्दा, गुडबाई साँच्चिकै ‘गुड’ हुन सक्छ भन्ने अनुभूति हुन्छ।
जीवनमा हामी विभिन्न भावनासँग परिचित हुन्छौँ र ती भावना कुनै व्यक्ति, स्थान वा वस्तुसँग गाँसिएका हुन्छन्। जीवनका उतार–चढावमा ती व्यक्ति, स्थान वा वस्तुबाट टाढा हुनुपर्दा पीडा हुनु स्वाभाविक हो। तर जीवनमा ‘लेटिङ गो’ पनि उत्तिकै आवश्यक छ भन्ने कुरा यो चलचित्रले गहिरो रूपमा देखाएको छ।
यस चलचित्रमा हाम्रो हिन्दु संस्कारसँग जोडिएका थुप्रै पक्षहरू देखाइएका छन्। सबै कुरालाई अन्धविश्वासका रूपमा लिनु आवश्यक छैन तर जीवनमा कसरी छोड्न सिक्ने भन्ने पक्ष चाहिँ अवश्य रोज्नुपर्छ। फिल्ममा देखाइएझैँ, पात्रहरू बिस्तारै बुझ्न थाल्छन् कि कसैलाई गुमाउनु भनेको उनीसँग जोडिएका सबै कुरा मेटिनु होइन। जीवन अगाडि बढाउन पीडालाई सम्हाल्दै, सम्झनालाई सम्मानका साथ मनमा राख्न सक्नुपर्छ। अन्त्येष्टि संस्कार र पारिवारिक भेला यहाँ प्रतीकका रूपमा प्रयोग गरिएका छन्, यी प्रक्रियाले पात्रहरूलाई भावनात्मक नजिक्याइ दिन्छन्, तर आमासँग बिताएका साना–साना खुसीका क्षणहरू उनीहरूको जीवनमा सधैँ बाँकी रहन्छन्।
त्यसै गरी ‘लेटिङ गो’ को अर्को सशक्त उदाहरण अंग्रेजी चलचित्र ‘अप’ मा देख्न सकिन्छ। यो चलचित्र शोक, सम्झना र भावनात्मक मुक्तिको कथा हो। कार्ल फ्रेडरिक्सनले आफ्नी दिवंगत श्रीमती एलीसँगका सम्झनालाई यति कडाइका साथ समातेका हुन्छन् कि उनी वर्तमानमा बाँच्नै छोड्छन्। तर फिल्मले सुन्दर ढंगले देखाउँछ, सम्झनालाई सम्मान गर्नु र जीवनलाई अघि बढाउनु एउटै कुरा हुन सक्छ। अन्त्यतिर कार्लले ‘घर’ छोड्छन्, जसको अर्थ एलीलाई बिर्सनु होइन, बरु उनको मायालाई साथ लिएर नयाँ जीवन रोज्नु हो।
त्यसै गरी ‘फरेस्ट गम्प’ले ‘लेटिङ गो’लाई संघर्ष होइन, स्वीकारको रूपमा प्रस्तुत गर्छ। फोरेस्टले जीवनमा धेरै गुमाउँछ; आमा, साथी र प्रेम तर उनी कहिल्यै क्रोध वा पछुतोमा अड्किँदैनन्। जीवन जे आउँछ, जस्तो आउँछ, त्यसलाई सहज रूपमा स्वीकार गर्दै अगाडि बढ्छन्। यही सरल स्वीकार भावले फोरेस्टलाई जीवनप्रति स्वतन्त्र र हल्का बनाउँछ।
भनिन्छ नि— परिचित ठाउँ छोड्न नसकेसम्म नयाँ सम्भावना भेटिँदैन। अर्थात् आफ्नो ‘कम्फर्ट जोन’ नछोडेसम्म जीवनका वास्तविक सम्भावनाबाट हामी वञ्चित रहन्छौँ। त्यसैले ‘लेटिङ गो’ गर्न ढिला नगर्नुस्। आफ्नो सुन्दर वर्तमानलाई विगतको डोरीमा बाँधेर नराखौँ।