डा. देवीबहादुर बस्नेत विगत २५ वर्षदेखि दक्षिण कोरियाको सुवन सहरमा बस्दै आएका छन्। उनी सन् २००१ मा रोजगारीका लागि दक्षिण कोरिया पुगेका हुन्।
उनी मेडिटक्स कम्पनीमा सिनियर साइन्टिस्टका रूपमा कार्यरत छन्। देवी त्यहाँ सन् २००८ देखि अनुसन्धान (रिसर्च) क्षेत्रमा काम गर्दै आएका छन्।
'विशेषगरी यहाँ मेरो काम क्यान्सरको औषधि अनुसन्धान गर्ने हो,' उनले भने।
उनका अनुसार मेडिटक्स एक अन्तर्राष्ट्रि यस्तरको पब्लिक कम्पनी हो, जसले कस्मेटिक तथा औषधिजन्य सामान बनाउँछ। यो कम्पनीले विशेषगरी छालाको चाउरी हटाउने खोप उत्पादन गर्छ, जुन विश्वका ४० भन्दा बढी देशमा बिक्री–वितरण हुँदै आएको छ।
साथै, औषधि विकास र अन्य चिकित्सा अनुसन्धान सम्बन्धी काम पनि गर्दै आएको छ।
देवी भने अनुसन्धानतर्फ जोडिएका छन्।
उनी प्रोटिन थेराप्युटिक्स क्षेत्रमा कार्यरत छन्। यहाँ शरीरका लागि उपयोगी प्रोटिन तथा एन्टिबडी–आधारित औषधि विकास र क्यान्सरजस्ता जटिल रोगको उपचारका लागि अनुसन्धान गरिने उनले बताए।
'यस अन्तर्गत औषधिको डिजाइन, परीक्षण, प्रभावकारिता मूल्यांकनदेखि क्लिनिकल अध्ययनसम्मका चरण पूरा गरिन्छ,' उनले भने।

प्रोटिन थेराप्युटिक्स भनेको प्रोटिन वा प्रोटिन–आधारित अणुहरू प्रयोग गरेर रोगको उपचार गर्ने औषधि विज्ञानको एक शाखा हो। यसमा शरीरभित्रको खराब काम गर्ने प्रणाली सुधार्न वा रोग निको पार्न प्रोटिनलाई औषधिजस्तै प्रयोग गरिने उनले बताए।
प्रोटिन थेराप्युटिक्सको मुख्य उद्देश्य क्यान्सर, रोग प्रतिरक्षा प्रणाली र जटिल रोगहरूको उपचारका लागि कम साइड इफेक्ट हुने र प्रभावकारी औषधि विकास गर्नु हो।
यस्तो औषधि बजारमा ल्याउन सामान्यतया १० देखि १५ वर्षसम्म लाग्ने डा. देवी बताउँछन्।
'अहिलेसम्म हामीले बजारमा औषधि निकालेका छैनौं,' उनले भने, 'अनुसन्धान क्रममा धेरैजसो औषधि स्क्रिनिङ र परीक्षण चरणमै रोकिन्छन्।'
हालसम्म विकास गरिएका उत्पादनहरू बजारमा नल्याए पनि तिनका पेटेन्ट दर्ता भइसकेका छन्। कम्पनी अहिले ती अनुसन्धानलाई बजारमा कसरी लैजाने भन्ने विषयमा केन्द्रित रहेको डा. देवीले बताए।
उनको टिममा करिब १०० जना सदस्य छन्। अनुसन्धानमा आधारित काम भएकाले चुनौतीपूर्ण हुने देवीको अनुभव छ।
'सोचेजस्तो नतिजा आयो भने मात्र काम गर्न मजा आउँछ,' उनले भने, 'तर अनुसन्धान भनेको निरन्तर गरिने कार्य हो। यसमा धैर्य चाहिन्छ। सोचेजस्तो नतिजा आएन भनेर आत्तिनु हुँदैन।'
अनुसन्धानमा धेरै मेहनत गरे पनि त्यो बजारमा आउन नसक्दा कहिलेकाहीँ निराशा महसुस हुन्छ। औषधि अनुसन्धानमा काम गर्ने कम्पनीबीच प्रतिस्पर्धा हुने भएकाले कसैले छिट्टै पेटेन्ट दर्ता गरी उत्पादन बजारमा ल्याए आफ्नो मेहनत त्यसै खेर जाने उनले बताए।
विराटनगरका देवी महेन्द्र मोरङ विज्ञान क्याम्पसबाट जीव विज्ञान (बायोलोजिकल साइन्स) मा स्नातक अध्ययन गर्दा स्कुलमा पढाउँथे पनि। देवीको सामान्यतया दिन पढ्न र पढाउनमै बित्थ्यो।
थप पढ्न उनी काठमाडौं आए र त्रिभुवन विश्वविद्यालयबाट अर्गानिक केमिस्ट्रीमा स्नातकोत्तर गरे। त्यो बेला पनि उनले कलेज पढाउने काम गरे।
'म दुई–तीन वटा कलेजमा र इन्स्टिच्युटमा पनि पढाउँथेँ,' देवीले भने।

त्यसपछि थप पढ्न देवी दक्षिण कोरिया गएका हुन्। उनले त्यहाँको सुनमुन विश्वविद्यालयमा बायोकेमिस्ट्रीमा पिएचडी अध्ययन सुरू गरे।
उनको अनुसन्धान जेनेटिक इन्जिनियरिङसँग सम्बन्धित थियो। पिएचडीपछि पोस्ट–डक्टोरल अनुसन्धान अन्तर्गत केमिकल सिन्थेसिस र बायोलोजिकल सिस्टम प्रयोग गर्दै ब्याक्टेरियाको जिन इन्जिनियरिङ तथा कम्बिनेटोरियल बायोसिन्थेसिस प्रक्रियाबाट औषधि विकास सम्बन्धी काम गरेका थिए।
पछि उनले विमेन युनिभर्सिटीमा करिब साढे दुई वर्ष अनुसन्धान सम्बन्धी काम गरे।
अनुसन्धानसँगै देवीले रेस्टुरेन्टमा व्यवसायमा पनि हात हालेका छन्। उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विभिन्न नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन्।
'दक्षिण कोरियाका नेपाली समुदायको हकहित, आपत्कालीन सहयोग र समुदाय निर्माणमा योगदान दिएको छु। नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र प्राध्यापकलाई जोड्ने पुलको काम समेत गरेको छु,' डा. देवीले भने।