सकियो तिम्रो तेह्रौँ दिनको पुण्यतिथि। अब ४९ दिनमा हुनेछ, केही विधिवत् धर्मको कर्म हाम्रो तामाङ रीतिरिवाज अनुसार। त्यसपछि प्रत्येक वर्ष सम्झने छ चैत्र पूर्णिमामा। तिमीलाई प्रेम गर्नेहरू बाँचुन्जेल।
भाइ, तिम्रो मृत्युको खबर बारे लेख्न बिलकुलै मन छैन। अझ तिम्रो जीवनको त्यो कहालीलाग्दो दुर्घटना। मानौँ एउटा सपना मात्रै हो भन्न मन लाग्छ। तर के गर्नु, विधाताको अगाडि केही जोर नचल्दो रहेछ।
एउटै आमाको पाठेघरमा राज गरेर जन्मियौँ। म अलि वर्ष पहिला अनि तिमी अलि वर्षपछि। पारिवारिक कारण बस् हामी धेरै समय सँगै बस्न पाएनौँ भनौँ या परिबन्दले दिएन। केही कोस टाढा रहेर तिम्रो मेरो जिन्दगी चल्दै थियो। भौतिक रूपमा बाँच्न पाएको जीवन कालमा केही समय मात्रै सँगै रहने मौका मिल्यो।
जिन्दगी अविरल बग्दै थियो। तिम्रो-मेरो मामा गाउँ छेउको सुनकोसी नदी जस्तै गरी। जीवन बहावसँगै तिमीले अनि मैले धेरै थोकहरू गुमाएका थियौँ। पीडा, बेथा, अभाव त मानौँ हाम्रो ललाटमा नबोल्ने ढुंगाको देउताले घुस खाएर थोपरेको थियो।
अभावलाई कारण बनाएर तिमी आफ्नो देशदेखि पूर्व तिर लाग्यौ। अनि म पश्चिमतिर। हजारौँ किलोमिटर टाढा थियो तिम्रो र मेरो भौतिक शरीर। तिम्रो र मेरो जीवनको लय नै बेग्लै हुँदै थियो। तिमी आफ्नै गतिमा थियौ। म आफ्नै तालमा। एउटै घरको छानामुनि भएको थियो तिम्रो मेरो जन्म। एउटै गाउँको माटोमा गाडिएको थियो तिम्रो मेरो साल-नाल। एउटै स्कुलको कक्षा कोठाबाट सिकेका थियौँ कखरा।
प्रारब्धले अलग बनाएको थियो, छिन्नभिन्न बनाएको थियो तिम्रो र मेरो जीवनलाई। फलस्वरूप निकै वर्ष भएको थियो। तिम्रो मेरो भौतिक रूपमा भेट नभएको।
खैर, यदाकदा हुन्थ्यो वार्तालाप। प्रविधिले दिएको स्रोत साधनमार्फत। यस्तै हुनु रहेछ। सायद त्यसैले होला केही समय अगाडि भन्दै थियो तिमीले- ‘दाइ, अब छिट्टै फर्कन्छु होला नेपाल, परदेश नफर्कने गरी।’
बस् ‘हुन्छ नि’ भन्ने जवाफले टार्थेँ मैले।
जीवन यस्तै रहेछ। जस्तो कि कर्कलोको पातमा अटेको एक थोपा पानी। अझ यसो भनौँ अज्ञात ठेगाना विहीनको खामभित्र गुम्सेको दुःख सुखको कथाले भरेको चिठी।
दिनहरू सदा झैँ दगुर्दै थियो, जीवन र जोवनहरूलाई पाको र पुरानो बनाउँदै। त्यहीँ समयको अनुपम अनुरागमा म पनि हेलिँदै थिएँ। जीवन नामको मैनबत्ती उमेरको सलाईले जलाउँदै थियो।
यहीँ वर्षको पहिलो महिनाको सुरुवाती दिनहरूको रातले निकै गम्भीर सपनाहरू दिएको थियो। खासै वास्ता गरिनँ सपनाहरूको।
यही वर्षको पहिलो महिना वैशाख। भयंकर पीडाको खबर लिएर आयो। वैशाख १४ गते म आफ्नो बिहानीको दैनिकी सक्काएर कर्म स्थलतर्फ जाँदै थिएँ। लगभग आधा बाटोमा पुग्दै थिएँ म। एक्कासि मेरो मेसेन्जरमा केही म्यासेज आएको रिङटोन बज्यो। म्यासेज नेपालदेखि कोही आफन्तले पठाएको रहेछ। लगत्तै इनबक्स खोलेर हेरेँ। म्यासेज दुखको थियो। वियोग थियो। बिछोडको थियो।
म्यासेजमा लेखिएको थियो- तिमी काममा जाँदै गर्दा दुर्घटना पर्यौ। खबर अपुष्ट थियो। मात्रै दुर्घटनामा परेको खबर पाएको थिएँ।
बेचैनीमा काम गर्ने ठाउँमा पुगेँ। मन काममा थिएन। छटपटीमा थिए। पटक-पटक आफ्नाहरूलाई कल गरेर तिम्रो बारेमा बुझ्ने क्रम जारी थियो। मेरो छटपटी देखेर काम गर्ने ठाउँको मान्छेले सोधपुछ गर्यो। मैले सबै कुरा बताएपछि आधा दिनमै फर्किएँ वासस्थानमा। पटक-पटकको सोधखोजले तिम्रो बारेको खबर सत्य पुष्टि भयो। अझ तिमी दुर्घटना भएको स्थानको फोटो र भिडियो पाएपछि मेरो मन-मुटु छियाछिया भयो।
तिम्रो त्यो खालको अकल्पनीय दुःखद मृत्युको खबरले म टुटेँ। मेरो मन टुट्यो। हजारौँ किलोमिटरको दूरीले फैसला गरेको थियो हाम्रो पिडादायी अवस्थालाई। हाम्रो परिवारमा पटक पटक गरेर धेरै व्यक्तिलाई अल्पायुमा नै गुमाउनु परेको तितो विगतको यथार्थ, पुनः वर्तमानमा फेरि तिम्रो यो मृत्युले शोकाकुल बनाएको छ सिंगो परिवारलाई।
तिम्रो त्यो कहालीलाग्दो दुर्घटनापछि केही दिनमै तिम्रो पार्थिव शरीर नेपालमा आइपुग्यो। विधिवत तामाङ परम्पराअनुसार स्वयम्भूमा तिम्रो दाहसंस्कार गरियो। म तिम्रो त्यो अन्त्येष्टीमा उपस्थित हुन सकिनँ। कारण थियो, भर्खरै छुट्टीबाट फर्केको थिएँ म कर्मभूमिमा।
तन टाढा भए पनि प्रविधिले दिएको साथले हेर्दै थिएँ तिमी जलेको, तिम्रो पार्थिव शरीरसँगै देखेको अनेकन् सपनाहरू जलेको। तिमी जल्दै गर्दा बग्दै गरेको आँसुहरू, तिमी उकुसमुकुस भएर काठको बाकासमा थुनेर आएको मैले गरेको अनुभूतिहरू भाइ भयंकर कहालीलाग्दो छ।
अझ तिमी नेपाल फर्कन मात्रै तीन हप्त बाँकी रहेको कुरा। परिवारमा रहेको सदस्यहरूलाई सपिङ गरेको कुरा। तिमीले भेट्नै नपाएको जेठी छोरीको छोरीलाई भेट्ने कुरा। सुन्दै गर्दा मनभरि बिरहको आँधी चल्छ।
‘एक दिन न एक दिन भेटिहालिन्छ नि दाइ हामी। सँगै रहुला, सँगै बसुँला जसरी तिम्रो मेरो साल-नाल एकै ठाउँमा गाडेको थियो त्यसैगरी,’ यसरी बोल्ने मान्छे तिमी एकाएक हामीदेखि सधैँको निम्ति टाढा भएको छ। सम्झना र यादमा बाचिरहने बाँचा गरेर।
चाहेर पनि सँगै बग्न नसकेर सम्झनाको नदीमा तिमीसँगको प्रेमिल यात्रा टुङ्ग्याएँ र आफू चुपचाप उजाड बगरको ढुङ्गाझैँ किनारामा आफूलाई थन्काएँ। म पनि तिमी जस्तै बग्ने दिनको पर्खाइमा। निःशब्द नदी बिछोडको नीला डामहरू बोकेर एक्लै बगिरह्यो तिमीलाई साथमा लिएर। म हेरिरहेँ... म हेरिरहेँ...
तिमी र मैले भोगेको स्मृतिका अक्षरहरू समयको 'डस्टर'ले पनि मेट्न नसक्दो रहेछ। तिमी हामीबाट छुटेको केही दिन भएको छ। महिना हुँदै वर्ष बन्ने छ। वर्षहरू मिलेर दशक बन्ने छ। सायद त्यति बेलासम्ममा रोजिन्छ होला तिमीलाई दैवले कुबेलामा रोजाइको बाटो।
म अर्थात् हामी मृत अधुरो जीवन प्रेमको खरानी बोकेर तिम्रो चिहान छेउ उभिएर मौन शोक मनाइरहेछु।
भाइ राम्रोसँग जानू है!