डा. दुर्गा पोख्रेल जो नेपालको बालबालिका तथा महिला मन्त्री पनि हुनुहुन्थ्यो एकपटक उहाँको बारेमा लेख पढ्ने मौका पाएको थिएँ¸ जसले मलाई आजसम्म पनि नेपाली महिलाको बारेमा सोच्न बाध्य बनाउँछ।
संसारको प्रतिष्ठित हार्वड विश्वविद्यालयमा उहाँले पढ्ने क्रममा एक जना प्रोफेसरले विश्वमा एउटा देश छ जहाँका महिलाहरू आफ्नो नाम समेत भन्न सक्दैनन् भनेर भनेको सुन्दा म पनि त्यही देशको महिला हुँ भनेर आफ्नो परिचय दिएको रोचक प्रसंग उक्त लेखमा उद्धृत गरिएको थियो।
डा. दुर्गा पोख्रेल जस्ता प्रभावशाली महिलाहरू हामीकहाँ नगन्य मात्रामा भएता पनि हाम्रो देशमा अझै पनि कैयौं महिलाहरू छन् जसले आफ्नो नामसम्म पनि निर्धक्क भएर भन्न सक्ने अवस्थामा छैनन्।
यो तीतो यथार्थ हो।
अर्कोतर्फ फेसबुकमा दिन रात सेल्फी राख्न सक्ने जमातहरूलाई हेरेर नेपालका महिलाको अवस्थालाई विश्लेषण गरियो भने वर्तमान अवस्थामा समान रूपमा सबैमा लागू हुन सक्दैन।
नेपाली महिलाहरूको महान् पर्व तीज नजिकिँदै छ। तीजको महिमाका बारेमा हामी सबै जानकार नै छौं। त्यसैले यसका बारेमा चर्चा गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन।
तीज मनाउने क्रममा नेपाली हिन्दु महिलाहरू एकआपसमा सँगै बसेर दर खाने निउँमा भेटघाट गर्छन् साथै दु:ख सुख बाँड्ने अनुभव साटासाट गर्ने माध्यम यसै पर्वलाई बनाउँदै पनि आएका छन्।
हिजो मादल र थपडीको सहायताले गाइने तीजका भाकाहरू¸ समयको परिवर्तन सँगसँगै मादल र थपडीभन्दा माथि उक्लिएर आधुनिक प्रविधिमा लयवद्ध हुँदै तीज भाका अब माइतीका डाडाँकाडाँबाट रेष्टुरेन्ट र पार्टी प्यालेससम्म आइपुगेका छन्।
यही तीज मनाउने र दर खाने सन्दर्भमा साँस्कृतिक कार्यक्रमका नाममा हुने ध्वनी प्रदूषण तथा होटल र पार्टी प्यालेसमा हुने दर खाने लगायतका खर्चिला कार्यक्रमले तीजको मौलिकतामाथि प्रश्न उठाएको छ।
होटल तथा पार्टी प्यालेसमा दर खाने भेटघाट गर्ने गरगहना प्रदर्शन गर्ने साङ्गीतिक कार्यक्रम गर्ने नाममा ध्वनी प्रदूषण गराउने जस्ता असामाजिक क्रियाकलाप नगर्न अपिल आएको सन्दर्भमा यहाँ मेरो कुनै ठूलो विरोध वा समर्थन भन्दा पनि तीज मनाउने क्रममा देखिएका विकृति र विसंगतिलाई सचेत प्रयत्न र चेतनाद्वारा हटाउँदै क्रमश: नियमित र व्यवस्थित गर्दै जानुपर्छ भन्ने नै हो। तर विभिन्न तवरबाट निर्देशनात्मक आदेश आउँदा आम महिलाहरूमा ठेस पुग्न गएको कुरा सहज अनुमान लगाउन सकिन्छ।
तीज मनाउने र दर खाने कार्यक्रमले अरू कुनै पनि धर्म संस्कृति भाषा वा सम्प्रदायलाई असर गरेको छ वा छैन ? र सार्वजनिक शान्ति सुरक्षा अमन चैयन खलल गर्नेसम्मका कृयाकलाप हुन पुग्ने देखिन्छ वा देखिँदैन? यी र यस्ता विषयमा राज्य संयन्त्रको चासो जानु स्वभाविकै हो। तथापि राज्यको सार्वजनिक हितविपरीत बाहेक प्रत्येक व्यक्तिले आफ्नो गक्ष र दक्ष अनुसार धर्म, भाषा, संस्कृति र पर्वको संरक्षण र संवर्द्धन गर्न पाउनु यसमा रमाउन पाउनु उसको मौलिक हक नै हो।
यदि कसैले आफ्नो आर्थिक हैसियतभन्दा बढी सामाजिक व्यवहार प्रदर्शन गरेमा त्यस्ता व्यक्ति उपर विशेष कानुनले नै निगरानी राख्न सक्ने व्यवस्था छँदाछँदै हिन्दु, संस्कृति र परम्परालाई जोगाइराख्ने धरोहरको रूपमा रहेको नेपाली नारीको महान् पर्व तीजलाई नै मध्यनजर राख्दै छुट्टै अपिलात्मक आग्रह गरिरहनु पर्ने आवश्यकता छ जस्तो मलाई लाग्दैन।
यद्यपी सद्भाव प्रेम र सहिष्णुता कायम गर्नको लागि हाम्रा धर्म संस्कृति र पर्वहरूको मौलिकता संरक्षण गर्दै सामाजिक शान्ति सुरक्षा र अमनचयनलाई समेत विचार गरी कानुनी शासनको सम्मान र प्रवर्द्धन गर्नु हामी सबैको कर्तव्यभित्र पर्न आउँछ।
तीजका सबल र राम्रा पक्ष धेरै छन्।
जसले हाम्रो सामाजिक संरचनालाई मजबुद र बलियो बनाइराख्न सहयोग गरिरहेकोमा हामी जानकार नै छौं।
तीजमा हुने साङ्गीतिक कार्यक्रमले मात्र ध्वनी प्रदूषण गराउने गरेको हो र? प्रचलित वातावरण संरक्षण ऐन¸ २०७५ मा नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्दै वातावरण तथा ध्वनी प्रदूषण लगायतका प्रदूषणहरूलाई नियन्त्रण गर्ने कानुनी प्रावधान राखेको पाइन्छ।
यसरी ऐनमा नै व्यवस्था गरिएको कुरालाई हाइलाइट गर्दै छुट्टै किसिमको निर्देशन तथा अपिल आउनुलाई अन्यथा नलिएता पनि तीजका अवसरमा बजाइने गीत र संगीतभन्दा डर लाग्दा ध्वनी प्रदूषणबाट हामी अपरिचित पनि छैनौं।
जे जस्तो भएता पनि अझै कैयौं महिला दिदीबहिनीका लागि तीजमा छमछमी नाच्नु वर्षभरि भोग्नुपर्ने र भोगिएका दु:ख विसर्जन गर्नु हो भनेर नै बुझिएको छ। साथै यसको सहायताले महिलाबीच सशक्तिकरण भएर जाने अनुभव आदानप्रदान गर्दा राष्ट्र निर्माणमा नै सहयोग पुग्न जाने हुन्छ। यसलाई हामी सबैले हृदयङ्गम गर्नु अपरिहार्य छ।
हाम्रा दिदीबहिनीहरू राजनीतिक र सामाजिक हिसाबमा धेरै ठगिएका छन्।
नेपाली महिलाहरू पुरातनवादी सामाजिक रुग्न मानसिकताको शिकारवाट उम्कन नसकिरहेको अवस्थामा तीजमा देखिएका विकृति र विसङ्गतिको बहिष्कार गर्दै वर्षको एक दिन खुलेर नाच्ने मात्र हैन अब¸ हरेक दिन आफ्नो हिसाबले बाँच्न सक्नुपर्छ भन्ने भावना र क्षमताको विकास गरौं।
सबैमा तीजको शुभकामना।