त्यो दिन एकान्तकुनाबाट बिहानै उठेर अफिस आएको थिएँ। समाचार, आर्टिकल र साहित्यपाटीको काम भइरहेको थियो। खासै राजनीतिक घटनाक्रम थिएनन्।
केही समयपछि सहकर्मी भानुभक्त आइपुगे। करिब ११ बजेतिर चट्याङ मास्टर आफ्नो कविता लिएर आउनुभयो। उहाँ हाँस्न र हसाउन खप्पिस हुनुहुन्छ। उहाँ आएपछि त्यसै रमाइलो भयो। हामीलाई पेट मिचिमिची हसाउन थाल्नुभयो।
अलि बेरमा प्रकाश तिमिलसिना र माधव पनि त्यही आइपुगे। हामी न्युजरूममै बसेर चट्याङ मास्टरका गफ सुन्न थाल्यौं। त्यसैबीच एक्कासि जमिन हल्लिएजस्तो लाग्यो। साथीहरूले पो मलाई हल्लाइरहेका छन् कि भन्ठानेँ। अलिबेरमा मैले काम गरिरहेको कम्प्युटर तलमाथि गर्न थाल्यो।
केही क्षणमै कम्पन बढ्दै गएको अनुभव भयो। न्युजरूमका ल्यापटप, कम्प्युटर र बत्ती हल्लिएर आवाज बढ्न थाल्यो। चट्याङ मास्टर ‘भुइँचालो आयो’ भन्दै बाहिर निस्किन खोज्नुभयो। बाहिर झ्यालबाट हेर्दा घरहरू बाँसजस्तै हल्लिरहेका थिए।
साथी प्रकाशलाई सबैभन्दा बढी बाहिर जाने हतार थियो। उनलाई वल्लो भित्ता र पल्लो भित्तो गर्दै ठिक्क थियो। यता मलाई भने ब्रेकिङ न्यूज राख्नै हतार थियो। मैले चाहिँ हत्तपत्त ‘काठमाडौंमा ठूलो भूकम्प गयो’ भन्ने समाचार अपलोड गरेँ। यत्तिकैमा इन्टरनेट गयो। केही क्षणमै अगाडिको मनिटर लड्यो। बत्तीहरू मजाले हल्लिए।
त्यसपछि भने मलाई डर लाग्यो। यो ४५ वर्ष पुरानो घर लड्ला कि भनेर आत्तिएँ। घर हल्लिरहेकाले त्यसै पनि मलाई रिंगटा लाग्न थालिसकेको थियो। बल्लतल्ल न्युजरुमको ढोकासम्म पुगेँ। सबैजना हतास थिए। विस्तारै एकले अर्काको हात समातरे हामी बाहिर निस्कन थाल्यौं।
कम्पन भइरहेकै थियो। हामी सबै बरन्डामा निस्कियौं। साथीहरू मोबाइलको नेटवर्क छैन भन्दै थिए। मेरोमा भने आइरहेको थियो। जिल्लाभित्र र बाहिरका साथीहरूले फोन गरिरहेका थिए। घरमा आमालाई सम्झिएँ। फोन हानेँ। ठीकै हुनुहुँदो रैछ। आफन्त सबै सकुशल भएको जानकारी पाएँ। पूर्वतिर खासै क्षति भएनछ। ढुक्क भयो।
केही साथी आत्तिएर तल झर्न खोजे। सबैलाई बरन्डामै रोकेँ। माधव ढोकामुनि बसे। तलको फ्लोरबाट साथीहरू सबै बाहिर निस्किसकेका थिए। सबैभन्दा पहिले भाग्ने प्रकाश ढुंगाना थिए। पछि सबै दौडिए। पल्लो घरको पानी ट्यांकी जोडसँग तलमाथि हल्लिँदै थियो। बिजुलीका तार एकआपसमा ठोक्किइरहेका थिए।
कम्पन रोकिएपछि म न्युजरूम पसेँ। म बस्ने कुर्सी धुलाम्मे थियो। मनिटर लडेको थियो। ल्यापटप टिपेर बाहिर निस्किएँ। म भित्र गएको साथीहरूलाई मन परेको थिएन। ‘मर्नलाई किन जानुपर्यो’ भन्दै थिए। आफूलाई भने समाचार अपलोड गर्न हतार थियो।
इन्टरनेट गइसकेको थियो। हेर्नै मिलेन। फेरि भित्र छिरेँ। एनसेलको डाटा कार्ड लिएर बाहिर आएँ। केही बेरपछि ‘काठमाडौं लगायत देशका विभिन्न भागमा ठूलो भूकम्प गएको छ, करिब ७।६ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु गोरखा र लम्जुङ आसपास रहेको’ समाचार अपडेट गरेँ।
फेरि अनौठो आवाज आउन थाल्यो। आवाज बढ्यो। थर्रर कम्पन महसुस भयो। हामी सबै जना आँगनमा पोको पर्यौं। कुर्सी बाहिर निकालेर ल्यापटपमै व्यस्त हुन थालेँ। केही समयपछि ट्विटरमा धरहरा ढलेको खबर आयो। लाग्यो, ठूलै क्षति भएछ। अब कस्ता–कस्ता क्षतिका विवरण आउने हुन्? फेरि न्यूज अपडेट गरेँ– धरहरा ढल्यो, क्षतिको विवरण आउन बाँकी।
त्यसपछि तारन्तार फोन आउन थाल्यो। विशेषगरी विदेशबाट फोन आइरहेको थियो। त्यहाँ मेरै मात्र फोन लागिरहेको देखेर साथीहरू छक्क परेका थिए। प्रायःले घरमा कुरा गर्न पाएका थिएनन्।
केही बेरमा गोरखाको बारपाक केन्दबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्रको भनाइसहित समाचार अपडेट गरेँ। त्यतिबेलासम्म करिब ४–५ धक्का महसुस भइसकेको थियो। ती सबै ५ रेक्टरभन्दा माथिका थिए।
म समाचार अपडेट गरिरहन्थेँ। मलाई भूकम्पको डरभन्दा समाचार अपलोड नहुने पिर लागिरहेको थियो। त्यत्तिकैमा माधव र प्रकाश सुन्धारा हानिए। उनीहरूले धरहरा ढलेको भन्दै फोटो डिएम गरे। धरहरा ढलेको, मृत्यु, असंख्य घाइते, सुन्धारा न्युरोड क्षेत्रमा कोलाहल र वीर अस्पतालमा चापजस्ता खबर आउन थाले। क्रमशः अपलोड गर्दै बसेँ।
केही बेरपछि टिचिङ, वीर पाटन अस्पतालमा घाइतेको चाप बढेको समाचार आए। काठमाडौं उपत्यकाका सम्पदाहरूमा पुगेको क्षतिबारे समाचार आयो। उपत्यका आसपासका ग्रामीण क्षेत्रमा पुगेको क्षतिका समाचार पनि आउन थाले। बेलाबेला मलाई लाग्थ्यो क्षति नपुगेको ठाउँ, सहर, गाउँ कुन होला?
हामी सबै जना तनावकै बीचमा विशेष कभरेजमा लागिरहेका थियौं। साथीहरूलाई राजधानी घुम्न भनियो। कोही सुन्धारा, न्यूरोड, जमल गएर घटनाका बारेमा बताउन थाले। यस्तो बेला घर परिवारको साह्रै याद आउँदो रै‘छ। केही बेरमा अरनिको राजमार्गअन्तर्गत भक्तपुर कौशलटारको बाटो भासिएको खबर आयो। मर्मस्पर्सी फोटोहरू फेसबुक र ट्विटरभर छ्याप्छ्याप्ती भए।
दिनको चार बजिसकेको थियो। सबै आँगनमै थियौ। नेट विस्तारै चलिरहेको थियो। नयाँ बसपार्क क्षेत्रमा ठूलो क्षति पुगेको खबर आयो। अधिकांश मानिस खुला ठाउँमा थिए।
चोकतिर जानुपर्यो भनेर बाहिर निस्किएको दमकल भवन ढलेको रैछ। वरिपरिको पर्खाल पनि ढलेको रैछ। सबै रूवाबासी गर्दै थिए। बाटोभरि मान्छे नै मान्छे थिए। म फेरि फर्किएँ। अफिसबाहिरै बसेर समाचार हेर्न थालेँ। रात परेपछि अब ठूलो भूकम्प आउदैन भन्दै साथीहरू घर लागेँ। मसहित केही साथी अफिसमै बस्ने भयौं। म कम्प्युटरमै थिएँ। रातभर निन्द्रा लागेन। ज्योति देवकोटा दाइसँग निरन्तर कुरा गर्दै परकम्पन बताउँदै रात काट्न लाग्यौं। फेरि भूकम्प गयो भन्ने त कति हो कतिरु ज्योति दाइले भित्र नबस्नू, बाहिर जानू भन्नुहुन्थ्यो। म त्यत्रो ठूलो भुइचालोले त केही नगरेको घर अब के होला र भन्दै बस्थेँ।
महाभूकम्पको पहिलो त्रासदीमै घर परिवारको तनावलाई बिर्संदै सेतोपाटीले सदाझैं खटेर जनतालाई सूसुचित गर्ने काम गरेको थियो। जस्तोसुकै संकटमा पनि जनतालाई सूचनाको हकबाट बञ्चित नगराउने हाम्रो अभियान त्यो दिन पनि निरन्तर थियो।
कतिपय साथीको घर भत्किएको थियो भने कतिपयले आफन्त समेत गुमाएका थिए। तर, सबैले ती तनाव विर्सेर समाचार संकलन र लेखनमै बिताए।
तत्काल वरी परिका पसलहरू बन्द थिए। सँगै रहेको विगमार्ट पनि बन्द थियो। अभाव, चुनौति र विभिन्न खाले कठिनाईहरुलाई विर्सिदै दालमोठ च्यूरा र कालो चिया बिस्कुटमा वैशाख १२ बिताइयो। त्यो दिनको भुइँचालो र त्यसपछिका पराकम्पले ९ हजार मानिसको ज्यान लियो। हजारौं घाइते भए। लाखौं घरबारविहिन भए। सयौं विद्यालय भत्किए।
भूकम्पीय जोखिममा रहेको मुलुकमा यो सधैं विदाकै दिन पारेर आउँछ भन्ने छैन। घरैपिच्छे स्कुल खोल्ने र कोठामा कोठा थप्दै कक्षा बढाउने संस्कृतिमा हुर्किएका लगानीकर्ताले स्कुल भवन कति सुरक्षित छ छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको छ। व्यावसायिक भवनहरू पनि सुरक्षित बनाउनुपर्नेछ। हामीले आफ्ना घर बनाउँदा पनि भूकम्पीय जोखिमलाई विचार पुर्याउनुपर्छ। नेपाल भूकम्पीय जोखिममा रहेको मुलुक भएकाले कुन बेला फेरि वैशाख १२ को जस्तै भुइँचालो आउँछ भन्न सकिन्न। त्यसैले, आफू सुरक्षित हुनु नै सबभन्दा राम्रो उपाय हो।