समय कहिल्यै खाली हात फर्कँदैन। ऊ हरेक वर्षसँगै केही सम्झना, केही घाउ र केही अमूल्य पाठ बोकेर जान्छ। करिब २८ वर्षअघि घटेको एउटा घटना आज पनि मेरो मनको आँगनमा उस्तै ताजै फुलिरहेको छ। त्यो घटना केवल एउटा दुर्घटना थिएन, त्यो जीवनको अर्थ सिकाउने एक मौन पाठशाला थियो।
२०५४ सालको माघ महिनाको एक बिहान। हाम्रो गाउँबाट वर्षभरि चाहिने नुन, तेल, चिनी, बिउबिजन र मल किन्न कुस्मा बजारतर्फ यात्रा गर्नुपर्ने दिन थियो। चार–पाँच घण्टाको उकाली–ओराली, खोलानाला र भिरालो बाटो पार गर्दै पुगिने त्यो बजार हाम्रो जीवनको आधार थियो।
म त्यति बेला सानै थिएँ तर बाबाको हात समातेर संसार चिर्दै हिँड्न पाउनु मेरो लागि ठुलो खुसीको कुरा थियो। बजार पुगेपछि बाबाले आवश्यक सामग्री किन्नुभयो। फर्कँदा उहाँले ठुलो भारी बनाउनुभयो र मलाई नुन तथा केही मसला राखेर सानो डोको बोकेर हिँड्न दिनुभयो। त्यो डोको मलाई त्यति बेला संसारकै सबैभन्दा ठुलो जिम्मेवारी जस्तो लाग्यो।
बाबु–छोरा दुवै पसिना बगाउँदै घर फर्कन लाग्यौँ। आधा बाटो पार गरेपछि आमाले पोको पारिदिनु भएको (खाजा) खिर हामीले बाटैमा खायौँ। त्यसपछि फलेबासको कमले बजार मुनिको ओरालो बाटो हुँदै हिँड्दै थियौँ।
म बाबाभन्दा केही अगाडि थिएँ। अचानक मेरो खुट्टा लडखडायो। सन्तुलन गुमाएर म तलतिर खस्न पुगेँ। मैले बोकेको नुनको डोको कालीगण्डकीको काखमा खस्यो र पानीसँगै हरायो।
म भने चट्टानको छेउमा अड्किन पुगेँ। बाबाले आफ्नो भारी त्यत्तिकै फालेर दौडँदै आएर मलाई समात्नुभयो। उहाँका हात काँपिरहेका थिए तर आँखामा केवल एउटा कुरा थियो— छोरालाई बचाउने दृढता।
म भने डोकोसँगै बगेका नुन, मसला र पसिनाको मूल्य सम्झेर भक्कानिँदै रोइरहेको थिएँ।
मैले रुँदै भनेँ, ‘बाबा, सबै नुन कालीगण्डकीले बगायो। अब घरमा जाँदा आमाले के भन्नुहुन्छ?’
बाबाले मेरो टाउको सुमसुम्याउँदै भन्नुभयो, ‘यदि डोकोको ठाउँमा तिमी नै नदीमा बगेको भए आज म घर फर्कन सक्थेँ कि सक्दिनथेँ? नुन त अरू हजारौँ बोरा पाइन्छ तर छोरा तिमी त भगवानको वरदान हौ।’
त्यति भन्दै बाबाले बाटोछेउबाट केही फूलपाती टिप्नुभयो। सानो पोको बनाएर पुलमाथिबाट कालीगण्डकीमा अर्पण गर्दै भन्नुभयो, ‘धन्य छ्यौ पवित्र मुक्तिनाथबाट बगेर आएकी कालीगण्डकी। आज तिमीले मेरो छोरालाई बचाइदिएकोमा धन्यवाद।’
त्यो क्षण कालीगण्डकी मौन थिइन् तर बाबाको मन प्रार्थनाले भरिएको थियो। उहाँको अनुहारमा पीडाभन्दा शान्ति झल्किरहेको थियो।
मैले डराउँदै सोधेँ, ‘अब घरमा जाँदा आमाले के भन्नुहुन्छ?’ गाउँमा के भन्छन्?
बाबाले हाँस्दै भन्नुभयो, ‘कसैको चिन्ता नगर। सबै सामान मैले आफैँ बढी थपेर ल्याएको हुँ भन्छु। तिमी निर्दोष छौ।’
त्यो दिन मैले बुझेँ— संसारको सबैभन्दा ठुलो सम्पत्ति धन होइन, जीवन हो।
र जीवनभन्दा ठुलो प्रेम बाबाको प्रेम हो। अचम्म लाग्छ, करिब २८ वर्ष बितिसक्दा पनि बाबाले यो घटना कसैलाई भन्नुभएन। उहाँले दिनुभएको वचन जोगाइराख्नु भयो। जहाँ कि यो घटना अहिलेसम्म आमाले पनि थाहा पाउनुभएको छैन। गाउँमा आजसम्म कसैले पनि यस घटनाको सुइँको पाएन।
समय बित्दै गयो। म ठुलो भएँ। तर त्यो दिनको सम्झना झन्-झन् गहिरो बन्दै गयो। कहिलेकाहीँ त्यो सम्झनाले आँखा रसाउँछ, कहिलेकाहीँ हृदय गर्वले भरिन्छ।
यो बाबाको मौन प्रेमको महाकाव्य हो। यो कालीगण्डकीको काखमा बचिएको एउटा जीवनको साक्षी हो।
त्यसैले यो स्मृतिलाई मैले लेखमा उतारेँ। किनकि केही घटनाहरू बिर्सनु अपराध हुन्छ। यो केवल एउटा दुर्घटनाको कथा होइन, यो बाबाको प्रेम, कालीगण्डकीको कृपा र जीवनको मूल्य बुझाउने अमूल्य पाठ हो।