खासमा नारी दिवस के र कसका लागि?
कुनै कार्यक्रम आयोजना गरी महिला अधिकार र सशक्तीकरण बारे बोल्नका लागि मात्र हुने हो भने त्यसको औचित्य के?
वर्षभरि दिनरात नभनी जागिरे आमा, दिदी, बहिनी, फुपू, माइजू, काकी, भाउजू, ठुली-आमा, हजुरआमा आदिका उपाधि शिरमा राखेर खटिने महिलालाई एक दिनको नारी दिवसको अवसरमा विशेष उपाधि के त आखिर?
केही होइन भने नारी दिवस के र कसका लागि?
समाजमा उल्लेखनीय काम गरेबापत नारी दिवसको अवसरमा कुनै महिलाले उपाधि पाउँछिन् अनि आफूलाई मनमा लागेका सारा बहहरू पोख्छिन्। उनी सम्झिन्छिन् आफ्नो परिवार; श्रीमान्, छोरा, छोरी, सबैलाई। खुसी हुँदै घर जान्छिन् र आफूले सम्मान स्वरूप पाएको पुरस्कार कता राख्दा राम्रो हुन्छ भनेर मिलाउन खोज्दै गर्दा उताबाट श्रीमानको आवाज आउँछ- ‘अझै सक्या छैन तिम्रो महिला दिवस? त्यो पुरस्कार त्यही छोडिदेऊ, पछि मिलाइराख, तिम्रो के काम छ र? जाऊ गएर खाजा बनाऊ भोक लाइसक्यो।’
अघिसम्म समाजको अगाडि पुरस्कार पाएको खुसीले उज्यालो भएको अनुहार एकैछिनमा बिलाउँछ, उनी खिन्न पार्छिन्। उसको उपलब्धि र कार्यक्रममा उसले पाएको सम्मानको बखान गर्न उसलाई पनि त मन थियो होला नि।
एकछिनमा श्रीमानको फोन बज्छ र उसले भन्छ, ‘हुन्छ, म आइहाल्छु नि।’ फोन राखेपछि भन्छ, ‘एउटा कार्यक्रममा नारी दिवसमा बोल्नको लागि बोलाएका छन्, म गएर आउँछु।’ टक्क कोट प्यान्ट लाएर तयार भई निस्किन्छ र गएर भाषण दिन्छ- ‘महिलाहरूको सम्मान गरौँ, उनीहरू बिना हाम्रो जीवन अधुरो छ, महिलाहरूको हामी, हाम्रो समाज र हाम्रो राष्ट्रमा ठुलो योगदान छ। उनीहरूलाई पनि दुनियाँ जित्ने हौसला प्रदान गरौँ; घरको काम बाट बाहिर निस्केर दुनियाँ हाँक्ने क्षमता छ नारीहरूमा र हामीले त्यो क्षमताको कदर गर्नुपर्छ।’
भाषण सकियो, सबैले ताली बजाए। सबैले सोचे ‘आहा! यिनका श्रीमती कति भाग्यमानी।’ उता श्रीमती आफूले पाएको पुरस्कार मुसार्दै आँखा टिलपिल टिलपिल पारेर बसेकी हुन्छिन्।
यो लेखिरहँदा मैले पुरुषको व्यवहारको विरोध गरेको जस्तो झल्किन सक्छ; मैले मात्र समाजको एउटा तितो उदाहरण दिन खोजेकी हुँ।
परिवर्तन धेरै आइसकेको छ समाजमा, हिजोभन्दा आज र आजभन्दा भोलि। परिवर्तन अपरिहार्य पनि छ। नारीले गर्न नसक्ने सायद केही पनि छैन। तर हामी परिवारले स्वीकार गरे पनि समाजले स्विकार्दैन र कहिलेकाहीँ समाजले पहिचान गरेको उसको कदर अपसोच परिवारले नै गर्न सक्दैन।
महिला र पुरुष बराबर छन्। हो छन् बराबर तर व्यवहारमा लागु भएको भने म कम नै पाउँछु।
धेरै कार्यालयमा पुरुष र महिला कर्मचारीबिच गरिने व्यवहारमा भिन्नता देखेको छु मैले। आखिर त्यो ठाउँसम्म पुग्न गरिएको मिहिनेत त उति नै होला नि। अझ घर व्यवहारलाई टार्दै, पन्छ्याउँदै त्यो पद र प्रतिष्ठा हासिल गर्न महिलाहरूले धेरै नै मिहिनेत गरेका हुन्छन्।
मैले आफ्नो व्यक्तिगत भोगाइको कुरा लेख्न चाहेँ। ब्याचल पढ्दै गर्दाको कुरा हो, म र मेरा साथीहरू फिल्ड गएका थियौँ वन सम्बन्धित काम गर्न। त्यहाँ गाउँलेहरूसँगै हामी पनि वनतिर जान्थ्यौँ। त्यो ९ दिनको बसाइमा मैले आफ्नो विषयगत ज्ञान धेरै नै प्राप्त गरेँ तर एउटा नमिठो अनुभव, हाम्रो केटा साथीहरूलाई चाहिँ सर सर भनेर बोलाइन्थ्यो अनि हामी केटीहरूलाई नानी भनेर सम्बोधन गरिन्थ्यो। धेरै ठुलो कुरो नलाग्ला कसैलाई तर ‘फरक किन?’ यस्तो प्रश्न म आफूले आफैलाई गरिरहन्छु तर जवाफ भने पाउँदिनँ।
यस्ता थुप्रै उदाहरण र भोगाइ छन् मसँग। समान पदमा भएका पुरुष र महिला कर्मचारीहरूमा गरिने भेदभाव म प्रायजसो दिनदिनै अनुभव गरिरहन्छु।
आखिर महिलालाई यति फरक व्यवहार किन? उनीहरूले घर बाहिर टेकेर दिनभरि अफिसमा काम गरेर पुरुषसँगै एउटै समयमा घरभित्र छिरे पनि पुरुष भने फ्रेस भएर मोबाइलमा समाचार हेरेर आनन्दले बस्ने अनि महिला चाहिँ १०-५ को ड्युटी सक्काएर फेरि घरायसी कामको ड्युटीमा लागिनुपर्ने। कस्तो अचम्म है?
नियम कसले बनाएको होला? अझै पनि छोरी-छोरी भए भनेर मुख खुम्च्याउनेहरूको कमी छैन यहाँ। छोरी-छोरी भएको घरमा छोराको बिहे गर्नुहुँदैन अरे, किनभने बुहारीले आफ्नै माइतीलाई मात्र हेर्छिन् अनि घरमा ध्यान दिन्नन् अरे! छोरी-छोरी भए ज्वाइँको घर जान्छन् अनि हामीलाई बुढेसकालमा साथी हुँदैनन् अरे! यस्ता धेरै नमिठो भनाइहरू अझ पनि सुनिन्छन् समाजमा तर सत्य के हो भने, आजकल जागिरको सिलसिलामा छोरा र बुहारीहरू कता-कता पुग्नुपर्ने हुन्छ। अझै भन्ने हो भने त अधिकांश नागरिक बाहिर जाने ट्रेन्ड आएको छ।
त्यसैले आफ्नो सन्तान चाहे छोरा या छोरी होस्, आफूलाई माया गर्ने होस् भन्ने कामना हरेक बुवाआमाले गरे कति राम्रो हुन्थ्यो होला। यो मामिलामा म आफूले आफूलाई निकै भाग्यमानी ठान्दछु। मेरा बुवाआमाले छोरी मलाई जस्तोसुकै परिस्थितिमा आफ्नो कदम नडगमगाउनु भनेर हरपल हौसला प्रदान गरिदिनु भएको छ र त मैले आज निर्धक्क भएर काम मन लगाएर गर्ने अवसर पाएको छु।
त्यसैले हरेक बाधाहरू तोड्दै, अप्ठ्याराहरूको सामना गर्दै, समाज देश र राष्ट्रका हितका निमित्त लागिरहेका हरेक नारीहरूको सम्मान गरौँ; केवल नारी दिवसको दिनमा गह्रुँगो भाषण होइन, व्यवहारमा परिपक्व बनौँ।