आजको डिजिटल युगमा साइबर सुरक्षाको परिभाषा आधारभूत रूपमै बदलिएको छ। हिजोसम्म अपराधीहरू तपाईंको कम्प्युटरको ‘फायरवाल’ तोड्न र ‘पासवर्ड’ चोरी गर्न केन्द्रित हुन्थे भने आज उनीहरू तपाईंको ‘मनको शून्यता’ ह्याक गर्न तल्लीन छन्।
प्रविधिको विकाससँगै सफ्टवेयरका पर्खालहरू मजबुत बन्दै गए पनि मानिसको भावनात्मक संवेदनशीलता भने झन् कमजोर र असुरक्षित बन्दै गएको छ।
एक्लोपन अब मान्छेको व्यक्तिगत समस्यामा मात्र सीमित रहेन। सन् २०२६ का पछिल्ला तथ्यांक र विश्वव्यापी अनुसन्धानहरूले यसलाई संगठित साइबर अपराधको सबभन्दा अचुक र घातक 'ब्रम्हास्त्र' का रूपमा व्याख्या गरेका छन्।
जैविक संकट र ‘सामाजिक भोक’ को मनोविज्ञान
आधुनिक मनोविज्ञानका प्रखर अध्येता डा. जोन कासियोप्पोले आफ्नो चर्चित पुस्तक ‘लोन्लिनेस’ मा एक्लोपनलाई केवल मानसिक पीडा वा ‘दुःख’ मात्र ठान्नु ठूलो भूल हुने विश्लेषण गरेका छन्।
उनका अनुसार एक्लोपन एउटा ‘गम्भीर जैविक संकट’ हो, जसले हाम्रो शरीर र मस्तिष्कको आधारभूत कार्यप्रणाली नै बदलिदिन्छ। जब कोही व्यक्ति लामो समयसम्म एक्लोपनको भूमरीमा फस्छ, उसको मस्तिष्कले त्यसलाई ‘अस्तित्व रक्षाको खतरा’ का रूपमा लिन्छ र ‘सर्भाइभल मोड’ मा जान्छ। यसको सिधा र नकारात्मक असर मस्तिष्कको ‘प्रि-फ्रन्टल कोर्टेक्स’ मा पर्छ। यो मस्तिष्कको त्यस्तो भाग हो, जसले हाम्रो तर्क गर्ने, सही-गलत छुट्याउने र ठोस निर्णय लिने क्षमतालाई नियन्त्रण गर्छ।
एक्लोपनले यो भागलाई शिथिल बनाइदिने हुनाले मानिसको सोच्ने र बुझ्ने क्षमता कमजोर हुन्छ। यस्तो अवस्थामा मस्तिष्कमा ‘कोर्टिसोल’ जस्ता तनाव उत्पन्न गर्ने हर्मोनको मात्रा बढ्छ, जसले गर्दा मानिसले सम्भावित जोखिमलाई चिन्न सक्दैन र अपरिचित व्यक्तिमाथि छिट्टै विश्वास गर्न पुग्दछ। डा. कासियोप्पोले एक्लोपनलाई ‘सामाजिक भोक’ को संज्ञा दिएका छन्। जसरी कयौँ दिनदेखि भोको मानिसले खाना देख्दा त्यसको गुणस्तरभन्दा पनि केवल पेट भर्नुलाई प्राथमिकता दिन्छ, त्यसरी नै सामाजिक रूपमा एक्लो महसुस गरिरहेको व्यक्तिले इन्टरनेटमा कसैले दिने सानो ‘लाइक’, ‘हेल्लो’ वा दुई शब्द मिठो बोलीलाई पनि ‘ठुलो पुरस्कार’ सम्झिन्छ। यही विन्दुमा मानिसको तर्कशक्तिभन्दा भावना हाबी हुन्छ, जसलाई अपराधीहरूले आफ्नो स्वार्थसिद्ध गर्ने मुख्य बाटो अर्थात् ‘इमर्जेन्सी डोर’ का रूपमा प्रयोग गर्छन्।
डिजिटल विरोधाभास: भिडभित्रको एक्लोपन
हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ डिजिटल ‘कनेक्टिभिटी’ त चरम सीमामा छ, तर वास्तविक मानवीय सम्बन्ध (आत्मीयता) भने शून्यप्रायः छ। ‘नेचर ह्युमन बिहेभियर-२०२४’ मा प्रकाशित शोधले एउटा तीतो सत्यलाई उजागर गरेको छ, जसलाई ‘फबिङ’ भनिन्छ। यो यस्तो अवस्था हो, जहाँ मानिस शारीरिक रूपमा सँगै भएता पनि एकअर्काको आँखामा हेर्नुको सट्टा मोबाइलकै स्क्रिनमा टोलाइरहेका हुन्छन्। चाहे ती ठूला सभा-समारोह हुन् वा दसैं-तिहार जस्ता महान् चाडपर्व, वा अन्य कुनै जमघट नै किन नहोस्; एउटै कोठामा बसेका परिवारका सदस्यहरूबीच समेत संवादहीनता बढ्दो छ। सबैका हातमा स्मार्टफोन भएता पनि मनमा रिक्तता प्रष्टै झल्किन्छ। यसले मानिसमा एक प्रकारको ‘क्रोनिक आइसोलेसन’ (दीर्घकालीन एक्लोपन) बढाएको देखिन्छ।
साइबर अपराधको नयाँ ‘मोडस अपरेन्डी’: पिग बुचरिङ
सामाजिक सम्बन्धको कमी हुनु स्वास्थ्यका लागि दैनिक १५ खिल्ली चुरोट पिउनु सरह घातक हुन्छ। यो तथ्य सन् २०१० मा ब्रिघम यंग युनिभर्सिटीकी प्रोफेसर जुलियान होल्ट-लुन्स्टाड र उनको टोलीले ३ लाखभन्दा बढी मानिसमा गरेको अध्ययनले देखाएको थियो। यही शोधलाई आधार मान्दै अमेरिकी सर्जन जनरल डा. विवेक मूर्तिले सन् २०२३ देखि २०२६ सम्मको आफ्नो अभियानमा यसलाई 'लोन्लिनेस एपिडेमिक' (एक्लोपनको महामारी) घोषणा गरे।
एक्लोपनको यही घातक अवस्थाको फाइदा उठाउँदै अपराधीहरूले ‘रोमान्स स्क्याम’ र ‘सेक्स्टोर्सन’ जस्ता अपराधको जालो विस्तार गरिरहेका छन्। यसमा अपराधीले महिनौंसम्म पीडितसँग कुरा गरेर भावनात्मक सम्बन्ध बनाउँछन्। उनीहरू अब सफ्टवेयर मात्र ह्याक गर्दैनन्, बरू पीडितको ‘विश्वास’ ह्याक गर्छन्। यसैको पछिल्लो शृङ्खला ‘पिग बुचरिङ’ हो। यसमा सुरूमा झुटो माया देखाएर विश्वास जित्ने र बिस्तारै क्रिप्टोकरेन्सी वा नक्कली लगानीको प्रलोभनमा पारेर सर्वस्व लुट्ने गरिन्छ। सोको शिकार सामान्य नागरिक मात्र होइन, बरू शिक्षित र सम्पन्न मानिसहरू नै बढी भइरहेको तथ्यांकले देखाउँछ।
नेपालमा प्रभाव र उजुरीको चाङ
नेपालमा पनि यसको प्रभाव डरलाग्दो देखिएको छ। नेपाल प्रहरी साइबर ब्यूरोले २०७९ असारमा काठमाडौंको धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ नामक कल सेन्टरमा छापा मारी १३ जनालाई पक्राउ गरेको थियो। उक्त कल सेन्टरले अमेरिकी र क्यानेडियन वृद्धवृद्धाहरूलाई विशेष लक्षित गरी ‘टेक सर्पोट’को नाममा ठगी गरेको अनुसन्धानबाट खुलेको थियो। अनुसन्धान अनुसार, ती वृद्धवृद्धाहरू एक्लोपनका कारण कसैसँग पर्याप्त सल्लाह लिन नपाउँदै ठगीको शिकार भएका थिए।
त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरोले २०८२ असारमा ‘सोसल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ को आवरणमा लुकेर ‘मिटु’ डेटिङ एपमार्फत ठगी गर्ने समूहलाई पक्राउ गर्यो। उक्त समूहले खास गरी भावनात्मक रूपमा कमजोर युवायुवतीलाई निशाना बनाएको थियो। पीडितहरू अपराधीबाट यसरी प्रभावित भएका थिए कि उनीहरूले साथीभाइबाट ऋण लिएर समेत लगानी गरे र अन्ततः लाखौं रुपैयाँ गुमाए।
साइबर ब्यूरोको तथ्यांक केलाउँदा आर्थिक वर्ष २०८१/०८२ मा मात्र १८,९२६ साइबर अपराधका उजुरी दर्ता भएको देखिन्छ। यो भनेको दैनिक औसतमा ५२ वटा उजुरी दर्ता हुनु हो। यसमध्ये आर्थिक ठगीका मात्र ७,७२३ उजुरी दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ८८ प्रतिशतले वृद्धि हो। यस्ता अपराधका मुख्य माध्यमहरू विशेष गरी फेसबुक, मेसेन्जर, टिकटक र ह्वाट्सएप देखिएका छन्।
निष्कर्ष
प्रविधिले मानिसलाई जोडेको त छ, तर बाँधेको छैन। यो डिजिटल युगमा हामी जति धेरै ‘अनलाइन’ हुन्छौँ, त्यति नै धेरै ‘असुरक्षित’ पनि भइरहेका छौँ। साइबर अपराधीहरू तपाईंको घरको ढोकाबाट होइन, तपाईंको ‘एक्लोपन’ को झ्यालबाट प्रवेश गर्ने प्रयास गरिरहेका छन्। त्यसैले, आफ्नो डिजिटल पर्खाल मात्र होइन, आफ्नो भावनात्मक विवेकलाई पनि मजबुत बनाऔँ। तपाईंको एक्लोपन कसैका लागि डलर कमाउने अवसर नबनोस्।
(लेखक पूर्वप्राविधिक प्रहरी उपरीक्षक हुन्।)