दसैंको छेको पारेर गायक तथा सर्जक प्रकाश दुतराज फेरि नयाँ सांगीतिक कोसेलीसहित झुल्किएका छन्।
'मायालाई त दिन मन छ फूलै बुट्टे रूमाली
छ नी हो माया भोलिको भर हुन्न
बगेरै जानी खोलीको भर हुन्न।'
यो प्रेमगीत हो। यद्यपि, यसमा मायापिरतीका मीठा भाव मात्रै छैनन्, यसपटक प्रकाशले एउटा समुदायको मौलिक संस्कृति र परदेशिनुको कथा पनि पस्किने प्रयास गरेका छन्।
उसो त लोकगीतमा आफ्नै स्वाद पस्किने सर्जक हुन्, प्रकाश।
उनको स्वरमा जति आफ्नै किसिमको मिठास छ, शब्द र संगीतमा उत्तिकै मौलिकता भेटिन्छ।
अझ उनका गीतमा गाउँघरका कथा, नेपाली समाजको जीवनशैली र कला-संस्कृतिका सुन्दर दृश्य देख्न पाइन्छन्। उनी गीत ल्याउन हतार गर्दैनन्। समय लगाएर सिर्जना गर्छन् र केही फरक स्वाद दिने प्रयास गर्छन्।
पछिल्ला केही वर्षयता दसैंको आसपास नयाँ गीत ल्याउँदै आएका प्रकाशले यसपालि 'शिरमै फूल माया' स्रोता तथा दर्शकसामु सुम्पिएका हुन्।
यसपटकको प्रस्तुति भने केही फरक छ। झन्डै २४ मिनेट लामो म्युजिक भिडिओमा दुइटा गीत समेटेका छन्- 'शिरमै फूल माया' र 'सुगाचरी'। दुवै गीतले एउटै कथालाई अगाडि बढाएका छन्।
गीतमा विशेषगरी मगर समुदायको विवाह संस्कारलाई कथाको महत्वपूर्ण हिस्सा बनाइएको छ। गाउँघरको परिवेश, मौलिक पहिरन, भाषा र परम्परालाई भिडियोमा उतार्ने प्रयास गरिएको छ।
कथा मगर समुदायमा हुर्किएका एक युवकको हो। साथीका लागि केटी माग्न जाँदा उनलाई त्यहीँकी अर्की युवती मन पर्छ। संयोगले ती युवती बेहुलीलाई पुर्याउन लोकन्ती बनेर युवकको गाउँ पुग्छिन्। फर्किने क्रममा उनीहरूबीच प्रेम अंकुराउँछ। बिस्तारै सम्बन्ध गहिरिन्छ र उनीहरू पनि विवाह बन्धनमा बाँधिन्छन्।
तर, विवाहसँगै कथाले अर्को मोड लिन्छ। पहाडी गाउँको अभाव, सीमित आम्दानी र पारिवारिक जिम्मेवारीले युवकलाई परदेशिन बाध्य बनाउँछ।
प्रेमको मिठाससँगै बिछोडको पीडा जोडिन्छ। यही भावलाई दुई गीतमार्फत प्रकाशले एउटै कथामा उनेका छन्।
निर्देशक नवीन घर्ती मगरका अनुसार घाँसदाउरा, गोठालो, खेतीपाती र गाउँले जीवनका गतिविधिलाई भिडिओमा समेटिएको छ।
'पहाडी भेगमा खेतीपातीबाट मात्रै वर्षभरि खान नपुग्ने परिवारहरू थुप्रै पाइन्छ। विवाहपछि परिवारको जिम्मेवारी थपिन्छ। त्यसपछि कमाउन परदेश जानुपर्ने बाध्यता आउँछ। यो त हामीले देख्दै/सुन्दै आएको कथा हो,' नवीन भन्छन्, 'हामीले त्यही परिवेश र त्यहाँका मानिसको जीवनलाई भिडिओमा देखाउन खोजेका हौं।'
रोचक कुरा त के छ भने भिडिओमा देखाइएको मगर समुदायको विवाह संस्कार निर्देशक नवीनकै आफ्नै विवाहको अनुभवलाई कथामा उतारेका हुन्।
'मेरो विवाह पनि त्यसरी नै भएको हो। केटी माग्न जानेदेखि घरमा भित्र्याउनेसम्मका संस्कारलाई भिडिओमा उतारेका छौं,' उनी सुनाउँछन्।
नवीनका अनुसार मगर समुदायमा विवाहका लागि कोसेलीसहित ठेकी लिएर केटीको घर जाने चलन छ। बेहुला पक्षले लगेको कोसेली केटीका बुवाले स्वीकार गरेर घरभित्र राखेपछि विवाहको प्रस्ताव स्वीकार भएको मानिन्छ। भिडिओमा यही परम्परालाई देखाइएको छ।
प्रकाशका अनुसार नवीनले कथा, पात्र, परिवेश र समयको खाका दिएपछि उनीहरूले झन्डै तीन-चार महिना अध्ययन र तयारी गरेका थिए। त्यसपछि नवीनले भिडिओको जिम्मेवारी सम्हाले भने प्रकाश गीतको सिर्जनामा जुटे।
'नवीनजीले एउटा कथा, पात्र, परिवेश र समय दिनुभयो। त्यसपछि हामीले तीन/चार महिना त्यसमा अध्ययन र तयारी गर्यौं,' प्रकाश भन्छन्, 'उहाँले भिडिओको पाटो सम्हाल्नुभयो, म अडिओको काममा लागेँ।'
मगर समुदायमै हुर्किएका प्रकाशलाई यसअघि पाल्पामा कार्यक्रम गर्न जाँदा देखेको एउटा पक्षले पनि छोएको रहेछ। त्यहाँ मगर समुदायका मानिस मात्रै नभई गाउँका अन्य समुदायले समेत मगर भाषा बोल्ने गरेको उनले देखेका थिए। त्यही विशेषतालाई भिडिओमा पनि समेटिएको उनी बताउँछन्।
प्रकाशले यसअघि 'मनमाया'मा नेवार संस्कृतिलाई छोएका थिए। 'मनमायामा पनि हामीले नेवार संस्कृतिलाई केही हदसम्म देखाउन खोजेका थियौं। यसपटक मगर संस्कृतिलाई छोएका छौं,' प्रकाश भन्छन्, 'एउटै भिडिओमा दुइटा गीतमार्फत कथा भन्ने यो हाम्रा लागि नयाँ प्रयास हो। दर्शक-स्रोताले कसरी लिनुहुन्छ भन्ने कताकता डर पनि थियो।'
उनले गतवर्ष दसैंमा 'छैन र माया' ल्याएका थिए। त्यसअघिको वर्ष 'रेशम', त्यो भन्दा अघिल्लो वर्ष 'रिमै' सार्वजनिक गरेका थिए। यी सबै गीत चर्चित छन्।
दसैंको आसपास लगातार गीत आइरहे पनि दसैंकै लागि भनेर गीत बनाउने नगरेको प्रकाश बताउँछन्। 'दसैं भनेरै त होइन, तर यो समयको माहोल मन पर्ने भएर पनि होला,' उनी सुनाउँछन्।
'शिरमै फूल माया'मा प्रकाश र मेलिना राईको स्वर छ। प्रकाशकै शब्द तथा संगीत संकलन रहेको गीतको संगीत संयोजन सुदीप सागरले गरेका हुन्। दोस्रो गीत 'सुगाचरी'मा प्रकाशसँग शान्तिश्री परियारले स्वर दिएकी छन्। यसमा प्रकाशकै शब्द र संगीत छ भने संगीत संयोजन कृष्ण केसीले गरेका हुन्।
भिडिओमा प्रकाश र तनु बलामी मगरले मुख्य भूमिकामा अभिनय तथा नृत्य गरेका छन्। भिडिओको कोरियोग्राफी मुकेश नेपालीले गरेका हुन् भने छायांकन अनिल के. मानन्धरको छ। सम्पादन र कलर पनि निर्देशक नवीन स्वयंले गरेका छन्।
बिहीबार बेलुका युट्युबमा सार्वजनिक भएको गीतले छोटो समयमै स्रोता तथा दर्शकको माया बटुलिरहेको देखिन्छ।
शुक्रबार बेलुकासम्म यसको भिडिओलाई युट्युबमा झन्डै १० लाखपटक हेरिएको छ।
गीतमा थुप्रैले रिल्स तथा टिकटक भिडिओ बनाइरहेका छन्:-
'पिरती गाँठे मुटु खानी भो
दुई दिनको मायाले लौन ज्यानै लानी भो।'