बिहानै बाइक सर्भिसिङ जाँदै थिएँ। लाग्यो यो काममा बढी समय लाग्छ, कुरिन्जेल एउटा कुनै किताब बोकेँ पढ्न पाइएला। त्यहाँ पुगेपछि मेरो अनुमान मिलेन किनभने त्यहाँ अर्कै वातावरण थियो। सधैँजसो ब्लगमा नकारात्मक टिप्पणी र निराश शब्द उराल्ने म आज भने अति नै सकारात्मक भएँ।
टोयोटाको एकताकाको विज्ञापन याद आयो जसमा लेखिएको थियो- ‘लिटिल थिङ यु डु।’ मलाई त्यही अनुभूति रह्यो। बाइक सर्भिसिङमा दिएर टोकन लिएपछि वाइफाई सुविधा, कस्टमर लाउन्ज, मेल-फिमेल ट्वाइलेट साथै कालो-सेतो चियाको चुस्की समेत पाइयो। लाग्यो नेपाल सुध्रिएको हो कि यहाँ मात्र यस्तो हो! खैर जे भए पनि यो कुरा उदाहरणीय छ। लाग्यो, फेरि यति सुविधा दिएपछि पैसा बढी असुल्ने हो कि? तर शुल्क साबिकै छ आनन्द लाग्यो।
पहिला पहिलाको सर्भिसिङमा भोगेको यत्रतत्र कालो मोबिल, हिलो चिप्लो, जताततै फोहर, गन्हाउने ट्वाइलेट पनि फोहर, वाइफाई कहाँ पाउनु? समय पनि बढी लाग्ने, सर्भिस प्यानल पनि कम थिए तर अहिले त अति नै राम्रो सेवा। कलेज पढाउँदा कस्टमर इज गड, कस्टमर एन्ड रिभर नेभर कम ब्याक, अ ह्याप्पी कस्टमर आदि बारेमा विद्यार्थीलाई भनिन्थ्यो मात्र। आज भने साँच्चै देखेँ र लेख्न मन लाग्यो। त्यो ठाउँको नाउँ भन्न मन लागेन किनकि मानिसले अर्कै सोच्छन्, मात्र यति भनेँ- सेवा बबाल छ।
सेवाकै कुरा गर्दा, रेस्टुराँमा जागिर गर्दा कति पटक खाना अर्डर गरेर ग्राहकले ढिलो गरेको भनेर क्यान्सिल गरेको आफैले भोगेको छु। जहाँ गयो त्यही बेथिति। फेरि बेथिति गर्नेमा नेताको मात्र नाम आउँछ तर यो सबै ठाउँमा सबैले गरेका छन्, दोष नेतालाई मात्र लगाउँछौ।
बस चढ्यो ५ किमीलाई पौने घण्टा लगाउँछ, ढिलो भयो भाइ भने कार किनेर जाने भन्छ। कस्तो रुखो सेवा तथा जवाफ!
रड किन्न गयो तौलेर किन्न पाइन्छ, ट्याग हेरेर लैजा भन्छ। जोखौँ न भन्यो भने अर्को पसलमा गएर किन भन्छ। उपभोक्ताकर्मीहरू डलरे छन्, बोल्छन् देखाउन मात्र अनि असुल्छन्। कसबाट आशा गर्ने!
दूधको खुवा भनेर किन्यो पिठो मात्र हुन्छ। पाँच वर्ष सर्भिसिङ भनेर सवारी किन्यो, वारेन्टी कार्ड देखायो, यो पटकको सर्भिसिङ पेड हो भन्छ। कस्तो ठगी! व्यापारी बलिया उपभोक्ता निर्वलिया के गर्ने मरीचको अवस्था छ।
किताब किन्यो अडियो सुन्नुपर्ने तर सिडी नै हुँदैन, बारकोड दिन्छ अडियो आउँदैन। यत्रतत्र सर्वत्र उपभोक्ता मार्ने। अर्कोतर्फ १०० रुपैयाँ जरिवाना गर्ने लुते कानुन छ।
बैंकमा खाता बन्द गर्न गयो बैंकले नानाभाती सोध्छ मानौँ उसको अधिकार जस्तो। मेरो खाता मेरो मर्जी किन बन्द गर्ने, कसरी बन्द गर्ने अन्ठसन्ठ प्रश्न गर्छ। कस्तो अन्याय! राष्ट्र बैक बेखबर छ किनकि आखिर पछि जाने बैंक नै हो किन छुच्चो बन्ने?
विश्वका तीर्थयात्री आउने पशुपतिमा होटेलमा खाना खाएको १५० लियो तर दाल र आलुको भुजिया मात्र छ। बासी खाना पर्यटकले के सोच्लान्? नगरपालिकाले हेर्छ भन्छन् खै त हेरेको? उपभोक्ताको कन्तबिजोग छ।
पहिला कैँची चलाएर हजामले कपाल काट्थे, काम कठिन थियो, भाउ महँगो थियो। अहिले मेसिनले दश मिनेटमा सफाचट पार्छ, भाउ उही छ। कस्तो अन्याय! उपभोक्ता सेवा सत्कार कहाँ गयो?
अर्ब कमाउने बैंकमा ५०० रुपैयाँ निकाल्न गयो पार्किङ तिर्न पर्छ। कस्तो अचम्म! लेख्न मन लाग्छ, हजारौँ छन् उपभोक्ता उत्पीडन।
ग्राहक उपभोक्ता सेवाग्राही खरिदकर्ता जे भन्नुस् सबैतिरबाट अठ्ठिएका छन्, थिचिएका छन्, मिडियामा पनि समाचार कम आउँछन्।
भन्नका लागि त भनिन्छ नि यो उपभोक्ता वादको जमाना हो कन्जुमरिज तर उपभोक्ता जाँतोमा घुन झैँ पिसिएका छन्। चुनावको कुरा चल्दै गर्दा देखि खाने तेलको भाउ बढ्यो, ग्यास उस्तै छ, खै के भन्ने कस्तो विडम्बना!
निजी अस्पताल त यस्तै भए, सरकारीमा पनि मुटुको अस्पतालमा कोलेस्ट्रोलको दवाई किन्न गएको छैन वा कस्तो अचम्म अनुगमन निकाय कस्तो हो।
उपभोक्ता सेवा सुविधा हेर्ने वाणिज्य विभाग छ, केवल बोर्ड लगाएको छ, कर्मचारी छन् तर काम गर्न आँट छैन, काम गर्ने सरुवा हुन्छ।
राम्रो सेवा सुविधा दिए शुल्क स्वाभाविक नै हो तर यहाँ त सेवा छैन, शुल्क मात्र छ। सबै सुध्रिऊँ, सुधारौँ। उपभोक्ता, बिक्रेता, क्रेता, उद्योगी, सरकार सबैमा खोट छ। सबैले म म भन्नुपर्छ। अनुशासन सबैमा कमी छ।