२० वर्षमा बारेकोट निकै बदलिएछ। गाउँ-गाउँमा मोटरबाटो पुगेछ। ठुला-ठुला सरकारी भवन बनेछन्। ठाउँ-ठाउँमा सानातिना भए पनि बजार स्थापना भएछन्।
उत्तिखेर सदरमुकामबाट बारेकोट जानुपर्ने सरकारी काम पर्दा कर्मचारीको सातो जान्थ्यो। हिँड्ने बाटो उस्तै, बाटामा खाना बस्नको असुविधा उस्तै। पैदल हिँड्नुको विकल्प थिएन। २/३ दिन पैदल हिँडेपछि बल्ल पुगिन्थ्यो बारेकोट।
अहिले त पालिका मुकाम लिम्सा चम्किएको रहेछ। त्यहाँ पालिकाको भव्य भवन बनेको रहेछ। कार्यक्रमका लागि हल र सुविधासम्पन्न कार्यकक्ष बनेका रहेछन्।
उतिखेर खलंगाको ठाँटीतिर देखिने भन्दा ठुलो भिडभाड हुने रहेछ लिम्सामा। प्राय: विभिन्न तालिम, सेमिनार, बैठक, छलफल कार्यक्रम आयोजना भई नै रहने रहेछन्। पालिका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि र कर्मचारीहरूलाई टाइम निकाल्न नै निकै गाह्रो हुने रहेछ यहाँ पनि।
हामी पालिकामा पुग्दा पालिकामा एसओएसको दुई वर्षे कार्यक्रमको समापन कार्यक्रम चलिरहेको थियो। विगत दुई वर्षे अवधिमा बारेकोट गाउँपालिकाको वडा नं २ मा राम्रै कार्यक्रम सञ्चालन गरेर एसओएस बालग्राम सुर्खेतले सार्वजनिक साख कमाएको रहेछ। आमजनता र जनप्रतिनिधि उक्त कार्यक्रमप्रति अनुग्रहित रहेछन्।
उक्त कार्यक्रमको अवधि सकिएकोमा स्थानीय जनताको मुहारमा कालो बादल छाए झैँ महसुस हुन गयो। यो कार्यक्रम यही स्वरूपमा निरन्तर त हुन सकेन नै अर्को स्वरूपमा भए पनि निरन्तर भइदियोस् भन्ने जनता, जनप्रतिनिधि र कर्मचारीको चाहना त्यहाँ अभिव्यक्त भएको पाएँ।
एक त बाटोमै ढिलो भएको, अर्को एसओएसको कार्यक्रममा केही समय व्यतीत गर्नुपर्दा हाम्रो कार्यक्रम ढिला गरी सुरु हुन गयो। समयको चापले चापेपछि हामीले कार्यक्रमलाई छोट्यायौँ। कार्यक्रमको औचित्य र बुढानीलकण्ठका असल अभ्यासहरू बारे संक्षिप्त रूपमा अनुभव आदानप्रदान गर्दै सहयोग स्वरूप बुढानीलकण्ठ नगरपालिकाले प्रेषित गरेका शैक्षिक सामग्री हस्तान्तरण गरेर कार्यक्रम समापन गर्यौँ।
२ बजे खाना खाएर हामी पहिलेकै बाटो भएर खलंगा फर्कियौँ। बाटोमा खलंगाबाट फोन कलमार्फत प्रमोदजीले पिछा गरिरहनु भयो। सकेसम्म कार्यक्रममा सहभागी भइदिन उहाँले आग्रह गरिरहनु भएको थियो। हामीले पनि कोसिस गरिरह्यौँ। तर खनटाकुरा पुग्दा लगभग ५ बज्न गएपछि हामीलाई खलंगाको कार्यक्रम भेटाउन नसकिने महसुस भयो। यस अवस्थामा ठुलो संख्यामा खलंगामा जम्मा भएका प्रअहरूलाई अझै सास्ती दिएर रोकी राख्न मनले मानेन।
अर्को समयमा भेटेर अन्तरक्रिया गर्ने बाचा गर्दै भेरी नगरपालिकाका प्रअहरूलाई घर फर्कन आग्रह गर्यौँ। धेरैले ६/७ बजेसम्म पर्खन सकिने बताए पनि टाढा-टाढा घर हुने प्रअहरूलाई घर फर्कन ढिला हुने भएकाले फर्कन आग्रह गरेका थियौँ।
बेलुका ६ बजे भेरी नगरपालिकाको परिसरमा पुग्न सक्यौँ। ढिला भएकोमा क्षमायाचना गर्दै अन्तरपालिका शैक्षिक सहकार्यको बारेमा नगरप्रमुख सिपी घर्तीसँग लामो अन्तरक्रिया गरेर सामग्री हस्तान्तरण गरेर पुनः प्रिय होटेल हिलपार्कमा फर्कियौँ।
अर्को दिनको बिहानै छेडा जाने तयारी थियो। प्रिय मित्र सुरेश चौलागाईले जाजरकोट आइसक्दा पनि दरबार पुगिएन र सरको घरमा पुगेर चिया खाइएन भने मजा भएन भनेपछि हो त भन्ने लागेर दरबारतर्फ गयौँ। केही बेर फोटो सेसन गर्यौँ। मैले कक्षा ९ पढ्दादेखि आश्रय लिएको रानागाउँ स्थित घरमा पनि पुग्यौँ। बहिनी प्रशंसाले दिएको चिया खाएर हतारमा निस्कियौँ।
प्रिय मित्र विशाल चन्द र तेजप्रकाश चन्द यति बेला पितृशोकमा हुनु रहेछ। उहाँका परम पूज्य पिताजी बितेको ८ दिन भएको थाह पाएपछि त्यहाँ पुगेर समवेदना प्रकट गर्यौँ।
त्यस्तै ८ बजेतिर सामान लोड गरेर छेडातिर प्रस्थान गर्दा दुई दिनसम्म आश्रय लिएको र मिठो खाना खुवाएको हिलपार्क होटेलको समेत औधी माया मनमा बसेछ थाहै नपाई। होटेल छोड्नै लाग्दा मन चसक्क भएपछि पो थाह भयो कि हिलपार्कले पनि मुटुमा कतै ठाउँ बनाइसकेको यथार्थ।
खलंगाबाट हिँड्दा कुशे, बारेकोट हुँदै भेरी नगरपालिकासम्मका अन्तरपालिका शैक्षिक सहकार्यका यादहरू मानसपटलमा झ्याप्प-झ्याप्प आई नै रहेका थिए। त्यसैमा प्यारो खलंगालाई बिदाइका हात हल्लाएर बोहराको ओरालो काट्दै गर्दा मन कता-कता चस्स दुखिरहेको थियो नै। त्यसैमा सिमीको रुख काटेर ओरालो ओर्लँदै गर्दा २०७२ फागुन २६ को हृदयविदारक बस दुर्घटनाको याद नगरौँ भन्दा पनि आइहाल्यो।
उक्त दुर्घटनाको सदृश्य सुरेशजीलाई बताएँ। त्यतिखेर पनि आज चढेकै तत्कालीन जिशिकाको १००५ नम्बर गाडीले दर्जनौँ पटक घाइते र मृतकको उद्धार गरेर जिल्ला अस्पताल पुर्याएको सम्झना मानसपटलमा आइरह्यो। चालक लालबहादुर खड्काजीले त्यतिखेर घाइते र मृतकको उद्धारमा देखाएको तत्परता सह्रानीय थियो। त्यो हृदयविदारक क्षण सम्झेँ। भावविह्वल बनेँ। दुर्घटनामा धेरै चिनेका मित्रहरू र हरिबहादुर शाही सर पर्नु भएको थियो। मृतक सबैप्रति मनमनै श्रद्धासमुन प्रकट गरेँ।
त्यतिखेर गाडी दुर्घटना भएकै बिन्दुबाट उद्धार र सहयोगका लागि हामी खटिएका थियौँ। हरेक खोल्सा-खोल्सामा लास थिएँ। घाइतेहरूलाई उद्धार भइरहेको थियो। दुर्घटनाको उक्त बीभत्स दृश्य आँखामा प्रतिबिम्बित भइरहँदा त्यतिखेरका मेरा जाजरकोटमा कैयौँ रात अनिदा रहन गएका थिए। भयावह दुर्घटनाले मन र मस्तिष्कमा निकै नराम्रो असर पारेर होला निदाउन सकेका रातहरूमा पनि त्यही दुर्घटनाको बीभत्स सपना आइरहने गर्यो धेरै समय पछिसम्म।
गाडी अघि बढ्दै गर्दा हामी अर्को कारुणिक गाडी दुर्घटना स्थलमा पुग्यौ। सुरेशजीलाई पनि उक्त दुर्घटनाको दुःखद दृश्य बारे बताएँ। दुवै दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हामी यात्रामा अघि बढिरह्यौँ।
वास्तवमा दुर्गमको यात्रामा मृत्यु पनि सँगसँगै यात्रा गरिरहेको हुन्छ। यात्रा सकुशल पूरा हुनेमा थुप्रै सन्देह रहन्छन्। तर पनि यात्रा नगरी हुँदैन। कहाँनेर दुर्घटना हुन्छ, यात्रा गर्दागर्दै कहाँनेर जिन्दगीले पूर्णबिराम लगाउँछ, कुनै पनि यात्रुलाई यसको पत्तो हुँदैन। त्यस्ता यात्रामा यात्रा अवधिको सुरक्षा कबच भगवान् भरोसा बाहेक अरू केही हुन नसक्नु ठुलो विडम्बना हो।
यात्रा अवधिमा हुने यस्तै अनुभूतिहरूलाई किनाराकृत गर्दै यात्राप्रति सकारात्मक बन्ने कोसिस गर्नुको विकल्प थिएन। त्यसै गर्दै हामी छेडा नगरपालिकाको मुकाम तर्फको गन्तव्यमा अघि बढिरह्यौँ। छैडाचौरमा बिहानको खाजाका रूपमा छेडाका माछा र रोटी खाईवरी मनघाट तर्फ हुइँकियौ।
करिब १२ बजे मनघाट पुगेर कार्यक्रम सुरु गर्यौँ। ठुलो संख्यामा प्रधानाध्यापकहरूको उपस्थितिका बिच बुढानीलकण्ठ नगरपालिकाको अन्तरपालिका शैक्षिक सहकार्य कार्यक्रमको भावना प्रस्तुत गर्यौँ। बुढानीलकण्ठ नगरपालिकाले विगत ४ वर्ष यता गरेका असल शैक्षिक अभ्यासहरूको प्रस्तुति दियौँ। अन्तमा बुढानीलकण्ठ नगरपालिकाले सहयोग स्वरूप प्रदान गरेका सामग्रीहरू बुझाएर फोटो सेसनपछि हामी सुर्खेततर्फ प्रस्थान गर्यौँ।
छेडाचौर भएर काठमाडौँका लागि अघि बढिरहँदा विगत ४ दिनमा सम्पन्न गरिएका कार्यक्रमहरूको स्मृतिले मन भारी बनाइरह्यो। जाजरकोटका जनप्रतिनिधि र प्रधानाध्यापक तथा शिक्षकहरूले कार्यक्रमप्रति लिएको अपनत्व र बुढानीलकण्ठको असल शैक्षिक अभ्यास सिक्न देखाएको तत्परता र सहकार्य हुन नसकेका जाजरकोटका बाँकी ३ पालिकाले सहकार्यका लागि गरेको अनुरोधले यो कार्यक्रम निकै सफल भएको विश्वास जागृत हुन गयो।
समग्र सामाजिक, आर्थिक र विकासात्मक सूचकमा पछि परेको जाजरकोटलाई २०८० कार्तिक १७ गतेको अप्रत्याशित भूकम्पले आहत बनाइरहेको यस अवस्थामा बुढानीलकण्ठको यस शैक्षिक सहकार्यले जाजरकोटबासीको दुखेको घाउमा मलम मात्र लगाएको छैन। यसले त जाजरकोटमा व्याप्त निराशामा आशा जगाएको, अँध्यारोमा उज्यालोको बीजारोपण गरेको, बेसहारालाई सहारा प्रदान गरेको अनुभूति गराएको छ।
अर्कोतिर समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अंगीकार गरेको नेपालको संघीय शासन प्रणालीलाई यस कार्यक्रमले व्यवहारमा उतार्ने अभीष्ट राखेको छ। वास्तवमै अहिले यस कार्यक्रमको नेतृत्व बुढानीलकण्ठ नगरपालिकाले गरिरहेको दाबी गर्न सकिन्छ।
यस कार्यक्रमबाट एकले अर्कोलाई अघि बढ्न सघाउने, पारस्परिक रूपमा असल अभ्यासहरूको अनुभव र सहयोगको आदानप्रदान गर्ने, एक पालिका वा तहको समृद्धि र समुन्नतिमा अर्को पालिका र तह सारथि बन्ने, सारमा समृद्ध नेपाल र सुखी नेपालीको दूरदृष्टि प्राप्त गर्न हातेमालो गर्दै काम गर्ने संस्कारलाई समृद्ध बनाउन योगदान पुग्न जानेछ।
यस प्रकारका कार्यक्रमबाट अन्तरपालिका सहकार्य र साझेदारीको भावना मजबुत हुन जाने देखिन्छ। यही भावनाका साथ नेपालका सबै प्रदेश र पालिकाहरूले काम गर्न सकेमा बढ्दो डिजिटल असन्तुलन व्यवस्थापन गर्न सहज हुनेछ।
(लेखक बुढानीलकण्ठ नगरपालिका, काठमाडौँका शिक्षा महाशाखा प्रमुख तथा उपसचिव हुन्।)