आजभोलि, बितेका दिनहरूबाट सम्झनाका टुक्रा निकाल्दै मनन गर्न अनि तिनै टुक्राबाट कथाहरू बनाउन पाउँदा आनन्द लाग्छ। एउटा छोटो टुक्रा: सानो छँदा, टिभी हेर्दै गर्दा, बाबा कोठाभित्र पसेको कत्ति मन पर्दैनथ्यो मलाई। आउनुहुन्थ्यो ट्याप्प हातबाट रिमोट खोसेर समाचार लाउनुहुन्थ्यो। आफूले केही बुझ्ने होइन, उकुसमुकुस हुन्थ्यो।
आज भने समयले कोल्टे फेरेको छ। बाबासँग नै देश, विदेश, राजनीति अनि भ्रष्टाचारका कुराहरू हुन्छन्। मामुसँग भने यस्ता विषयमा कहिल्यै कुरा भएन। गत भदौको आन्दोलनपछि भने मामुले फोनमा भन्नुभएको थियो, ‘६२/६३ को बेलामा पनि मन पोलेर कति दिन निदाएकी थिइनँ। अहिले पनि तीन दिन जति भयो, टाउको दुख्न बिसेक नै भएको छैन। के हुने होला भनेर साह्रै मन पोलेको छ।’
त्यसो त बौद्धिकताका हिसाबले मामु कलेज पढाउने लेक्चरर हुनुहुन्छ। तर उहाँसँग सधैँ भावनात्मक र व्यक्तिगत कुराहरू मात्र हुने रहेछन् भन्ने ख्याल भयो। किन राजनीति, विकास अनि समृद्धिका कुराहरू भएनन् भनेर आफैलाई प्रश्न गरेँ। अनि कता-कता मन चसक्क भयो। मामुलाई कहाँ यस्ता कुराको लागि फुर्सद छ र! उति बेला, बाबा समाचार हेर्न आएपछि म लुसुक्क पर्दै भान्सातिर लाग्थे। बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म पढाएर, घर फर्केर, परिवारजन सबैलाई खाना पकाइरहेकी मेरी मामुसँग गुनासो पोख्न। महिलाहरू राजनीति र नेतृत्वमा किन अगाडि छैनन् भन्ने प्रश्नको अनेकौँ जवाफहरूमध्ये यो पृष्ठभूमि पनि सायद एक जवाफ होला।
खयर, आज म यस विषयमा जाने छैन। मुख्य कुरा के भने, यस्ता कुराहरू दिमागमा खेल्दै गर्दा कतै म आफूले सोचेभन्दा र आफूलाई लागेभन्दा पुरानो पो भइसकेँ कि भन्ने डर लाग्छ। देशमा नयाँ र पुरानोको बिच ठिक र बेठिकको सिमाना यसरी खिचिइरहेको छ कि, मेरा व्यक्तिगत दर्शनहरू अलमलमा परेका छन्। विदेशमा भएका कारण अहिलेको चुनावका क्रियाकलापहरू मैले सामाजिक सञ्जालबाटै हेरिरहेकी थिएँ।
यसैबिच आफ्नै संकोचमा रुमलिरहँदा, एकदिन बाबाले फोनमा सोध्नुभयो, ‘विदेशतिरबाट त सबैले नयाँ पार्टीलाई भोट हाल्नुपर्छ भनेर दबाब दिँदैछन् रे! त चाहिँ केही भन्दिनस्?’ मेरो सोच भने नयाँ र पुरानोको सिमानाभन्दा टाढा, अन्त कतै थियो।
निसंकोच रूपमा पुराना पार्टीहरूका निम्ति मेरा मनमा अथाह असन्तुष्टि छन् र नयाँ पार्टीसँग उति नै आशा पनि। नयाँ जोस र जाँगरको लहर, रहर लाग्दो छ। तर मेरो मन भने लोकतन्त्र र कर्मचारीतन्त्रमै अड्किरहेको छ। लोकतन्त्रले जनतालाई सबैभन्दा शक्तिशाली बनाउनुको साथै देशको समुन्नति र दुर्गति दुवैको उत्ति नै जिम्मेवारी लिन पनि सिकाउँछ। देशले नयाँ सरकार पाइरहेको बेला के हामी ‘लोक’को सोच र व्यवहारमा पनि परिवर्तन आउन सक्ला? यो मेरो लागि नयाँ पार्टीले बोकेको महत्त्वाकांक्षाभन्दा महत्त्वपूर्ण प्रश्न बनेको छ। दोस्रो महत्त्वपूर्ण तर तितो प्रश्न पनि छ; पुरानो सरकारमाथि हाबी भएको कर्मचारी र प्रशासनिक तन्त्रले नयाँ सरकारमा कस्तो प्रभाव पार्ला त?
कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा स्नातक गरिरहँदा ठुटे विद्यार्थी राजनीतिको चपेटामा म लगायत मेरा साथीहरू नराम्ररी परेका थियौँ। हाम्रो कलेजमा भर्ना भए लगत्तै, कुनै एक मूल राजनीतिक धारको विद्यार्थी संगठनमा आबद्ध हुनु अनिवार्य थियो। त्यसो नगर्दा, न होस्टेलमा कोठा नै पाइन्थ्यो न खाना खाने ठाउँ नै। शिक्षक, कर्मचारी, यहाँसम्म कि गैरसरकारी संस्थाहरू पनि पार्टीमा विभाजित थिए। सम्झिँदा अचम्म लाग्छ, तर उति बेला बाबालाई केही विद्यार्थी नेताहरूले तपाईंको छोरी हाम्रो पार्टीमा आबद्ध हुनुपर्छ है भनेर दबाब पनि दिएका थिए। ती विद्यार्थी नेताहरूले त्यसरी मरिहते गर्नुको उद्देश्य मलाई थाहा छैन तर विदेशमा रहेका छोराछोरीले भने पक्कै पनि देश सप्रिने आसमा नयाँ पार्टीलाई भोट दिन भनेको हुनुपर्छ।
यो सत्य हो कि देश समस्याले लुप्त छ तर यो पनि सत्य हो कि त्यसको जिम्मेवार सरकार सँगसँगै समाज, कर्मचारी र जनता पनि हुन्। उदाहरणका लागि मेरै स्मृतिबाट निकालिएका केही कथाका शीर्षकहरू:
-वडा स्तरीय कार्यक्रममा बनेको फर्जी बिल
-नगरप्रमुखकी छोरी आन्तरिक परीक्षाबाटै बनिन् करार अधिकृत
-पार्टीको झन्डामुनि ओथारो बसेको पत्रकारिता
-प्राध्यापकले पार्टी विशेष गरेको विभेद
-भनसुन गरेर छिट्टै हात परेको पासपोर्ट
-फलानो दाइको मानसिकता:‘नेताको चाकरी, खान पाइन्छ काम नगरी’
-कन्सल्टेन्सीले दिएको फर्जी डिग्री
-गाडीको झ्यालबाट उडेको चाउचाउको खोल
-नाकाबन्दीमा रु १००० प्रति लिटरमा किनेको पेट्रोल
-अर्कै पार्टीको भएका कारण हुन नसकेको सिफारिस
-रु १ लाख तिरेर गरिएको सरुवा आदि, इत्यादि।
मलाई लाग्छ यी उदाहरणहरूलाई ‘अवसरवाद’ शब्दमा पोको पारेर अटाउन सकिन्छ। हामी आफै समीक्षा गरौँ न! कतै हामीले देश विकासको गफ लडाउँदै, नारा लगाउँदै र प्रचार फैलाउँदै गर्दा, काम र फाइदा भने खुम्च्याएर, कताबाट हुन्छ साँघुराएर, आफ्नै लागि मात्र केन्द्रित गराउनु खोज्यौँ कि? मानव व्यवहार हो आफ्नोलाई राम्रो ठान्नु। हामीलाई हरेक कुरा ‘आफ्नो’ भन्ने बित्तिकै अलि बढी स्नेह, माया अनि उद्धार जागेर आउँछ। तर तपाईं हामीले आफ्नो र आफ्नाहरूको दायरा कति फैलिन दिएका छौँ भन्ने कुरा महत्त्वपूर्ण छ।
सरकार त देशमा निरन्तर फेरी नै रहला तर जबसम्म हामी स्वयं आफूवादबाट उम्कन सक्दैनौँ, नयाँ भनिएका फेरि पुराना भन्न धेरै समय लाग्दैन। भदौमा भएको जेन्जी आन्दोलनको झट्का पक्कै पनि हामी सबैलाई लागेको छ। तर अझै पनि आफ्नो आङको भैँसी नदेखी, देश विकास भएन भन्दै सबै दोष सरकारलाई नै लगाइरहेका छौँ भने सायद हामी पनि मूर्ख हौँ। खोर पुरानो भएर बाख्रा मारिए भन्ने थाहा हुँदाहुँदै यदि हामीले सबै दोष बाघलाई दिन्छौँ भने सायद हामी पनि हत्यारा हौँ।
सरकारले आज नयाँ बाटो पाउँदा मेरा खुट्टा भुइँमा छैनन्। तर त्यसै गरी हामी सबैको घैँटोमा घाम लागोस् भने चाहनाको हुर्को पनि उत्तिकै छ। यसो भन्दै गर्दा सबै दोष जनताकै हो भने पक्कै भन्न खोजेको होइन। राम्रो नेतृत्व, देश विकासको पहिलो आधार हो र त्यसैका अभावका कारण देश शोकमा डुब्नुपर्यो। त्यस घडीमा प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारले लिएको जिम्मेवारी र समयमै सम्पन्न गराएको चुनाव, एक असल नेतृत्वको उदाहरण हो।
आशा गरौँ, हाम्रो प्रतिनिधित्व गर्न आइरहेको नयाँ सरकारको नेतृत्वले पनि एकबद्ध रूपमा निष्पक्ष, स्पष्ट, पारदर्शी र जनताका मागअनुसार जवाफदेही भई भ्रष्टाचार, असमानता र आफूवादमा विक्षेपित संस्था र निकायहरूमा परिवर्तनको घण्टी बजाउने छ। आखिर तपाईँ जस्तै, म पनि त नेपाल हाँसेको हेर्न चाहन्छु।