आज बुवाको निधन भएको सातौँ दिन (लेख लेख्दै गर्दा) हो। म बुवाको किरिया कर्ममा छु। आँगनमा आफन्तहरूको आउजाउ छ। बुवाको तस्बिर अगाडि दीप बलिरहेको छ।
कसैले उहाँका राम्रा गुण सम्झिरहेको छ, कसैले पुराना घटना सुनाइरहेको छ। तर मेरो मन भने बारम्बार एउटै ठाउँमा पुगेर अड्किन्छ— त्यो रात, त्यो फोन, त्यो दौडधुप, ती १८ दिन र अन्ततः बुवाको मृत्यु।
म लेखक भएर लेखिरहेको छैन। म यो लेख एउटा छोरा भएर लेखिरहेको छु। अझ स्पष्ट भन्नुपर्दा, आफ्नो बुवालाई बचाउन सकिनँ भन्ने पीडासँग बाँचिरहेको एउटा निरीह छोरा भएर लेखिरहेको छु।
राति करिब १२ बजेको थियो। म काठमाडौँको एउटा होटेलमा सुतिरहेको थिएँ। गाउँबाट विराटनगर–झापा हुँदै दुई दिनअघि मात्र काठमाडौँ आएको थिएँ। फोन बज्यो, उताबाट खबर आयो— बुवाको अवस्था गम्भीर छ। त्यसपछि सुरु भयो नियतिसँगको युद्ध।
म तत्काल खोटाङका लागि हिँडेँ। तर त्यो रात मैले एउटा कठोर यथार्थसँग सामना गरेँ। दिक्तेलबाट गाउँसम्म गाडी पठाउन खोजियो। कोही जान तयार भएन। रात बित्दै गयो। समय बित्दै गयो। बुवाको अवस्था झन् बिग्रँदै गयो।
त्यो रात बाटोभरि गाडी खोज्दै, फोन गर्दै र काभ्रेमा प्रहरीले रोशी खोलाको सम्भावित बाढीका कारण मेरो गाडी रोक्दाको आक्रोशपूर्ण पल होस् वा दिक्तेल आइपुग्दासम्मको क्षण— मेरो मनमा एउटा डर बारम्बार उठिरहेको थियो- म बुवालाई जीवित भेट्न पुग्छु कि पुग्दिनँ?
मानिस कहिलेकाहीँ यथार्थ स्वीकार गर्न चाहँदैन। म पनि स्वीकार गर्न चाहन्नँ। म आफूलाई बारम्बार सम्झाइरहेको थिएँ— केही हुँदैन, म पुग्छु, बुवा निको हुनुहुन्छ। तर मनको एउटा कुनाले भने समय हातबाट फुत्किरहेको अनुभूति गरिरहेको थियो। मन गाउँ पुगिसकेको थियो, शरीर भने सडकमा अड्किएको थियो।
राति १२ बजेदेखि बिहान ६ बजेसम्म हामी केवल एउटा बिरामीलाई अस्पताल पुर्याउने प्रयास गरिरहेका थियौँ। खाल्ले गाउँ दिक्तेलबाट धेरै टाढा छैन। तर बिरामी पर्दा त्यो दूरी असह्य रूपमा लामो हुँदो रहेछ। मनमा एउटा प्रश्न छ— नेपालका पहाडी गाउँमा बिरामीको जीवन र मृत्युबिचको दूरी क्षणको मात्रै कहिलेसम्म रहने? के नेपालको पहाडलाई यस्तै निरीह छाडेर देश ‘बदल्ने र बनाउने’ भाषणको के अर्थ? नयाँ राजनीतिक दल र नयाँ–नयाँ शक्तिशालीहरूको के अर्थ?
म खोटाङको खाल्ले गाउँको हुँ। यही गाउँले मलाई जन्म दियो। यही गाउँले मलाई हुर्कायो। यही गाउँको मायाले म पछिल्लो डेढ वर्षदेखि गाउँमै बसेर कृषि गरिरहेको छु। धेरै मानिस गाउँ छोडिरहेका बेला म गाउँ फर्किएको मान्छे हुँ।
झन्डै १०० रोपनी क्षेत्रमा ४० हजार अकबरे खुर्सानी लगाएको छु। दैनिक ८–१० जनालाई रोजगारी दिएको छु। मेरो पहाड सपना अझ ठुलो छ। आगामी वर्षहरूमा २० हजार एभोकाडोका बिरुवा किसानहरूलाई करार खेतीमार्फत रोपाउने, उत्पादनको खरिद सुनिश्चित गर्ने, प्रशोधन उद्योग स्थापना गर्ने र खोटाङभित्र सयौँ किसान तथा सयौँ परिवारको आयआर्जन बढाउने।
मलाई लाग्छ, पहाड गरिब छैन। यहाँको माटो गरिब छैन। यहाँको हावापानी गरिब छैन। यहाँको सम्भावना गरिब छैन। गरिब छ भने हाम्रो सोच, हाम्रो प्राथमिकता र हाम्रो पहुँच।
तर बुवाको निधनपछि म गाउँलाई अर्को आँखाले हेर्न थालेको छु।
मेरा बुवा दानबहादुर भट्टराई २०११ सालमा जन्मनुभएको थियो। नेपाली सेनामा १६ वर्ष सेवा गर्नुभएको थियो। २०४९ सालमा प्यारालाइसिस भयो। धेरैका लागि त्यो जीवनको अन्त्यजस्तै हुन सक्थ्यो। तर उहाँले हार मान्नुभएन। नियमित औषधि सेवन गर्दै, संघर्ष गर्दै, जीवनसँग सम्झौता नगरी थप ३३–३४ वर्ष बाँच्नुभयो।
उहाँ कुनै महान् मानिस हुनुहुन्नथ्यो। उहाँ एउटा असल मानिस हुनुहुन्थ्यो। र कतिपय अवस्थामा असल मानिस हुनु महान् मानिस हुनुभन्दा ठुलो कुरा हो।
जब हामी अन्ततः गंगालाल अस्पताल पुग्यौँ, बेलुकाको ८:३० बजिसकेको थियो। हृदयाघात र गंगालालको दूरीमा झन्डै २४ घण्टा बितिसकेको थियो।
आपत्कालीन कक्षमा डाक्टर र नर्सहरूको टोलीले अवस्था बुझायो। मुटुका तीन वटा मुख्य नसा बन्द भइसकेका थिए। मुटुको करिब ७५ प्रतिशत क्षमता दीर्घकालीन क्षतिग्रस्त भइसकेको थियो। फोक्सोमा पानी भरिएको थियो। अवस्था अत्यन्त गम्भीर थियो। त्यो क्षण मेरो खुट्टामुनिको जमिन भासिएजस्तो भयो। म त्यहाँ छोरा थिएँ, तर केही गर्न सक्ने अवस्थामा थिइनँ।
डाक्टरहरू बोलिरहेका थिए। मानिसहरू हिँडिरहेका थिए। मेसिनहरू बजिरहेका थिए। तर मेरो मनमा केवल एउटा प्रश्न घुमिरहेको थियो— यदि हामी केही घण्टा अगाडि आइपुगेका हुन्थ्यौँ भने? यदि राति गाडी पाइदिएको भए? यदि गाउँ नजिकै आकस्मिक मुटु उपचारको व्यवस्था भएको भए? यदि त्यो ‘गोल्डेन आवर’ खेर जान नपाएको भए?
सायद यी प्रश्नहरूको उत्तर अब कहिल्यै भेटिने छैन।
त्यसपछि सुरु भयो १७ दिनको अर्को संघर्ष। फोक्सोको समस्या कम गर्न दिइएका शक्तिशाली औषधिले मिर्गौलामा असर गर्न थाल्यो। एउटा समस्या कम हुँदा अर्को बढ्थ्यो। कहिले आशा पलाउँथ्यो, फेरि निराशा आउँथ्यो। मैले आमालाई गाउँबाट बोलाएँ। विदेशमा रहेकी बहिनीलाई पनि आउन खबर गरेँ।
परिवारका सबै सदस्यहरू— काका, ठुलोममी, दिदीहरू— आशा र निराशाको बिचमा झुन्डिएका थियौँ।
गंगालालबाट केएमसी, दुवाकोटसम्मको यात्रा भयो। उपचार जारी रह्यो। प्रार्थना जारी रह्यो। प्रतीक्षा जारी रह्यो। तीन दिनअघि म बुवाले घर लगिदेऊ भन्ने जिकिरका लागि उहाँको दूत बनेर उहाँको धर्ती र उहाँले बनाएको घर टेक्न भनी आएको थिएँ।
तर अन्ततः हामी हार्यौँ। म दिक्तेल हुँदै उहाँले सदाका लागि छाडेर जानुभयो।
अनि त्यो दिन आयो, जुन दिन आउनु नपरोस् भन्ने कामना संसारका सबै छोरा–छोरीले गर्छन्। बुवालाई अन्तिम बिदाइ गर्ने दिन।
सायद संसारभरका धेरै सन्तानले यो भावना महसुस गरेका होलान्— आमा वा बुवाले जीवनभर जति बलियो बनाए पनि, एउटा क्षण यस्तो आउँछ जहाँ उनीहरूले आफ्ना सन्तानलाई अत्यन्त निरीह, अत्यन्त कमजोर र असहाय बनाएर जान्छन्।
मेरो जीवनमा त्यो क्षण बुवाको चिताअघि आयो। जब मैले आफ्नै बुवालाई दागबत्ती दिएँ। त्यो क्षण म शब्दले व्यक्त गर्न नसकिने गरी कमजोर भएको थिएँ। जीवनमा अनेक संघर्ष गरिएका थिए। हार र जित दुवै भोगिएको थियो। तर त्यो दिन चिताअघि उभिएको म ती सबैभन्दा कमजोर थिएँ। किनकि त्यहाँ कुनै प्रयासले काम गर्दैनथ्यो। कुनै पैसा, कुनै पहुँच, कुनै सम्बन्ध, कुनै प्रार्थनाले पनि काम गर्दैनथ्यो। त्यहाँ केवल स्वीकार गर्नुको विकल्प थियो र त्यो स्वीकार गर्न मेरो मन तयार थिएन। यदि दागबत्तीको कुनै अर्को विकल्प हुन्थ्यो भने, म त्यो विकल्प रोज्थेँ।
किनकि आफ्नै प्रिय बुवालाई आगोको जिम्मा लगाउनु पर्दाको पीडा शब्दले बोक्न सक्दैन। त्यो क्षण मैले एउटा छोरा भएर जीवनको सबैभन्दा ठुलो निरीहता महसुस गरेँ। आज, बुवाको निधन भएको सातौँ दिनमा बसेर म एउटा कुरा भन्न चाहन्छु। मेरा बुवालाई हृदयाघातले मात्र लगेन। उहाँलाई पहाडभित्रको कहालीलाग्दो कहरले लग्यो। उहाँलाई दूरीले लग्यो। उहाँलाई अस्पतालसम्मको पहुँचले लग्यो। उहाँलाई त्यो रात गाडी नपाइने असुविधाले लग्यो। उहाँलाई ‘गोल्डेन आवर’ कागजमा मात्र सीमित भएको स्वास्थ्य प्रणालीले लग्यो। उहाँलाई त्यो नेपालले लग्यो, जहाँ पहाडका हजारौँ नागरिकका लागि आपत्कालीन स्वास्थ्य सेवा अझै पनि भाग्यको विषय बनेको छ।
म गाउँलाई दोष दिन चाहन्नँ। किनकि गाउँले मलाई सबै कुरा दिएको छ। गाउँले मलाई सपना दिएको छ। गाउँले मलाई पहिचान दिएको छ। गाउँले मलाई २० हजार एभोकाडो रोप्ने आँट दिएको छ। बरु बुवाको निधनपछि धेरैले मलाई सोधेका छन्— अब पनि गाउँमै बस्छौ?
मसँग त्यसको उत्तर एउटै छ। हो, बस्छु।
किनकि गाउँले मेरो बुवा खोसेको होइन। उहाँलाई समयमै उपचारसम्म पुर्याउन नसक्ने व्यवस्थाले खोसेको हो। मेरो रिस गाउँसँग छैन। मेरो प्रश्न व्यवस्थासँग छ। बरु अब म गाउँलाई झन् धेरै माया गर्छु। किनकि आज मैले भोगेको पीडा भोलि अर्को छोराले भोग्न नपरोस् भन्ने चाहना अझ बलियो भएको छ।
तर गाउँको प्रेमसँगै एउटा प्रश्न पनि जोडिएको छ- यदि गाउँमा मानिस बाँच्नै सक्दैन भने विकास कसका लागि? यदि गाउँमा उपचार नपाएर मानिस अकालमै मर्छ भने समृद्धिको सपना कसका लागि? यदि बस्ने मानिस नै बाँकी रहेनन् भने सम्भावना कसका लागि?
आज पहाडका गाउँहरू बसाइसराइले रित्तिँदै छन्। बाँकी रहेकाहरू मल, सिँचाइ, खानेपानी, श्रमिक, बजार, बाँदर, शिक्षा र स्वास्थ्य पहुँचका समस्यासँग जुधिरहेका छन्। तर यी सबै समस्याभन्दा ठुलो समस्या एउटा छ— मानिसको जीवनको मूल्य। लाग्छ, नेपालका पहाडमा ढुङ्गा र माटोको मूल्य बढेको छ तर मानिसको मूल्य अझै बढ्न सकेको छैन।
म अझै पनि गाउँको भविष्यमा विश्वास गर्छु। म अझै पनि एभोकाडो रोप्ने छु। म अझै पनि किसानसँग काम गरिरहेकै हुनेछु। किनकि आशा मरेको छैन। तर बुवाको मृत्युले मलाई एउटा कठोर सत्य सिकाएको छ— सडक पुग्दैमा गाउँ विकसित हुँदैन। बिजुली पुग्दैमा गाउँ विकसित हुँदैन। फलफूल फल्दैमा गाउँ विकसित हुँदैन। विकसित त्यो गाउँ हुन्छ, जहाँ राति १२ बजे हृदयाघात भएको एउटा बुवाले पनि समयमै उपचार पाउँछन्। जहाँ उपचारको अभावमा कुनै छोराले जीवनभर ‘यदि…’ भन्ने प्रश्न बोकेर बाँच्नुपर्दैन।
बुवाको कर्मको सातौँ दिनमा बसेर म यति मात्र भन्न चाहन्छु— बुवाको मृत्यु मेरो परिवारको निजी शोक मात्र होइन। किनकि कुनै पनि देशको विकास त्यति बेला मात्र पूरा हुँदैन, जब राजधानीमा अत्याधुनिक अस्पताल बन्छन्। विकास त्यति बेला पूरा हुन्छ, जब खोटाङको खाल्लेमा मध्यरात हृदयाघात भएको एउटा बुवाले पनि समयमै उपचार पाउँछन् र कुनै छोराले जीवनभर ‘यदि हामी केही घण्टा अगाडि अस्पताल पुगेका हुन्थ्यौँ भने…’ भन्ने प्रश्न बोकेर बाँच्नुपर्दैन।
विकास त्यति बेला मात्र पूर्ण हुन्छ, जब खाल्लेको एउटा बुवाको जीवनको मूल्य पनि काठमाडौँको एउटा बुवाको जीवन जत्तिकै हुन्छ।
मेरो प्रिय पारस्मरणीय बुवाको अमर आत्मा, आत्माको अनन्त शान्ति–मुक्तिको हार्दिक प्रार्थना रहनेछ!
मुटु भक्कानिएको छ। मन गाँठो परेको छ। श्वास रोकिएको छ। भावपूर्ण श्रद्धाञ्जली मेरो प्रिय बुवा।
