नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका बारेमा बेलाबखत लेखक, समालोचक, प्रकाशक र अनुवादकमाझ बहस हुँदै आएका छन्।
यद्यपि ब्यवहारिकभन्दा सैद्धान्तिक पक्षमा नै ती बहस केन्द्रीत छ। साहित्य अन्तर्राष्ट्रियकरणका लागि संस्थागत र नीतिगत अध्ययन, अनुसन्धान र प्रयोग भएको खासै पाइएन।
साहित्य अन्तर्राष्ट्रियकरणमा पहिलो चुनौतीको रूपमा उठाईँदै आएको विषय यथेष्ट मात्रामा नेपाली साहित्य अनुवाद भएन भन्ने हो।
नेपाली प्रकाशक र विदेशी प्रकाशकबीच अन्तरक्रिया र बजारिकरण हुन नसकेका कुरा पनि यदाकदा सुन्न पाइन्छ।
यथेष्ट नेपाली साहित्य अनुवाद भएनन् भन्ने सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्वअध्यक्ष पदक विश्वकर्मा नेपाली साहित्य अंग्रेजी र अन्य प्रमुख भाषामा अनुवाद हुन नसकेको बताउँछन्।
विश्वकर्माले भनेजस्तै प्रशस्त साहित्य अनुवाद हुन नसक्नु एउटा चुनौती होला। तर प्रमुख भने होइन। उदाहरणका लागि अनुवाद भैसकेका पुस्तक पनि अन्तर्राष्ट्रिय प्रकाशकमार्फत् प्रकाशित हुन नसक्दा ती साँचो अर्थमा अन्तर्राष्ट्रिय बजारमा पुग्न सकेका छैनन्।
अनुदित पुस्तक अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट छाप्नु चुनौतीको रूपमा रहेको उल्लेख गर्दै विश्वकर्माले थपे, ‘अनुवाद भैसकेका साहित्य पनि अन्तर्राष्ट्रिय प्रकाशकबाट छाप्न महँगो पर्छ।’
विश्वबजारमा आफ्नो ठाउँ बनाइसकेका मन्जुश्री थापा, सम्राट उपाध्याय, विनोद चौधरी, नारायण वाग्लेहरूलाई छोडेर राम्रो संभावना बोकेका झमक घिमिरे, कृष्ण धराबासी र लिलबहादुर छेत्रीजस्ता लेखकका कृति अनुवाद भएर पनि अन्तर्राष्ट्रिय बजारमा आफ्नो बर्चस्व कायम राख्न सकेका छैनन्।
यी तीन लेखकका पुस्तक मुलधारका वितरक जस्तै अमेजन, एप्पल र वार्न्स एण्ड नोबेलमा उपलब्ध छन्। तर प्रचारप्रसारको अभावमा छ।
यसबाट के देखिन्छ भने, साहित्य अन्तर्राष्ट्रियकरण गर्न प्रकाशन र बजारिकरणका पक्ष अनुवादभन्दा पनि महत्वपूर्ण छ।
साहित्य अन्तर्राष्ट्रियकरणका चुनौतीलाई प्रकाशन र बजारिकरणका दृष्ट्रिकोणबाट हेर्दा नेपाली लेखकको अन्तर्राष्ट्रिय प्रकाशकसम्मको पहुँच, प्रमुख अनलाइन वितरक जस्तै गुगल, अमेजन र एप्पलमा नेपाली पुस्तकको उपलब्धता र बजारिकरणका लागि लेखकको अन्तर्राष्ट्रिय बजारमा उपस्थिति महत्वपूर्ण देखिन्छन्।
नेपाली साहित्यलाई विश्वबजारमा पुर्याउनका लागि कुनै पुस्तक अमेरिकी प्रकाशकबाट छाप्ने हो भने पहिले ती कृति अनुवाद हुनुपर्दछ। जुन हामी सबैलाई थाहा भएकै कुरा हो। तर अनुवादभन्दा पनि पहिले मुलधारका प्रकाशकसँग सहकार्यको निर्क्यौल गरिनु झनै आवश्यक छ।
किनकी मुलधारका प्रकाशक लेखकको जस्तै अनुवादकको पनि योग्यता र ठाउँ हेर्ने गर्दछन्। अनुवाद भइसकेका कृति लिएर उनीहरू समक्ष पुग्दा अनुवाद गुणरस्तरताकै कारण उनीहरूले राम्रा कृति समेत मन नपराउने खतरा रहन्छ।
अर्को कुरा साहित्य अन्तर्राष्ट्रियकरणमा सरकारीस्तरबाट बनाइने नीति नियमले पनि सकारात्मक प्रभाव पार्न सक्दछ।
कुनै पनि कृति अनुवाद हुँदैमा अन्तर्राष्ट्रियकरण नहुने हुँदा सिधै अनुवाद वा अनुवादकमा लगानी गर्नुको साटो मुलधारका प्रकाशकलाई आकर्षित गर्ने नीतिले भूमिका खेल्न सक्छ।
केही देशले अमेरिकी साना र मझौला प्रकाशकलाई आकर्षित गर्न यो नीति अपनाएका पनि छन्।
अन्तर्राष्ट्रियकरणका लागि नेपाली लेखक र प्रकाशक बिशेषत: तीन किसिमका अन्तर्राष्ट्रिय प्रकाशकसँग सहकार्य र प्रकाशनका लागि पुग्न सक्छन्।
पहिलोमा ठूला प्रकशन गृह हुन्, जसलाई 'बिग फाइब' अर्थात् 'ट्रयाडिशनल पब्लिशर्स' ले पनि चिनिन्छ। पेङ्गुइन र्याण्डम हाउस, हार्पर कोलिन्स, म्याक्मिलन, ह्यासिएट बुक ग्रुप्स र साइमन एण्ड सुस्टर ठूला प्रकाशन गृहमा पर्दछन्।
यी प्रकाशन गृहहरूले सामान्यतया लेखकसँग सिधै सहकार्य नगर्ने हुँदा लिटेरेरी एजेन्सीमार्फत् जानु नै उत्तम उपाय हो। यसका लागि नेपाली लेखकसँग आफ्नो पुस्तकको प्रपोजल तयार गर्नेदेखि लिएर क्वेरी लेटर लेख्ने आदिका बारेमा ज्ञान र तालिम हुनु आवश्यक छ।
मरो आफ्नै लिटेरेरी एजेन्सीको इण्टर्नशीपको अनुभवले पनि के बताउँछ भने नेपाली लेखक लिटेरेरी एजेन्सीमार्फत् ठूला प्रकाशकसम्म पुग्ने अभ्यास हामीकहाँ प्राय: देखिदैन।
अन्तर्राष्ट्रिय बजारमा पुग्ने दोस्रो प्रकारका प्रकाशन गृह भनेका साना र इण्डेपेनडेण्ट प्रकाशक हुन्। यी प्रकाशकले भने लेखक र लिटेरेरी एजेन्सीमार्फत् लेखकका कृति छाप्न सक्छ।
अगाडी उल्लेख गरिएका सम्राट उपाध्याय, मन्जुश्री थापा, विनोद चौधरी र नारायण वाग्लेका पुस्तक ठूला तथा इण्डेपेनडेण्ट प्रकाशकद्वारा छापिएका हुन्। लिल बहादुर छेत्रीको 'बसाईं'को अंग्रेजी अनुवाद भने कोलम्बिया युनिभर्सिटी प्रेसबाट प्रकाशित भएको हो। यसको रिभ्यु अमेरिकी मुलधारका प्रकाशकमाझ चर्चित पत्रिका 'पब्लिशर्स विक्लीमा' पढ्न पाइन्छ।
साहित्य विश्वव्यापीकरणकै लागि अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने तेस्रो किसिमका प्रकाशक भनेका सेल्फ-पब्लिसिंग कम्पनी हुन्।
अमेरिकामा बर्सेनी छापिने लगभग दश लाख पुस्तक मध्ये आधाजसो सेल्फ-पब्लिश नै हुन्छन्। सेल्फ-पब्लिसिंग कम्पनीले अन्य प्रकाशन कम्पनीले जस्तो लेखकलाई एडभान्स दिनुको सट्टा लेखकसँग छ्पाई र बजारिकरणका लागि पैसा लिने हुँदा कतिपय अवस्थामा यी कम्पनी लेखकबाट आलोचित पनि बन्ने गरेका छन्।
कारण, सेल्फ-पब्लिश गरिएका पुस्तक भनिएजस्तो वा लेखकले अपेक्षा गरेजस्तो बिक्री हुने कुनै ग्यारेन्टी नै हुँदैन।
यद्यपि सेल्फ-पब्लिसिंगका केही राम्रा पक्ष पनि छ। उदाहरणका लागि यो मोडेलबाट छापिएका पुस्तक मुख्य अनलाइन बितरक जस्तै अमेजन, एप्पल र वार्न्स एण्ड नोबेलमा उपलब्ध हुन्छन्।
करिब ६०० वटा स्टोर रहेको वार्न्स एण्ड नोबेल अमेरिकाको ठूलो चेन स्टोर पनि हो। सेल्फ-पब्लिसिंगको अर्को सकारात्मक पक्ष भनेको लेखकले अन्तर्राष्ट्रियस्तरका वितरक र बजारिकरणका प्रक्रियाहरूसँग घुलमिल हुने अवसर पाउँदछ र पुस्तकबाट आउने रोयल्टीको पुरै हकदार पनि लेखक स्वंयम नै हुन्छ।
अझ पुस्तक राम्रो छ र बजारिकरणको हल्ला ठूला प्रकाशकको कानसम्म पुग्न सक्यो भने सेल्फ-पब्लिस गरिएका पुस्तक प्रकाशकबाट पुन छापिने सम्भावना रहन्छ। ई. एल. जेम्सको 'फिफ्टी शेड्ज अफ ग्रे' र एन्डी वेअर्सको 'दि मार्सन' यसका उदाहरण हुन्।
सेल्फ-पब्लिसिंगकै कुरा गर्दा पछिल्लो समयमा प्रकाशित धराबासीको बहुचर्चित उपन्यास 'राधा' अमेरिकाबाट सेल्फ-पब्लिश भएको हो। अमेरिकाको एक प्रमुख सेल्फ-पब्लिसिंग कम्पनी 'अथर सोलुसन' को एक इम्प्रिण्ट 'एक्स्लिब्रिस'ले छापेको यो किताव अमेरिकाका प्राय सबै वितरण प्रणालीमा उपलब्ध छ।
बजारीकरणमा जोड दिन सक्ने हो भने लाईब्रेरीले पनि यो पुस्तक अर्डर गर्न सक्ने सम्भावना छ। यद्यपि झन्नै १,२०००० लाईब्रेरी रहेको अमेरिकी लाईब्रेरी बजार ज्यादै प्रतिस्पर्धात्मक छ। लाइब्रेरीले कुनै पनि पुस्तकको अर्डर लाइब्रेरी सदस्यबाट आएको माग र पुस्तकको बारेमा चर्चित पत्रिकामा छापिएका रिभ्यु हेरेर नै गर्ने गर्दछन्।
सेल्फ-पब्लिसिंग कम्पनीले लेखकसंग छपाई र बजारिकरणका लागी छुट्टाछुट्टै पैसा असुल्ने हुँदा कतिपय लेखकका लागी बजारिकरण असाध्यै महँगो पर्न जान्छ र छापिएका कृति पनि बजारीकरणको अभावमा लाखौँ कृतिको भिडभाडमा त्यसै हराउँछन्।
अर्थात् आम पाठकले कृति छापिएको थाहै पाउँदैनन्। एउटा तीतो यथार्थ के हो भने अमेरिकामा बर्षेनी छापिने लगभग १० लाख पुस्तकमध्ये ९९ प्रतिशत भन्दा बढी उपयुक्त प्रचारप्रसारको अभावमा हराउँछ।
उल्लेखित तथ्यले के देखाऊँछन् भने अनुवादभन्दा प्रकाशन चुनौतीपूर्ण र प्रकाशनभन्दा बजारिकरण थप चुनौतीपूर्ण छ।
केही समय पहिले अमेरिकामा नेपाली पुस्तकका लागि अनलाइन वितरण कम्पनी खोलेका अन्जन श्रेष्ठ बजारिकरणको अभाव ठूलै चुनौतीको रूपमा रहेको उल्लेख गर्छन्।
‘करिब तीन लाख नेपाली जनसंख्या रहेको अमेरिकामा नेपाली पुस्तक बिक्री नहुनुमा बजारिकरण नै प्रमुख समस्या हो,’ उनले थपे।
साहित्य अन्तर्राष्ट्रियकरणका लागि बजारीकरण महँगो र प्रमुख चुनौतीको विषय भएपनी यसका लागि उपाय नै नभएका भने होइनन्।
सुरुवातका चरणमा गर्न सकिने केही कुरा जस्तै नेपाली पुस्तक र तिनका मेटाडेटा (बुक रिभ्यु, पुस्तकको शिर्षक, लेखक परिचय, आइएसबिएन नम्बर ईत्यादी) अमेजन र इन्टरनेट सर्चमा उपलब्ध गराउने, सोसल मिडिया र अनलाईनमा लेखकको उपस्थिति बढाउने, लेखकको 'अथर वेबसाइट' बनाउने र अनुदित कृतिका नमुना च्याप्टर वेबसाइट मार्फत् निशुल्क उपलब्ध गराउने इत्यादी गर्दा ईण्टरनेट सर्चमा लेखक र लेखकका कृति सजिलै भेटिन सक्छन्। अर्थात् लेखक र लेखकका कृति बढी 'डिस्कभरेवल' हुन्छन्। प्रारम्भिक चरणका यी प्रक्रिया सजिला र सुलभ पनि हुन्छन्।
अन्तर्राष्ट्रिय पाठक र प्रकाशकले पुस्तक र लेखकका बारेमा जानकारी चाहिएमा पहिला खोज्ने भनेकै गुगल, अमेजन र सोसल मिडियामा हो।
Twitter: @KcChandraram