क्विन एलिजाबेथ थिएटरबाट बाहिरिँदै गर्दा दर्शकहरूको अनुहारमा खुसीको उज्यालो देखिन्थ्यो। तर अरू दर्शक र २२ वर्षीया रिया बस्नेतको सन्तुष्टिमा आकाश पाताल फरक थियो।
पाठेघरको क्यान्सर चौथो स्टेजमा पुग्दासम्म दुईपटक शल्यक्रिया र विभिन्न थेरापी गराइसकेकी रियालाई आफ्नो जीवनकालकै प्रिय ब्यान्डको कन्सर्टमा सहभागी हुनु नै कठिन थियो।
उभिएर हेर्न सकस, नाच्नु त झन् असम्भवजस्तै। तैपनि उनी सोमबार बेलुकी टोरन्टोको हाउसफुल हलमा पुगिन्। सिटमा बसिरहन मनले मानेन। जसोतसो आफूलाई नाच्ने ठाउँसम्म पु¥याइन् र नाच्ने इच्छा पनि पूरा गरेरै छाडिन्।
'शरीरको अवस्थाले त्यहाँ नाचिरहेका अरू दर्शकभन्दा म बेग्लै थिएँ,' झापाको बिर्तामोडबाट क्यानडा आइपुगेकी वाणिज्यशास्त्र स्नातक रिया भनिरहेकी थिइन्, 'बाल्यकालदेखिको सपनाको प्रत्येक क्षणलाई भोग्न त्यहाँ म आफैंसँग संघर्ष गरिरहेकी थिएँ।’
रियाले अगाडि भनिन्, ‘यस क्षणलाई अब म जीवनको अन्तिम श्वाससम्मै साँचेर राख्नेछु।'
क्यानडाको व्यस्त व्यापारिक नगर टोरन्टोमा आयोजित नेपथ्यको शोका लागि दुई साताअघि नै टिकट ‘सोल्डआउट’ भइसकेको थियो।
सोमबार साँझ भरिभराउ हलभित्र नृत्य गरिरहेका सबै दर्शकको हाउभाउ उस्तै देखिए पनि कतिपयका कथा भने फरक थिए। त्यसैमध्ये एक थिइन् सोनिया तिवारी। लामो समयदेखि उत्तरी अमेरिकामा बसोबास गर्दै आएको नेपाली परिवारको तेस्रो पुस्ताकी उनी यसअघि कुनै नेपाली कन्सर्टमा गएकी रहेनछिन्।
'म जन्मिनुभन्दा पहिल्यैदेखि घरमा नेपथ्यका गीत बजिरहन्थे, तिनै गीत सुनेर म पनि हुर्किएँ,' सोनियाले सुनाइन्, 'स्टेजबाट गायक अमृतले हलभरिका दर्शकमाझ त्यति धेरै ऊर्जा फैलाउँछन् र आत्मालाई नै समात्छन् भन्ने त मैले कल्पना पनि गरेकी थिइनँ।'
नेपाली कार्यक्रम भएर पनि प्रत्येक सेकेन्डलाई महत्व दिइनु र असाध्यै व्यवस्थित तवरले आयोजना हुनु आफ्ना लागि थप आकर्षण बनेको उनले जानकारी दिइन्।
यस्ता अनुभूतिकै कारण सोमबार बेलुकी कन्सर्ट सकिनासाथ हलभरिका दर्शक बाहिर निस्कने तयारीमा लागेनन्। बरू उनीहरूले मञ्चबाट झुकेर अभिवादन गरिरहेका कलाकारहरू अघिल्तिर एकछिनसम्मै 'नेपथ्य, नेपथ्य' भन्दै नारा लगाइरहे। त्यति बेला जताततै नेपाली झन्डा हल्लिरहेको देखिन्थ्यो।
त्यसअघि मञ्चबाट गाइएका गीतहरूले मात्र होइन, बोलिएको प्रत्येक सन्देशले दर्शकमा ऊर्जा बढाएको थियो। जस्तो कि गायक अमृत गुरूङले ‘गाउँ गाउँबाट उठ’ गीत प्रस्तुत गर्नुअघि राखेको धारणा।
'नेपालको हरेक पटकको आन्दोलनमा यो गीत बज्यो र सत्ता परिवर्तन भयो,' त्यो गीत गाउनुअघि अमृत भनिरहेका थिए, 'तर हरेक पटक सरकारमा पुगेकाहरूले यस गीतको मर्म बिर्सिए।'
अमृतले त्यसै क्रममा 'भर्खरैको जेन–जी आन्दोलन' भनेर उच्चारण मात्र के गरेका थिए, सिंगो हल चर्को आवाजले भरियो।
'अघिल्लाले जस्तै नयाँ आउनुभएकाहरूले पनि यस गीतको मर्म भुल्ने काम नगरिदिनुहोला,' कुनै बेला पञ्चायती व्यवस्थाको विरोधमा श्याम तमोटले लेखेको र मञ्जुल-रामेशले गाउँदै हिँडेको यो गीत सम्झाउँदै उनले थपे, 'हिजोका गल्ती फेरि दोहोर्याउने काम भयो भने नेपालीले गाउँ गाउँबाट अनि बस्ती बस्तीबाट उठेर फेरि यसरी नै सतर्क गराउनेछन्।'
त्यतिन्जेल दर्शकबाट सहमतिको आवाज झनै चर्किसकेको थियो। यो गीतमा मात्र होइन, कन्सर्टमा सुरूदेखि अन्तिमसम्मै कलाकारले दर्शकबाट यस्तै ऊर्जा र प्रोत्साहन पाइरहे।
'एकपछि अर्को गीत बजेको भन्दा पनि लगातार बगिरहेको महसुस गरेँ,' काठमाडौंबाट आएर टोरन्टोमा मेडिकल ल्याब प्राविधिक रहेका समीर श्रेष्ठ भन्दै थिए, ‘पुराना सम्झना जोडिएका गीतमा भुलेर आज आफैँलाई हराउने मौका मिल्यो।'
टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि निकै परदेखि पनि उल्लेख्य संख्यामा दर्शक जम्मा भएका थिए। तिनैमध्ये थिए भ्यानकुभरबाट आएका अनुप घिमिरे।
'मैले जीवनमै पहिलोपटक नेपथ्य कन्सर्ट अनुभव गर्न पाएँ,' पोखराबाट आई सञ्चारमा स्नातक गरेका अनुप भन्दै थिए, 'प्रस्तुतिदेखि लिएर हल भित्रको माहोल र अत्यन्त व्यवस्थित शो हेर्दा मलाई त्यति टाढाबाट आएको भान नै परेन।'

जर्ज ब्राउन कलेजकी स्नातक उज्वला प्रधानले कन्सर्टले आफूहरूलाई आफ्नो जरासँग जोडेको प्रतिक्रिया दिइन्। 'रोमाञ्चकता र विगतको सम्झना मिसाइएको एउटा मिठो पोको जस्तो पनि लाग्यो यो कन्सर्ट,' उनले भनिन्, 'घरको यादले छटपटाइरहेका हामीमाझ नेपथ्यले आफ्नो परिवेश बोकेर ल्याइदिएको महसुस गरें।'
सिक्किमबाट आएकी उज्वलाले ब्यान्डको जोसिलो प्रस्तुतिकै कारण सम्पूर्ण दर्शकले स्वस्फूर्त उफ्रिएर नाचेको सुनाइन्। नेपथ्यले दर्शकको तीव्र उत्तेजनाकै बीच ‘रातो र चन्द्रसुर्जे’ गीतबाट आफ्नो प्रस्तुति अन्त्य गरेको थियो।
मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
'विदेशी भूमिमा यत्तिको नेपाली प्रस्तुति विरलै देख्न पाइन्छ,' आयोजक टिमका छिरिङ शेर्पाले समापनपछि भने, 'हल भरिका दर्शक यसरी रमाउने कन्सर्टको आयोजक बन्न पाएकामा गौरव महसुस गरेका छौं।'
यो प्रस्तुतिपछि १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली क्यानडा यात्राकै अन्तिम शोका निम्ति ओन्तारियो राज्यकै लन्डन सहर प्रस्थान गर्नेछ। टोरन्टोबाट करिब दुई सय किलोमिटर दूरीमा रहेको उक्त सहरस्थित 'लन्डन म्युजिक हल' मा अप्रिल १८ मा कन्सर्ट हुनेछ। एलिजाबेथ हलमा धेरै पहिले टिकट समाप्त भएका कारण लन्डनमा टोरन्टोदेखिका दर्शक पनि सहभागी हुने आयोजकको विश्वास छ।
कन्सर्टका लागि अनलाइनबाटै टिकट खरिद गर्न सकिने व्यवस्था व्यवस्थापक नेपालयले मिलाएको छ।
