केही दिनअघि कक्षा १० को नतिजा सार्वजनिक भयो। नतिजा आएसँगै यतिउति जिपिए भन्दै फेसबुकका भित्ताहरू तस्बिरहरूले भरिन थाले। अपेक्षाअनुसारको नतिजा ल्याएका सन्तानको सफलतामा अभिभावकहरू गर्वको अनुभूति गरिरहेका थिए। कुनै पनि अभिभावकका लागि यो स्वाभाविक खुसीको अवसर पनि थियो।
यही भीडका बीचमा केही अभिव्यक्तिहरू यस्ता पनि देखिन्थे जसका बारेमा सोच्नैपर्छ जस्तै, एउटी आमाले सामाजिक सञ्जालमा लेख्नुभएको थियो : 'यो आमाका लागि दुई वटा विकल्प मात्र भए पुग्थ्यो, पास वा फेल।' छोरीले उत्कृष्ट जिपिएभन्दा थोरैले नपुग्दा आफ्नी छोरीलाई भइरहेको छटपटीले अप्ठ्यारो बनाएपछिको उनको प्रतिक्रिया थियो।
त्यस्तै, एसइईको नतिजासँगै अर्को दुःखद् समाचार पनि सुनिन्छ - 'सोचेजस्तो नतिजा नआएपछि विद्यार्थीले आत्महत्या गर्यो।'
यस्ता घटना नयाँ होइनन्, वर्षौंदेखि दोहोरिँदै आएका छन् र हाम्रो सोच तथा प्रणालीमा परिवर्तन नआएसम्म सम्भवतः दोहोरिइरहनेछन्।
त्यस्तै , नतिजा सार्वजनिक भएको अर्को दिनदेखि नै विभिन्न कलेजहरूले जिपिएका आधारमा भर्ना प्रक्रिया र छात्रवृत्तिको घोषणा गर्न थाले। उच्च जिपिए ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने, प्रचार गर्ने र उदाहरणका रूपमा प्रस्तुत गर्ने क्रम पनि सुरू भयो। केही दिनसम्म समाजको केन्द्रमै जिपिए, प्रतिशत र 'उत्कृष्ट' भन्ने शब्दहरू घुमिरहन्छन्।
एसइई सुरू हुनुभन्दा केही दिनअघिमात्र कर्णाली प्रदेशका केही दुर्गम विद्यालयहरूमा पाठ्यक्रम नै पूरा हुन नसकेको समाचार सार्वजनिक भएको थियो। त्यस्ता विद्यालयका विद्यार्थीहरूको संघर्ष, अवसरको अभाव र असमान परिस्थितिलाई सुगम र सुविधासम्पन्न विद्यालयमा पढेका विद्यार्थीहरूको उपलब्धिसँग एउटै मापदण्डमा तुलना गर्न मिल्ला र?
हाम्रो शैक्षिक प्रणालीमा यस्ता प्रश्न सधैं हारिरहेका छन्, के अंकले मात्र विद्यार्थीको सम्पूर्ण क्षमता मापन गर्न सक्छ? कसैको सिर्जनशीलता, संघर्ष, संवेदनशीलता, अथक प्रयास र भविष्यको सम्भावना के जिपिएको सीमाभित्र अटाउन सक्छ? समयसमयमा सतहमा आउने र नआएका कतिपय घटनाहरूले एउटा महत्वपूर्ण प्रश्न जन्माइरहेका हुन्छन्, जसलाई बारम्बार नजरअन्दाज गरिन्छ, सम्बोधन गर्न खोजिँदैन वा सम्बोधन गर्न नै आएको छैन।
के हामीले शिक्षालाई अत्यधिक रूपमा अंक र जिपिएमा मात्र सीमित गरिसकेका त छैनौं। यदि हो, भने हाम्रो शिक्षा प्रणालीमा निकै कमजोरीहरू छन् भन्ने कुराको मूल्याङ्कन गरिनुपर्छ।
पक्कै पनि नतिजा महत्वपूर्ण हो, तर जीवनको अन्तिम सत्य होइन। कसैका लागि उत्कृष्ट जिपिए खुसीको कारण बन्छ, कसैका लागि थोरै नपुग्नु पीडाको। तर समयले बारम्बार देखाएको छ जीवनमा सफलताको बाटो केवल अंकले मात्र होइन, धैर्य, मेहनत, अवसर, लगनशीलता र आत्मविश्वासले पनि बनाउँछ।
सचेत शिक्षक, अभिभावकहरूले र सरोकार निकाय सबैले अब केवल बहस गरेर पुग्ने अवस्था छैन। ठोस नीति, व्यवहार र शिक्षण संस्कृतिमा परिवर्तनको आवश्यकता छ। हामी सबै मिलेर बालबालिकाको मनमा सानैदेखि एउटा कुरा रोपिरहेका छौं 'अंक नै सबैथोक हो', 'यति जिपिए ल्याएन भने राम्रो कलेज पाइँदैन', 'फलानोभन्दा कम हुनु हुँदैन' जस्ता सन्देशहरूले उनीहरूको मन डर, तुलना र असुरक्षाले भरिँदै जान्छ। डरले भरिएको मस्तिष्कले फेरि समाजमा अरू डरहरू नै जन्माउने सम्भावना रहन्छ। त्यसमा कुनै शंका छैन।
त्यसमाथि विद्यालयहरूको व्यावसायिक प्रतिस्पर्धाले यसलाई अझ बढावा दिएको छ। सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पोस्टर र विज्ञापनको माध्यम बनाइन्छ, सम्मान गरिन्छ र प्रचार गरिन्छ। तर संघर्ष गरिरहेका, पछाडि परेका वा असफल भएका विद्यार्थीहरूको मानसिक अवस्थाबारे सोच्न सकेको हुँदैन। कुनै पनि विद्यार्थीको चरित्र निर्माणमा अभिभावक, विद्यालय, शिक्षक, साथीभाइ र पाठ्यपुस्तक सबैको भूमिका हुन्छ। तर आजको समाजमा शिक्षालाई प्रमाणपत्र र अंकमा सीमित गरिँदै गएको देखिन्छ। बच्चाहरूलाई बुझ्नेभन्दा बढी 'नाप्ने' काम भइरहेको छ। हामीले प्रश्न मात्र गर्ने होइन सबै कोणबाट इमान्दारिकतापूर्बक सोच्नसक्नु पर्छ, के शिक्षा केवल जिपिएका लागि मात्र हो? के अंकमा असफल हुनु भनेको जीवन समाप्त हुनु हो? पक्कै होइन।
अहिले जताततै सुनिने हल्ला हो 'बच्चाहरू बिग्रिए।' अनि सजिलो र बनिबनाउ उत्तर पनि तयार छ 'मोबाइलले बिगार्यो।' तर यति भनेर पन्छिने विषय यो होइन किनभने हामीले उनीहरूलाई पर्याप्त समय, संवाद र भावनात्मक साथ कति दिन सकेका छौं भन्ने कुराको समीक्षा पनि गर्नुपर्छ ।
बिहान विद्यालय पठाएर बेलुका फर्किने दिनचर्याबीच कतिपय बालबालिका एक्लोपन, डर र दबाबसँग चुपचाप जुधिरहेका हुन्छन्। मध्यमवर्गीय परिवारले धान्न सक्ने अधिकांश विद्यालयहरूमा मानसिक स्वास्थ्य सम्बन्धी परामर्श, मूल्याङ्कन वा भावनात्मक सहयोगको व्यवस्था अझै पनि न्यून छ।
परिणाम स्वरूपपछि गएर निराशा, कुलत वा आत्मघाती सोचजस्ता समस्या देखिन सक्छन्। सबै बालबालिका फरक हुन्छन्।कोही पढाइमा अब्बल हुन्छन्, कोही सिर्जनशीलतामा, कोही नेतृत्वमा, कोही व्यवहारमा, त कोही संघर्ष गर्ने क्षमतामा। समाजलाई केवल 'अंकका टपर' मात्र होइन, संवेदनशील, जिम्मेवार, आत्मविश्वासी र उद्यमी नागरिक पनि चाहिन्छ। त्यसैबाट त कुनै पनि समाज र देश सफल हुने आधार बन्दछ।
यो कुरासँगसँगै सीपको आवश्यकताका बारेमा पनि विधार्थीहरूलाई बुझाउन सक्नुपर्छ। कुनै समयको असफलताको शिक्षाले अरू सफलताको कोर्न कसरी सकिन्छ, एउटा ढोका बन्द भए दसवटा ढोका खुल्न सक्छन्, तर त्यसलाई हेर्न र चिन्न सिक्नुपर्छ भन्ने सोच, कला र सीप पनि पाठ्यक्रममा समावेश हुनुपर्छ।
सुरूआती असफलताबाट सिकेर पछि समाज र राज्यलाई महत्वपूर्ण योगदान दिएका व्यक्तित्वका उदाहरणहरू व्यावहारिक रूपमा नै दिनसके राम्रो हुन्छ। यस्ता कुराहरू पाठ्यक्रममा समावेश गरिएका भए पनि ती पर्याप्त छन् वा छैनन् भन्ने विश्लेषण गरिनुपर्छ। किनभने एउटा व्यक्ति शारीरिक रूपमा स्वस्थ भएर मात्र पुग्दैन, त्यसका साथसाथै मानसिक, संवेगात्मक तथा सामाजिक रूपमा कसरी स्वस्थ हुने भन्ने कुरा पाठ्यक्रमले व्यवहारिक रूपमा सिकाउन सक्नुपर्छ।
शिक्षाको उद्देश्य डर पैदा गर्नु होइन, जीवन बुझ्न सिकाउनु हो। यदि हाम्रो शिक्षा प्रणालीले एउटा नतिजाका कारण जीवन नै निरर्थक ठान्ने अवस्था सिर्जना गरिरहेको छ भने समस्या बच्चामा होइन, हाम्रो सोच र प्रणालीमा छ भन्ने बुझ्नुपर्छ। शैक्षक संस्थाको नेतृत्वमा रहेकाहरुले पनि वर्तमान शिक्षाको सामयिक सुधारका आधारहरू र परिवर्तन गर्न सकिने पक्षहरूलाई केलाउने क्षमता राख्नुपर्छ। शिक्षण शैली पुरातन र यथास्थितिवादकै बाटोमा हिँडिरहयो भने उनीहरूले अभिभावक र विद्यार्थीहरूसँग न्याय गर्न सकेका छन् भन्न मिल्दैन।
अझ अहिले कतिपय विद्यालयहरूले कक्षा १० लाई नै लक्षित गरेर कक्षा ९ देखि नै बिहानदेखि बेलुकासम्म विद्यालयमै राखेर पढाउने गरेका हुन्छन्।
यस विषयमा मेरो आफ्नै अनुभव पनि छ मेरी छोरी ८ कक्षासम्म पढ्दा घरका धेरै काममा आत्मनिर्भर भइसकेकी थिइन्। खाना पकाउनेदेखि समय व्यवस्थापनसम्म उनले सहज रूपमा सिकेकी थिइन्। त्यतिबेला उनीसँग सिर्जनात्मक कामका लागि समय पनि थियो र उनी खुसी भएर पढ्थिन्। पढाइ केवल बोझ होइन, जीवनको एउटा हिस्सा जस्तो लाग्थ्यो। तर ९ कक्षामा पुगेपछि दैनिकी बदलियो। बिहान ६ बजेदेखि सुरू हुने कक्षा, दिनभर विद्यालयमै बस्नुपर्ने बाध्यता र साँझसम्म थकित भएर घर फर्किने दिनचर्या सुरू भयो। विस्तारै उनको ऊर्जा र उत्साह सृजनात्मक कुराहरूमा घट्दै गएको महसुस हुनथाल्यो।
यो एउटा प्रतिनिधि उदाहरण मात्र हो। सबै बालबालिकाको स्वभाव, क्षमता र सिक्ने शैली फरक हुन्छ। तर हाम्रो प्रणालीले प्रायः सबैलाई एउटै ढाँचामा ढाल्ने प्रयास गर्छ। जब यस्ता विषय विद्यालयसँग उठाइन्छन्, प्रायः जबाफ आउँछ 'अभिभावकहरू नै बच्चालाई बढी समय विद्यालयमा राख्न चाहन्छन्।' यो केही हदसम्म सत्य पनि हुन सक्छ। राम्रो जिपिए, राम्रो कलेज र प्रतिस्पर्धाको दबाबले अभिभावकहरूलाई पनि त्यस्तै अपेक्षा गर्न बाध्य बनाएको छ।
तर मुख्य प्रश्न फेरि उही हो- के सिकाइलाई केवल विद्यालयमा बिताएको समयसँग मात्र जोड्न मिल्छ? यदि लामो समय विद्यालयमा बस्दा बालबालिकाको थकान बढ्छ, सिर्जनात्मकता घट्छ र मानसिक दबाब थपिन्छ भने हामीले शिक्षाको उद्देश्यबारे गम्भीर रूपमा पुनर्विचार गर्नुपर्छ।
अचेल धेरै विद्यालयहरूले सिर्जनात्मक कार्यक्रमहरूलाई पनि प्रदर्शन र प्रचारको माध्यम बनाएका हुन्छन्।
सामाजिक सञ्जालमा आकर्षक फोटो र भिडिओहरू राखेर यस्ता गतिविधिलाई उपलब्धिका रूपमा प्रस्तुत गरिन्छ। तर सिर्जनात्मकता भनेको केवल गीत, संगीत, चित्रकला वा साहित्यमात्र होइन। बालबालिकाले समस्या कसरी समाधान गर्छन्, समयको व्यवस्थापन कसरी गर्छन्, निर्णय लिन कसरी सिक्छन् र नयाँ परिस्थितिमा आफूलाई कसरी ढाल्छन् यी सबै पनि सिर्जनात्मक क्षमताका महत्वपूर्ण पक्षहरू हुन्।
दुर्भाग्यवश, हाम्रो शिक्षण प्रणालीमा यस्ता पक्षहरूलाई पर्याप्त स्थान दिइएको देखिँदैन। पाठ्यक्रम अझै धेरै हदसम्म परीक्षा र अंककेन्द्रित छ। त्यसैले विद्यार्थीको सोच्ने, प्रश्न गर्ने र स्वतन्त्र निर्णय गर्ने क्षमताको विकास अपेक्षित रूपमा हुन सकिरहेको छैन। स्वतन्त्र सिकाइको वातावरण कसरी निर्माण गर्ने भन्ने विषयमा स्पष्ट 'भिजन र मिसन'को अभाव देखिन्छ।
त्यसमाथि, केही शिक्षकहरूको व्यवहार र शिक्षण शैलीले विद्यार्थीलाई स्वतन्त्र रूपमा अभिव्यक्ति दिन नदिने वातावरण पनि सिर्जना गर्छ। डर, दबाब र अत्यधिक अनुशासनका कारण धेरै विद्यार्थीहरू आफ्नो विचार खुलस्त रूपमा व्यक्त गर्न सक्दैनन्। परिणामस्वरूप उनीहरूको वास्तविक क्षमता, भावना र सोच पूर्ण रूपमा बाहिर आउन पाउँदैन। त्यसैले शिक्षा केवल किताब र परीक्षासम्म सीमित हुनु हुँदैन। यो बालबालिकालाई सोच्न सिकाउने, समस्या समाधान गर्न सक्षम बनाउने र जीवनसँग जुध्न तयार गर्ने प्रक्रिया हुनुपर्छ।
अन्त्यमा अधिकांश कुरा फेरि मार्कसिट र जिपिएमै गएर टुंगिन्छ। राम्रो जिपिए ल्याउने विद्यार्थीलाई मात्र 'सफल' मान्ने प्रवृत्ति धेरै ठाउँमा देखिन्छ। विद्यार्थीको सञ्चार क्षमता कस्तो छ? उसले समूहमा काम गर्न सक्छ कि सक्दैन? समस्याको समाधान गर्न कति सक्षम छ? आत्मविश्वास कस्तो छ? व्यवहारिक रूपमा आफूलाई कसरी प्रस्तुत गर्छ? खेलकुदमा रूचि भएका विद्यार्थीहरूले पर्याप्त अवसर पाएका छन् कि छैनन्? यी सबै पक्षहरू पनि उसको वास्तविक क्षमताका महत्वपूर्ण सूचक हुन्।
यदि भविष्यमा उसले सधैं उच्च जिपिए कायम राख्न सकेन भने के हुन्छ, उसले आफ्नै क्षमतामाथि शंका गर्न थाल्छ र आफूलाई असफल ठान्ने जोखिम बढ्दै जान्छ ।त्यसैले शिक्षा केवल अंकमा सफल हुने तरिका सिकाउने माध्यम मात्र हुनुहुँदैन। यसले असफलतालाई कसरी सामना गर्ने, नयाँ विकल्प कसरी खोज्ने र आत्मविश्वास कसरी जोगाइराख्ने भन्ने पनि सिकाउनुपर्छ।
आजको प्रविधि र प्रतिस्पर्धाको युगमा हाम्रो शिक्षा प्रणाली अझै धेरै हदसम्म पुरानै ढाँचामा अड्किएको देखिन्छ। पढाउने तरिका, मूल्याङ्कन प्रणाली र सफलता मापन गर्ने दृष्टिकोण सबैले व्यापक सुधार मागिरहेका छन्। यदि शिक्षा केवल जिपिए र प्रमाणपत्रमा सीमित रहन्छ भने हामीले बालबालिकालाई जीवनको पूर्ण तयारी होइन, केवल परीक्षाको तयारी मात्र गराइरहेका हुन्छौं। जीवन जिउने कला भन्दा अंक ल्याउन सम्ममा मात्र सीमित गरिरहेका छौं। समस्या सफलताको परिभाषामै छ। सबैलाई एउटै ढाँचामा सफलताको मापन गर्न सकिँदैन। समाजले बनाएको साँघुरो सफलताको परिभाषाका कारण धेरै प्रतिभाहरू आफ्नै रुचि र क्षमताबाट टाढा भइरहेका छन्।
अर्को सोच्नुपर्ने कुरा महत्वाकांक्षाहरूको चपेटामा बालबालिकाहरू नै परिरहेका हुन्छन् चाहे त्यो अभिभावकको महत्वाकांक्षा होस् वा निजी विद्यालयको। अंकले नै सर्वोत्कृष्ट विद्यार्थी सबै कुरामा सर्वोत्कृष्ट हुन्छ भन्ने धारणा बदल्न अब पाठ्यक्रम परिमार्जन र शिक्षा सुधारका क्रममा संवेदनशील र भविष्यदर्शी भएर सम्बोधन हुनुपर्छ।
यदि अंक नै सबैथोक हो, ठूलो जागिर नै सबैथोक हो भने, बेला–बेला किन डाक्टर, इन्जिनियर वा अन्य सफल पेशाकर्मीहरूले समेत आफ्नो जीवनसँग निराश भएका समाचार बाहिर आउनु नपर्ने हो। सक्षम, शिक्षित र योग्यता भएको व्यक्तिले कृषि, पशुपालन वा अन्य उद्यमलाई अझै पनि दोस्रो दर्जाको विकल्प ठान्नु न पर्ने हो ।
शिक्षा केवल अंक र प्रमाणपत्रमा सीमित हुनु हुँदैन। यो बालबालिकाको क्षमता, रूचि, व्यक्तित्व र वास्तविक जीवनसँग जोडिने प्रक्रिया हुनुपर्छ। जबसम्म हामीले शिक्षालाई यसरी हेर्न सक्दैनौं, तबसम्म जिपिएको दौडमा धेरै प्रतिभाहरू हराइरहनेछन्। र, भविष्यमा हाम्रो समाजले धेरै प्रतिभा र सम्भावनाहरू पाउनसक्ने छैन।