गुड फ्राइडे सिनेमा
सन् १९८६ को कुरा हो।
पाँच वर्षीय सरू भारतको मध्य प्रदेशस्थित खण्डवामा आफ्ना दाजु गुड्डु, सानी बहिनी शकिला र आमासँग बस्छन्।
गुड्डु र सरू मालवाहक रेलबाट कोइला चोर्छन्। त्यो कोइला दूध र खानासँग साट्छन्।
एक रात सरू गुड्डुसँगै काममा गएका हुन्छन्। उनीहरू नजिकैको रेलवे स्टेसन पुग्छन्। केही समयपछि सरू बेन्चमा सुत्छन्। जब बिउँझिन्छन्, गुड्डु त्यहाँ हुँदैनन्। सरू दाजुलाई खोज्दै खाली रेलमा चढ्छन्। त्यहाँ खोज्दा खोज्दै उनी एउटा डब्बामा फेरि निदाउँछन्।
केही समयपछि आँखा खुल्दा रेल चलिरहेको हुन्छ।
केही दिनपछि रेल कोलकाता पुग्छ। सरू रेलबाट उत्रिन्छन् तर स्थानीय बंगाली भाषा बुझ्दैनन्। उनी अलपत्र पर्छन्। केही सडक बालबालिकासँग स्टेसनमै रात बिताउँछन्।
केही व्यक्तिले अपहरण गर्ने प्रयास गरेपछि सरू त्यहाँबाट भाग्छन्।
सरू सहरभरि भौंतारिन्छन्। उनको भेट नूर नामकी एक महिलासँग हुन्छ। नूरले उनलाई आफ्नो घर लैजान्छिन् र राम नामका व्यक्तिले उनलाई घर फर्किन सहयोग गर्ने बताउँछिन्। तर सरूलाई उनीहरूको नियत शंकास्पद लाग्छ र उनी त्यहाँबाट भाग्छन्।
दुई महिना हावडा पुल नजिकै बिताएपछि प्रहरीले उनलाई फेला पारेर अनाथालयमा पठाउँछ।
सरूका बारेमा स्थानीय पत्रपत्रिकामा विज्ञापन प्रकाशन गरिन्छ, तर कसैले प्रतिक्रिया दिँदैन। यसैबीच अस्ट्रेलियाको एक दम्पती उनलाई धर्मपुत्रका रूपमा लिन इच्छुक हुन्छन्।
सरू सन् १९८७ मा सू र जोन ब्रियरलीको साथमा अस्ट्रेलिया जान्छन्।
के उनले त्यहाँ आफ्नो नयाँ जीवन सुरू गर्न सक्छन्?
के उनले जीवनमा फेरि आफ्नी आमा र दाजुबहिनीलाई भेट्छन्? वा, उनको जीवनमा बेग्लै मोड आउँछ?
यो थाहा पाउन अस्ट्रेलियन–बेलायती फिल्म 'लायन' हेर्नुहोला।
यो फिल्मको नाम लायन किन राखियो भन्ने पनि तपाईंलाई अन्तिममा थाहा हुन्छ।
हिन्दी, अंग्रेजी र बंगाली भाषाको मिश्रणमा बनेको यो फिल्म अस्कर अवार्ड्सका ६ विधामा मनोनीत थियो। कुनै अवार्ड नजिते पनि यसले सर्वत्र प्रशंसा बटुलेको थियो।
बाफ्टामा भने यसले दुइटा अवार्ड जितेको थियो।
त्यस्तै अस्ट्रेलियाको आक्टा अवार्ड्समा यो १२ विधामा मनोनीत थियो र सबैमा जितेको थियो।
यो फिल्मले कमाइमा पनि निकै राम्रो गरेको थियो। जम्मा एक करोड दुई लाख अमेरिकी डलरमा बनेको लायनले १४ करोड डलरभन्दा बढी कमाएको थियो।
यो फिल्म सारू ब्राइरलीको आत्मसंस्मरण 'अ लङ वे होम' मा आधारित छ।