चर्चित फिल्म शृंखला 'कबड्डी'मा सोल्टिनी फेरिने क्रम नयाँ होइन। पहिलो शृंखलामा रिश्मा गुरूङले निर्वाह गरेको मैयाँको भूमिकाले दर्शकको मन जित्यो। तेस्रो शृंखलामा उपासना सिंह ठकुरी जोडिइन् भने चौथोमा मिरूना मगरको प्रवेश भयो।
पाँचौं शृंखलामा मिरूनाको निरन्तरता छ भने रिश्मा पनि फर्किएकी छन्। यसपटक यी परिचित अनुहारसँगै नयाँ सोल्टिनीको आगमन भएको छ।
उनी हुन्, सिर्जना गुरूङ।
बेलायतमा क्लिनिकल रिसर्चको क्षेत्रमा काम गरिरहेकी सिर्जनाका लागि 'कबड्डी ५' मा जोडिनु अप्रत्याशित अवसर थियो। उनले बासुरी फिल्म्सको फेसबुक पेजमा अडिसन खुलाइएको सूचना देखेपछि आफ्नो भिडिओ इमेल गरेकी थिइन्।
तर, उक्त अडिसन कुन फिल्मका लागि हो भन्ने उनलाई थाहा थिएन। छनोटमा परेको खबर पाएपछि मात्रै आफू नेपाली फिल्मको चर्चित शृंखलाको हिस्सा बन्न लागेको उनले थाहा पाइन्।
सेतोपाटीसँगको कुराकानीमा 'कबड्डी ५' मा छनोट भएको खबर सुन्दाको क्षण सम्झँदै सिर्जना भन्छिन्, 'उहाँहरूले 'कबड्डी ५' हो भन्नुहुँदा म एकछिन त अड्किएँ। मेरो मुटु नै रोकिएजस्तो भयो।'
बेलायतमा जागिरसँगै अभिनयप्रतिको रूचिलाई पनि समय मिलाएर अगाडि बढाइरहेकी सिर्जनाका लागि यो अवसर उत्साहजनक थियो। तर, स्थापित फिल्म शृंखलामा नयाँ अनुहारका रूपमा प्रवेश गर्नु कम चुनौतीपूर्ण थिएन।
पुराना पात्र र कलाकारसँग दर्शकको भावनात्मक सम्बन्ध जोडिएकाले आफ्नो भूमिकालाई दर्शकले कसरी लिने हुन् भन्ने डर उनलाई थियो।
'कबड्डीलाई दर्शकले पहिलेदेखि नै माया गर्दै आउनुभएको छ। त्यसैले नयाँ पात्रका रूपमा आउँदा मेरो भूमिकालाई कसरी लिनुहुन्छ भन्ने लागिरहेको थियो। अलि नर्भस पनि थिएँ,' सिर्जना भन्छिन्, 'अहिले फिल्म प्रदर्शनको तयारीमा छ। दर्शकले मेरो कामलाई कसरी लिनुहुन्छ भन्ने उत्सुकता छ। मन पराइदिनुहुन्छ भन्ने आशा राखेकी छु।'
सिर्जना र निर्देशक रामबाबु गुरूङबीचको चिनजान भने ‘कबड्डी ५’ को अडिसनबाट मात्रै सुरू भएको होइन।
सन् २०२० तिरै रामबाबुले सामाजिक सञ्जालमा सिर्जनाका तस्बिर र काम देखेपछि अभिनयमा रूचि छ कि छैन भनेर सोधेका रहेछन्। सिर्जनाले पनि अवसर पाए अभिनय सिक्दै अघि बढ्ने इच्छा व्यक्त गरेकी थिइन्। सन् २०२२ मा पारिवारिक कामका लागि नेपाल आएका बेला रामबाबुसँग उनको भेट भयो। त्यतिबेला पनि फिल्ममा काम गर्ने रूचिबारे कुराकानी भएको थियो। त्यसको केही वर्षपछि बासुरी फिल्म्सको अडिसनले सहकार्य जुर्यो।
अडिसन कुन फिल्मका लागि हो भन्ने नखुले पनि छनोटमा पर्न सके अभिनय क्षेत्रमा नयाँ अनुभव हासिल गर्ने सिर्जनाको अपेक्षा थियो। तर, 'कबड्डी ५' जस्तो चर्चित शृंखलाबाटै अभिनेत्रीका रूपमा डेब्यू गर्ने अवसर मिल्ला भन्ने उनले सोचेकी रहेनछिन्।
फिल्ममा सिर्जना मुस्ताङकी विवाहित महिलाको भूमिकामा छिन्। उनको पात्र सरल, सोझो र कम बोल्ने स्वभावको छ। मुस्ताङबाहिर खासै आवतजावत नगरेकी, धेरै कुरा मनमै राख्ने र परिस्थितिलाई चुपचाप सहेर बस्ने महिलाको चरित्र निर्वाह गरेको सिर्जनाले बताइन्।
'मेरो पात्र धेरै बोल्ने खालको छैन। ऊ सरल छे, सोझी छे र धेरै कुरा मनमै राख्छे,' सिर्जना पात्रबारे भन्छिन्।
काजीको जीवनमा उनको प्रवेश कसरी हुन्छ र कथालाई कुन मोडतर्फ लैजान्छ भन्ने कुरा भने फिल्ममै खुल्नेछ। त्यसैले आफ्नो पात्रको कथासँगको सम्बन्धबारे उनी अहिले धेरै खुलाउन चाहन्निन्।
नेपाली फिल्मका परिचित कलाकारहरूसँग पहिलोपटक ठूलो पर्दाको फिल्ममा काम गर्नु उनका लागि सिक्ने अवसर पनि बन्यो। नयाँ भएकाले पात्रलाई कसरी बुझ्ने, दृश्यमा कसरी प्रस्तुत हुने र सेटमा कसरी काम गर्ने भन्ने विषयमा उनले कलाकार तथा निर्देशकबाट सहयोग पाएको बताउँछिन्। विशेषगरी दयाहाङ राईसँगको सहकार्य उनका लागि नयाँ अनुभव थियो।
सिर्जनाले सन् २०१७ मा ‘मिस यूके नेपाल’ प्रतियोगिताको उपाधि जितेकी थिइन्। त्यसपछि म्युजिक भिडिओ र सर्ट फिल्ममा काम गरिन्। बेलायतमा नेपाली समुदायका विभिन्न कार्यक्रममा उद्घोषकका रूपमा समेत सक्रिय रहँदै आएकी छन्। गुरूङ भाषा, संस्कृति र परम्परालाई नयाँ पुस्तासँग जोड्ने काममा पनि उनको संलग्नता छ।
पोखरा घर भएकी सिर्जनाको जन्म हङकङमा भएको हो। उनका बुवा ब्रिटिस आर्मीमा कार्यरत थिए। जन्मेको ११ महिनामा नेपाल आएकी उनी पोखरामा कक्षा तीनसम्म पढिन्। त्यसपछि परिवारसँगै ब्रुनाई हुँदै बेलायत पुगिन्। त्यहाँ उनले बायोमेडिकल साइन्समा स्नातक गरिन्। र, अहिले क्लिनिकल रिसर्चको क्षेत्रमा काम गरिरहेकी छन्। सिर्जनाका अनुसार उनको काम औषधी सर्वसाधारणको प्रयोगमा आउनुअघि गरिने अनुसन्धानसँग सम्बन्धित छ।
बेलायतमा बसे पनि नेपाली फिल्म र मनोरञ्जन क्षेत्रका गतिविधिबारे भने उनी जानकारी राख्ने गर्थिन्। 'कबड्डी' शृंखलाका अघिल्ला भागसमेत उनले बेलायतमै हेरेकी रहेछिन्। काजीको प्रेम र सम्बन्धको यात्राले आफूलाई तानेको बताउने उनी कुनै दिन नेपाली फिल्ममा अभिनय गर्ने सपना भने देख्थिन्। तर, यही शृंखलाबाट अवसर मिल्छ भन्ने सोचेकी थिइनन्।
'कबड्डी ५' पछि अभिनयलाई कति अघि बढाउने भन्नेमा सिर्जना अहिले नै निश्चित भइसकेकी छैनन्। बेलायतको जागिर छाडेर फिल्ममै केन्द्रित हुने योजना पनि उनले बनाएकी छैनन्। दुवै क्षेत्रमा रूचि रहेकाले अवसर र परिस्थिति अनुसार अघि बढ्ने सोच रहेको उनी बताउँछिन्।
उनका लागि फिल्ममा कति समय पर्दामा देखिने भन्नेभन्दा पनि पात्रले कथामा कस्तो योगदान दिन्छ भन्ने कुरा महत्वपूर्ण छ। भूमिका छोटो भए पनि त्यसले कथालाई अर्थपूर्ण बनाउँछ भने आफू त्यस्तो अवसर स्वीकार गर्न तयार रहेको उनी बताउँछिन्।
'मलाई धेरै स्क्रिन टाइम नै चाहिन्छ भन्ने छैन। पाँच मिनेट मात्रै भए पनि पात्रले कथामा केही अर्थपूर्ण योगदान दिन सक्छ भने त्यो महत्वपूर्ण हुन्छ,' उनी भन्छिन्।
अहिले भने सिर्जनाको ध्यान 'कबड्डी ५' मा आफ्नो कामलाई दर्शकले कसरी लिन्छन् भन्नेमै छ। यो फिल्म यही कात्तिक ६ गतेदेखि प्रदर्शन हुँदैछ।
सिर्जनाले 'कबड्डी ५' मा काम गर्दाको अनुभव, दयाहाङ राईसँगको सहकार्य र अभिनय यात्राबारे अरू के भन्छिन्?
बाँकी भिडिओमा:-