हामी जिन्दगीमा धेरै काम गर्छौं र थुप्रै निर्णय पनि। ती काम र निर्णय जहिल्यै सही नहुन सक्छन्। सही ठानेर गरिएका निर्णय पनि गलत हुन सक्छन्। कतिपय काम र निर्णय राम्रो गर्नै लाग्दा-लाग्दै पनि बिग्रिन्छन्। र कतिपय काम ठिक पनि लाग्दछन्।
तीमध्येका केही काम र निर्णय सुरुमा हामीलाई सही लागेर गर्छौं तर समयको अन्तरालमा हेर्दा गलत ठहरिएका हुन्छन्। र साच्चिकै गलत पनि हुन्छन्।
अहिलेका मित्रता पनि ठ्याक्कै काम र निर्णय जस्तै बनेका छन्। केही मित्रता सुरुवातदेखि सुन्दर अनि मजबुद हुन्छन् र, रहिरहन्छन् पनि। केही राम्रो भनेर गरेका कामहरु जसरी अन्तरालमा बेकारका लाग्छन्, मित्रता पनि यस्तै भैदिन्छन्।
यो काम गर्न हुँदैनथ्यो भनेर पछुतो गर्छन्। त्यसरी नै गलत मित्रतामाथि मान्छे पछुतो गर्छ। गलत मित्रता र गलत कामबाट एउटै कुरा पाइन्छ, त्यो हो सन्देश’ जसले विगतबाट पाठ सिक्छ, त्यो अगाडि बढ्छ।
खास अर्थमा निर्णय र काम गरिन्छन्। तर मित्रता गरिँदैन र बनाइदैँन पनि। साचो अर्थको मित्रता प्रेम जस्तै हुन्छ। जुन स्वस्फूर्त हुने गर्छ। जसरी बनावटी प्रेम टिक्दैन, त्यसरी बनावटी मित्रता पनि टिक्दैन। असल मित्रता प्राकृतिक हुन्छ। बडो गाढा हुन्छ। निश्चित, समय सापेक्ष र स्वार्थपूर्तिका लागि मात्र बनाइएका मित्रताको आयू धेरै लामो हुँदैन।
मित्रहरुको परिचय उसको गुणबाट गरिनुपर्छ न कि उसको सुन्दरता र हैसियतबाट। अनुहार, पद वा प्रतिष्ठा हेरेर बनाइएका मित्रतामा स्वार्थको गन्ध लुकेको हुन्छ। कसैलाई साथी बनाउनु गलत होइन तर ओहोदा र प्रतिष्ठा मात्र हेरेर जोडिएका मित्रताको रंग खुइलिएको पनि पत्तै चल्दैन।
हुन त राम्रा-राम्रा मान्छे मेरा मित्र बनुन् भन्ने सबैलाई लाग्दो हो। त्यो स्वाभाविक पनि हो। कतिलाई त जीवन साथी नै बनाउँ पनि लाग्दो हो। सर्वशक्तिमान, शक्तिसम्पन्न र राम्रा मान्छे नै साथी बनुन् भन्ने ठान्नु पनि पाप होइन। सबैले राम्रालाई नै साथी बनाउन चाहन्छन्।
बुझ्नु पर्ने कुरा त के भने राम्रा, सम्पन्न र बलशाली जति सबै गुणवान हुँदैनन्। त्यसैले पद, प्रतिष्ठा र रुप हेरेर बनाइएका सम्बन्ध कच्चा धागोका फुर्का जस्तै हुन्। समय आउँदा कपाल गुजुल्ट्याउछ र कुरुपता दिन्छ।
अनुहारमा गएर मित्रताको परिचय खोज्यौं भने राम्रा र नराम्रा पाइन्छन्। तर व्यवहारमा परिचय खोज्यौं भने गुणी र दोषी पाइन्छन्। त्यसैले मित्रताको मापन उसको व्यवहारमा गरिनुपर्छ, गुणी र दोषीको आधारमा।
पंतिकार फेरि पनि जोड दिन्छ, मित्रता प्राकृतिक हो बनाएर बन्दैन। साठीको दशकतिर रडियो नेपालको एकदमै 'क्रेज' थियो श्रोतामा। त्यसमा पनि केही साथी बनाउने कार्यक्रम एकदम प्रसिद्ध थिए। फोन गरेर होस् या पत्र प्रेषित गरेर, देशैभर साथी बनाउने शुलभ तरिका थियो त्यो।
जसलाई 'पेनपल' अर्थात् पत्रमित्र साथी भनिन्थ्यो। त्यतिबेला स्वयम् पंतिकारले पनि ३०० थान जति साथी बनायो। पत्रमित्रताबाट बनाइएका ती संकलमध्ये १-२ जना चिन्छु सायद। समयको अन्तरालसँगै सबै बिलिन भए।
योबाट के पनि प्रष्ट हुन्छ भने मित्रतामा उद्देश्यले पनि भूमिका खेल्ने रहेछ। एउटा मान्छे सामान्य अवस्थामा कसैको मित्र बन्छ भने त्यो अर्कै कुरा भो। तर गहिरो मित्रतामा व्यवहार, विचारसँगै उद्देश्य पनि समाहित भएको पाइन्छ।
राजेश हमाललाई उनका मिल्ने साथीको लिस्ट् मागियो भने ज्यादतर साथीहरु कि त फिल्म निर्देशक, निर्माता वा कलाकारमध्ये कोही पर्नेछन्। हिजोका दिनमा बालापनमा, स्कुल/कलेजमा बनाइएका साथीमध्ये आजका दिनसम्म नगन्य मात्र मित्रतामा छन्। बहुसंख्यक साथी मेनुमा सिमित छन्, बेलाबेला सम्झनामा मात्र आउँछन्।
पश्चिम नेपालमा एउटा उखान प्रचलित छ। 'तरुल कोर्न्या र माछा मार्न्याको क्या साथ'! सामान्य अवस्थामा वा मित्रताका लागि मात्रै मित्रता गर्ने हो भने तरुल कोर्न जंगल जाने र माछा मार्न नदीपोखरी जाने मान्छे साथी बन्न सक्छन्। तर प्रगाढ मित्रता तरुल कोर्नेको तरुल कोर्नेसँग नै हुन्छ र माछा मार्नेको माछा मार्नेसँग नै देखिन्छ। कसैको विचार र व्यवहार मिलेन तर उद्देश्य एउटै छ भने सोच्नुस्, मित्रताको आयु छोट्टियो।
विचार र व्यवहार मिल्यो तर उद्देश्य मिलेन भने यसको आयु अलिकति लामै रहन्छ। तर, लामो दूरीको मित्रताले विचार, व्यवहार र उद्देश्य खोज्दछ। जसरी महाभारतमा अर्जुन र कृष्णको मित्रता धर्मको रक्षा गर्ने उद्देश्यका लागि थियो।
उद्देश्यले मित्रतालाई यो मानेमा पनि गाढा बनाइदिन्छ, एउटै परिवेश, उही वस्तु, एउटै विमर्शले सुगन्ध थपिदिन्छ। त्यसैले मित्रतामा उद्देश्य रहेता पनि मात्र उद्देश्य पूर्तिका लागि मित्रता गासियो भने त्यो घातक बन्छ। त्यस्ता थुप्रै उदाहरण छन्।
नेपालमा विभिन्न राजनीतिक दलको असहज मित्रता पनि देशको दुर्दशाको परीणाम मध्येको एक हो। अप्राकृतिक मित्रता धेरै लामो यात्रासम्म पुग्न सक्दैन। यसले दुर्घटना निम्त्याउनमा झनै मलजल गर्छ। सानै होस, कमजोर होस् तर प्राकृतिक मित्रताको यात्रा सार्थक र अजर रहन्छ।
फूल जति नै सुन्दर भएपनि तारिफ त्यसको सुगन्धको हुन्छ। सुगन्धित मित्रहरु फूल जस्तै हुन्। हरेक मुस्किल पलमा जो तपाईँको साथ उभिएको हुन्छ। तपाईँका हरेक समस्यामा उसका समाधान भेटिन्छन्। त्यो नै असल मित्र हो। जुन एकदम कम भेटिन्छन्। एउटा साथीको सफलतामा सबैभन्दा बढी खुशी पनि र सबैभन्दा बढी दु:खी हुने प्राणी पनि साथी नै हो।
तपाईँ जस्तो साथी बनाउनु हुन्छ, त्यस्तै चरित्र निर्माण भै दिन्छ। वा अर्को अर्थमा, तपाईँले आफ्ना चरित्र अनुसारका साथी खोज्नुहुन्छ।
विश्व प्रसिद्ध लेखक रोनि मेलनकनले भनेका छन्- 'मलाई तिम्रा साथीहरु देखाउ, म तिम्रो भविष्य देखाउनेछु।'
औसतमा मान्छेले आफ्नै हैसियत, व्यवहार, विचार र उद्देश्य बराबरीकै साथी बनाउँछन्। एकदम कम अवस्थामा मात्रै आफ्नो स्तरभन्दा एकदमै माथि या तलाका साथी बन्दछन्। सुरुवातमा जस्ता साथी बनाए पनि कालान्तरमा मित्रतामा काफी फरक पाइन्छ।
तपाईँसँग ती मात्र रहन्छन्, जो तपाईँका 'एभरेज' अर्थात् औसत छन्। चाहे त्यो तपाईँको विचारसँग होस्, चाहे त्यो आम्दानी, हैसियत वा उद्देश्यसँग। चोर्ने, ढाट्ने या छलकपटी स्वभाव भएका मान्छे र सिधा वा सन्त व्यवहार भएका मान्छेबीच धेरै लामो मित्रता रहन्न। कालचक्रसँगै सुदृढीकरण भएर आआफ्नो पदचाप पछ्याउँछन्, भनिन्छ नि- भेडा भेडातिर, बाख्री बाख्रीतिर।
म लेखक बबुरोको साथी राजेश हमाल वा बिनोद चौधरी बन्नै सक्दैनन्। उनीहरुसँग न मेरो विचार मिल्छ, न हैसियत। तीतो सत्य त के भने अलिकति राम्रो कमाई गर्न सक्ने मान्छेले मलाई साथी मान्नै सक्दैन। किनभने उसले आफ्नै हैसियतको साथी खोज्छ।
प्रधानमन्त्री मेरो साथी बन्न सक्नुहुन्न। प्रधानमन्त्रीलाई उही स्तरको मान्छे चाहिन्छ। शुभेच्छुक या सुभचिन्तक बन्नुहोला, त्यो अर्कै कुरा भो। शुभेक्छुक सबै कहाँ साथी हुन् र?
यदि तपाईसँगै भैरहेको साथीले महिनामा लाखको आम्दानी गर्न थाल्यो भने बुझ्नुस् मित्रताको रंगमा फिक्कापन सुरु भयो। साथीले आम्दानी गर्नु नराम्रो भन्न खोजिएको होइन। कुनै साथीले कुनै राम्रो पद पाउँदैछ भने सोच्नुस्, मित्रतामा पूर्ण बिराम नलागे पनि अल्पबिराम जरुर लाग्ने छ।
आजभोलि मित्रतामा उद्देश्य, व्यवहार, विचार सँगसँगै हैसियत र स्तर पनि नापिँदो रहेछ।
सँगसँगै गुच्चा खेल्ने, स्कुलमा बनाएका साथी र ती तमाम गोठाला जाने साथीको समयले स्तर र हैसियत बदलिदिएछ। त्यसैले त मित्र बदलिएछ्न्। मित्र बदलियो र त नाम मात्रैको मित्रता भयो।
यदि औसतमा कसैको परिचय खोज्नुपर्यो भने उसँग भएका नजिकका ४/५ जना साथीलाई हेर्दा पुग्छ। नजिकका मिल्ने साथीमा उनीहरुका औसत आम्दानी, औसत विचार, औसत व्यवहार, औसत हैसियत र औसत उद्देश्य लगभग समानता पाइन्छन्। समान गुण भएकै आधारमा मित्रता कायम भएको हुन्छ।
आफ्ना नजिकका साथीको कमाई, व्यवहार, विचार र उद्देश्य हेर्नुस्। एकछिन आफूमा हेर्नुस् धेरै कुरा समान भेटिनेछन्।
मान्छेको पहिचान उसको मित्रताबाट हुन्छ। यदि तपाईँका वरिपरी २/४ जना कवि मित्रहरु छन् भने, तपाईँ कवि नै नबने पनि २-४ वटा कविता त जरुर लेख्नुहुन्छ। यदि तपाईँको कोही नजिकको साथी सधैँ झुटो बोल्छ।
त्यसमा पनि झुट बोल्नमा डिग्री गर्या छ भने, ढुक्क हुनुस् तपाईँले पनि एक दिन झुटको खेती गर्न सिक्नुहुन्छ। कुरा ढिलो चाडोको मात्र हो। तपाईँको उठबस कोसँग छ र कसको संगतमा हुनुहुन्छ, त्यसले तपाईँको विकासको परिचय दिन्छ।
संगतले धेरै कुरा सिकाउँछ। लायक र नालायक दुइटै। भनिन्छ पनि संगत अनुसारको फल। संगतबाटै गुण र अवगुण प्रशारण हुने गर्दछन्। यदि तपाईँसँग त्यस्तो साथी छ जसले अरुको धेरै चियोचर्चो गर्छ भने त्यो अवगुणको केही हिस्सा तपाईँमा पनि प्रसारण हुन्छ।
यदी तपाईँ सकारात्मक सोच राख्ने, केही गर्नु पर्छ भनेर मनमा हुटहुटी भएका र एक लयले काममा केन्द्रित भएका साथीको बीचमा हुनुहुन्छ भने चाँडै तपाईँमा पनि केही गर्नुपर्छ भन्ने भाव पैदा हुनथाल्छ। स्वभावैले मित्र एक प्रकारका सल्लाहकार पनि हुन्। समस्या पर्दा यीनैबाट सल्लाह लिन्छौँ।
जो जस्तो छ, त्यस्तै सल्लाह दिने हुन्। महाभारतमा अर्जुनका सल्लाहकार भगवान श्रीकृष्ण थिए र दुर्योधनले सकुनिबाट सल्लाह लिन्थे। पाण्डवको जीतमा जति ठूलो हात भगवान श्रीकृष्णको छ, त्यति नै ठूलो भूमिका कौरवको हारमा सकुनीको छ।
सफलता प्राप्तिमा सल्लाहकारको धेरै ठूलो महत्त्व रहन्छ। जीत वा हारमा सल्लाहकारले आधा हिस्सा ओगटेको हुन्छ। जिन्दगीको सफलताको आधा उडान मित्रताले तय गरिदिन्छ। जस्तो मित्र चुन्नुहुन्छ, शंका छैन त्यति बराबरकै उपलब्धी पोल्टोमा पर्नेछ। जस्तो प्रकृतिको मान्छेसँग मित्रता गासिन्छ, एक अर्कोमा गुण प्रसारण हुदछन्।
त्यसैले बुढापाकाले भन्ने गर्थे 'संगत गुनाको फल मिल्छ'।
चोरै-चोरको बीचमा एक साधु गएर बस्यो भने त्यो साधु पनि चोर नै भएर निस्किन्छ। यदी तपाईँ सफल या सफलता प्राप्ति गर्न चाहने व्यक्तिको संगतमा पुग्नुभयो भने तिनीहरुले धक्का दिएर पनि सफलताको एउटा विन्दुमा पुर्याउँछन्। सफलतामै नपुर्याए पनि सफल बन्न प्रेरित त अवश्य गर्नेछन्।
द्वापर र तेत्रा युगमा पनि मित्रताका राम्रा उदाहरण पाइन्छन्। मित्रतामा कुनै पनि प्रकारको वर्ग, जात, धर्म, स्तर, व्यवहार र धनी-गरीब हुँदैन भन्ने कुराको ठूलो द्रष्टयव्य हो, भगवान श्रीकृष्ण र सुदामाको मित्रता। यसरी वर्गीयताबाट धेरैमाथि रहेको मित्रता आजभोलि एकदमै कम पाइन्छन्।
तर धर्मशास्त्रबाट यो पनि थाहा पाउन सक्छौं कि मित्र जो पनि बन्न सक्छ, जस्तोसँग पनि हुन सक्छ तर मित्रता समान तहमा मात्र दिगो हुन्छ। एउटा मित्रले अर्को मित्रको अस्तित्व स्वीकार गरेन भने मित्रता मजबुत हुनै सक्दैन।
जस्तो आचार्य द्रोण र राजा द्रुपदबीचको सम्बन्ध, जुन हैसियत र वर्ग मिलेको मित्रताको रुपमा लिइन्छ। हनुमानका पिता केशरी र बालीबीच पानी बाराबारको दुश्मनी हुँदा पनि केशरी पत्नी अन्जना र बाली पत्नी ताराबीच गहिरो मित्रता पाइन्छ। जुन एउटै जातक, बानर जातक भित्रको मित्रताको रुपमा लिइन्छ।
मत या विचार मिल्नेका आधारमा र गुन लायका आधारमा पनि मित्रताको व्याख्या गरिएको पाइन्छ। जस्तो दुर्योधन र कर्णबीचको मित्रता यो हिसाबले प्रगाढ मानिन्छ।
त्यस्तै तह मिल्ने या पथप्रदर्शकको आधारमा पनि मित्रतालाई शास्त्रमा देख्न पाइन्छ। जस्तो भगवान श्रीकृष्ण र अर्जुनबीचको मित्रता।
संस्कृतमा मित्रतालाई यसरी पनि भनिएको छ- 'नमातरी नदारेषु, असोदर्यै नचात्मनि। विश्वास स्ताहस: प्राप्च: चाहक मित्रै स्वभाव जे।'
अर्थात् घरपरिवारमा आमा, श्रीमती, सहोदर दाजुभाइ, दिदीबहिनी र स्वयम् आफूभन्दा माथि विश्वास गर्न लायक मित्र हुन्।
एउटा मान्छेले जीवनमा धेरै मित्र बनाउँछ। स्कुल, कलेज, गाउँघर, काम गर्ने ठाउँ, खेल्ने ठाउँ र अन्य थुप्रै ठाउँमा। यति मात्र नभई कतिले त साथीका साथीलाई पनि साथी बनाउँछन्। जीवनको लामो दौडमा धेरै साथी जोडिन्छन् पनि धेरै साथी छुट्छन् पनि।
कतिपय फेरि भेटिन्छन् पनि। रातारात पनि मित्रता गासिन्छन्। रातारात तिक्ततापूर्ण सम्बन्ध ध्वस्त पनि हुन्छन्। आज एउटा साथी बन्छ। भोलिबाट पत्तासाफ। फेरि वर्षौंपछि ठोक्किन आइपुग्छन्। कुन दिन कसको के स्वार्थ पर्छ।
आजभोलिका दुईतिहाई मित्रता केवल स्वार्थले जोडिन्छन्। विचार मिल्यो भने घाटी जोड्छन्। लेनदेन बिग्रियो भने काटमारमा उत्रन्छन्। आजभोलिका राजनीतिक दल जस्तै। पूरै मित्रता हिसाब किताबमा चलेको छ।
आजभोलि मान्छेहरु खुट्टाका चप्पल हेरर सम्बन्ध बनाउँछन्। यसबाट कति भजाउन सकिन्छ। कति फाइदा उठाउन सकिन्छ, त्यो हेर्छन पहिले। यिनीहरुले आफ्नै खालको तराजु पनिसँगै बोक्छन्। फाइदा उठाउन लायक केही छ कि छैन तौलिन्छन्। सिकर्मीले कपडा नापेझैं हैसियत नाप्छन्।
यीनको आँखामा दुरवीन हुन्छ सायद, प्रष्ट चिन्छन् सहरिया ठालु हो कि गाउँले मुर्गा। शक्ति र पहुँच कति छ पत्ता लाउछन् र बल्ल मित्रताको सर्टिफिकेट दिन्छन्। त्यो पनि ग्रेड सहितको। धेरै भजाउन सक्ने भए 'ए' ग्रेड। अलिकति स्वार्थ पुरा गर्न मिल्ने खालको भए 'बी' ग्रेड। ठीकठिकै काम लाग्ने भए 'सी', 'डी' ग्रेडको सर्टिफिकेट दिन्छन्।
यिनले एकपल्ट मात्र फाइदा उठाउन सक्नेलाई पनि साथी बनाइहाल्छन्। त्यो पनि 'जेड' ग्रेडको सर्टिफिकेट दिएर।
अतत: मित्रता जीवनको अभिन्न अंश हो। यो भजाउनका लागि मात्र होइन। जीवनमा आनन्द प्राप्तिका निम्ति पनि यो आवश्यक छ। मित्रता आफैँमा एउटा पवित्र सम्बन्ध हो। जर्ज इलियटले मित्रतामाथि यसरी प्रष्ट्याएका छन्- 'सबभन्दा असल मित्र त्यो हो जसमा ठूलो मेलमिलाप छ, ठूलो झगडा छ तर पनि धेरै माया छ।'
मित्रता गास्नु पनि चुनाव जस्तो हो। कसलाई जोड्ने र कसलाई छोड्ने। असल मित्र छान्नुहोस र जीवन सार्थक बनाउनुहोस्। सबैको मित्रता प्रगाढ बनोस्, पंतिकार जस्तै। जय होस्।