अगाडितिरबाट गाडीहरू गुड्दै छन्, कोही गाडी चढेर बाई बाई भन्दै निस्केका छन्। यत्तिकैमा चिया खान आएका मान्छेहरू मोबाइल हेर्छन् र देशमा केही छैन भन्दै निराशाको भावलाई व्यक्त गर्छन् अनि देशका राजनीति दलहरूप्रति सङ्केत गर्दै विभिन्न अपशब्दहरू प्रयोग गर्छन्। आज उनीहरूको त्यो मुहारमा मुस्कान छैन, केवल वितृष्णा र असन्तुष्टि मात्र छ।
यो त एउटा उदाहरण हो, यस्तै देशका युवाहरूमा आज असन्तुष्टि र आफ्नो भविष्यप्रति के गर्ने भन्ने विषयमा प्रश्न वाचक चिन्हले ठाउँ बनाएको छ।
जब साँझ पर्छ तब प्राय: जसो विजय, विष्णु र म प्राय चिया चोकमा बसेर जहाँ हामीले हाम्रो दैनिकीसँग जोडिएका सामान्य देखि देशका गम्भीर विषयहरूमा कुराकानी गर्ने गर्दछौँ। चिया चोक हाम्रो चिया खाने ठाउँ मात्रै होइन दुःख, सुख का कुरा साट्ने ठाउँ हो।
दिनभरिको थकान र मन भरिका अनेकौँ पीडालाई हामीले चियासँगै गरिने गरिने कुराकानीबाट मलम लगाउने प्रयास गर्छौँ। हामी तीन जनाको उमेर लगभग एउटै छ अनि पढाइ तीनै जनाको स्नातक तह। विजय र म कानुनका विद्यार्थी हौँ भने विष्णु म्यानेजमेन्टको विद्यार्थी। विषय फरक फरक भए पनि हामी तीनै जनाको कुरा लगभग मिल्छ। कहिलेकाहीँ झगडा पनि हुन्छ र मिलन पनि। सायद दोस्ती यसैलाई भन्छन् होला।
चिया खाँदै गर्दै हामीले विगत, वर्तमान र भविष्यका कुरा पनि गर्छौँ। हामी विगतमा जान्छौँ कक्षा १० सम्म सँगै पढेका साथीहरू र त्यो रमाइलो बालापनलाई सम्झिन्छौँ। स्कुले जीवनका तितामिठा कुरा गर्छौँ, एकछिन आनन्द महसुस पनि गर्छौँ अनि वर्तमान आयौँ भने कतै पीडा त कतै अनिश्चित परिस्थितिको कुरालाई महसुस गरेर थोरै दुःखी पनि हुन्छौँ। वर्तमान हामीसँग केही पनि त्यस्तो केही पनि छैन।
विष्णु थोरै धेरै राजनीतिसँग जोडिएकोले राजनीतिका कुरा गर्छन्, विजय भने अलिकति अध्ययनका कुरा, कानुनका कुरा गर्छन् अनि म भने दुवै जनाको कुरालाई सुनिरहेको हुन्छ। दुवै जनाको कुराबाट वर्तमानमा हामीसँग भएको भनेकै ज्ञान र मिहिनेत गर्न सक्ने शक्ति हो जुन अहिले छ।
उमेरले युवा अवस्थामा रहेका हामी सायद ब्याचलर भ्याइन आँटेर पनि होला कतै भविष्यका कुरामा पनि धेरै कुरा गर्छौँ। भविष्यका कुरा गर्दा कतै उमंग त कतै जिम्मेवारी सहितको भावनाले मन भारी भए आउँछ। विष्णु पछि गएर नेपालमै केही गर्छु विदेश नजाने कुरा गर्छन्, सायद उनले आफ्नो भविष्य राम्रोसँग नेपालमा देखेका छन्। हुन पनि दृढ इच्छा शक्तिले केही गर्न सकिन्छ भने उदाहरण विष्णु पनि हुन् किनकि उनीमा युवा जोसको शक्ति सञ्चय छ, केही गर्ने हुटहुटी अनि दृढता पनि छ।
विभिन्न संघ-संस्थाको नेतृत्वसँगै कानुन पढेर आफ्नो स्तर र समाजको मानसिकतालाई केही भए पनि परिवर्तन गराउन खोज्ने विजयको कहानी अर्कै छ। उनी कानुनलाई राम्रोसँग अध्ययन गर्छन्, लेखहरूमा रुचि राख्छन्। टिक्न सके बिक्न सकिन्छ भन्ने कुरा मैले उनीबाट सिकेको थिए। समाजमा कानुन र विभिन्न कुराको सचेतना छर्दै हिँड्ने विजय नेपालमै केही गर्ने कुरा गर्छन्। हुन पनि उनलाई घर र समाजबाट विदेश जान दबाब आउँदा नि नेपालमै केही हुन्छ भनेर आफूलाई विदेश पलायन हुनबाट रोकेका छन्। विजय जस्ता धेरै विद्यार्थीहरूको अहिले यस्तै जसले घर र समाजको दबाबलाई केही हदसम्म वास्ता नगरी देशमै केही गर्ने अठोटका साथ अगाडि बढ्दै छन्।
कुनै बेला अन्यायमा परेका कारण मैले मेरा अभिभावकका आँखामा आँसु देखेको छु। त्यहीँ घटनाले होला मलाई कानुन र न्यायको क्षेत्रमा कदम राख्न पुर्यायो।
कति तितामिठा परिस्थितिलाई झेल्दै करिब ५ वर्ष अघिदेखि परिवारको न्यानो काख छोडेर एक्लै बसेर पढ्दै छु। हल्का लेखहरू लेख्ने अनि पत्रकारिताको यात्रालाई निरन्तरता दिने प्रयास गर्दै छु। प्रयास र सानोतिनो मिहिनेत जारी छ। तर कहिलेकाहीँ जीवनमा अगाडि बढ्न हौसला दिने मान्छे कम हुँदा कता कता मन खिन्न पनि हुँदो रहेछ। आशाहरू निराशामा परिणत हुँदो रहेछ।
जता जान्छु कुन देशको तयारी गर्दै छौँ भनेर प्रश्न नसोधेको ठाउँ नै हुँदैन। देशको विषम परिस्थिति झेल्न नसकेर सायद आज धेरै जना देश छोड्न खोजिरहेका छन्।
पहिले पहिले आफ्नो देशमा बस्नु एकदमै गर्वको कुरा हुन्थ्यो। तर आजभोलि यस्तो लागिसक्यो कि देश बस्नु ठुलै प्रश्नवाचक चिह्न अनि हेपाइको प्रतीक बन्नु हो। सायद यी नै कुराले गर्दा अनि मैले आफैँलाई भनेँ- अब के गर्ने?