त्यो बेला पनि अस्पतालमा जन्मेको म, खासै जन्मदिन मनाउन्न पनि। तैपनि छोराले बाबा हजुरलाई जन्मदिनको उपहार एसइईको राम्रो जिपिए ल्याएर दिन्छु भन्यो, म दंग भएँ।
बच्चाको खुसी परिवारको खुसी हो, सन्तानलाई मानिस आँखाको ज्योति मान्छन्। सन्तानको बारेमा बखान लगाउन कुन चाहिँ बाबुआमाको मन जाग्दैन र मेरो छोरो यस्तो, मेरी छोरी यस्ती, यस्तो गरे, उस्तो गरे धेरैले फेसबुकमा राख्छन्। कोही आफ्नो गोपनीयता फेसबुकमा बाँडेर बेवकुफ बन्न छैन पनि भन्दछन्।
कोही सन्तानको बारेमा फुटानी, बढुवा चढुवा गफ पनि दिन्छन्, आखिर मन त हो, जसरी पनि आफूलाई उच्च र ठुलो बनाउन पर्छ हामी सबैलाई, यसरी नै मानिस खुसी बन्छन् एकबारको जीवनमा। भनिन्छ नि खेती अर्कोको राम्रो, सन्तान आफ्नो राम्रो।
वयस्क बनेपछि धेरै साथीभाइसँग भेट्दा सोध्ने साझा प्रश्न हो, ‘केटाकेटी कत्रा भए? कहाँ छन्? कति-कति पढे? के-के गर्छन्?’ सबैले सोध्ने गरिन्छ। कसैलाई सोध्दा खुसी मान्छन्, कोही नसोधे हुन्थ्यो पनि भन्छन्, संसार अजीवको छ।
बर्थडे मनाउने कुरा पनि अहिले व्यापक बनेको छ उत्सव पर्व जस्तै। केक काट्ने, बत्ती निभाउने, आफन्ती डाक्ने, गिफ्ट दिने, नाच्ने, गाउने, फोटो अपलोड गर्ने फेसन नै छ। यो गरिएन भने सभ्य भइएन। समाजमा लायक भइएन। जसरी पनि यो बर्थडे पोस्ट, लाइक, कमेन्ट, शुभकामना आदिमा दुनियाँ रमाएको छ। हुन त यी स-साना खुसीमा जीवन चलेको छ, मानिस रमाएको छ।
बाबुको एसइई नतिजा आउने बेला र बर्थडेको बेला संयोग मिलेछ, यसैले होला बाबुले ‘बाबालाई बर्थडे गिफ्ट राम्रो जिपिए ल्याएर दिन्छु’ भन्यो। यो पनि काइदा हो। सधैँ एकै किसिमबाट मनाउनुपर्छ भन्ने छैन।
ठुला मान्छेहरू खासमा बर्थडे मनाउन रुचाउँदैनन् तर केटाकेटीको अगाडि धरै लाग्दैन। उनीहरू कण्ठ पारेर बसेका हुन्छ। कस-कसको बर्थडे कति गते पर्छ भनेर। यसैले बच्चाको रमाइलो, हाँसो, खुसीको लागि मनाउनै पर्यो। जीवनमा सबै कुरा आफ्नो खुसीको लागि मात्र गरिँदैन। अरूको खुसीको लागि पनि धेरै कुरा गर्न हामी बाध्य छौँ। ३००० बिसी ताका इजिप्टका राजाले श्रीपेच लगाएर गद्दी आरोहण गर्दादेखि बर्थडे सुरु भएको भनिन्छ। अहिलेको जन्मदिन मनाउने चलन जर्मनीबाट १८ औँ शताब्दीदेखि सुरु भयो जहाँ बच्चाहरू रमाउँछन्।
अहिले एसइई, जिपिए, कलेजको माहौल छ। सबै अभिभावक तनावमा छन्। उता कलेजहरू अर्को तनावमा छन्, कति विद्यार्थी बटुल्ने? अभिभावकलाई कहाँ कुन विषय पढाउने तनाव छ, मास्टरलाई पनि भर्नाको दसैँ चलेको छ, व्यस्त छन्। मिडियालाई खुराक भएको छ, पाँच लाख जतिले परीक्षा दिए एक लाख जति एनजी पाए, बाँकी तीन लाखमा हानालुछी छ, कहाँ कसरी तान्ने?
विज्ञापन दिएर, मान्छे लगाएर, दलाल लगाएर, कमिसन दिएर, आकर्षक अफर दिएर, तडकभडक देखाएर, अभिभावकलाई दंग पारेर, कतै कोक फेन्टा पनि खुवाएको देखियो। राम्रा रङिन ब्रोसर बाँडेका छन्। फिस हेर्दा करिब एघारको दुई बाह्रको दुई जति जस्तै छ। कतै अभिभावकलाई अन्तर्वार्ता लिएका छन्, कतै काउन्सेलिङ गरेका छन्। मोबाइलमा मेसेजको ताँती छ। नम्बर पनि कहाँ भेट्छन् कुन्नि, अजीव छ।
सरकारले प्रवीणता प्रमाणपत्र तह अर्थात् इन्टरमिडियट हटायो सरकारी कलेजबाट। निजीले मौका पाए, केही गुणस्तर पनि ल्याए। केहीले कमाए पनि। मैले कलेज पढाउन सुरु गर्दा ताका भर्ना फ्री अफर ल्याएको सम्झना छ।
अहिले माहौल हेर्दा लाग्छ एसइई पनि ठुलै रहेछ। हाम्रा पालामा एसएलसी भन्दथे। यतिका विज्ञापन, चक्कर, माहौल तथा सरगर्मी थिएन। खालि भर्ना खुल्यो भन्ने कपडाको टुल टाँग्थे। यो यस मानेमा सकारात्मक छ कि कम्तीमा पढ्ने र पढाउने सचेतना बढेको छ। कम्तीमा अभिभावकलाई सन्तानको शिक्षामा चासो बढाएको छ।
धेरै जिपिए ल्याउनुपर्छ भन्ने सन्देश छाएको छ। नेपालमा नै राम्रा उत्कृष्ट कलेज छ, विदेश जान पर्दैन भन्ने सोच छाएको छ। कम्तीमा गुणात्मक शिक्षाको पहल बनेको छ भलै अभिभावकको पैसा त गयो तर पढाइ पनि स्तरीय बन्दै छ। कलेजले पनि के गरुन्, बिचरा सबैको मुख टाल्न पर्छ। व्यवसाय हो कर तिर्छन्, यही अनुसार विद्यार्थी त भेला गर्नै पर्यो नत्र खर्च कसरी धान्ने? शिक्षक कसरी पाल्ने?
कलेज छानौँ बिल्डिङ मात्र नहेरौँ; पुस्तकालय, ल्याब कक्षाकोठा शिक्षक आदि पनि जानौँ बुझौँ। भौतिक साथै शैक्षिक कुरामा निगरानी गरौँ। कुरामा होइन व्यवहारमा विश्वास गरौँ। सन्तानमा पैसा होइन समय लगानी गरौँ।