नेपालीका लागि 'आमा' शब्द मौलिक, न्यानो र आत्मीय छ। म सानैदेखि आफ्नी आमालाई 'ममम्ी' भन्ने गर्थें र उमेर ढल्किँदै गएपछि झन् छोट्याएर 'मम्' मात्र भन्ने गर्थेँ र मलाई त्यो 'मम्' शब्द अति नै प्रिय र मिठो लाग्ने।
'तँ अरू मान्छेसँग घुलमिल नै नगर्ने, अफिस बाहेक अरू केही नदेख्ने, मानिसहरूसँग भेटघाट गर्नु, सामाजिक कार्य गर्नु' यी मम्ले मलाई बारम्बार भन्ने गर्नु भएका शब्दहरू हुन्।
उहाँले जहिल्यै पनि कमी कमजोरीमात्र भनि राख्ने, कहिल्यै प्रशंसा नगर्ने, नगरेको कार्यहरूलाई 'यो गरिनस्, त्यो गरिनस्', 'तेरो यो बानी नराम्रो, त्यो बानी नराम्रो' भनि गल्ती मात्र औंल्याइरहने। मेरो कटु आलोचक।
मेरी मम् एक कमर्ठ र समर्पित समाजसेवी, विभिन्न सामाजिक संस्थामा आबद्ध हुनुहुन्थ्यो। म सानो छँदा 'दु:ख निवारण गुठी' भन्ने परोपकारी संस्था मेरो मम् बाबा र आफन्त मिलेर धेरै दशक अगाडि गठन गर्नुभएको थियो, जसको उद्देश्य विशुद्ध समाजसेवा थियो। त्यस बखत काठमाडौंको समाज अहिलेको जस्तो उदार र शिक्षित थिएन। त्यस्तो समयमा मेरी ममले समाजसेवा सुरू गर्नुभएको थियो।
समाज वरपर कोही दु:ख कष्ट परेका मानिसहरू देख्न बित्तिकै सहयोग गरिहाल्ने। घरमा आएका पाहुनालाई सबभन्दा पहिले खानपिनको बारेमा सोध्ने र समय जतिसुकै बजे तापनि खाना बनाएर खुवाउने, बिरामीको हालतमा पनि कोही सहयोग चाहियो भनेर घरमा आउँदा, आफू बिरामी भएको तथ्यलाई बिर्सिदिने र उठेर कहाँ जानुपर्छ, के गर्नुपर्छ त्यो कुरालाई मात्र ध्यान दिने बानी। पुलिस केसदेखि लिएर मुद्दा मामिला परेकाहरूलाई पनि आफ्ना चिनजान, नातागोताहरूलाई अनुरोध गरी जसरी भए पनि त्यसको समाधान खोज्न तत्पर। 'सत्यको जहिले जित हुनैपर्छ' भन्ने मान्यता राख्ने गर्नुहुन्थ्यो र जसरी भए पनि लागि परी जित हासिल गर्नु हुन्थ्यो।
हामी छोराछोरीहरूलाई पनि निडर हुन र जीवनका कुनै पनि परिस्थितिमा हार नमानी समस्यासँग लड्न सिकाउने। विभिन्न समाजिक संस्थामा पनि आबद्ध हुनुभयो। उहाँले जिवनभरी नै समाज सेवा गरी राख्नुभयो र अदक्ष्यको हैसियतमा पनि कार्य गर्नुभयो। मेरी ममको नाम लिला मादेन सुब्बा। उहाँ बोल्नका लागि प्रखर र ऊर्जावान, जति घण्टा पनि बोलिरहने सक्ने, थकाइ पनि नलाग्ने, भोक तिर्खा पनि नलाग्ने, यस्तो अनौठो स्वभाव थियो, त्यो देख्दा अचम्मै लाग्थ्यो मलाई।
उहाँ सधैं आफ्नो स्वास्थ्यप्रति सजक, जहिले पनि सन्तुलित खाना खाने, तरकारी, फलफूलहरू ताजा चाहिने, एकछिन नबस्ने, फूलहरूको सौखिन, करिब अस्सी वर्षको उमेरमा पनि केही न केही कार्यहरू गरी नै रहनुहुन्थ्यो। मम् कहिले बिरामी परेर अस्पताल भर्ना हुनु परेन, औषधि चाहिँ सामान्य बाथ रोगको खानु हुन्थ्यो।
हामी सबै छोराछोरी ममको स्वास्थ्य अवस्था राम्रो छ भन्ने सोचमा थियौं तर अकस्मात गत पुस महिनाको अन्तिमतिर उहाँलाई छातीमा असजिलो अनुभव गर्नु भयो, उहाँले कहिल्यै 'अस्पताल जाऔं' नभन्ने र हामीले 'अस्पताल जाऔं' भन्दा पनि 'म ठीक छु, अस्पताल किन जाने' भनी प्रति प्रश्न गर्नु हुन्थ्यो, तर त्यस दिन 'मलाई अस्पताल लैजाउ ' भन्दै आफै लुगा लगाएर तयार हुनु भयो। उहाँको त्यस्तो व्यवहारले हामी धेरै नै सशंकित हुँदै हतारमा घर नजिकैको अस्पताल गर्यौं, त्यहाँ सबै जाँच गर्दा निमोनिया र हार्ट फेलियर भएको थाहा भयो तर हामीले त्यहाँ उपचार गराउन सकेनौं कारण त्यहाँ डयुटी डाक्टर उपलब्ध थिएन। हतारमा अलि नजिकैको प्रतिष्ठित प्राइभेट अस्पताल लग्यौं र त्यहाँ इमर्जेन्सी हुँदै एचडियुमा भर्ना गर्यौं। केही समयको उपचारपछि उहाँलाई निकै आराम भयो। करिब दुई दिन जति त्यहाँ राखी क्याबिनमा सारियो।
निमोनिया हुँदां बायोप्याप लगाउन अति जरूरी हुँदो रहेछ, यो एक प्रकारको मेसिन हो, यसले बिरामीलाई कृत्रिम रूपमा स्वास फेर्न र फोक्सोलाई आराम दिनका लागि मद्दत गर्दा रहेछ। यो अनुहारमा कस्सेर लगाउनुपर्दो रहेछ, बाहिरबाट हावा छिर्न नहुने रहेछ। मेरी मम् स्वभावैले कसैको पनि जोर जबजस्ती कुनै कुरामा पनि गरेको मन नपर्ने। त्यो समयमा त झन् निमोनियाका कारण अलि डिस्ओरेन्टेट जस्तो पनि हुनु भएको थियो। मेडिकल टिमले उक्त 'बायोप्याप लगाउनुपर्छ' भन्दा लगाउन मान्नुहुन्थेन। एक दुई जना नर्सहरू चाहि साह्रै कर्तव्य निष्ठ थिए, ममको बारेमा हामीलाई संक्षिप्त रूपमा आफै जानकारी दिने, राति पनि पटक पटक हेर्न आइरहने, उनीहरू अपवाद थिए, ती बाहेक अन्य धेरै जसो नर्सहरूको गुनासो जहिले पनि ममले 'बायोप्याप लगाउन मान्नु हुन्न' भन्ने गुनासो मात्र गरिरहे, हामी छोराछोरीहरू चाहिँ क्याबिनमा हुँदा त रोइकराई भए पनि लगाउनलाई मनाउँथ्यौं र लगाउन पनि मान्न हुन्थ्यो, तर इन्सेन्टिभ केयर युनिटतिर चाहिँ नियम कडा भएकाले निश्चित समयमा मात्र भेट्न पाइने भएकाले, ममसँग भेटको समयमा चाहिँ फकाएर केही समय भए पनि उक्त मास्क लगाइ दिने गर्दथ्यौं। तर अरू बेला त्यहाँ कार्यरत नर्सहरूले फकाउनुको सट्टा 'मान्नुभएन' भन्ने कुरा दोहोर्याइ रहँदा हामी अत्यन्तै असहाय महसुस गथ्र्यौं।
अब 'यसको विकल्प के हो?' भनी प्रश्न पनि गर्दथ्यौं अस्पतालमा त बिरामी निको बनाउनका लागि लगिन्छ र बिरामीको अवस्था अनुरूप व्यवहार गर्छन्, जुन विषय स्वाभाविक पनि हो जस्तो लाग्दछ, तर नर्सहरूको यस्ता प्रकारका उदासिनता देख्दा मनमा छटपटी लागिरहन्थ्यो, दिन रात, भोक तिर्खा केही कुराको आभास नभएको जस्तो भइराख्ने। असाध्यै कठिन क्षण।
डाक्टरहरूले नियमित जस्तै फोक्सोका लागि एबिजी भन्ने टेस्ट गराई राख्दो रहेछन्। यो जाँच विशेषत बिरामीको फोक्सोको कार्यक्षमता र रगतमा अक्सिजन तथा कार्बनडाइअक्साइडको मात्रा सही छ कि छैन भनी रगत लिई आइसियूभित्र मात्र गरिँदो रहेछ र यसको रिजल्ट आउन केही समय लाग्ने। त्यो आइसियूको बन्द ढोका बाहिर बेग्रताका साथ त्यो रिपोर्ट कुरेर बस्थ्यौं, त्यसरी पर्खिरहँदा, त्यहाँका गार्डको अनगिन्ती गाली खाइयो।
उनी वास्तवमा ठिक पनि थिए, आइसियूमा बाहिरका मानिसहरू बस्न ठीक पनि होइन तर त्यो अवस्था नै कति पीडादायी थियो भने उनको गालीको खासै परवाह नहुने। जब रिपोर्टमा विशेष गरी काबर्नअक्साइड कम भएको पुष्टि हुन्थ्यो, मलाई संसार नै जितेको जस्तो भान हुन्थ्यो भने त्यो मात्रा बढेको रिपोर्ट आउँदा त्यो अस्पतालको भर्याङ चढ्न त सगरमाथा चढेको जस्तै अनुभूति।
तर मनमा मम्लाई जसरी भए पनि निको बनाउने लक्ष्य लिएका थियौं, हुन त प्रत्येक छोराछोरीको मनमा यस्तै नै हुन्छ। मेरी मम्को पहिलो अस्पताल बसाइँ २२ दिन जतिको थियो। त्यो क्रममा अस्पतालका डाक्टरहरूका समन्वय त सन्तोषजनक थियो कारण निमोनिया लगायतका अन्य थप उपचारका लागि करिब ७ जना डाक्टरहरूको राम्ररी नै एकअर्कामा समन्वय गरेका थिए। र मम्को स्वास्थ्य अवस्था सुधारोन्मुख थियो।
तर मलाई नर्सहरूको बोली, व्यवहार र उनीहरूको बिरामी प्रतिको उदासिन भावनाप्रति खिन्न नै भएर आएको थियो कतिपल्ट त प्रशासनमा फोन गरेर कम्प्लेन गरेकी थिएँ। सामान्य विषयमा पनि गुनासो गर्नुपर्ने। मम्लाई क्याबिनमा सार्दा बेडमाथि तल उठाउन नै मुश्किल, नर्सलाई जानकारी गराउँदा पनि २४ घण्टासम्म पनि केही नभए पछि प्रशासनमा नै भन्नु परेको थियो, त्यसपछि तुरून्तै व्यवस्थापान भएको थियो।
अलि बढी नयाँ बिरामी आए भने त भर्ना भएका जतिसुकै गम्भीर बिरामी हुन औषधिको समय तालिका अनुरूप नहुने, आफै गएर नर्सलाई खोज्नु पर्ने। नियमित औषधिलाई त फरक नपर्ने तर डाक्टरहरूले थप गरिदिएका नयाँ औषधिका लागि भने समस्या। कहिल्यै उनीहरूको निगरानीमा राखेको समयमा पनि अक्सिजन मास्क झरेर अक्सिजन लेबल घट्दा पनि पत्तो अत्तो नहुने। इन्टेन्सिभ केयरमा कहिलेकाहीँ विशेष गरी राति एक जना मात्र नर्स फेला पर्ने। एक्सरे गर्नका लागि समय लगाइदिने। कतिपय नर्सका टिपोट टिप्ने विवरणमा मात्रा पनि फरक पाइयो। यी यस्ता क्रियाकलाप चाहिँ भइ नै रह्यो। आफ्नो बिरामीप्रति सजग भई राख्न पर्ने रहेछ।
मलाई मनमा एउटा प्रश्न चाहिँ बेला बेलामा उठ्ने गर्दछ कि नर्सिङ पेसा त मानव सेवासँग सम्बन्धित पेसा हो, र यो पेसामा आबद्ध हुँदा बिरामीप्रति के कस्ता व्यवहार, आचरण हुनुपर्ने हो यो त अवश्य पनि जानकारी भएर नै यस पेसामा आएका होलान् एक दुई जना अपवाद बाहेक धेरै जसो उस्तै भएको अनुभव गरियो। त्यतिका लामो अस्पताल बसाइँ र गम्भीर अवस्थाका बिरामीका लागि चाहिने आवश्यक सेवा नपाइएको अनुभूति भयो, उनीहरूलाई आफ्नो पेशाप्रति वितृष्णा किन भएको होला। मनमा एउटा सवाल चाहिँ आई नै राख्ने, उनीहरूको पो पेसा हो, दैनिक यस्ता बिरामीहरू कति भेट्दा हुन तर हाम्रो लागि त आफ्नो बिरामी संसार नै हो।
अर्को महत्वपूर्ण विषय चाहिँ स्मार्ट फोनको प्रयोगले पनि नर्सहरूलाई अल्मलाइएको हो कि जस्तो अनुभव भयो तसर्थ स्वास्थ्य क्षेत्रमा बिरामीको संवेदनशीलतालाई ध्यान दिई ड्युटी समयमा स्मार्ट फोन प्रयोग रोक लगाउन उत्तम हुनेछ।
मेरी ममको स्वास्थ्यमा सुधार भएपछि उक्त अस्पतालले डिस्चार्ज दियो र हामी एकदमै खुसी थियौं, उहाँलाई घर ल्याउन पाएकोमा र मम् पनि खुसी हुनुहुन्थ्यो परिवारसँग बस्न पाएकोमा। तर बायोप्याप र अक्सिजन चाहिँ लगाइराख्न पर्ने निर्देशन थियो। हामीले घरमा ममलाई फकाई फुलाई बायोप्याप चाहिँ लगाई दिई राख्यौं जसको परिणाम स्वरूप उहाँको स्वास्थ्यमा एकदमै सुधार भयो। तर कमजोरी चाहिँ अझै पनि थियो।
करिब एक हप्तापछि डाक्टरको नियमित फलोअपमा गएका थियौं, त्यस बेला विभिन्न जाँचहरू गर्दा अलि समस्या देखिएकाले पुन: अस्पताल भर्ना हुनुपर्छ भन्ने डाक्टरको आदेशमा फेरि भर्ना भई करिब ५ दिन जतिको बसाइँपछि डिस्चार्ज भई घर आयौं अब भने निमोनिया निको भएको थियो। तर असाध्यै कमजोर हुनुभएकोले म आफै चाहिँ ओपिडीमा डाक्टरसगं सरसल्लाह गर्न गए र यो क्रम केही हप्तासम्म नै चल्यो। यस समय उनले विभिन्न औषधिहरू दिए र सोही बमोजिम ममले खाने गर्नुहुन्थ्यो, उहाँ छिटो निको हुने प्रयत्नमा हुनुहुन्थ्यो।
ममलाई निमोनिया र हार्ट फेलियर भएको थियो, निमोनियाको डाक्टरले तीन महिनापछि फलोअपमा बोलाउनु भएको थियो। तर उहाँ अलि कमजोर हुनु भएकोले म चाहिँ बिरामी बिना नै ओपिडीमा उक्त डाक्टरलाई भेट्न गइरहेँ। ममलाई रोगले अलि च्याप्न थाल्यो तर ती डाक्टरले कहिल्यै पनि 'अरू डाक्टरहरूलाई पनि देखाउनु' भन्नुभएन, किन होला जस्तो अहिले पनि लाग्दछ, तर पनि म आफै चाहिँ मुटुको डाक्टरको पनि परामर्श चाहिन्छ होला भन्ने ठानेर, उहाँलाई भेटन गई नै रहे र उहाँले भने बमोजिमको औषधिहरू ममलाई खुवाइ नै राख्यौं। उक्त मुटुको डाक्टरले पनि बिरामीलाई 'अस्पताल ल्याउनू' कहिल्यै भनेनन्।
ममले कतिपय खानेकुरा खान मन गर्नु हुन्थ्यो तर डाक्टरको डायट चार्टमा नभएकाले 'खानु हुन्न' थियो तर अहिले सम्झँदा मलाई एकदमै प्रायश्चित लागेर आउँछ। उहाँले खान चाहेको खानेकुरा खुवाएर उहाँको सानो इच्छा पूरा गरेको भए हुन्थ्यो नि!
पछिल्लो समय मम 'म अस्पताल जान्नँ' भनी जिद्दी गरी राख्नुहुन्थ्यो, हामीलाई घरमा राखेर झन् गाह्रो भयो भने के गर्नु भन्ने दुविधा भैराख्थ्यो, त्यस बेला अस्पाताल भर्ना गरेर उपचार नै गर्नु ठीक हो भन्ने लाग्थ्यो तर हाल आएर त्यो निर्णय ठीक गरियो कि बेठिक गरियो, अलमलमा पर्ने गर्छु।
केही हप्ताको अन्तरालपछि मेरी ममलाई थप जटिलता भयो र फेरि उपचारत अस्पतालमा लगेर आइसियूमा भर्ना गर्यौं तर त्यहाँ थप जटिलताले गर्दा त्यो उपचार त्यहाँ सम्भव नहुने भएपछि डाक्टरकै सल्लाह अनुरूप अर्को अस्पतालमा सार्न परेको थियो र त्यहाँ आइसियुमा भर्ना गरियो।
त्यहाँका डाक्टरहरूले ममलाई थप जाँच गरे र पुराना सबै रेकर्ड हेरर 'बेड सोर' को बारेमा चाहिँ यो चौथो स्टेजको भएको र उनीहरूले प्रस्टै 'यो बेडसोर हुनु नर्सहरूको लापरबाही हो' पनि भने। यो सुनेर हामी चाहिँ धेरै नै असमन्जमा पर्यौं, धेरै दु:ख लाग्यो, ममलाई त्यो घाउले कति पीडा दियो होला भनेर पिरोलिरह्यौं। बिरामी अस्पताल भर्ना भइ सकेपछि त सबै रोगको उपचार एकैपल्ट हुनुपर्ने हो!
तर यस्ता सहरको प्रतिष्ठित अस्पतालको उपचार त त्यस्तो छ भने अन्यको ठाउँको अवस्था के होला, कल्पना पनि गर्न सकिँदैन। त्यस्तै डाक्टरका कतिपय सुझावहरूप्रति विचलित भयौं। पहिलेको अस्पतालका डाक्टरले 'मुटुको समस्या छ पेसमेकर राखिहाल्नु पर्छ' भनी जोड दिएका थिए भने अर्कोतर्फ दोस्रो अस्पतालका डाक्टरले 'किड्नीमा समस्या छ डायलासिस पहिला गर्नु आवश्यक छ' भने र यसबारे जिज्ञासा राख्दा 'मुटुले फंक्सन गरि नै राखेको छ, अहिलेको प्राथमिकता किड्नी हो भने।
हामी जस्ता आमसाधारण मान्छे डाक्टरहरूका यस्ता परस्पर विरोधी सुझावहरूले झन् विचलित बन्दो रहेछ। डाक्टरहरूले जे भन्नु हुन्छ त्यसैमा स्वीकृति गर्नु सिवाय विकल्प नै नहुने। बिरामीको अवस्थाले गर्दा प्रश्न सोध्ने आँट पनि नआउने। हामीले डाक्टरहरूले भने बमोजिम २ पल्ट डायलासिस नै गर्यौं। कतिपय औषधिहरू नपाइने रहेछ, ती नपाइने औषधि अस्पतालले व्यवस्थापन गर्दा रहेछन् र पछि फेरि किनेर ल्याइदिन पर्ने रहेछ।
आइसियू बाहिरका ती पीडा, डाक्टरको पर्खाइ, उनीहरूले ममको स्वास्थ्य सम्बन्धी के भन्ने हुन् राम्रो भन्ने हुन कि नराम्रो। कुनै अप्रिय समाचार पो भन्ने हुन् कि डरले मन त्यसै त्यसै हतास भइरहने। प्रत्येक मिनेट, युग समान थिए, ममलाई जसरी हुन्छ निको बनाउने आशामा आइसियू बाहिर ईश्वरलाई प्रार्थना गर्दै बस्थ्यौं।
ममलाई आइसियूमा भेट्न जाँदा समय त निमेषभरमा गए जस्तो हुने अझ ममले 'यही बस् नजा' भन्दा त मन अति नै अत्तालिने। ती मेसिन वरिपरि राखेर उपचार गराउँदा कति दुखिरहेको होला भन्ने लाग्थ्यो। ममलाई 'दुखिरहेको छ मम' भनी सोध्दा 'हो' भन्नुहुन्थ्यो। अहो त्यो जीवनको सबभन्दा कष्टकर क्षण, त्यही भएर होला कि ममले 'अस्पताल जान्नँ' भन्नुभएको, आफ्ना छोराछोरी, नातिहरूको बीचमा नै अन्तिम स्वास लिने इच्छा थियो कि!
आफ्नी ममतामयी ममलाई निको बनाउन हामीले हरम्भव प्रयास गरिरह्यौं, उहाँलाई जसरी भए पनि निको बनाएर फेरि उही पुरानै ऊर्जा र खुसीका साथ घर फर्काउने हाम्रो प्रयास नियति अगाडि केही लागेन।
ममको अन्तिम क्षण अझ पनि आँखा अगाडि आइ नै रहन्छ, स्वासप्रस्वास अनियमित जस्तो, तर मुहार हेर्दा उज्यालो र शान्त 'मम्' भन्दा 'हुँ' भनी प्रतिक्रिया दिनुहुन्थ्यो, आँखाको इसाराले 'म जाँदैछु, राम्ररी बस्नु' भने जस्तो गर्नुभयो। यसरी असहजता बीच ममलाई २०८२ सालको चैत ६ गते गुमायौं। 'मम्' लाई गुमाउनुको पीडालाई शब्दमा चित्रण गर्न सकिँदैन, त्यो शून्यपन जीवनभरि नै रहनेछ।
उहाँले आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि हार मान्नु भएन, आज उहाँ हाम्रो माझ भौतिक रूपमा नभए पनि उहाँको प्रखर व्यक्तित्व, समाजसेवा प्रतिको समर्पण र निष्ठा हाम्रो मानसपटलमा सदा जीवित रहनेछ। मेरी मार्गदर्शक, मेरी कटु आलोचक अनि मेरी प्यारी मम् प्रति भावपूर्ण श्रद्धाञ्जली।