आजको विश्व डिजिटल रूपान्तरणको तीव्र गतिको साक्षी मात्र बनेको छैन, बरू यसकै वरिपरि घुमिरहेको छ।
प्रविधिको विकासले संसारलाई सानो पर्दामा त समेट्यो, तर यसले मानव व्यवहार र सामाजिक प्राथमिकताहरूलाई भने उत्तिकै जटिल बनाइदिएको छ।
हिजोआज सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब) मा भाइरल हुने, चर्चा कमाउने र क्षणभरमै वैश्विक लोकप्रियता हासिल गर्ने एउटा अदृश्य तर तीव्र होडबाजी विशेषगरी युवापुस्तामा सङ्क्रामक रोगझैँ फैलिरहेको छ।
केही सेकेन्डको भिडिओ, केही सय लाइक र भ्युज पाउने लोभमा सार्वजनिक सडकमा सवारी साधनको खतरनाक र चरम दुरूपयोग भइरहेको छ।
मोटरसाइकल, स्कुटर वा अन्य सवारी साधन प्रयोग गरेर खतरनाक स्टन्ट गर्ने र त्यसलाई सामाजिक सञ्जालमा गर्वका साथ प्रदर्शन गर्ने प्रवृत्ति पछिल्लो समय एउटा गम्भीर सामाजिक र सुरक्षा चुनौतीका रूपमा देखा परेको छ। यस्ता गतिविधि कतिपय अपरिपक्व र चञ्चल मस्तिष्कलाई रमाइलो, रोमाञ्चक वा साहसिक लाग्न सक्छन्, तर वास्तविकताको धरातलमा यसले अकालमै ज्यान जाने, जीवनभरका लागि गम्भीर घाइते वा अपाङ्ग हुने तथा अरू निर्दोष सडक प्रयोगकर्ताको जीवन समेत जोखिममा पार्ने भयावह खतरा बोकेको हुन्छ।
सडक: मनोरञ्जनको थलो कि साझा जिम्मेवारी?
सडक कुनै सर्कसको स्टेज वा मनोरञ्जन गर्ने पार्क होइन, यो त नागरिकको सुरक्षित आवागमनका लागि राज्यले निर्माण गरेको साझा र जिम्मेवार सार्वजनिक क्षेत्र हो। तर, विडम्बना! आज सडकलाई आफ्नो विकृत 'सिर्जनशीलता' देखाउने गलत थलो बनाइँदैछ। हेलमेट नलगाई तीव्र गतिमा सवारी चलाउने, एक हातले बाइकको ह्यान्डिल समातेर अर्को हातले भिडिओ वा भ्लग बनाउने, गुडिरहेको सवारीको सिटमा उभिएर यात्रा गर्ने, जथाभावी र अस्वस्थ प्रतिस्पर्धात्मक ढंगले ओभरटेक गर्ने वा ट्राफिक नियमको धज्जी उडाउँदै स्टन्ट प्रदर्शन गर्ने कार्यले क्षणिक चर्चा त दिलाउला, तर त्यसको अदूरदर्शी परिणाम कहिलेकाहीँ जीवनभरको आँसु र पीडा बन्न सक्छ।
क्षणभरको भर्चुअल वाहवाहीका लागि आफ्नो अमूल्य जीवनलाई हत्केलामा राखेर सडकमा मृत्युको पासो थाप्नु कुनै पनि अर्थमा बहादुरी होइन, यो त केवल अज्ञानता, अपरिपक्वता र आत्मघाती कदम हो। नेपालमा बर्सेनि हुने दुर्घटनाको तथ्यांकलाई गम्भीरतापूर्वक केलाउने हो भने, त्यसमा अकालमा ज्यान गुमाउने र अपाङ्गता भोग्नेहरूमा सबभन्दा ठूलो हिस्सा देशका ऊर्जावान् युवा तथा किशोरपुस्ताकै देखिन्छ।
यसको प्रमुख कारण मध्येको एक लापरबाहीपूर्ण र उच्छृङ्खल सवारी परिचालन नै हो। विशेषगरी किशोर तथा युवापुस्ताले के बुझ्न जरूरी छ भने वास्तविक बहादुरी सडकमा गरिने खतरनाक स्टन्ट वा स्टायलमा होइन, बरू सडक अनुशासन र जिम्मेवार नागरिकको व्यवहारमा देखिन्छ।
परिवारको ठूलो सपना, अभिभावकको अमूल्य त्याग, आशा र आफ्नो स्वर्णिम भविष्यलाई केही सेकेन्डको क्षणिक उत्तेजनामा सदाका लागि सडकमा विसर्जन गर्नु कतिसम्मको गम्भीर भूल हो? सामाजिक सञ्जालमा देखिने सम्पादित र प्रायोजित दृश्यहरूको अन्धभक्त अनुकरण गर्दा त्यसको सम्भावित कालो परिणामबारे धेरैले सोच्दैनन्। तर, दुर्घटना भइसकेपछि पछुताउनुको कुनै अर्थ रहँदैन, किनकि समय र गुमेको जीवन कहिल्यै फर्किएर आउँदैन।
यस विकराल बन्दै गएको सडक स्टन्ट संस्कृतिलाई पूर्ण रूपमा निरूत्साहित गर्न र हाम्रा देशका कर्णधार युवाहरूको अमूल्य जीवन रक्षा गर्न अब राज्य, समाज, परिवार र व्यक्ति स्वयंले निम्न सुरक्षा सावधानी तथा रणनीतिक कदमहरू चाल्न ढिला भइसकेको छ:
१. सडकको मर्यादा: मनोरञ्जनको भ्रमबाट मुक्ति
सडक सुरक्षित आवागमनका लागि मात्रै हो, जोखिमपूर्ण प्रदर्शनका लागि होइन। गुडिरहेको सवारी साधनमा पाङ्ग्रा उचाल्नु, गुडिरहेको बाइकमा अचानक अगाडिको ब्रेक थिचेर पछाडिको भाग उठाउनु, ह्यान्डिल छोडेर कुदाउनु वा नागबेली आकारमा कुदाउनु सिधै मृत्युलाई निमन्त्रणा दिनु हो। सडकमा गुडिरहेका बेला चालकको शतप्रतिशत ध्यान केवल सवारी नियन्त्रण र सडकको अवस्थामा मात्र केन्द्रित हुनुपर्छ।
२. भाइरल मानसिकताको मनोवैज्ञानिक उपचार
सामाजिक सञ्जालका लाइक्स, सेयर र भ्युजहरू केवल क्षणिक भ्रम हुन्। तिनले दिने खुसी अस्थायी हुन्छ, तर यसले निम्त्याउने दुर्घटना, ह्विलचेयरको बास र शारीरिक अपाङ्गता भने जीवनभरिको स्थायी पीडा बन्न पुग्छ। युवाहरूले भर्चुअल संसारको कृत्रिम वाहवाही भन्दा वास्तविक जीवनको मूल्य कति धेरै छ भन्ने आत्मसात् गर्न जरूरी छ। अरूलाई प्रभावित पार्ने नाममा आफ्नो र निर्दोष पैदलयात्रीको जीवन जोखिममा राख्नु कानुनी र नैतिक दुवै रूपमा अपराध हो।
३. गुणस्तरीय सुरक्षा सामग्रीको अनिवार्य प्रयोग
दुई पाङ्ग्रे सवारी साधनको दुर्घटनामा टाउकोको चोट सबैभन्दा घातक र ज्यानमारा मानिन्छ। त्यसैले सवारी चलाउँदा वा पछाडि बस्दा दुवैले गुणस्तरीय हेल्मेट अनिवार्य रूपमा लगाउनुपर्छ। यसका साथै राइडिङ ज्याकेट, ग्लोब्स, नी-गार्ड तथा उपयुक्त जुत्ताको प्रयोगलाई फेसन होइन, जीवन रक्षाको अनिवार्य सर्त बनाइनुपर्छ। सुरक्षा सामग्रीमा गरिएको लगानी वास्तवमा जीवनकै सुरक्षा लगानी हो।
४. कडा कानुनी कारबाही र ट्राफिकको 'डिजिटल गस्ती'
सडकमा जथाभावी स्टन्ट गर्नु केवल लापरबाही मात्र होइन, यो सवारी तथा यातायात व्यवस्था ऐन विपरीतको कडा दण्डनीय कसुर हो। यस्ता गतिविधिमा संलग्न हुनेहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बन वा खारेज हुनुका साथै भारी जरिवाना र जेल सजाय सम्मको कानुनी व्यवस्था छ।
हाल नेपाल प्रहरी र ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओ, सिसिटिभी फुटेज र नागरिकहरूबाट प्राप्त सूचनाका आधारमा डिजिटल गस्तीलाई अत्यन्तै प्रभावकारी बनाएको छ। सडकमा स्टन्ट गरेर भिडिओ हाल्नेहरूलाई प्रविधिको प्रयोग गरी कानुनी दायरामा ल्याउने अभियान चितवन लगायत देशभर सञ्चालनमा छ। कानुनी कारबाहीको डर मात्र होइन, कानुनको नजरबाट कोही पनि उम्किन सक्दैन भन्ने यथार्थ सबैले बुझ्न आवश्यक छ।
५. साथीभाइको दबाब (पियर प्रेसर) लाई अस्वीकार गर्ने क्षमता
धेरैजसो किशोरहरू साथीभाइको उक्साहट, जिस्काहट वा तिनीहरूको समूहमा हिरो देखिने गलत होडमा लागेर यस्ता खतरनाक स्टन्टहरू गर्न तम्सिन्छन्। युवाहरूमा नाइँ भन्न सक्ने आत्मबल र क्षमता हुनुपर्छ। यदि कुनै साथीले सडकमा असुरक्षित रूपमा सवारी चलाउँछ वा त्यसो गर्न दबाब दिन्छ भने, आफ्नो सुरक्षाका लागि त्यसलाई दृढताका साथ अस्वीकार गर्नुपर्छ र त्यस्ता साथीहरूलाई पनि बेलैमा सम्झाएर सही बाटोमा ल्याउनुपर्छ।
६. अभिभावकीय निगरानी र सामाजिक जबाफदेहिता
अभिभावकहरूले आफ्ना सन्तानलाई उनीहरूको मागबमोजिम महँगा, अत्यधिक हर्सपावर र शक्तिशाली मोटरसाइकल वा स्कुटर किनिदिँदैमा आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु ठूलो भूल हो।
उनीहरूले आफ्ना छोराछोरीले सवारी साधनको प्रयोग कसरी गरिरहेका छन्, उनीहरूको सङ्गत कस्तो छ? सामाजिक सञ्जालमा कस्ता सामग्री पोस्ट गरिरहेका छन् रु भन्ने कुरामा नियमित र सुक्ष्म निगरानी राख्नुपर्छ । समाजले पनि यस्ता उच्छृङ्खल स्टन्ट गर्नेहरूलाई प्रशंसा होइन, निरुत्साहन र सामाजिक रूपमा सचेत गराउनुपर्छ ।
क्षणभरको मनोरञ्जन वा केही थान डिजिटल तालीको लोभमा परेर आफ्नो र आफ्नो सिङ्गो परिवारको भविष्यलाई अन्धकारको खाडलमा धकेल्नु कुनै पनि दृष्टिकोणबाट बुद्धिमानी होइन । तपाईँ जब सडकमा सवारी साधन लिएर निस्किनुहुन्छ, तब सधैं एउटा कुरा मनमा गहिरोसँग सोच्नुहोस् - घरमा कोही न कोही तपाईँको सुरक्षित आगमनको प्रतीक्षा गरिरहेको छ । तपाईँको एउटा सानो असावधानी वा मूर्खतापूर्ण गल्तीले कसैको सिन्दूर पुछिन सक्छ, कसैको काख रित्तिन सक्छ त कसैको बुढेशकालको लाठी भाँचिन सक्छ ।
त्यसैले, आउनुहोस्, सडकमा स्टन्ट होइन, चेतना र सुरक्षाको प्रदर्शन गरौँ । सडकलाई जीवन जोड्ने सुखद माध्यम बनाऔँ, जीवन तोड्ने भयानक धराप होइन । सुरक्षित यात्रा नै सुखी परिवार र सफल जीवनको मुख्य आधार हो । भाइरलभन्दा बहुमूल्य जीवन हो । तसर्थ, स्टन्ट होइन, सचेतना रोजौँ ।
ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।
(लेखक जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन प्रमुख हुन्।)