‘मायालाई के दिऊँ म बैना, फूल दिऊँ कि फूलबुट्टे रुमाल...’
हिजोआज टिकटक, युट्युब, रिल्स लगायत सामाजिक सञ्जालमा अत्यधिक भाइरल भइरहेको यो गीत भर्खरै प्रदर्शनमा आएको चलचित्र लालीबजारको हो। चलचित्र लालीबजार हेर्दा गीतको रमाइलो लयभित्र लुकेको सामाजिक पीडा र त्रासदी उजागर हुन्छ, जसलाई निर्देशक यम थापाले वादी समुदायको यथार्थसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरेका छन्। वैशाख २५ देखि प्रदर्शनमा आएको चलचित्र वादी समुदायको प्रतिनिधित्व र चित्रणलाई लिएर विवादमा रह्यो, अदालतसम्म मुद्दा पुगे पनि प्रदर्शन रोकिएन र बहस अझै जारी छ। यो आलेख चलचित्रको औपचारिक समीक्षा होइन, बरु यसले जटिल सामाजिक यथार्थलाई कति प्रतिनिधित्व गर्न सक्यो र कहाँ प्रश्न उठ्छन् भन्ने विषयमा प्रस्तुत गरिएको एक दृष्टिकोण हो।
प्रेमकथाबाट सुरु हुने सामाजिक पीडाको कथा
चलचित्रको सुरुवात झुपडी बस्तीको परिवेश र नारायण नामको हुलाकी पात्रमार्फत हुन्छ, जहाँ समुदाय र वर्गबिचको दूरी संवादहरूबाटै संकेत गरिन्छ। विशाल देवकोटाले निभाएको नारायण संवेदनशील र सहानुभूतिशील पात्रका रूपमा देखिन्छ भने स्वस्तिमा खड्काको मधुवाली चलचित्रको केन्द्रमा रहँदै पीडा, असुरक्षा र भित्री विद्रोह बोकेकी महिलाको प्रतिनिधित्व गर्छिन्। नारायण र मधुवालीबिच प्रेम विकसित हुँदै जाँदा उसले मधुलाई बिहे गरेर घर लैजान खोज्छ, तर जातीय र सामाजिक विभेदका कारण मधुले अपमान, कुटपिट र अस्वीकृति भोग्नुपर्छ र अन्ततः आफ्नै बस्ती फर्किन बाध्य हुन्छिन्। त्यसपछि चलचित्रले सामाजिक विभेद, वर्गीय असमानता र लैंगिक उत्पीडनलाई अघि बढाउँदै वादी समुदायका महिलाहरू आर्थिक अभाव र सामाजिक बहिष्कारका कारण देह व्यापारतर्फ धकेलिनुपर्ने यथार्थ देखाउने प्रयास गर्छ। रवीन्द्रसिंह बानियाँको राजासाहेब पात्र शक्ति र शोषणको प्रतीक बनेर उभिन्छ भने रमेश वादीलाई परिस्थितिसँग हार खाएको, अशिक्षित र मदिरामा डुबेको पात्रका रूपमा चित्रण गरिएको छ।
आमाछोरीको सम्बन्ध र बाल संवेदनशीलताको प्रश्न
चलचित्रको मूल भाव आमा र छोरीको सम्बन्ध हो। मधु गर्भवती हुन्छिन् र पछि एक छोरीलाई जन्म दिन्छिन्। वरपरका महिलाहरू ‘छोरी जन्मिइन्, अब तेरा दुःखका दिन गए’ भन्छन्। यही संवादले समुदायभित्र रहेको पीडादायी यथार्थलाई उजागर गर्छ, जहाँ छोरीलाई आर्थिक सहाराको रूपमा हेर्ने सामाजिक संरचना देखिन्छ। छोरीले आर्थिक उपार्जनका लागि गर्नुपर्ने कामको स्तर नै एक भयावह सामाजिक दोषको रूपमा चित्रण भएको देखिन्छ।
बाल कलाकार समाइरा थापाले मधुको छोरीको भूमिकामा प्रभावशाली अभिनय गरेकी छन्। उनको निर्दोष अनुहार, डर र मौनताले चलचित्रलाई भावनात्मक गहिराइ दिन्छ। चलचित्रले बाल मनोविज्ञान र बाल संवेदनशीलताको विषयलाई पनि समेट्न खोजेको देखिन्छ।
गाउँको सामन्ती संरचनाअन्तर्गत वादी समुदायका छोरीहरू ठुला भएपछि राजासाहेबलाई सुम्पिनुपर्ने परम्परा रहेको सन्देश चलचित्रले दिन खोजेको छ। ’नत्थी सुम्पिने’ र ‘नत्थी तोड्ने’ जस्ता शब्द र त्यससँग जोडिएका दृश्यले दर्शकलाई झस्काउँछन्। विशेष गरी मधुले जन्माएकी छोरी दश एघार वर्ष पुगेपछि नाचगानसहित ‘नत्थी सुम्पिने’ कार्यक्रम देखाइन्छ। त्यही दृश्यमा भाइरल गीत ‘मायालाई के दिऊँ म बैना...’ बज्छ।
बाहिरबाट हेर्दा उत्सवजस्तो लाग्ने त्यो दृश्य वास्तवमा एक अबोध बालिकालाई शोषणको चक्रमा धकेलिने क्षण हो। निर्देशकले यही द्वन्द्व सिर्जना गर्न खोजेका छन्। तर, बाल संवेदनशीलताको दृष्टिले हेर्दा चलचित्रले यस्ता दृश्यलाई अझ बढी जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यकता महसुस हुन्छ।
चलचित्रमा ती बालिका पढ्दै जाँदा जब कक्षा १० सम्म पुग्छिन्। मधुले आफ्नी छोरीलाई आफूजस्तो जीवन भोग्न नपरोस् भनेर संघर्ष गरेको देखाइन्छ। यहाँ छोरीको भूमिकामा कलाकार प्रशंसा सुवेदीको अभिनयलाई दरिलो गरी उभ्याएको छ। यही बिन्दुमा चलचित्र भावनात्मक रूपमा सबैभन्दा शक्तिशाली बन्छ। तर, पछि राजासाहेब पात्रले ‘नत्थी तोड्ने’ नाममा जबरजस्ती गर्न खोज्ने दृश्यले दर्शकलाई असहज बनाउँछ। जब ती बालिकालाई ओछ्यानमा पुर्याएर शारीरिक स्पर्श गरेको दृश्य देखाइन्छ। आखिर स्पर्शको दृश्य नदेखाउँदा पनि त दर्शकले भाव बुझ्थे नि भन्ने कहीँ कतै दर्शकको मनमा प्रश्न उब्जिने गर्दछ। यथार्थमा आधारित भनिए पनि यस्ता दृश्य प्रस्तुत गर्दा आवश्यक संवेदनशीलता अपनाइएको छ कि छैन भन्ने प्रसंग पनि जोडिने गर्छ। वास्तवमा त्यो क्षणबाट छोरीलाई बचाउन आमाले गरेको कठोर संघर्ष र लडाइ नै चलचित्रको मूल भाव हो।
अभिनय, निर्देशन र प्राविधिक पक्ष
निर्देशक यम थापाले प्रत्यक्ष देखेको घटनाबाट प्रेरित भएर निर्माण गरेको चलचित्र लालीबजारलाई आफ्नो करिअरकै सबैभन्दा व्यक्तिगत र संवेदनशील परियोजनाका रूपमा प्रस्तुत गरेका छन्। चलचित्रमा स्वस्तिमा खड्काले मधु पात्रमार्फत आमाको त्याग, संघर्ष र विद्रोहलाई प्रभावकारी ढंगले प्रस्तुत गरेकी छन् भने रवीन्द्रसिंह बानियाँको राजासाहेब पात्रले गाउँको शक्ति संरचना र भयलाई प्रतिनिधित्व गर्छ। विशाल देवकोटाको नारायण पात्र संवेदनशील भए पनि कतिपय ठाउँमा अत्यधिक आदर्शवादी देखिन्छ। बर्दियाको परिवेश, झुपडी बस्ती र ग्रामीण संरचनालाई समेटिएको छायांकन, संगीत र लोकेसन चलचित्रका सबल पक्ष हुन्, तर केही दृश्यमा देखिएको अत्यधिक नाटकीयताले यसको यथार्थवादी प्रभाव केही कमजोर बनाएको अनुभूति हुन्छ।
यथार्थभन्दा बढी नाटकीयता
चलचित्रले वादी समुदायका महिलाहरू आर्थिक अभाव र सामाजिक संरचनाको दबाबका कारण शरीर बेच्न बाध्य हुने यथार्थलाई उठान गर्न खोजे पनि यसको प्रस्तुति कतिपय ठाउँमा एक रेखीय देखिन्छ। समुदायभित्र विद्यमान विविध अनुभव, चेतना, प्रतिरोध र सामाजिक रूपान्तरणका प्रयासलाई पर्याप्त स्थान नदिँदा वादी समुदाय केवल पीडित र निरीह समूहका रूपमा चित्रित भएको अनुभूति हुन्छ। विशेषतः मधुवालीजस्ता पात्रमा विकसित भएको विद्रोही चेतना कसरी निर्माण भयो, त्यसमा सामाजिक आन्दोलन, महिला अधिकार अभियान वा सामूहिक प्रतिरोधको भूमिका के थियो भन्ने पक्ष चलचित्रमा अस्पष्ट छ। परिणामतः अन्त्यतिर आमाले एक्लै हिंसात्मक प्रतिरोध गर्दै छोरीलाई बचाउने दृश्य यथार्थवादीभन्दा बढी नाटकीय र सिनेम्याटिक कल्पनाजस्तो महसुस हुन्छ।
त्यसै गरी नारायण पात्रलाई अत्यधिक आदर्शवादी रूपमा प्रस्तुत गरिएको देखिन्छ। परम्परागत सामाजिक संस्कारमा हुर्किएको युवकले जातीय तथा सामाजिक विभेदको जोखिम उठाउँदै वादी समुदायकी महिलालाई स्विकार्न तयार हुनु भावनात्मक रूपमा आकर्षक भए पनि त्यसलाई विश्वसनीय बनाउने सामाजिक तथा मनोवैज्ञानिक आधार चलचित्रले पर्याप्त रूपमा निर्माण गरेको छैन। यसले पात्रलाई वास्तविक समाजको प्रतिनिधिभन्दा पनि ‘उद्धारकर्ता शैलीको चलचित्रीय पात्रमा सीमित बनाएको अनुभूति गराउँछ।
चलचित्रले सामन्त वर्गलाई मुख्य शोषकका रूपमा देखाए पनि यौन शोषण र सामाजिक विभेदको वास्तविक संरचना त्योभन्दा धेरै जटिल थियो भन्ने पक्ष कमजोर रूपमा प्रस्तुत भएको छ। वादी महिलामाथिको शोषण केवल गाउँका साहु वा स्थानीय सामन्तसम्म सीमित थिएन; राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, तथाकथित प्रतिष्ठित वर्ग र सामाजिक शक्तिकेन्द्रहरू समेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा त्यसमा संलग्न थिए। चलचित्रले यो बहुआयामिक सत्ता संरचनालाई गहिराइमा उतार्न नसक्दा सामाजिक यथार्थको व्यापकता केही संकुचित बनेको देखिन्छ।
संघर्षको पक्ष किन कमजोर?
चलचित्रले वादी समुदायका महिलाहरूको पीडा, अभाव र सामाजिक अपमानलाई प्रभावशाली रूपमा चित्रण गरेको छ। तर, समुदायले सम्मानजनक जीवनका लागि गरेका ऐतिहासिक संघर्षलाई भने पर्याप्त स्थान दिएको देखिँदैन। यही बिन्दुमा लालीबजार आलोचनाबाट पूर्णतः मुक्त हुन सक्दैन।
नेपालमा वादी समुदायको मुद्दा केवल व्यक्तिगत पीडा वा देह व्यापारसँग जोडिएको विषय मात्र थिएन। यो राज्य, समाज र संरचनागत विभेदसँग गाँसिएको प्रश्न थियो। लामो समयसम्म नागरिकता, शिक्षा, रोजगारी र सम्मानजनक जीवनबाट वञ्चित समुदायले आफ्नो अधिकारका लागि आन्दोलन गरेको इतिहास छ। विशेष गरी वादी महिलाहरूले काठमाडौँको सिंहदरबार अगाडि सडक आन्दोलन गरेका थिए। उनीहरूले आफूलाई राज्यद्वारा उपेक्षित नागरिकको रूपमा प्रस्तुत गर्दै शिक्षा, रोजगारी, बसोबास र सम्मानजनक जीवनको माग गरेका थिए।
२०६४ सालतिर वादी समुदायले गरेको आन्दोलन निकै चर्चित बनेको थियो। आन्दोलनका क्रममा महिलाहरू सडकमा उत्रिए, सरकारी कार्यालय घेराउ भए, सिंहदरबार अगाडि प्रदर्शन गरियो। त्यस बेला अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि उक्त घटनालाई निकै महत्त्व दिएका थिए। त्यसपछि सरकारले वार्ता समिति गठन गरेको थियो। केही राहत कार्यक्रम, पुनर्स्थापना योजना र सीपमूलक कार्यक्रम ल्याइए। मूलतः वादी समुदायका महिलाबाट जन्मिएका सन्तानलाई आमाको नामबाट नागरिकता दिन सरकार बाध्य भयो। गृह मन्त्रालयले वादी महिलाबाट जन्मिएका सन्तानलाई बाबुको पहिचानविना पनि नागरिकता दिन सक्ने गरी सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्यो। वादी समुदायको दबाब मूल आन्दोलन तथा मुलुकको राजनीतिक परिवर्तनपछि समुदायका केही सदस्यहरू स्थानीय तह र सामाजिक नेतृत्वमा पनि देखिन थाले।
तर, ‘लालीबजारले यी राजनीतिक र सामाजिक परिवर्तनका आयामलाई लगभग छोएकै छैन। माओवादी युद्धले शोषण कम भएको वा चेतना विकास गराएको हो कि भन्ने संकेत गर्न खोजेता पनि मूर्त रूपमा उजागर गर्न सकेको छैन। चलचित्र हेर्दा वादी समुदाय केवल पीडित, निरीह र शोषित समुदाय मात्र हो भन्ने एक रेखीय चित्र निर्माण हुन्छ। जबकि वास्तविकता त्योभन्दा धेरै फराकिलो छ। चलचित्रमा त्यस्तो प्रतिरोध र चेतनाको पक्ष कमजोर देखिन्छ। स्वस्तिमा खड्काले अभिनय गरेको मधुवाली पात्रलाई यही आन्दोलनले परम्परागत पेशलाई तोड्न र शोषकसँग भिड्न सशक्त बनाएको देखाउँदा उक्त समुदायले आत्मसम्मानका लागि गरेको आन्दोलनलाई पनि चलचित्रले न्याय गरेको हुन्थ्यो।
समग्रमा, ‘लालीबजार’ नेपाली समाजको लामो समयदेखि उपेक्षित विषयलाई पर्दामा ल्याउने साहसी र संवेदनशील प्रयास हो। आमाछोरीको सम्बन्ध, जातीय विभेद, लैंगिक हिंसा र सामाजिक बहिष्कारलाई चलचित्रले भावनात्मक प्रभावका साथ प्रस्तुत गरेको छ, जसलाई अभिनय, संगीत र छायांकनले अझ सशक्त बनाएका छन्। तर सामाजिक यथार्थको जटिलता समेट्ने क्रममा चलचित्र कतिपय ठाउँमा सतही बनेको अनुभूति हुन्छ। वादी समुदायको संघर्ष, चेतना र बहुआयामिक यथार्थलाई अझ गहिराइमा उतार्न सकेको भए चलचित्र अझ प्रभावशाली बन्न सक्थ्यो। चलचित्र प्रदर्शनमा आएपछि अधिकांश दर्शकहरूले मनोरञ्जन होलान् र लगानीकर्ता पनि लाभान्वित होलान् नै तर वादी समुदायले चलचित्रमा आफ्नो प्रतिनिधित्व र भूमिकामा उठाएको प्रश्न भने अनुत्तरित नै हुनेछ। तसर्थ, यो चलचित्रले कुनै पनि समुदायमाथि आधारित कथा निर्माण गर्दा उनीहरू आफूलाई पर्दामा कसरी देख्न चाहन्छन् भन्ने संवेदनशील प्रश्नलाई बेवास्ता गर्न नहुने महत्त्वपूर्ण सन्देश पनि दिएको छ। चलचित्र निर्माताहरूले यसबाट पाठ सिक्न जरुरी छ।