गायिका समीक्षा अधिकारीले गत वर्षको दसैं अस्ट्रेलियामा मनाइन्। परिवारबाट टाढा भए पनि उनकी दिदी साथमा थिइन्। त्यसैले त्यो दसैं त्यति धेरै खल्लो लागेन। तर, यस वर्षको दसैं उनका लागि अलि फरक छ।
समीक्षा अहिले सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिका टुरमा छिन्। असोज ७ गते त्यसतर्फ गएकी उनको अमेरिका बसाइ एक महिना पुग्न थालेको छ। यो उनको पहिलो अमेरिका यात्रा हो। त्यसैले यो टुर उनका लागि उत्साह र नयाँ अनुभव बटुल्ने अवसर बनेको छ।
तर, दसैंमा परिवारसँग हुन नपाउँदा भने समीक्षालाई केही खल्लो लागिरहेको छ।
'अमेरिका आउने कार्यक्रम धेरैअघि नै तय भइसकेको थियो। पहिलोपटक अमेरिका आउने भएकाले रहर पनि थियो,' सेतोपाटीसँगको कुराकानीमा समीक्षाले भनिन्, 'तर दसैंमा परिवारसँग नहुँदा अलि खल्लो लागिरहेको छ।'
उसो त अमेरिकामा नेपाली समुदायको बाक्लो उपस्थिति छ। सांगीतिक कार्यक्रमका क्रममा उनले नेपाली स्रोता तथा दर्शकको भरपुर माया पाइरहेकी छन्। तर, यसपालि चाडपर्वमा आफ्नै परिवारसँग हुनुको बेग्लै खुसी भने नभएको समीक्षा बताउँछिन्।
'यहाँ पनि धेरै नेपाली दाजुभाइ, दिदीबहिनी र बुवाआमाहरू हुनुहुन्छ। सबैले माया गर्नुहुन्छ। तर, दसैंमा आफ्नै बाबा-ममी, हजुरआमा, दाइदिदी सबैलाई धेरै मिस गरिरहेकी छु। परिवार धेरै मिस भइरहेको छ,' उनी भन्छिन्।
दसैं भन्नासाथ समीक्षाको मनमा सबभन्दा पहिले ठूलाबडाको आशीर्वाद सम्झनामा आउँछ। त्यसपछि सम्झिन्छिन्, गाउँघरका साथीभाइ, नयाँ लुगा, पिङ र घरघरमा टीका थाप्दै हिँडेका दिन।
अस्ट्रेलियामा दिदीसँग समीक्षा।
कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोककी समीक्षा आफ्ना लागि बाल्यकालका हरेकजसो दसैं अविस्मरणीय रहेको बताउँछिन्। दसैं आउनुभन्दा एक महिनाअघिदेखि नै उनलाई उत्साहले छोप्थ्यो। विद्यालय बिदा हुने, नयाँ लुगा लगाउन पाइने र साथीहरूसँग रमाइलो गर्न पाइने कुराले उनी औधी खुसी हुन्थिन्।
समीक्षा सम्झिन्छिन्, 'दसैंमा साथीभाइसँग मिलेर गाउँका अरूको घरमा टीका लगाउँदै हिँडेको क्षण कहिल्यै बिर्सन सक्दिनँ। नयाँ लुगा लगाउने र पिङ खेल्ने कुराको पनि छुट्टै रमाइलो हुन्थ्यो।'
विदेश तथा सहर गएका गाउँका दाजुभाइ तथा दिदीबहिनी दसैंमा घर फर्किँदा गाउँको वातावरण नै बदलिन्थ्यो। गाउँमा छुट्टै रौनक छाउँथ्यो। घरमा पाहुना आउँदा पनि समीक्षा उत्तिकै रमाउँथिन्।
दसैंसँग जोडिएका खानेकुराका सम्झना पनि उनीसँग प्रशस्तै छन्। घरमा च्याङ्ग्रा ल्याइन्थ्यो। सेलरोटी, चिनी रोटी र मासुका विभिन्न परिकार बन्थे। तीमध्ये सेलरोटी, मिठाइका परिवार र पक्कु उनलाई विशेष मन पर्थ्यो।
'दसैंमा घरमा सेलरोटी र चिनी रोटी बनाउनुहुन्थ्यो। मलाई ती परिकार असाध्यै मन पर्थे। पक्कु पनि निकै मीठो लाग्थ्यो,' उनी सुनाउँछिन्।
गायनमा शिखरमा पुगेसँगै समीक्षाको दसैं केही बदलिएको छ। पहिले घरमै बसेर चाडपर्वको तयारी गर्ने, परिवारसँग योजना बनाउने र रमाइलो गर्ने समय हुन्थ्यो। अहिले भने सांगीतिक कार्यक्रमका लागि देशविदेश पुग्नुपर्छ।
यही व्यस्तताका कारण लगातार दोस्रो वर्ष उनले परिवारसँग दसैं मनाउन नपाउने भइन्। यद्यपि, यसपालि अमेरिकामा रहेकी एक साथीसँग दसैं मनाउने योजना रहेको समीक्षाले बताइन्।
अमेरिकाको भ्रमण सकेर समीक्षा तिहारपछि मात्रै नेपाल फर्किनेछिन्। उनको नेपाल फर्कने मिति कात्तिक ३० (नोभेम्बर १६) तय छ। त्यसैले यसपालि समीक्षाको दसैंसँगै तिहार पनि विदेशमै बित्नेछ।
त्यहाँ सांगीतिक यात्राको उत्साह र दर्शकको माया त छँदै छ। तर यतिबेला समीक्षाको मन भने आफ्नै गाउँघर र परिवारतिरै पुगिरहेको छ।
