माननीय शिक्षा मन्त्री सस्मित पोखरेल ज्यू,
अटिजमका लागि नमूना विद्यालय वा आवासीय विद्यालय
विश्व अटिजम जनचेतना दिवस अप्रिल २ को अवसर पारेर शिक्षा मन्त्रालयबाट 'सातै प्रदेशमा अटिजमका लागि नमूना विद्यालय' भनेर आएको घोषणा निकै सराहनीय र स्वागतयोग्य छ।
यसले अटिजमसँग नजिक भएर काम गरिरहनु भएका, अनि अटिजमसँग जुधिरहनुभएका व्यक्ति र परिवारलाई निकै हौसला दिएको छ।
पछिल्लो विश्व स्वास्थ्य संगठनको आंकडा हेर्ने हो भने १०० मध्ये १ मा अटिजम हुन सक्ने देखिएको छ।
नेपाल पनि यसमा अछुतो भएर बस्न सकेन।
हुन त नेपालमा यति नै अटिजम भएका व्यक्तिहरू छन् भनेर यकिन गर्न अहिले हाम्रो डाटा छैन तर हाम्रा सार्क छिमेकी राष्ट्र भारत र श्रीलंकामा झन्डै १% जनमानिसमा अटिजम रहेको देखिएको छ भने बंगलादेशको राजधानी ढाकामा त झन्डै ३%मा अटिजम भएको पछिलो अनुसन्धानहरूले देखाएको छ।
यसै आकडालाई लिने हो भने नेपालमा झन्डै २-३ लाख व्यक्तिमा अटिजम रहेको मान्न सकिन्छ। तर २०२१ को जनगनणा हेर्ने हो भने नेपालमा केवल ४,८८६ मानिसमा अटिजम भएको देखाएको छ, जुन एकदम अपत्यारिलो छ।
अटिजम भएका व्यक्ति गणनामा नपर्नुका कारण धेरै हुन सक्छन्।
एक त पहिचान नहुनु, अर्को पहिचान भएपछि पनि परिवारले यसलाई स्वीकार नगर्नु, अनि समाजको डरले परिवारले लुकाउनु; अनि कतिपय अवस्थामा परिवारले स्वीकार गरी समाजको डर नहुँदा पनि स्कुल भर्ना कठिनाइले गर्दा पनि धेरै आमाबुवाले अटिजमलाई लुकाउनुपर्ने अवस्था भएको भेटिन्छ।
अटिजमको कुरा गर्दा अर्को बुझ्नुपर्ने विशेष कुरा अटिजमको विभिन्नता पनि हो।
एक व्यक्तिबाट अर्को व्यक्तिमा देखिने अटिजमका लक्षण बिल्कुलै फरक हुन्छ। यसका कडापन पनि फरक हुन्छन्। अनि धेरै जसोको बुझाइ कडा किसिमका, बोल्न नसकिने , अनौठो किसिमका व्यवहार देखाउने मात्र अटिजम हो र तिनलाई मात्र सहयोगको आवश्यकता पर्दछ भन्ने धारणा छ।
सरकारले पनि अपांगता प्रमाणपत्र जारी गर्दा दिने 'रातो' कार्डले खाली कराउने , चिच्याउने, नबोल्ने अटिजमलाई बढी ध्यान दिएको देखिन्छ। तर बोल्न सक्ने, यता उता हिँडडुल गर्न सक्ने, आफ्नो काम आफै गर्न सक्ने अटिजम भएका व्यक्तिहरूलाई पनि विभिन्न क्रियाकलापमा निकै सहयोग चाहिन सक्छ भन्ने कुरामा कस्तो रङको कार्ड दिने हो भन्ने कुरामा अलि ओझेलमा परेको देखिन्छ।
अब कुरा गरौँ अटिजम भएका भाइ बहिनीका लागि नमूना विद्यालय कि आवासीय विद्यालय?
अब एकपटक विद्यालयलाई परिभाषित गरौँ। विद्यालय वा स्कुल त्यस्तो संस्थान हो जहाँ विद्यार्थीका लागि औपचारिक पठनपाठन हुन्छ। अनि हाम्रा अटिजम भएका भाइ बहिनिहरूका लागि पनि स्कुल, अनि पढाइ, सिकाइ जीवनको एक अपरिहार्य आवश्यकता हो भन्दा फरक नपर्ला।
अब कुरा आउँछ कस्तो किसिमको स्कूल? नमूना स्कुल कस्तो हुन्छ त? के अटिजम भएका भाइबहिनीलाई नमूना स्कुलमा पढाइ सकेपछि अनि नमूना कलेज बनाउने हो? अनि नमूना अफिस, नमूना बस, नमूना पार्क? के नमूना स्कुल बनाउँदैमा उनीहरूको पठनपाठन हुन्छ त?
यसरी अटिजम मात्र पढ्ने नमूना स्कुलको परिकल्पना गर्ने हो भने हाम्रा अटिजम भएका व्यक्तिहरू समाजबाट झनै अलग हुँदै जाने सम्भावना रहन्छ। यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भने जसरी अटिजम भएका व्यक्तिलाई अरूसँग हेलमेल गर्न गाह्रो हुन्छ, अटिजम नभएका व्यक्तिहरूलाई पनि अटिजम भएका व्यक्तिसँग कसरी कुरा गर्ने वा कसरी उसको भावन बुझ्ने भन्ने बारेमा अन्योल हुन्छ।
अनि परिवार, समाजले चाहँदा चाहँदै पनि सही तरिकाको ज्ञान नहुँदा बिस्तारै अटिजम भएका व्यक्तिहरू समाजबाट बहिस्कृत हुँदै जान्छन्। समाजबाट बहिस्कृत हुनु भनेको केवल साथी नहुनु वा भोज भतेरमा नबोलाउनु मात्र हैन, समाजबाट बहिस्कृत हुँदा क्षमता हुँदाहुँदै, अझ अव्वल हुँदाहुँदै मौका नपाउनु ( उदाहरण : एकदम राम्रो हिसाब किताब राख्न सक्ने वा कम्प्युटरमा खतरा हुँदाहुँदै पनि उसमा देखिने अटिजमको व्यवहार नबुझ्दा जागिर नपाउने) ; पूर्वनिधारित धारणाका कारण अनावश्यक र अत्यधिक सजायको भोगी बन्नुपर्ने उदाहरणहरू प्रशस्तै भेटिन्छ। जस्तै: कुनै स्कुलमा फूल टिप्यो वा केही बिगार गर्यो भने टिचरहरूले सुरूमा नै यो अटिजम भएको बच्चाले गरेको हुनुपर्छ भनी पूर्वग्राही हुन्छन् ; अनि कतिपय अवस्थामा बच्चाले यसको उत्तर दिन नसक्दा सजाय पनि पाएको धेरै भेटिन्छ।
यसको कारणमध्ये एक प्रमुख कारण स्कुलमा शिक्षकहरूमा अटिजम सम्बन्धी चेतना र ज्ञानको कमी हो र यसलाई हामीले स्वीकार्नु पनि पर्छ। नेपालमा अटिजम सम्बन्धी खुलेर कुरा गर्न थालिएको भर्खर भर्खर मात्र हो। धेरै पहलपछि बल्ल सरकारले २०१७ मा आएर अटिजम पनि एक किसिमको अपाङ्गता हो भनेर पहिचान गरेको छ।
पछिल्लो ४-५ वर्षमा अटिजम थेरापी केन्द्रहरू पनि अधिराज्यभरि नै च्याउ उम्रेझैं गल्ली गल्लीमा खुल्न थालेका छन्। के यी सबैमा अटिजमलाई लक्षित गरेर पठनपाठन र थेरापी भइराखेको छ त? वा केवल 'डे केयर' अर्थात् खुवाउने, सुताउने, खेलाउने र सफा गर्ने मात्र कार्यहरू भइराखेको छ?
अपांगता भएका व्यक्तिका अधिकार ऐन, २०७४ मा अपांगता भएका बालबालिकाको अधिकारको विषयमा यसरी व्याख्या गरिएको छ 'अपाङ्गता भएका बालबालिकालाई निजको सर्वोत्तम हितका लागि अदालतबाट आदेश भएको बाहेक अपाङ्गता भएका कारणबाट निजको घर परिवारबाट अलग गरिने छैन।'
यस्तैगरी संयुक्त राष्ट्र संघको महासन्धिको अपाङ्गता भएका व्यक्तिको अधिकार धारा १९ मा 'स्वतन्त्र रूपमा बाँच्न र समुदायमा समावेश हुन पाउने अधिकार' उल्लेख गरिएको छ र सन् २०१० मा नेपालले पनि यसलाई अनुमोदन गरिसकेको छ।
यस अर्थमा बसोबास रोज्ने अधिकार, समुदायमा सहयोग पाउने अधिकार र सबै सार्वजनिक सेवा पहुँचयोग्य हुनु पर्दछ।
यसलाई सरल भाषामा बुझ्ने हो अपाङ्गताका कारण कसैलाई परिवार र समाजबाट अलग राखेर संस्थामा राख्नु हुँदैन।
उनीहरूलाई समुदायमा नै सम्मानपूर्वक बाँच्ने अवसर र सहयोग मिल्नुपर्छ।
तर जब आवासीय स्कुलको कुरा आउँछ यसलाई कसरी बुझ्ने? साधारण तरिकाले बुझ्ने हो भने बच्चालाई होस्टलमा राख्ने, अनि महिनामा एक दुईपल्ट भेट्न जाने, अनि घर ल्याउने। विगतमा विकसित देशहरूमा पनि यस्ता किसिमका स्कुल, अस्पताल अनि सेल्टरहरू नखुलेका हैनन्।
विशेषगरी १९६०-७० तिर अटिजम, सुस्त - मनस्थिति अनि पागलको संज्ञा दिएर समाजमा बस्न र राख्न नसकिने भनेर छुट्टै राख्ने गरिएको थियो। सन् १९५० तिर अटिजमको निदान हुन थाले पछि संचार गर्न नसक्ने, आवेगमा आएर अरूमाथि कुटपिट गर्ने, आफूलाई नै चोट पुर्याउने व्यवहार भएका र सामाजिक बहिस्कार र समाजले पुर्याउनु पर्ने सहयोग नपाउँदा र आमाबुवाहरू निकै थकित हुने गर्दा यस्ता आवासीय संस्थानहरू फस्टाउन थाले।
सुरू सुरूमा यस्ता किसिमका संस्थागत व्यवस्थाले केही राहत प्रदान गरेता पनि दीर्घकालीन नतिजा भने निराशाजनक हुन पुग्यो। तसर्थ सन् १९७० दशकतिर आएर यस्ता संथागत केन्द्रहरूलाई निरूत्साहित गरियो। यसरी ५० वर्षअघि नै धेरै संस्थागत आवासीय केन्द्र अनि स्कुलहरू बन्द गरियो।
विकसित राष्ट्रहरूले १९६०-१९७० तिर भोगिसकेको अटिजम/ बौद्धिक अपाङ्गताका अवस्था, व्यवस्था , चुनौतीहरू अहिले यो समयमा नेपालले भोगिरहेका छौँ।
यस क्षेत्रमा भएका उपलब्धिको हकमा नेपाल निकै पछाडि ( विकसित राष्ट्रको दाँजोमा झन्डै ५०-६० बर्ष र भारतको हक पनि १५- बर्ष ) छ।
यस हिसाबमा पनि उनीहरूले भोगिसकेको इतिहासबाट हामीले पनि धेरै कुराहरू सिक्न सक्छौं। अरूले गरिसकेको गल्तीलाई फेरि दोहोर्याउनु मूर्खता नै हुन्छ।
पक्कै पनि अटिजम भएका व्यक्ति/बच्चालाई हेरचाह गर्नु, सधैंसँगै बस्नु कम चुनौतीपूर्ण छैन। अटिजम भएका बच्चाका हरेक आमाबुवाको प्रमुख चिन्ता भनेकै आफू नभएपछि आफ्नो बच्चाको हेरचाह कसले गर्छ, कसले जिम्मा लिन्छ भन्ने रहेको देखिन्छ।
यस्तो अवस्थामा अलिकति मात्र सहयोगले पनि धेरै राहत प्रदान गर्छ। यस्तो परिस्थितिमा सरकारले आवासीय स्कुलको धारणा ल्याउँदा आमा-बुवाहरू खुसी हुनु स्वाभाविक नै हो। तर के आवासीय स्कुल अहिलेको आवश्यकता हो त? के यसले भविष्यमा आउने चुनौतीलाई सम्बोधन गर्न सक्छ त?
यी प्रश्नहरूको उत्तर थाहा पाउनु अघि अटिजमको बारेमा थोरै बुझ्न कोसिस गरौँ। अटिजमको मूल कठिनाइ भनेको संचार हो। अरूको कुरा बुझ्न गाह्रो हुने, अनि आफ्नो कुरा बुझाउन पनि नसक्ने।
कतिपय अटिजम भएका व्यक्तिलाई घर परिवारको त्यति वास्ता हुँदैन, अनि कहिलेकाहीँ त उसले आफ्नो परिवारको सदस्य चिन्छ कि चिन्दैन भन्नेबारे पनि बुझ्न गाह्रो हुन्छ।
आफ्नो आवश्यकता, रूचि , भावना, पीडा इत्यादि बुझाउन नसक्दा कुण्ठा हुने, अनि त्यसले नै कहिलेकाहीँ उग्ररूप लिँदा अरूलाई अनि आफूलाई नै हानी पुर्याउने जस्ता व्यवहारहरू पनि देखिन्छन्। धेरैजसो अवस्थामा भने परिवारका सदस्यहरू लामो समय सँगसँगै बस्दा अटिजम भएका व्यक्तिको हाउभाउ, बानी- व्यवहार अनि के कुराले अनावश्यक व्यवहारहरू उक्साउने गर्छ भन्ने ज्ञान भैसकेको हुन्छ। स-साना कुराहरू, जुन अरूले हेक्का नै गरेको हुँदैन, त्यो पनि आमा-बुवा र परिवारका सदस्यहरूले बुझिसकेको हुन्छ।
मैले मेरो आफ्नो अटिजम सम्बन्धी विशेष ट्रेनिङको क्रममा गरेको अनुभव यहाँ बाँड्न चाहेँ। क्यानडामा सम्पन्न भएको सो ट्रेनिङको क्रममा एक जना ७० वर्षका व्यक्तिसँग भेट भयो। उहाँलाई ५ वर्षको हुँदा आवासीय स्कुलमा भर्ना गरिएको रहेछ। सबै पुराना रेकर्ड अनुसार सुरू सुरू यस्तै २०- २५ वर्षका हुनुन्जेल घर परिवारका मानिसले बेला बेलामा भेट्न आउने गर्थे, जुन पछि कम कम हुँदै गयो र पछिल्लो समयमा कोही पनि भेट्न आएको देखिँदैन। उनको सम्पूर्ण जीवन आवासीय बिल्डिङमा बित्यो। धेरै कम बोल्ने र खाली एक ठाउँमा मात्र बसेर दिन काट्ने गर्छन्।
२-३ महिनामा हेरचाह गर्ने व्यक्ति फेर बदल भैरहने हुँदा कोहीसँग पनि नमान्ने र विशेष गरी नयाँ मान्छे आउँदा बेला बेलामा उग्र व्यवहार देखाउने हुँदा शान्त राख्नका लागि भनेर औषधि पनि दिने गरिएको पाएँ। उनलाई भेट्दा खेरी मेरो मनमा उब्जिएको प्रश्न थियो - उनलाई संस्थामा नराखेर घरमा नै परिवारसँग राखिएको भए कस्तो हुन्थ्यो होला?'
यसै बीचमा नेपाल सरकारले गरेको 'आवासीय नमूना विद्यालय' धारणा आएपछि आफूलाई पनि यसले सोच्न बाध्य बनायो र यस क्रममा केही लेख र अनुसन्धानहरूबाट अझ यसलाई बुझ्न मद्दत पुग्यो।
जेनिफेरले द अट्लान्टिकमा २०२३ मा लेख्नुभएको लेख एकदम हृदयस्पर्शी छ।
सो लेखमा अनि त्यस्तै अरू धेरै त्यस्तै खालका लेखहरूमा बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई कसरी समाजबाट टाढा राखिन्थ्यो अनि घर परिवार र समाजले उनीहरूलाई कसरी बिर्सदै जान्छन् भनेर व्याख्या गरेको छ।
कतिपय लेखमा त परिवारका सदस्यले समेत यस्ता संस्थामा आफ्नो भाइबहिनी, दिदी, दाइले जीवनयापन गरिरहेका छन् भन्ने कुरा पनि पत्तो नपाएका कथाहरू छन्।
पछिल्लो समयमा आएर मानव अधिकार उल्लंघन र नैतिकतामा धेरै प्रश्नहरू उठ्न थालेपछि बौद्धिक अपाङ्गता अनि अटिजममा केन्द्रित रहेर स्थापना गरिएका आवासीय स्कुलहरू धमाधम बन्द हुन थाले। आवासीय संस्थामा राख्दा यसले उब्जाउने नकारात्मक असर यहाँ बुँदागत रूपमा राख्न चाहेँ।
१) आत्मीयपन / भावनात्मक समलग्नतामा असर:
जब कुनै पनि मान्छे ( साङ्ग वा अपाङ्ग) आफ्नो परिवारबाट टाढा हुन्छ, बिस्तारै ऊ भौतिक रूपमा मात्र नभएर भावनात्मक रूपमा विस्तारै टाढा हुँदै जान्छ। यो टाढिने क्रम दुवैतर्फ हुन्छ। त्यसै पनि अटिजम भएका व्यक्तिलाई आफ्ना भावनात्मक कुराहरू व्यक्त गर्न कठिन हुन्छ र सो समयमा आफ्नो नजिकको मान्छे नै टाढा हुँदा त झन् गाह्रो हुन पुग्छ। अनि जब अटिजम भएका व्यक्ति/बच्चाले कुनै किसिमको भावना/माया देखाउँदैन तब परिवारको व्यक्ति पनि निरास हुन थाल्छन्। अनि त्यसपछि एक आपसमा हुने अन्तरक्रिया पनि बिस्तारै चालै नपाइकन कम हुँदै जान्छ।
२) चुनौतीपूर्ण व्यवहार:
जब अटिजम भएका व्यक्तिलाई नयाँ मान्छे, नयाँ ठाउँमा लान्छौं, यदि सो वातावरण उसलाई नमिल्ने भए उसका चुनौतीपूर्ण व्यवहारहरू झन् बढ्न जान्छ। एक त परिवारबाट छुटिनु पर्ने, अर्को फेरबदल भई राख्ने कर्मचारीहरूका कारण नजिकै भएका व्यक्तिलाई हानि गर्ने ( कुट्ने, पिट्ने, तोक्ने आदि) , सर-सामान फुटाउने, नोक्सान पुर्याउने पनि हुन सक्छ।
अनि सबैका कारक धेरैजसो अवस्थामा अटिजम भएका व्यक्तिमा थोपरिन्छ। अर्कोतिर आवासीय संस्थानमा बस्दा अटिजम वा बौद्धिक अपाङ्गता भएका व्यक्तिले चाहिने जति प्रोत्साहन र माया नपाउँदा एकदम शान्त र संकुचित भएर बस्न थाल्छन्।
३) अनावश्यक औषधिको प्रयोग:
अटिजममा देखिने चुनैतीपूर्ण व्यवहारलाई औषधि नचाहिने त हैन, तर खासमा यो अन्तिम विकल्प हो। चुनौतीपूर्ण व्यवहारको नियन्त्रणको पहिलो पाटो भनेको यी व्यवहारहरूको कारण पत्ता लगाउनु हो।
कारण थाहा पाइसकेपछि मात्र वैकल्पिक तथा सकारात्मक व्यवहारको पद्धतिमार्फत यस्ता अनावश्यक व्यवहारहरूलाई न्यूनीकरण गर्न सकिन्छ। यसका लागि दक्ष जनशक्ति, प्रशस्त समय र स्रोत र धेरै धैर्यताको आवश्यकता पर्दछ। कतिपय अवस्थामा त एक जना अटिजम भएको व्यक्तिका लागि २ देखि ३ जना हेरचाह कर्ताको आवश्यकता पर्दछ। यस्तो अवस्थामा सजिलैसँग औषधिको शरणमा पुग्नु स्वाभाविक नै हो। औषधिले शान्त बनाउनुका साथै अलि लट्ठ पर्ने, निद्रा लाग्ने हुन सक्छ। एकै ठाउँमा बसिरहने भएपछि उसको पछि पछि लाग्नु पर्ने नै कम हुन थाल्छ। यसले बढीभन्दा बढी औषधि प्रयोग गर्नका लागि एक किसिमले प्रोत्साहन पनि दिन्छ। सधैं बर्बराइ रहने, चलमल गरिरहने मान्छे शान्त भएर बस्दा परिवारका सदस्यहरूले पनि व्यावहारिक पद्धतिभन्दा औषधि नै बढी रोज्ने गर्दछ।
४) बौद्धिक विकासमा बाधा:
अटिजम भएका बालबालिकामध्ये झन्डै ३०% मा बौद्धिक विकासमा ढिला भएको पाइन्छ।
अटिजम नै होस् वा बौद्धिक अपाङ्गता, सबै व्यक्तिमा आजभन्दा भोलि केही न केही सुधार भने भइरहेको हुन्छ। सुधारको एक आधार भनेको अटिजम/बौद्धिक अपाङ्गता भएका व्यक्तिले पाउने अनुकूल ध्यान, अवसर, हेरचाह अनि उपचार हुन्।
त्यसै पनि जब होस्टेल वा आवासीय विद्यालयमा विद्यार्थीहरू ( अटिजम /बौद्धिक अपाङ्गता नभएका) राखिन्छ, तब उनीहरूले पाउने भावनात्मक सहायता र माया पूर्ण रूपमा पाउन गाह्रो हुने गरेको धेरै अनुसन्धानहरूले देखाइसकेको छ।
बौद्धिक अपाङ्गता, अटिजम भएका व्यक्तिहरू आफै पनि कम बोल्ने, अन्तर्क्रिया गर्ने हुँदा उनीहरूसँग अरू व्यक्ति पनि कम बोल्ने गर्छन्, जसले गर्दा उनीहरूको भाषिक वातावरण संकुचित हुन पुग्छ।
अनि बोलीमा हुन सक्ने सुधार पनि खुम्चन पुग्छ। यस बाहेक चुनौतीपूर्ण व्यवहारहरू पनि छन् भने त एक्लै छुट्याएर राख्ने, सजाय दिने गर्दा मानसिक आघात पनि पर्न पुग्दछ।
अर्को भनेको यस्ता आवासीय सेन्टरहरूमा कडा नियम र रूटिन हुँदा कोही कोहीले आफ्नो स्वायतत्ता गुमाउने गर्छन्। जानेको कार्य गर्नका लागि पनि अरूको निर्देशन कुरेर बस्ने गर्छन्। डरका कारण पनि खुलेर काम गर्न हिच्किचाउने र कुनै काम गर्न अघि बढ्न खोज्दैनन्। कतिपय अवस्थामा स्वायतत्ता नै गुमाइरहेका हुन्छन्। यस्तो अवस्थामा बच्चाको क्षमता अनुसारको बौद्धिक विकास पूर्ण रूप अघि बढ्न बाधा पुग्दछ।
५) दीर्घकालीन प्रतिकूल असर:
अटिजम भएका व्यक्तिहरूमा यसै पनि वयस्क उमेरमा विभिन्न मानसिक समस्याहरू (एञ्जाइटी, डिप्रेसन) साधारण जनमानिसमा भन्दा बढी देखिन्छ। त्यसमाथि सही र पर्याप्त सहयोग, उपचार अनि हेरचाह नहुँदा यी समस्याहरू झन् कडा किसिमले उजागर हुन पुग्छ।
अर्को असर भनेको सधैँ यस्ता ठाउँमा रहँदा बाहिरी दुनियाँ झन् झन् टाढिँदै जान्छ। समाजका व्यक्तिहरूलाई पनि कसरी अन्तर्क्रिया गर्ने, फेरि आवेगमा आउने हो कि भन्ने डरले अगाडि आउन चाहँदैनन्। यसले गर्दा रोजगारी, शिक्षा, स्वास्थ्य सबैमा प्रत्यक्ष, अप्रत्यक्ष असर पारिरहेको हुन्छ।
यी सबै हुँदाहुँदै पनि आवासीय विद्यालयलाई नकार्न चाहिँ मिल्दैन। यस्ता विद्यालय कस्ता किसिमका बौद्धिक अपांगता/ अटिजमका लागि अनुकूल हुन्छ त?
आवासीय विद्यालयको मुख्य आशय भनेको 'रेगुलर स्कुल' का लागि तयारीका लागि हो भन्ने बुझ्न जरूरी हुन्छ।
कतिपय अवस्थामा चुनौतीपूर्ण व्यवहारहरू बुझेर त्यसलाई नियन्त्रण गरी व्यक्तिगत शिक्षा नीति अपनाएर तयार भएपछि सिकाइको विश्वव्यापी ढाँचा अनुरूप अर्को स्कुलमा स्थानान्तरण गर्नुपर्ने हुन्छ।
नमूना आवासीय विद्यालयको परिकल्पना गर्दा यसमा कस्ता कस्त्ता सुविधा हुनुपर्छ त ? भन्दा खाली किताबी ज्ञान मात्र नभएर स्वाभिमानी र स्वतन्त्र बन्नका लागि व्यावहारिक ज्ञान पनि संलग्न गरिनु पर्छ। दिनहुँ जीवनयापन गर्नका लागि चाहिने सीपहरू जस्तै: खाना पकाउने, सरसफाइ गर्ने, पसल जाने इत्यादि।
यस्तैगरी, विभिन्न किसिमका थेरापीहरू ( अकुपेसनल, फिजिओथेरापी, सेंसरी थेरापी ) को पनि प्रावधान हुन जरूरी छ। कुनै कुनै अवस्थामा यस्ता किसिमका आवासीय विद्यालय परिवारको आवश्यकता हुन सक्छ।
खासगरी बच्चाको हेरचाह गर्दागर्दै निकै थकित भई आमाबुवाको समेत मानसिक अवस्था जीर्ण बनेको, कोही पनि हेर्ने मान्छे नहुँदाको अवस्थामा यस्ता विद्यालय वरदान बन्न सक्छ। विद्यालयमा नै राखेता पनि परिवारको हरदम संलग्नता चाहिँ चाहिन्छ। यस्ता किसिमका विद्यालय चलाउनका लागि अटिजममा दख्खल भएका विशेष शिक्षाका शिक्षक-शिक्षिका, व्यावहारिक थेरापिस्ट र अन्य थेरपिस्ट अनि स्वास्थ्यकर्मीको आवश्यकता पर्दछ।
सबभन्दा यहाँ बुझ्नुपर्ने कुरा चाहिँ यस्ता किसिमका विद्यालय भनेको सधैंका लागि भने होइन। यस्ता विद्यालयहरूको उद्धेश्य कसरी अटिजम भएका व्यक्तिहरूलाई समाजमा घुलमिल गराई, दुवै अटिजम भएका र नभएका मानिसलाई एकै थलोमा गाँसिएर राख्नु हो।
तसर्थ, सरकारले नमूना विद्यालयको परिकल्पना गर्दैमा यसलाई तुरून्तै हतारिएर अपनाई हाल्नुपर्छ भन्ने हैन। दुवै पक्षले यसमा फाइदा, बेफाइदालाई न्यून तवरमा केलाएर अघि बढ्न जरूरी छ।
तपाईंले कमेन्टहरू यो इमेलमा पठाउन सक्नु हुन्छ।
merinashresth74@gmail.com