हाम्रो समाजमा एउटा उमेर पुगेपछि धेरै व्यक्तिहरूले सुन्नुपर्ने सबैभन्दा धेरै तर उत्तिकै झर्कोलाग्दो प्रश्न हो— ‘बिहे कहिले गर्ने?’ यो प्रश्न सोध्नेहरूका लागि एउटा सामान्य जिज्ञासा वा शिष्टाचार जस्तो लागे पनि जसलाई सोधिन्छ, उसको लागि यो कहिलेकाहीँ मानसिक बोझ, आत्म–सम्मानमा चोट र व्यक्तिगत स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप बनिदिन्छ।
नेपाली समाजमा व्यक्तिगत जीवन र सामाजिक सरोकार बिचको रेखा यति धमिलो छ कि मानिसहरू अरूको जीवनको सबैभन्दा निजी निर्णयमा पनि अधिकार जमाउन खोज्छन्। विवाह गर्नु वा नगर्नु पूर्णतया एउटा व्यक्तिको शारीरिक, मानसिक र आर्थिक तयारीको विषय हो तर विडम्बना के छ भने यसलाई एउटा सामाजिक ‘डेडलाइन’ वा अनिवार्य सफलताको मापदण्डको रूपमा हेरिन्छ। मानिसहरू आफ्ना दुःख बिर्सिएर अरूको घरमा किन शहनाई बजेन भन्ने चिन्तामा दुब्लाउने गर्छन्, जसले गर्दा सम्बन्धित व्यक्तिमा एक प्रकारको विरक्ति, दिक्दारी र समाजप्रति नै वितृष्णा पैदा हुनु स्वाभाविक हो।
समाजको यो अचाक्ली चासोको पछाडि एउटा पुरानो सोचले काम गरेको हुन्छ— ‘विवाह नै जीवनको पूर्णता हो।’ तर के वास्तवमा विवाहले मात्रै मानिसलाई पूर्ण बनाउँछ? के संसारका सबै विवाहित जोडीहरू सुखी छन्? यी प्रश्नहरूको जवाफ खोज्न समाज कहिल्यै तयार हुँदैन। उसलाई त केवल सबैलाई एउटै साँचोमा ढाल्नु छ। कोही व्यक्तिहरू आफ्नो करियरमा रमाउन चाहन्छन्, कोही एक्लै यात्रा गर्न रुचाउँछ, कोही आफ्ना परिवार वा समाजको सेवामा समर्पित हुन चाहन्छन् भने उसलाई ‘अपूर्ण’ वा ‘अभागी’ को बिल्ला भिराइन्छ। यो प्रवृत्तिले गर्दा कतिपय मानिसहरू केवल ‘लोग्ने-स्वास्नी’ को ट्याग भिर्नकै लागि मात्र विवाहको बन्धनमा बाँधिन्छन्, जसको जग प्रेममा होइन, सामाजिक डरमा अडिएको हुन्छ।
अक्सर विवाहको पक्षमा तर्क दिँदा बुढेसकालमा सहारा चाहिन्छ वा एक्लै जीवन काट्न गाह्रो हुन्छ भन्ने भाष्य बढी प्रयोग गरिन्छ। सुन्दा यो तर्क निकै भावुक र व्यावहारिक लागे पनि यसका अनेकौँ अनुत्तरित पाटाहरू छन्। जीवनको कुनै निश्चित ग्यारेन्टी छैन; यदि बुढेसकालमा साथीको अपेक्षा गरेर विवाह गरियो र दैवसंजोगले एक साथीको अकालमै मृत्यु भयो भने बाँकी जीवन झन् कति शून्य होला? त्यस्तो अवस्थामा समाजले दिने ‘सहारा’ को तर्क कहाँ पुग्छ? बुढेसकालमा मानिस भर्खरको जस्तो जोसिलो र सक्रिय हुँदैन। शरीर शिथिल हुँदै जाँदा एक–अर्काको हेरचाह गर्ने शक्ति पनि कम हुँदै जान्छ। यस्तो अवस्थामा केवल एउटा मानिसको भरोसामा मात्र जीवन टिकेको हुँदैन।
वास्तवमा बुढेसकालको वास्तविक सहारा भनेको व्यक्तिको आफ्नै स्वास्थ्य, आत्मनिर्भरता, आर्थिक सुरक्षा र उसले जीवनभर कमाएको मानसिक शान्ति हो। यदि कोही व्यक्ति युवावस्थामा आफूलाई मानसिक रूपमा बलियो बनाउन सफल छ भने, उसलाई बुढेसकालको काल्पनिक डर देखाएर तर्साउनुको कुनै तुक रहँदैन।
धेरैले भन्ने गर्छन्, ‘बिरामी पर्दा कसले एक गिलास पानी देला?’ तर के पानीकै लागि मात्र कसैको सारा जीवन आफूसँग जोड्नु जायज छ? सम्बन्ध त प्रेम, सम्मान र आत्मिक सामीप्यताका लागि हुनुपर्ने हो। यदि कोही व्यक्ति कसैको सहारा बिना नै आफ्नो जीवन व्यवस्थापन गर्न सक्षम छ भने उसलाई समाजले ‘एक्लो’ भन्दै दया देखाउनु पर्ने आवश्यकता छैन। बुढेसकालमा सहारा दिने कुरा केवल जीवनसाथीमा मात्र सीमित छैन। आजको विश्वमा सामाजिक सञ्जाल, मित्रता, समुदाय र विभिन्न सेवा सुविधाहरूले व्यक्तिलाई एक्लो हुन दिँदैनन्। मुख्य कुरा त यो हो कि, जो व्यक्ति आफ्नो सनगतमा रमाउन जान्दैन, उसले अर्को व्यक्तिको साथ पाउँदा पनि आफूलाई एक्लो नै महसुस गरिरहेको हुन्छ।
समाजले ‘एक्लै बस्नु’ लाई सधैँ नकारात्मक र दयनीय नजरले हेर्ने गर्छ। तर मानिसहरूले के बुझ्दैनन् भने, ‘एक्लै हुनु’ र ‘एक्लोपन’ दुई फरक कुरा हुन्। हजारौँको भिडमा वा एउटै घरभित्र परिवारसँग बसेर पनि मानिसले भयानक एक्लोपन महसुस गरिरहेको हुन सक्छ। वैचारिक मेल नखाने मानिससँग ‘बुढेसकालको साथी’ बन्ने नाममा जबरजस्ती जीवन बिताउनु भनेको आफ्नै स्वतन्त्रताको हत्या गर्नु सरह हो।
एउटा बेमेल सम्बन्धमा बसेर दिनहुँको कलह झेल्नुभन्दा शान्तिपूर्वक एक्लै बस्नु कैयौँ गुणा उत्तम हुन्छ। जो मानिस आफ्नै सनगतमा खुसी छ, जसले आफ्नो एक्लोपनलाई एकान्तको उत्सव बनाउन सिकेको छ, उसलाई कसैको वैशाखी टेकिरहनु पर्दैन। विवाह एउटा सुन्दर सम्बन्ध हुन सक्छ यदि त्यो स्वेच्छाले र सही समयमा गरिएको छ भने तर यसलाई जीवनको एक मात्र गन्तव्य र पूर्णताको कडी मान्नु एउटा ठुलो भ्रम मात्र हो।
आजको आधुनिक युगमा पनि मानिसको व्यक्तित्वलाई उसको वैवाहिक स्थितिसँग जोडेर हेर्ने संकुचित सोच कायमै छ। अरूको जीवनमा अत्यधिक चासो देखाउने प्रवृत्तिले गर्दा कतिपय व्यक्तिहरू सामाजिक दबाब झेल्न नसकेर हतारमा गलत निर्णय लिन पुग्छन्, जसको परिणाम स्वरूप पछि सम्बन्धविच्छेद वा तनावपूर्ण दाम्पत्य जीवन भोग्नुपर्ने हुन्छ। के समाजले त्यस्ता असफल सम्बन्धहरूको जिम्मेवारी लिन्छ? पक्कै लिँदैन।
समाज केवल प्रश्न सोध्न र टिप्पणी गर्न जान्दछ तर त्यसको परिणाम भोग्ने त व्यक्ति स्वयं नै हो। एउटा मानिसले कसरी आफ्नो जीवन व्यतीत गर्छ, उसले कहिले विवाह गर्छ वा गर्दैन भन्ने कुराले समाजको विकास वा विनाशमा कुनै असर पार्दैन। त्यसो भए किन समाज यति धेरै चिन्तित हुन्छ त? वास्तवमा यो चिन्ता होइन, यो नियन्त्रण गर्ने चाहना हो। मानिसहरू चाहन्छन् कि सबैजना उनीहरू जस्तै बाटोमा हिँडुन्, कसैले नयाँ वा फरक बाटो रोज्यो भने उनीहरूलाई असुरक्षा महसुस हुन्छ।
विवाह नगर्ने निर्णय गर्नुको अर्थ जीवनप्रति निराश हुनु होइन। धेरै मानिसहरू यस कारण विवाह गर्दैनन् किनकि उनीहरूलाई आफ्नो स्वतन्त्रता प्यारो हुन्छ, उनीहरू कुनै खास लक्ष्यमा केन्द्रित हुन चाहन्छन् वा उनीहरूले अहिलेसम्म आफ्नो जीवनको लय मिल्ने साथी फेला पारेका हुँदैनन्। यस्तो अवस्थामा ‘जे–जस्तो भए पनि एउटा बिहे त गर्नै पर्छ’ भन्नु कतिसम्म न्यायोचित छ? के विवाह कुनै सामान हो जो बजारमा गएर छान्न पाइन्छ? यो त दुई आत्माको मिलन हुनुपर्ने हो तर समाजले यसलाई एउटा ‘कन्ट्रयाक्ट’ वा सामाजिक रीतको रूपमा मात्र बुझेको छ।
बुढेसकालको डर देखाउनु एउटा मनोवैज्ञानिक अस्त्र मात्र हो। यदि हामीले इतिहास हेर्यौँ भने, कैयौँ महान् दार्शनिक, वैज्ञानिक र लेखकहरूले अविवाहित रहेर पनि संसारलाई ठुलो योगदान दिएका छन् र एउटा सन्तुष्ट जीवन बिताएका छन्। उनीहरूका लागि उनीहरूको काम, सिर्जना र विचार नै सबैभन्दा ठुलो सहारा थियो। आजको समयमा मानिसहरू आर्थिक रूपमा सक्षम हुँदैछन्। स्वास्थ्य सुविधाहरू बढ्दैछन्। यस्तो बेला बुढेसकालको नाममा कसैलाई विवाहको सम्बन्धमा बाँध्नु भनेको उसको वर्तमानको खुसीलाई भविष्यको अनिश्चिततासँग साट्नु हो। मानिसले आफ्नो वर्तमानलाई कसरी सुखी बनाउने भन्ने सोच्नुपर्छ, न कि २०–३० वर्ष पछिको एउटा काल्पनिक दृश्यलाई लिएर डराउनुपर्छ।
हाम्रो समाजमा विवाहलाई एउटा प्रतिष्ठाको विषय बनाइएको छ। छोराछोरीको विवाह गरिदिनु नै बाबुआमाको सबैभन्दा ठुलो कर्तव्य मानिन्छ। यसले गर्दा छोराछोरीमाथि एउटा भावनात्मक सिर्जना गरिन्छ। ‘हाम्रो मर्ने बेला भइसक्यो, तिम्रो बिहे देख्न पाए हुन्थ्यो’ भन्ने जस्ता वाक्यहरूले व्यक्तिलाई आफ्नो इच्छा विपरीत निर्णय लिन बाध्य पार्छन्। तर के छोराछोरीको खुसी भन्दा सामाजिक रीत ठुलो हो? के एउटा मानिसले आफ्नो सारा जीवन अर्काको इच्छाका लागि समर्पित गरिदिनुपर्ने हो? यी प्रश्नहरूमाथि अब गम्भीर विमर्श हुन जरुरी छ।
निष्कर्षमा, जीवनको सार्थकता अर्काको इच्छा पूरा गरिइदिनुमा होइन, बरु आफ्नो खुसी र शान्तिमा खोज्नुपर्छ। विवाह एउटा विकल्प हो, अनिवार्य आवश्यकता होइन। जसलाई विवाह गरेर खुसी मिल्छ, उसले गर्नुपर्छ तर जसलाई एक्लै बस्दा वा अर्कै किसिमको जीवन जिउँदा आनन्द आउँछ, उसलाई समाजले सम्मानपूर्वक बाँच्न दिनुपर्छ। बुढेसकालमा कसले कसलाई हेर्छ भन्ने चिन्ताले वर्तमानको स्वतन्त्रतालाई बन्धक बनाउनु बुद्धिमानी होइन। मानिस आफैँमा एउटा पूर्ण इकाई हो। उसलाई पूर्ण हुन अर्को व्यक्तिको अनिवार्य आवश्यकता पर्छ नै भन्ने छैन। जीवन जिउनका लागि विवाहको प्रमाणपत्र भन्दा पनि व्यक्तिको आफ्नै आत्म–सम्मान, मानसिक सन्तुलन र आफ्नो निर्णयमा अडिग रहने साहस बढी महत्त्वपूर्ण हुन्छ। समाजको अनावश्यक चासोलाई नजरअन्दाज गर्दै आफ्नो जीवनको लय आफैँले तय गर्नु नै आजको आवश्यकता हो। हामीले बुझ्नुपर्छ कि जीवनको अन्त्य कसरी हुन्छ भन्ने भन्दा पनि जीवन कसरी बाँचियो भन्ने कुराले बढी अर्थ राख्छ।