काठमाडौँबाट हानिएकै दिनको राति ९ बजेतिर जाजरकोटको छेडागाढ पुगियो। पहिले कम्तीमा पनि ३ दिन लाग्ने यही यात्रा एकै दिनमा पूरा गर्न पाएकोमा मनले कता-कता सन्तोषको सास फेरिरहे पनि लामो यात्राको कारण अलि बढी थकानको अनुभूति भइरहेको थियो। यद्यपि साथीभाइहरूले घेरिएपछि थकान आफै कता हराए र गए जस्तो अनुभूति भयो।
लामो समयपश्चात् गाउँघरको परिवेश नियाल्न पाएको र दशकौँ पछि सहकर्मी गुरुहरूसँग भेट्न पाएकोमा दुःखको त्यो क्षणमा पनि कतै-कतै खुसीको अनुभूति पनि मिलिरहे झैँ लाग्यो। खास गरी यी दश वर्षमा गाउँघरको शिक्षामा के कस्तो बदलाव आयो होला भन्ने जिज्ञासाहरू घरीघरी मनमै उदाउँथे र अनुत्तरित हुँदै अस्ताउँथे। आज आफैले गाउँघरमै रहेर गाउँको शिक्षाको अवस्था नियाल्ने अवसर पाउँदा अलिक खुसी मिलेको अनुभूति भयो।
त्यहाँ धेरैजसो प्रअ शिक्षकहरूको उपस्थिति थियो। पालिकाहरूले शिक्षामा कस्तो सुधारका प्रयास गरिरहेका छन्? शिक्षकको अभावको आपूर्ति कसरी गरिएको छ? पठनपाठनको नियमितता कस्तो छ विद्यालयहरूमा? परीक्षा र मूल्यांकनमा सुधार छ कि थप विकृति बढेको छ? यस्तै यस्तै मेरो जिज्ञासाहरू मैले त्यहाँ पोखेको थिएँ। तर प्रायः सबैको एउटै जवाफ थियो कि शैक्षिक सुधार अपेक्षित रूपमा हुन सकेको छैन। शिक्षकको अभाव उस्तै छ। विद्यार्थीहरू झन्-झन नपढ्ने हुन थाले। शिक्षकहरूमा शैक्षिक सुधारका लागि अपेक्षित रूपमा जाँगर उदाउन सकिरहेको छैन। सक्नेले छोराछोरी सुर्खेत, नेपालगन्ज र काठमाडौँतिर सारेर पढाइरहेका छन्। नसक्नेका छोराछोरी गाउँका स्कुलमा अलमलिन बाध्य पारिएका छन्। प्राप्त यस खालका प्रतिक्रियाहरूले मलाई साँच्चिकै दुःखी बनायो। यसरी शिक्षामा हुन नसकेको सुधारका कारण अनिश्चित र अँध्यारो भविष्यतर्फ शैक्षिक यात्रा गरिरहेका हजारौँ बालबालिकाहरूको माया र सम्झनाले म भावविह्वल भइरहेँ त्यो साँझ।
समयले रातको १२ बजाइसकेको थियो। सुत्ने कहाँ अत्तोपत्तो थिएन। भोलिपल्ट जाजरकोट सदरमुकाममा आयोजना गर्न लागिएको १२ को परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुपर्ने समय तालिकालाई कसरी फ्लो गर्ने चिन्ताले एकतमासले सताइरहेको थियो।
धैयाँमा सुत्न स्थान अभाव भएपछि सुवानाउली गएर त्यो रात सुस्तायौँ। निद्रा फेरिक पनि नआएर भोलि बिहान अनिदै खलंगा हानिनु पर्ने पो हो कि भन्ने पिर मनमा थियो नै। तर यात्राको थकान र अबेर रातसम्मको बसाइले होला कतिखेर भुसुक्कै निदाएछु पत्तै भएन।
बिहान लगभग ५ बजे नै निद्रा खुलिसकेको थियो। बाहिरी परिवेशमा अलिक रुमलिन खोजेँ। आफूले जागिरको सुरुवात गरेको जनविकास मावि सुवानाउली कस्तो भयो होला भन्ने कौतुहलता जो थियो, त्यो पूरा गर्न स्कुलतिर उक्लिए। स्कुलमा भयंकर भवनहरू बन्दै रहेछन्। खुसी लाग्यो। भित्रको व्यवस्थापन र पठनपाठन कस्तो छ भन्ने जान्न मन लाग्यो। भेटिएका केही जनसँग प्रतिक्रिया लिएँ। नयाँ म्याडम आएदेखि झन् राम्रो हुँदैछ। उहाँले राम्रो गर्ने प्रयास गर्दै हुनुहुन्छ भन्ने स्थानीय जनको प्रतिक्रियाले मन प्रफुल्लित भयो। मनमनै उहाँ म्याडमको विद्यालय राम्रो बनाउने कोसिसलाई सह्राना गरिरहे।
अनि ७ बजेतिर खलंगा हानिएँ बाइकमा। मनघाटदेखि स्वडारी खोलासम्म सडक पिच हुँदै गरेको कारण बाटो धुलाम्य थियो। बाटोमा क्रस हुने र अघिअघि दौडिरहेका गाडी र बाइकले उडाउने धुलोले झोला र जिउँ धुलाम्मे हुन्थ्यो। कतै-कतै त साउन भदौको कुहिरो लागेको हो कि धुलाम्य सडकको कमाल हो, छुट्टाउन नै कठिन पर्थ्यो। अप्ठ्यारा मोडहरूमा साना-साना सालिक भेटिन्थे। सायद ती तत्-तत् स्थानको सडक दुर्घटनामा अकालमा ज्यान गुमाउनेहरूको सम्झनामा आफन्त जनले स्थापना गरेका सम्झनाका प्रतिमूर्ति थिए होलान्।
धुलाम्य र हिलाम्मे बाटोले दिएको त्यो धुलोलाई छेडापारि पुगेर स्याउलाको सहायताले झार्यौँ। धुलाम्य बाटोबाट पाएको मुक्तिले खुसीको श्वास फेर्यौँ धुलाम्मे र हिलाम्मे जसो भए पनि समयमै शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटमा सुरक्षित रूपमा पुग्न सकेकोमा मनले सन्तोष र शान्तिको अनुभूति गर्न सक्यो।
म आफू नै जिल्ला शिक्षा अधिकारीका रूपमा काम गरिरहँदा निर्माण सुरु गरी निर्माण सम्पन्न भएको भव्य भवनमा पहिलो पटक प्रवेश गर्दा मन आह्लादित भयो। प्रवेशद्वारमै धेरै जना हेडसर म्याडमहरूसँग जम्का भेट भयो। करिब दशकपछि प्रियजनहरूसँग भएको भेटले औधी खुसी दियो।
बाटोमा जीउभरि छाएको हिलो धुलो टकटक्याएर ११ बजेदेखि आयोजना गरिएको केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रममा सहभागी भएँ। कर्णाली प्रदेश परीक्षा बोर्डको प्रमुख महेश देवकोटाले कर्णालीको परीक्षा प्रणालीको अवस्थाको संक्षिप्त विवेचनात्मक प्रस्तुति दिनु भयो।
प्रहरी प्रमुखले हालसालै सम्पन्न एसइईको परीक्षामा अमर्यादित कार्य गर्ने १४ जना उपर प्रहरीबाट भइरहेको अनुसन्धान र कारबाहीको बारेमा संक्षिप्त जानकारी दिनु भयो। उक्त प्रस्तुतिबाट यो साल जाजरकोटको परीक्षामा हुने अमर्यादित गतिविधि उपर प्रहरी र प्रशासन निर्मम ढंगले लागेको रहेछ। यसले खुसी बनायो।
परीक्षा अमर्यादित हुन भनेको कोर्स पूरा नगर्नु हो। कोर्स पूरा नगर्नु भनेको शिक्षकले जिम्मेवारी निर्वाह नगरेको ठहर हुनु हो। यो भनेको सरासर शिक्षा क्षेत्रको दण्डहीनताको पराकाष्ठा हो। यसको समूल अन्त जरुरी छ। यो शिक्षकबाट मात्र अन्त हुन सक्छ। किनकि जुन आगोले पोल्छ, त्यही आगोले मात्र सेक्ने सामर्थ्य राख्छ।
यस्तै तितामिठा अनुभवहरूको आदानप्रदान गर्दै उक्त केन्द्राध्यक्ष अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। त्यसपछि हामीलाई समय प्राप्त भयो। हामीले विगतमा सँगै काम गर्दाको अनुभवलाई सम्झने कोसिस गर्दै बुढानीलकण्ठमा काम गर्दाका असल शैक्षिक अभ्यासहरू प्रस्तुत गर्यौँ। उक्त प्रस्तुतिबाट गर्न खोज्दा नसकिने के पो नै रहेछ र भन्ने अनुभूति सबैलाई हुन गएको महसुस गरियो। बुढानीलकण्ठले तयार गरेका शैक्षिक क्यालेन्डर, शिक्षक विद्यार्थी डायरी, शिक्षक ब्यागहरूलाई असल अभ्यासका प्रतिकका रूपमा वितरण गर्दै छोटो कार्यक्रमको समापन गर्यौँ।
भोलिपल्ट एकाबिहानै एउटा बोलेरो गाडी भाडामा लिएर कुशे गाउँपालिका हानियौँ। यात्रा गरिरहेको धेरै ठाउँमा सडकको अवस्था राम्रो हुँदाहुँदै पनि गाढराङसीको उकालो मुखेञ्जीको सडकको अवस्था उस्तै थियो, जस्तो दश वर्ष अघि थियो। यसले नेपालको सडक विकास मोडेलको एउटा खराब बेन्चमार्क बनाएको छ। जो समयमै सच्चिनु पर्थ्यो, सच्चिन सकेन। जो दुर्भाग्यपूर्ण हो। त्यही सडक खण्डको गलत डिजाइनका कारण लुम्बिनी रारा राजमार्गले गति लिन सकेको छैन। यो खण्डको विकल्प खोज्नु जरुरी छ। कि त उच्च प्रविधिको लगानी तत्काल गरेर यसको यथाशक्य स्तरोन्नति गर्न वाञ्छनीय छ। नत्र यो सडक खण्ड खलंगा पाँचकाटियाँ सडक स्तरोन्नतिको अभियानमा भ्यागुताको धार्नी भन्दा अरू केही हुन सक्ने देखिँदैन।
गाढराङसीको उक्त सडक खण्ड पार गरिसकेपश्चात् कुशे मुकाम भार्मासम्मको यात्रामा कुनै जोखिमको सामना गर्नु परेन। हामी समयमै पुगेर समय तालिका बमोजिम नै कार्यक्रममा सहभागी हुन पायौ। सौहार्द रूपमा अन्तरक्रिया सञ्चालन र सामग्री वितरण गरी पुनः खलंगा फिर्ता भयौ।
भार्माबाट फिर्ता हुने क्रममा ढिमे दमदालाको सुन्तला खेती अवलोकन गर्ने अवसर जुर्यो। यो वर्ष मात्रा यहाँबाट ८/१० करोडको सुन्तला निर्यात भएछ। कुनै अमुक किसानले नर्सरीबाट मात्र वर्षमा ५० लाखसम्म आम्दानी गर्दा रहेछन्। यो कुरा सुन्दा गर्वको महसुस हुन गयो।
गाउँघरमा अहिले हरेक जसो घरमा सुन्तला, किवी अदुवा, बेसार जस्ता नगदे बालीको खेती गर्ने लहर छाएको रहेछ। पालिका, वडा र विभिन्न संघ-संस्थाहरूले समेत यसमा विशेष चासो दिइरहेका रहेछन्। यी चासो र अग्रसरताहरूले जनताको जीविकासँग जोडिएका यस खालका क्रियाकलापहरूबाट स्थानीय स्तरमै स्वरोजगार र उद्यमका अवसर प्रवर्द्धन हुन सक्छन्। जसबाट युवाहरूले आफ्नै परिवेशमा रहेर घरपरिवारलाई हेरचाह गर्दै आयआर्जनका अवसर पाउन सक्ने दिन बिस्तारै भित्रिन सक्ने विश्वास जागेर आयो। यो विश्वासले मूर्त रूप पाउन सके सायद कुनै पनि हाम्रा युवाहरूले घरपरिवारबाट वियोगको पीडा बोकेर भक्कानिँदै वैदेशिक रोजगारीमा जानु पर्ने दिन कसो अन्त नहोलान्।
वास्तवमा वैशाख जेठको समय गाउँघरमा निकै रमाइलो छाएको हुन्छ। खोलामा दुवाली बुझेर माछा मार्नेहरूको भीड हुन्छ भने लेकमा काफल खानेहरूको। लालीगुराँस फुलेर बन ढकमक्क हुन्छ। जंगलभरि गाई-बाख्रा गुवालाहरूको चहलपहल बढ्दा झन् रमाइलो हुन्छ। यतिखेर हामीले पनि गाढघट्टदेखि दमदाला, चुइकनावली हुँदै पाँचकाटिया र लेकराङसीसम्मको यात्रामा त्यो रमाइलोको अनुभूति गर्न पायौँ।
बेलुका समसाँझमा हिलपार्कमा बस्न आइपुग्यौँ। थकाइ धेरै नै लागेछ। ल्यापटपमा थोरै केही काम गर्ने मनसुवा हुँदै लुटुक्कै निदाइएछ कतिखेर, पत्तै भएन।
अर्को दिन बिहान ५ बजे नै बारेकोट मुकाम लिम्सा पुग्ने कार्यक्रम भए पनि। सामान लोड गर्दा र चिया पिउँदा केही ढिला हुन गयो। बिहान ६ बजे मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सफल भयौँ। यात्रामा डिजिटल सञ्चारका प्रबन्धक मित्र दीपबहादुर घर्तीको साथले यात्राको अनिश्चयले सिर्जना गर्न सक्ने जोखिम व्यवस्थापनमा टेवा पुगिरहेको महसुस भयो।
कालीमाटीमा पुगेर खाजा खायौँ। दश वर्षभन्दा अघिको कालीमाटी बदलिएछ। बाटो चौडा हुनुका साथै ठुला-ठुला भवन बनेछन्। पसलहरू थपिएछन्। सुविधा सम्पन्न होटेल रेस्टुराँहरू सञ्चालनमा आएछन्। यसरी बदलिएको कालीमाटीले यात्रामा एउटा खुसी थप्यो नै।
कालीमाटीबाट लहाँको टोपी खस्ने उकालो उक्लेपछि खनटाकुरा पुग्यौँ। खनटाकुरा साँच्चिकै रमणीय स्थल लाग्यो। पूर्वाधारको विकास हुन सक्यो भने कुनै समय खनटाकुरा एउटा टुरिस्ट प्वाइन्ट बन्न सक्ने र यसले स्थानीयको जीविकामा सहयोग पुर्याउने सम्भावना बोकेर चुपचाप बसै झैँ लाग्यो। खनटाकुराको यो सम्भावना हाम्रो यात्रामा एउटा खुसीको विषय बन्न पुगे झैँ लाग्यो।
खनटाकुराबाट अघि बढ्दै गर्दा ढकमक्क फूलेका लालीगुराँसले प्रकृतिलाई शोभायमान बनाए झैँ लाग्थ्यो। काफल पाक्नै लागेका थिए। जंगलभरि न्याउली चरी न्याउ-न्याउ गर्दै आफ्नै भाकामा गीत गाइरहेका थिएँ। लालीगुराँसले रङिएको वन-जंगल र न्याउली चरीको सुरिलो आवाजले हाम्रो यात्रा रोमाञ्चित बनिरहेको थियो। यो यात्राको रिफ्रेसमेन्ट यही एउटा थियो।
खनटाकुरा चढेपछि झर्नु नै थियो। एक घण्टा बढीको यात्रा जहाँबाट सुरु भएको थियो त्यसकै ठिक पारि पुग्दा हामीलाई समय बरबाद हुन गएको कडा अनुभूति भयो। तर के गर्नु, क्षतिपूर्ति कोसँग लिनु? लिन सकिने प्रबन्ध भए पो?
हामी सक्लाको सेरोफेरो हुँदै अघि बढ्यौँ। बाटोमा खम्बबहादुर कामीको स्मृतिमा उनका छोराछोरीले निर्माण गरेको गेट सम्झना लायक लाग्यो। बाबाको सम्झनाप्रति समर्पण गरिएको उक्त प्रवेशद्वार सन्तानका लागि सायद बाबाको मायाको उपज हुनुपर्छ।
बाटोमा दिपेन्द्र मावि सक्ला देखियो। अलिक टाढाबाट स्कुलको पूर्वाधार नियाल्ने कोसिस गर्यौँ। अचेल कस्तो भयो होला यो स्कुल? यहाँको शिक्षामा सुधारको अवस्था कस्तो होला? जस्ता केही जिज्ञासाले मन ढाके पनि अनुत्तरित नै रहे।
लिम्साको उकालोमा गाडी चढ्न मानेन। बुढो गाडीलाई त्यो कच्ची उकालो र घुमाउरो बाटो चुनौती बन्नु स्वाभाविकै थियो। अनि हामी झर्यौँ। भार कम भएपछि सर्प घिस्रे जसरी घिस्रिँदै अघि बढ्यो गाडी। अलिक खुसी मिल्यो। अब भने सामग्री त्यहाँ अलपत्र पर्ला कि भन्ने डर मनबाट हट्यो। खलंगादेखि लोड गरिएका बुढानीलकण्ठ नगरपालिकाका नासोका रूपमा रहेका ती सामग्रीहरू गन्तव्य मुकाममा पुग्ने नै भए भन्ने विश्वास बढ्यो।
२० वर्षपछि लिम्सा पुगेछु। आजभन्दा २० वर्ष अघि नागरिकता टोलीको प्रमुख भएर बारेकोटका कुना कन्दरालाई नागरिकता वितरणको मुकाम बनाउँदै नागरिकताको वितरणलाई सहज बनाएको स्मृतिले छुट्टै रमाइलोको अनुभूति गरायो। वास्तवै कर्म नै रहेछ सुख र सन्तुष्टिको कारण भन्ने महसुस पहिलो चोटि हुन गयो।
(लेखक बुढानीलकण्ठ नगरपालिका, काठकाडौँका शिक्षा महाशाखा प्रमुख तथा उपसचिव हुन्।)