रातको साढे एक बजिसकेको थियो। घडीको सुई आफ्नो गतिमा अघि बढिरहेको थियो। तर मेरो मन भने समयको कुनै पुरानो मोडमा अड्किएजस्तो लागिरहेको थियो। झ्यालबाहिर गहिरो रात थियो। होस्टेल सुनसान थियो। अधिकांश कोठाका बत्ती निभिसकेका थिए। दिनभरको थकानले साथीहरूलाई निद्रामा पुर्याइसकेको थियो तर मेरो आँखा भने अझै जागै थियो।
कोठाभित्र म थिएँ, मेरो मौनता थियो र निद्रामा हराइरहेको साथी थियो। तर मनभित्र भने अनगिन्ती सम्झना, प्रश्न र भावनाहरू जागिरहेका थिए। भोलि परीक्षा थियो। तर त्यो केवल एउटा विषयको परीक्षा मात्र थिएन। त्यो त चार वर्ष लामो यात्राको अन्तिम पाना थियो एउटा यस्तो यात्रा, जसले हामीलाई केवल डिग्री होइन, जीवन बुझ्न पनि सिकायो।
चार वर्षअघि यही क्याम्पसमा पहिलो पटक पाइला टेक्दा हामी सबैको आँखामा सपना थियो, अनुहारमा उत्साह थियो र मनमा हजारौँ कल्पना थिए। हामी कसैलाई चिन्दैनथ्यौँ। तर समयले ती अपरिचित अनुहारहरूलाई जीवनका अविस्मरणीय पात्र बनाइदियो।
जीवन साँच्चै अनौठो हुँदो रहेछ। हिजोसम्म ‘ब्याचलर कहिले सकिएला’ भन्ने लाग्थ्यो। बिहानको कक्षा, असाइनमेन्टको चाप, प्राक्टिकलको झन्झट, थेसिसको तनाव र परीक्षाको दबाबबिच कहिलेकाहीँ यो यात्रा अन्त्यहीन जस्तो लाग्थ्यो। तर आज, जब अन्तिम मोडमा आइपुगेका छौँ, मनले बारम्बार एउटै कुरा सोधिरहेको थियो— खास, समय अलिकति रोकिएको भए हुन्थ्यो।
एकअर्कालाई जिस्क्याउँदै सुरु भएको मित्रता कहिले जीवनकै सुन्दर सम्बन्धमा बदलियो, पत्तै भएन। सँगै हाँसेका दिनहरू, सामान्य कुरामा झगडा गरेका पलहरू, फेरि केही घण्टामै मिलाप भएका क्षणहरू— आज सबै स्मृतिका अमूल्य पानाजस्ता लागिरहेका छन्।
सेटजीको क्यान्टिनमा चिया खान जाने बहाना त चिया कहिल्यै थिएन, त्यो त साथीहरू भेट्ने बहाना थियो। परीक्षा राम्रो भए पनि त्यहीँ पुगिन्थ्यो, नराम्रो भए पनि त्यहीँ पुगिन्थ्यो। खुसी हुँदा पनि चिया त्यहीँ पिइन्थ्यो, चिन्तित हुँदा पनि त्यहीँ बसिन्थ्यो।
‘जाम यार, सेटजीकोमा चिया खान!’
यो एउटा वाक्य मात्र थिएन। यो त थाकेका मनहरूको विश्रामस्थल थियो। बिहानै उठेर सेटजीले पकाइदिने चिया, सेटिनीले थपिदिने खाना, कक्षाको बिचमा भागेर पुगेका ती छोटा भेटघाट— त्यति बेला सामान्य लागेका ती क्षणहरू आज जीवनका सबैभन्दा सुन्दर सम्झनाहरू बनेर मनभरि फैलिएका छन्।
पछिल्ला दिनहरूमा साथीहरूसँगको हरेक कुराकानीको अन्त्य एउटा प्रश्नमा पुग्थ्यो— अब के गर्ने? विदेश जाने कि? नेपालमै केही गर्ने कि?
तर सत्य के थियो भने, हामीमध्ये धेरै जना आफैँसँग स्पष्ट थिएनौँ। सपना थिए तर बाटो अस्पष्ट थियो। आशा थियो तर उत्तर थिएन। सायद यही उमेरको सबैभन्दा सुन्दर र सबैभन्दा कठिन पक्ष यही हो। मनमा आकाश जत्तिकै ठुलो सपना हुन्छ तर खुट्टामुनिको बाटो अझै स्पष्ट हुँदैन।
यति बेला आफूलाई उड्न चाहने चराझैँ महसुस गरिरहेको छु। क्षितिजपारि पुग्ने रहर छ तर उडानको दिशा अझै खोजिरहेको छु। बाआमाको सपना पूरा गर्न सकिएला कि नसकिएला, पढेको विषयले जीवन बदल्न सक्ला कि नसक्ला, भोलिको दिनले कुन मोडमा पुर्याउला— यस्ता सयौँ प्रश्नहरू मनभित्र तरंगझैँ उठिरहेका थिए।
सायद म एक्लो छैन। आज ब्याचलरको अन्तिम मोडमा उभिएका हजारौँ विद्यार्थीहरूको मनमा यस्तै प्रश्नहरू होलान्। उनीहरू पनि आफ्ना सपनाहरू, जिम्मेवारीहरू र भविष्यका अनिश्चितताबिच कुनै उत्तर खोजिरहेका होलान्।
घडीले दुई बजेको संकेत गरिसकेको थियो। मनले भनिरहेको थियो— अब सुत्नुपर्छ, भोलि परीक्षा छ। तर आँखाहरूले त्यो आदेश मानेनन्। किनकि केही रातहरू निद्राभन्दा पनि सम्झनाहरूले भरिएका हुन्छन्। त्यो रात त्यस्तै रात थियो।
कलेजको एउटा फोटो हेर्दा मन भारी हुने, क्याम्पसको एउटा कुनो देख्दा आँखाभरि सम्झना आउने, सामाजिक सञ्जालमा एउटा स्टोरी राख्दा पनि भित्र कताकता खालीपन महसुस हुने किनकि मनलाई थाहा भइसकेको थियो, अब यी दिनहरू फर्केर आउने छैनन्।
अब केही दिनपछि सबैजना आ–आफ्नो बाटो लाग्नेछन्। कोही विदेश उड्नेछन्, कोही जागिरको खोजीमा भौँतारिनेछन्, कोही घर फर्किनेछन्, कोही आफ्ना सपनाको पछि दौडिनेछन्।
तर हामी जहाँ पुगे पनि, जीवनको कुनै मोडमा अचानक चियाको कप हातमा लिएर मुस्कुराउनेछौँ र सम्झिनेछौँ— कहिल्यै नफर्किने ती दिनहरू, साथीहरूको त्यो भीड, सेटजीको क्यान्टिन, परीक्षाअघिका तनाव, थेसिसका रातहरू र सपनाले भरिएका ती आँखा।
समय साँच्चै धेरै बलियो रहेछ। यसले मानिसहरूलाई टाढा पुर्याउँछ, ठाउँहरू बदलिदिन्छ, परिस्थितिहरू फेरिदिन्छ। तर केही सम्झनाहरू यस्ता हुन्छन्, जसलाई समयले पनि कहिल्यै मेटाउन सक्दैन।
ब्याचलर सकिँदै गर्दा आज सबैभन्दा धेरै महसुस भएको कुरा यही हो— हामीले केवल एउटा डिग्री हासिल गरेका छैनौँ। हामीले एउटा युग बाँचेर आएका छौँ। एउटा यस्तो युग, जुन भोलिदेखि सम्झना बन्नेछ।
र सायद वर्षौँपछि जीवनको कुनै व्यस्त साँझमा हामी फेरि यही दिन सम्झिएर मनमनै भन्नेछौँ— ‘कास, समय अलिकति रोकिएको भए हुन्थ्यो।’