गृष्म ऋतुको उत्कृष्ट समयहरू सकिँदै छन्। अब त झरी, रोपाइँ र पानीको मौसम छ। मौसम त बदलिरहन्छ नै, पतझर त झरिरहन्छ नै। तर यहाँ त जसै जसै बदलिन्छन् मौसम, त्यसै त्यसै आउँछन् चाडबाड, जात्रा र पर्वहरू। समय, परिस्थिति र मौसम उपयुक्त ढङ्गमा काठमाडौँ उपत्यकाका नेवार बस्तीहरूको चाडपर्व पनि अनुकूल हुँदै आउँदछन्। त्यस्तै वर्षा ऋतुको स्वागतार्थ मनाइने पर्वको नाम हो सिथिनख।
शिव र पार्वतीको दुई सन्तानहरू हुन्, गणेश र कुमार। काठमाडौँ उपत्यकाभित्र सिथि नखाको दिन कार्तिकेय अर्थात् कुमार भगवानको आराधना हुन्छ। लिच्छवीकाल र पूर्व मल्लकालसम्म पनि कुमारको पूजा आराधना व्यापक रूपमा रहेको थियो। मल्लकालमा आएर कुमारभन्दा पनि गणेशको मूर्ति पूजाले व्यापकता पाउन थालेको जानिन्छ।
भगवान् कार्तिकेय अथवा कुमारलाई सिथि द्यो नामले पनि पुकारिन्छ। त्यही भएर सो दिनलाई सिथि नखा रहन पुगेको हुनुपर्छ।
कार्तिकेय, कुमार वा स्कन्दलाई भगवान् शिवजीको वीर्यबाट जन्मेका अग्निका पुत्र मानिन्छ। कथाअनुसार शिव र पार्वती रतिक्रिडामा व्यस्त रहँदा परेवाको रूपमा आएका अग्निमाथि शिवले वीर्यपात गर्न पुग्छन्। अग्नि गङ्गामा डुबेर वीर्य पखाल्दछन्। गङ्गा स्नानमा गएका षड्कृतिकाको अङ्गमा शिववीर्य प्रवेश भई गर्भधारण गर्न पुग्छन्। त्यही गर्भ त्याग गर्न खोज्दा स्कन्दको जन्म भएको हुन्छ।
६ ओटा आमाबाट जन्मेको हुनाले यिनलाई ६ मुखेको रूपमा चित्रहरूमा देखाइन्छ। पौराणिक समय स्कन्द नामक कुमारको विशेष उत्सव मनाइने कुरा वैदिक साहित्यमा उल्लेखित स्कन्द र कुमारको प्रसङ्गहरूबाट थाहा पाइन्छ। कुमारले तारकासुरसँग युद्ध गरी वध गरेको कथा शिव तथा मत्स्य पुराणमा पाइन्छ।
कुमारको बारेमा अध्ययन गर्दा ३ किसिमका देवताहरू देखा पर्दछन्। ५ मुख, १२ हात र पद्मासनमा रहेको स्कन्द, एक मुख, ५ हात र मयूरासनको रूपमा कुमार र तेस्रोमा दुई हात भएका बालकुमार रहेका छन्। कुमार वास्तुकलाविद् पनि हुन्।
भक्तपुरमा हरेक घरको मूलढोका अघि गोलाकार, वर्गाकार, केही कलश आकृतिका ढुङ्गाहरू त सबैले देखेकै हुन्छन्। यी ढुङ्गाहरूलाई नेपाल भाषामा पिखालाखू/पिखालाकी भनिन्छ। नेवारहरूले यी ढुङ्गालाई पनि कुमार मानेर पूजा गर्दछन्।
ढोकाको दायाँ गणेश र बायाँ कुमारलाई द्वारपालको रूपमा राख्ने चलन छ।
भगवान् कुमारको जन्मोत्सवको रूपमा सिथि नखा मनाइन्छ। सिथि नखा केवल पर्व मात्र होइन, यो त वातावरण, समाज र संस्कृति जोड्ने सेतु हो। यही दिनको अवसरमा वरपर रहेका पानीका स्रोतहरू सरसफाइ गर्ने गर्दछन्। बर्खा यामको तयारी स्वरूप पानीको धारा, ढुङ्गेधारा, इनार, जलद्रोणी र नहर जस्ता पानीका संरचनाको मर्मत संहार जनस्तरमा हुने गर्दछ।
राजा यक्ष मल्लले विसं १५१० श्रावण २२ गते भक्तपुर सहरलाई एउटा मजबुत किल्लाको रूपमा निर्माण गर्न लगाए। उक्त गढ र पर्खाल निर्माण गरिँदा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र सबैले ढुङ्गा, माटो, काठ र आवश्यक सामग्री बोकेर सहयोग गरेको प्रसङ्ग भक्तपुर राजदरबारको विसं १५१० को शिलालेखमा उल्लेखित छ। सम्पूर्ण भक्तपुरबासीले नजिकैको आफ्नो टोलमा गई काम गर्नु परेको थियो। गढ रक्षाको लागि आ-आफ्नो इलाकामा सावधानी अपनाउन पर्दथ्यो। पर्खाल भत्किए, किल्लाहरू बिग्रिए, छानाहरू मकिए मर्मत सम्भार गर्नुपर्दथ्यो, नगरे दण्ड जरिवानाको व्यवस्था थियो।
लिच्छवीकालमै भक्तपुरमा हिति प्रणाली विकसित भइसकेको थियो। टुलु टुलु हिति सूर्यमढी, गोल्मढीको हिति, खौमा टोलको हिति, इन्द्रायणी मन्दिर पछाडिको धवा हितिहरूमा आज पनि निरन्तर पानी बगिरहेको छ। यस्ता लिच्छवीकालीन हितिहरू अस्तित्व छन्। राजा यक्ष मल्लले भक्तपुरमा विभिन्न ढुङ्गेधाराहरूको निर्माण गर्न लगाइएको शिलालेखहरू छन्। त्रिपुरासुन्दरी तुलाछेँ टोलको शिलालेख, गोमारी गहिति टोलको शिलालेख र अन्य शिलालेखहरू यसका साक्षी हुन्।
राजा जितामित्र मल्लले भक्तपुरको राजकुलो र सुनधारा बनाउन लगाए। विसं १७४० मा उनले कुलोको बन्दोबस्त गरी एउटा शिलालेख राख्न लगाएका थिए, जसमा वर्षको एक दिन सबै जनताहरू कुलो बनाउन अनिवार्य जानै पर्ने, नगए दण्ड जरिवानाको थिति बाँधिदिएका थिए।
मल्लकालमा राजा जितामित्र मल्लले भक्तपुर राजदरबारसम्म पुग्ने राजकुलो निर्माण गर्न लगाई राजदरबारको सुनधारासम्म पानी लगे। भक्तपुरको राजकीय देवी तलेजुको पूजा गर्न महादेव पोखरीदेखि राजकुलोको पानी थन्थु राजदरबारसम्म पुग्यो। त्यही राजकुलोको पानी विभिन्न ढुङ्गेधाराहरू मार्फत टोलहरूमा पुर्याइएको थियो। यही राजकुलोको नियमित मर्मत सम्भारको निम्ति गुठी र नियमहरू बाँधिए। खौमा, नासमना, सुनधारा, दरबार, टौमढि लगायतका स्थानमा यही राजकुलोको पानी बग्ने गर्थे। त्यसपछि राजा भूपतिन्द्र मल्लले यसको मर्मत गरेको तथा ढुङ्गेधाराहरू निर्माण गर्न लगाइएको थियो।
उनले धारो र कुलो बनाई नियमहरू बाँधिदिएका थिए। कुलोको पानी लगाई धान रोप्न एक रोपनीमा आधा दाम तिर्नुपर्दथ्यो। ठूलोसानो भनी पालो मिच्न पाइँदैनथ्यो। पानी आउने कुलो रेखदेख गर्न सरकारी कर्मचारीको रूपमा ढलपाको व्यवस्था गरिएको थियो। ढलपाले जनतालाई दुःख दिए वा पानीमा पक्षपात गरे उनलाई समेत जरिवानाको व्यवस्था गरिएको थियो।
यी समय क्रमसँगै आउने पर्वहरू, जात्राहरू, रीतिथितिहरू केवल रमाइलो, मीठो मीठो खानपान, समय कटाइ मात्र होइन, यो त इतिहास, वातावरण, वैज्ञानिकता र समाज जोड्ने मियो हुन्। सामुदायिक रूपमा एक भई पानीका मूल स्रोतहरूको सरसफाइ र मर्मत सम्भार गर्दछन्। पानीको स्रोतलाई बचाउने नागको पूजा गर्छन्।
कुमारको पूजाआजा सरसफाइ सकेर बारा र चटामरी पकाएर खाइन्छ। सिथि नखा बारा र चटामरीको पर्व हो। छोरीचेलीलाई माइती बोलाएर बारा चटामरी खुवाइन्छ। यो दिनको पानीमा भिजेको खण्डमा असारे रोपाइँको पानीले समेत शरीरमा केही पनि हानी गर्न सक्दैन रे।
जेठ महिनाको समयमा नै किन मनाए होलान् त पानीको स्रोत सरसफाइ गर्ने सिथि नखा पर्व? वर्षा यामको समयपूर्व खासै पानी नपर्ने हुनाले भूमिगत पानीको सतह साबिकको सतहभन्दा मुनि हुन्छ। त्यही भएर यो बेला इनार र कुवा कुलो जस्ता पानीको भूमिगत सतह कम हुने हुनाले सजिलै यस्ता स्रोतहरू सफा गर्न सजिलो हुन्छ। जब बर्खा लाग्छ, भूमिगत पानीको सतह माथि चढ्छ र सरसफाइ गर्न कठिन हुने हुनाले यी पर्वहरूको आफ्नै वैज्ञानिक कारणहरू छन्।
पानीमै जीवन छ र त पानीमै संस्कृति पनि छ, पानीमै हाम्रो अपनत्व पनि छ। त्यसैगरी पानीसँगै जोडिएको अर्को पर्व छ, जनै पूर्णिमा। हरेक वर्ष जनैपूर्णिमाको दिन भक्तपुरको पूर्व फर्किएका नौ वटा ढुङ्गेधाराहरू परिक्रमा गर्ने चलन छ, जसलाई ‘गुपू हिति सिकेगु’ भनिन्छ। सूर्यविनायक गणेश मन्दिरको पूर्व फर्किएको ढुङ्गेधारामा स्नान गरी अन्तिममा तचपाल भिमसेन मन्दिर पछाडिको ढुङ्गेधारामा गएर टुङ्गिन्छ। सूर्यविनायक गणेश मन्दिरको हिति, सूर्यविनायक मन्दिर उकालो लाग्दाको हिति, बसिकोमला हिति, नासमना हिति, पूबहा हिति, भुइ साहू हिति, बुलुबुलु हिति, बिजावती हिति र भिन्द्यो हिति।
यी ढुङ्गेधाराहरूमा स्नान गर्नाले रोगमुक्त हुने र मृत आत्माले समेत स्वर्गमा वास पाउने विश्वास गर्दछन्।
नेवारी कलाको उत्कृष्ट नमुना यी नै ढुङ्गेधाराहरू पनि हुन्, जसको वास्तुशास्त्रीय नजर पनि बडो गजब लाग्दछ। यी हितिहरूमा पानीमा बस्ने चलचर प्राणीहरूको मूर्तिहरू पनि भेटिन्छन्। नारायण, गङ्गा, शिवलिङ्गहरू पनि सँगसँगै हुन्छन्। ढुङ्गेधाराको प्रतिरक्षा गरिरहेका नागहरू, गोही, माछा, भ्यागुता, कछुवा जस्ता प्राणीका मूर्तिहरू पनि हितिसँगै निर्माण हुनुले हितिको सौन्दर्य र मूर्तिकलाको उच्च वैभव देख्न सकिन्छ। हरेक ढुङ्गेधाराको मुनि गङ्गालाई धरतीमा अवतरण गराउने भगीरथ र यक्षको विभिन्न मुद्राको मूर्तिहरू पनि पाइन्छ।
काठमाडौँ उपत्यका भित्र सबैभन्दा धेरै हिति, पोखरी र इनारहरू भएको सहर पनि हो भक्तपुर। प्राचीन सहरी विकास, संस्कृति र सभ्यताहरू, विकसित प्रणालीहरू आजको लागि झनै उत्कृष्ट उदाहरणहरू हुन्। कृषिमा आधारित व्यापक मानिसहरू पानीमा निर्भर रहनाले ठाउँ-ठाउँमा पोखरीहरूको महत्त्व बढ्यो। खँचा पोखरी र च्याम्हासिंह पोखरी लिच्छवीकालको भएको विश्वास गरिन्छ।
भक्तपुर दुई नदीहरू हनुमन्ते र कासाङ खुसीबिचको थुम्कोमा रहेको कारण पानीको सहज आपूर्तिको लागि ठाउँ-ठाउँमा पोखरीहरू निर्माण भए। भक्तपुरको सबैभन्दा ठुलो पोखरी सिद्ध पोखरी भएकोले यसलाई तःपुखु भनिन्छ। यस पोखरीमा इन्द्रजात्राको दिन इन्द्रायणी देवीलाई विराजमान गराई जात्रा निकालिन्छ भने दशैको दिन पनि मेला लाग्छ। त्यसैगरी नःपुखु, भाज्या पुखू, न्हू पुखू, तेखा पुखू, सलाँ गणेश पुखू, बार्हे पूखू भक्तपुरका प्रसिद्ध पोखरीहरू हुन्। जितामित्र मल्लको भारदार भाजुकसले भाज्यापूखू निर्माण गर्न लगाइएको थियो।
हरेक पुराना गल्लीभित्रका चोकमा ऐतिहासिक इनार, हिति र जलद्रोणी जस्ता पानीका स्रोतहरू भेटिन्छन्। शिलालेखहरू पनि छन्। ती ऐतिहासिक छन्, कलात्मक छन् र सुन्दर छन्। यस्ता हिति, इनार र जलद्रोणीहरू पानीको स्रोत मात्रै होइनन्; यी त धार्मिक, सामाजिक र सांस्कृतिक वैभव पनि हुन्।
जहाँ जहाँ मन्दिरहरू छन्, त्यसैको नजिक कुनै न कुनै पानीका स्रोतहरू भेटिन्छन्। यसैमा काठमाडौँ उपत्यकाको पुरानो पहिचान भेटिन्छ। जात्राहरूमा मानिसहरू जोडिन्छन् र जात्रासँगै सरसफाइ र अपनत्व पनि अपनाइन्छ। दशैको नवरातमा स्नान गर्ने यी नै हनुमन्ते खोलाका बहाव क्षेत्रहरू र पोखरीहरू हुन्। इन्द्रजात्रामा पानीकै देवता इन्द्रलाई पुजिन्छ। बिस्का जात्रामा चुपिङघाटमा स्नान र मुख धुने परम्परा छ। कूल पूजाको रूपमा देवाली प्राचीन नगर बाहिर रहेका पोखरी र खोला छेउछाउमै मनाइन्छ। होलीमा पानीकै उत्सव हुन्छ। असारे रोपाएँ त पानीकै उत्सव भए। त्यस कारण हरेक क्षण कहीँ न कतै पानीकै वरपर घुमिरहन्छन् शाश्वत जिन्दगी, मानिसका दैनिकी र सांस्कृतिक पर्व।
तपाईं संसारको अरू जुनसुकै कुनामा पुग्नु भए तापनि काठमाडौँ उपत्यकाको जस्तो कलात्मक हिति देख्न पाउनु हुन्छ? के तपाईंले तीन सहरका कलात्मक सुन्धाराहरू गहिरिएर नियाल्नु भएको छ? इँटाले गोलो घेरा बनाई सुन्दर तरिकाले निर्मित इनार र ढुङ्गाका जलद्रोणीहरू हेरेर आश्चर्यचकित पर्नुहुन्छ? त्यसैगरी पानी खाने आकर्षक बुँगाचा भेट्नुहुन्छ? यी कलात्मक पानीका संरचनाहरू, कलात्मक गहितिहरू प्राचीन सहरीकरणको उत्कृष्ट नमुना हुन्, जहाँ अपर्याप्त चीजहरू केही छैनन्। जो छन्, उत्कृष्ट, वैज्ञानिक, कलात्मक र भव्य नै छन्।
-1781611135.png)
-1781611132.png)