नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा सिनेमा निर्माता बनेका छन्। उनको निर्माणमा बनेको फिल्म 'परान' यही शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुँदैछ।
एक सफल उद्योगपतिबाट सिनेमा निर्माताका रूपमा उदाएका गोल्छाले 'परान' लाई सामाजिक सान्दर्भिकता बोकेको र नेपाली मौलिकता झल्काउने सिनेमाका रूपमा प्रस्तुत गरेका छन्। उनले सिनेमालाई व्यावसायिक सफलताको कसीमा हेर्दै दीर्घकालीन रूपमा लगानी गर्ने सोच बनाएका छन्।
सिनेमा निर्माण अनुभव, अपेक्षा र भावी योजनाबारे गोल्छासँग सेतोपाटीका सुशील नेपालले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ –
तपाईंको निर्माणमा बनेको सिनेमा प्रदर्शनको मुखैमा छ। अरू उद्यममा जमिसक्नुभएको तपाईं पहिलो पटक सिने उद्योगमा आउनुभएको छ। कस्तो महसुस गरिरहनुभएको छ?
उत्साहित छु, अलि अलि नर्भस पनि छु।
मलाई लाग्छ 'परान' राम्रो बनेको छ। नेपाली समाजसँग सान्दर्भिक छ।
मैले धेरै पटक भनेको छु, हरेक वर्ष ८ देखि १० लाख नयाँ युवा रोजगार बजारमा आउँछन्। त्यसमध्ये ८०–९० प्रतिशत बाहिर काम गर्न जान्छन्। बाँकीलाई पनि हामीले रोजगारी दिन सकेका छैनौं। यो हाम्रो चुनौती हो।
उनीहरूलाई रोक्नु पनि ठीक हुँदैन। किनभने हरेकले आफ्नो सामाजिक र आर्थिक स्तर बढाउन चाहन्छन् र एउटा अवसर खोज्छन्। आफ्नो जीवनस्तर सुधार गर्न चाहन्छन्।
तर उनीहरूले घर छाडेर गइसकेपछि समाजमा, खासगरी परिवारमा के असर पर्छ? आर्थिक रूपमा सहयोग भए पनि सामाजिक रूपमा के असर पर्छ। परान सिनेमाले यही कुरा देखाउँछ।
सान्दर्भिक कथामा बनेको सिनेमा भएकाले उत्साहित छु। अर्कातिर मेरो पहिलो सिनेमा भएकाले नर्भस छु।
परान निर्माणमा कसरी जोडिनुभयो? सिनेमा निर्माण पहिल्यैदेखिको योजना हो वा अचानक बनेको?
प्रिज्मा एड्भरटाइजिङका सिइओ रञ्जित आचार्य लामो समयदेखि विज्ञापन क्षेत्रमा हुनुहुन्छ। मैले र उहाँले ८ वर्षअघि 'बाइस्कोप सिनेमा प्रालि' खोलेका थियौं। त्यसैले सिनेमामा प्रवेश गर्ने योजना त थियो नै।
परान रोज्नुअघि हामीले दस वटा जति कथावस्तु हेर्यौं। म र रञ्जितजीलाई सिनेमामा मौलिकता देखाउनुपर्छ भन्ने थियो। नेपाली सन्दर्भ र आफ्नोपन भए मात्र सिनेमाको एउटा अर्थ हुन्छ भन्ने थियो। त्यसैले धेरै कथावस्तु अस्वीकार गर्यौं। परान भने ठ्याक्कै हामीले खोजेजस्तो हो।
हुन त म सुटिङमा एकचोटि पनि गइनँ। सिनेमा कसरी बन्छ भन्ने प्राविधिक पक्षबारे मलाई जानकारी पनि छैन। तर सिनेमामा पूर्ण विश्वास भएकाले धेरै आशावादी र उत्साही छौं।
सिनेमा निर्माण तपाईंका लागि के हो? सोख, सामाजिक उत्तरदायित्व वा नयाँ व्यवसायमा लगानी?
सिनेमा निर्माण मेरो सोख होइन, सामाजिक उत्तरदायित्व पनि होइन। मैले यसलाई व्यावसायिक दृष्टिकोणले नै हेरेको छु। व्यावसायिक रूपमा सफल भएपछि मात्रै अरू चिज हेर्न सकिन्छ। व्यावसायिक सफलता नभए न सामाजिक उत्तरदायित्व प्रस्तुत गर्न सकिन्छ, न सोख पूरा गर्न। त्यसैले लगानी व्यावसायिक रूपमा सम्भाव्य पनि हुनुपर्छ।
तर यो वा अरू सिनेमाको सफलता वा असफलताले हाम्रो कम्पनी बाइस्कोप सिनेमाले भविष्यमा के गर्छ भन्न्नेमा भूमिका खेल्दैन। हामीले अहिल्यै तीन वटा कथावस्तुमा काम गरिरहेका छौं। अर्को सिनेमाको घोषणा एक महिनाभित्रै गर्न सक्छौं।
एउटा स्थापित कर्पोरेट क्षेत्र फिल्म निर्माणमा आइसकेपछि लगानी पनि बढ्छ। यसले व्यावसायिकता बढाउन मद्दत गर्छ। कर्पोरेट क्षेत्रमा भएको व्यावसायिक–संस्कृति सिनेमा उद्योगमा पनि आयो भने एउटा राम्रो वातावरण बन्छ।
उदाहरणका लागि, अहिले यो सिनेमा बनाउँदा हामीले लेखा परीक्षकहरूलाई संलग्न गरायौं। हरेक कलाकारसँग कागजी सम्झौता गर्यौं। उनीहरूलाई कहिले, कति पैसा दिन्छौं भनेका थियौं, त्यही अनुसार दियौं। काम गरेपछि सबैले पैसा पाउनुपर्छ। व्यावसायिक नैतिकतामा यो एकदमै महत्वपूर्ण छ।
मलाई लाग्दैन, कोही एक जनाले पनि बाइस्कोप सिनेमाले करार अनुसार पैसा दिएको छैन भन्न सक्छ। यो पनि एउटा व्यावसायिकताकै आधार हो।
अर्को कुरा सिनेमामा लगानी बढ्नुपर्छ। लगानी बढेपछि नतिजा राम्रो आउँछ। लगानी सीमित भयो भने खुम्चिएर काम हुन्छ, फिल्म पनि त्यति राम्रो नबन्न सक्छ। राम्रो बजेट भए गुणस्तर बढाउन सकिन्छ, दर्शक पनि बढ्छन्। लगानीको प्रतिफल आउँछ।
जोखिम भए पनि नतिजा राम्रो हुन्छ भन्ने सोचेर हामी सिनेमामा अझै लगानी थप्ने सोचिरहेका छौं।
तर प्रतिफल आउनुपर्छ भन्दैमा यो भोलिको कुरा होइन, लामो अवधिको कुरा हो। एउटै सिनेमाबाट मैले प्रतिफल हेरेको छैन। म हरेक वर्ष चार–पाँच वटा सिनेमा बनाउने खाका बनाउँदैछु। यसरी लगानी गरेपछि प्रतिफल पनि लामो अवधिमा हेर्ने हो।
त्यसैले एउटै सिनेमाको सफलता वा असफलताले मेरो योजना बदलिँदैन।
तपाईंले औद्योगिक क्षेत्रमा वर्षौं बिताउनुभयो। त्यो अनुभव सिनेमा निर्माणमा कत्तिको सहयोगी भयो?
म हुर्केकै व्यावसायिक क्षेत्रमा हो। मैले पूरै देशमा व्यापार गरेको छु। हजारौंलाई रोजगारी दिएको छु। ग्राहकसँग अन्तर्क्रिया गरेको छु। उनीहरूको आर्थिक व्यवहार कस्तो छ, उनीहरू के चाहन्छन्, के समस्या छ भन्ने बुझेको छु। हामी सय वर्षसम्म टिकेको कारण नै व्यावसायिक नैतिकतामा चलेकाले हो।
सिनेमामा मेरो केही अनुभव छैन। तर जसरी मेरो संगठनमा मभन्दा सक्षम मानिस छन्, यो क्षेत्रमा पनि धेरै सक्षम मानिस छन्। मैले गर्ने भनेको लगानी हो। त्यसैले म अरू कुरामा हस्तक्षेप गर्न सक्दिनँ। तर हाम्रो टिमको काम राम्रो छ भन्ने विश्वास छ।
व्यावसायिक व्यवस्थापन र प्रणालीमा भने मैले ध्यान दिएको छु।
तपाईं आफू नेपाली फिल्म कत्तिको हेर्नुहुन्छ?
फुर्सद मिल्यो भने हेर्छु। पछिल्लो समय 'पूर्ण बहादुरको सारंगी' र 'ऊनको स्वीटर' हेरेँ। अहिले 'जेरी अन टप' चर्चामा छ, हेर्न जान्छु होला।
'जेरी' नहेरे पनि अगाडिका दुइटा सिनेमाले नेपाली मौलिकता बोकेका छन्। बजारयोग्य पनि छन्। 'परान' पनि त्यही वर्गमा आउँछ भन्ने मलाई लाग्छ।
नेपाली सिनेमाको वर्तमान अवस्था कसरी मूल्यांकन गर्नुभएको छ? सुधार गर्नुपर्ने पाटो के जस्तो लाग्छ?
नेपाली सिने उद्योगमा 'क्रिएटिभिटी' धेरै छ जस्तो लाग्छ। र, यो बढ्दै पनि छ। यो क्षेत्रका मैले भेटेका व्यक्तिहरू एकदमै रचनात्मक र प्रभावशाली छन्। उनीहरूलाई राम्रो तरिकाले परिचालन गर्न सकियो भने अझै धेरै राम्रा फिल्म बन्न सक्छन् भन्ने विश्वास छ।
कमी वा सीमितता भनेको लगानीको हो जस्तो लाग्छ। यसलाई सुधार्दै लैजानुपर्छ।
आउँदा दिनमा तपाईंहरूको कम्पनी बाइस्कोप सिनेमाले कस्ता फिल्म ल्याउँछ?
वर्षमा तीन–चार वटा सिनेमा ल्याउने सोच हो। प्रदर्शन नभएका एक–दुइटा फिल्म प्राप्त गर्न पनि सक्छौं। तिनलाई बाइस्कोपको ब्यानरबाट ल्याउन सक्छौं।
बाइस्कोपले यस्तै मात्र फिल्म ल्याउने भन्ने त छैन तर अश्लिलता चाहिँ कहिल्यै हुँदैन। पारिवारिक सिनेमा हुन्छन्। मेरो परिवारसँग बसेर हेर्दा मेरो मुख रातो हुने सिनेमा ल्याउन चाहन्नँ। पारिवारिक र मौलिकता हुनु चाहिँ हाम्रो पूर्वसर्त हो।
अब अरू व्यापारिक घराना/समूह पनि यो क्षेत्रमा लाग्लान्, लगानी बढाऊलान्! केही सुझाव छ?
परान सफल भयो भने शेखर गोल्छाले गर्यो, हामी पनि गरौं न भनेर आऊलान्, असफल भए नआऊलान्।
म चाहिँ फेरि पनि भन्छु, यो मेरो दीर्घकालीन योजना हो। दीर्घकालीन रूपमा कसैले यसमा लगानी गर्न चाहन्छ भने सबैलाई स्वागत छ।
मैले बुझे अनुसार दस वटा सिनेमा बनायो भने दुई–तीन वटा चल्छन्, राम्रो पैसा उठाउँछन्। तीन–चार वटा असफल हुन्छन् अनि दुई–तीन वटाले औसत व्यापार गर्छन्। तपाईंको अहिलेको सिनेमा कुन चाहिँ पालोमा पर्ने हो, त्यो थाहा हुँदैन। कहिले राम्रै सिनेमाले पनि पैसा कमाउँदैनन्।
अर्कातिर नेपालको डायस्पोरा फराकिलो र बलियो हुँदैछ। उनीहरू मनोरञ्जनमा खर्च गर्न चाहन्छन्। त्यो आधारमा नेपाली फिल्मको भविष्य राम्रो देखेको छु।
परान हेर्न जाने दर्शकले के पाउँछ?
मैले सुरूमा पनि भनेँ, हामीकहाँ युवालाई पर्याप्त अवसर छैन। विदेशमा मात्र अवसर हुन्छ भन्ने सोच पनि छ जसलाई नराम्रो भन्न पनि मिल्दैन। किनभने राम्रो अवसर खोज्दै कहीँ जानु हरेक मानिसको अधिकार हो। त्यसले कति धेरै जीवन सहज बनाइरहेको हुन्छ। यो एकदमै सकारात्मक कुरा भयो।
तर अर्को पाटो, यसले समाजमा एक किसिमको निराशा ल्याएको छ। गाउँहरू शून्य भएका छन्। जनसंख्या नै ऋणात्मक वृद्धिमा गइसक्यो। युवाहरू बाहिरिँदा प्रभाव त पक्कै हुन्छ। परान फिल्मले यही देखाउने प्रयास गरेको छ।
यसले धेरै मान्छेको मनमा प्रश्नहरू जगाउँछ भन्ने लाग्छ।
आगामी सिनेमाबारे केही बताइदिनुहोस् न?
त्यसबारे अहिले धेरै नखुलाऔं। तर मेरो अर्को सिनेमा सम्भवतः मनोवैज्ञानिक कथामा हुन्छ। माथि मैले भनेजस्तै मैले कोरेको दायराभन्दा बाहिर जाँदैन। अहिले यत्ति नै!