गुड फ्राइडे सिनेमा
बाल्यकालमा सँगै खेलेका, झगडा गरेका र एकअर्काका लागि जस्तोसुकै परिस्थिति सामना गर्न तयार भएका साथीहरू हुर्किँदै जाँदा उस्तै रहन्छन् त?
समय, महत्त्वाकांक्षा र परिस्थितिले उनीहरूबीचको सम्बन्ध कस्तो बनाउँछ?
दक्षिण कोरियाली फिल्म 'फ्रेन्ड' को कथा यही प्रश्नको वरिपरि छ।
सन् २००१ मा प्रदर्शन भएको यो फिल्मको निर्देशन क्वाक क्य–टेकले गरेका हुन्। कोरियाली भाषामा 'चिङ्गु' भनिने यो क्राइम ड्रामाले मित्रता र अपराधको संसार एकसाथ प्रस्तुत गरेको छ।
फिल्मको कथा दक्षिण कोरियाको बुसान सहरमा हुर्किएका चार बाल्यकालका साथीहरूमा केन्द्रित छ।
उनीहरूका पारिवारिक पृष्ठभूमि र स्वभाव फरक छन्। तर बाल्यकालमा यी भिन्नताले उनीहरूको दोस्तीमा खासै असर पार्दैन।
उनीहरू सँगै समय बिताउँछन्, रमाइलो गर्छन् र आवश्यक पर्दा एकअर्काको पक्षमा उभिन्छन्।
समय बित्दै जान्छ। उनीहरू विद्यालय तह पार गरेर आ–आफ्नो बाटो लाग्छन्। कसैले पढाइलाई प्राथमिकता दिन्छन् भने कसैको जीवनले अर्कै मोड लिन्छ।
बाल्यकालमा सँगै देखेका सपना र बाँडेका अनुभवका बाबजुद उनीहरूबीच दुरी बढ्न थाल्छ।
विशेषगरी जुन–सुक र डोङ–सु नामक पात्रको जीवनले लिने मोडले कथालाई गम्भीर बनाउँछ। उनीहरू अपराधको संसारमा प्रवेश गर्छन्, तर फरक समूहमा। यहीँबाट बाल्यकालमा बनेको मित्रता र वयस्क जीवनका स्वार्थबीच द्वन्द्व सुरू हुन्छ।
एकातिर पुरानो सम्बन्ध छ, अर्कातिर अपराधको संसारका नियम, प्रतिस्पर्धा र शक्ति संघर्ष। यस्तो अवस्थामा वर्षौं पुरानो दोस्ती जोगाउन कति सजिलो हुन्छ?
विगतको आत्मीयताले वर्तमानका निर्णयलाई रोक्न सक्छ कि सक्दैन?
फ्रेन्डले मित्रतालाई रमाइलो, हाँसो र साथका रूपमा मात्र प्रस्तुत गर्दैन। यसले साथीहरूबीचको विश्वास, अहंकार, बदलिँदो परिस्थिति र निर्णयका परिणामलाई पनि देखाउँछ।
फिल्मका पात्रहरू पूर्ण रूपमा असल वा खराब भनेर छुट्ट्याउन सजिलो छैन। उनीहरूका निर्णय र सम्बन्ध बुझ्दै जाँदा कथाले दर्शकलाई आफ्नै पुराना मित्रताको सम्झना पनि गराउन सक्छ।
दक्षिण कोरियामा प्रदर्शन हुँदा फ्रेन्डले ठूलो व्यावसायिक सफलता पाएको थियो। यो कोरियामा सन् २००१ मा वर्षकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो। त्यस्तै यसले थुप्रै अवार्डहरू पनि जितेको छ।
दोस्ती, विश्वासघात, अपराध र पुराना सम्झनाको कथा मन पराउने दर्शकका लागि 'फ्रेन्ड' ले निराश पार्दैन।
फिल्म हेर्न Watch on YouTube मा क्लिक गर्नुहोस्