२०४३ सालमा हामी काठमाडौँको नक्सालस्थित चारढुंगे नजिकै ढुंगेधारा अगाडिको एउटा घरको दोस्रो तलामा रहेको कोठामा मासिक तीन सय रुपैयाँ भाडा तिर्ने गरी बसेका थियौँ। भुईँतलाको सटर कोठामा एकजना साहुजीको किराना पसल चल्दथ्यो। हामी चिनी, चामल, मट्टितेल लगायतका उपभोग्य वस्तुहरू त्यसै पसलबाट किन्ने गर्थ्यौँ। यी वस्तुहरूको त्यति बेलाको बजार भाउ सायद प्रतिकिलो/प्रतिलिटर दश रुपैयाँ वा सोभन्दा थोरै तलमाथि थियो।
सो पूरै घर ती साहुजीको जिम्मामा थियो, हामीले घरधनीको अनुहार देख्नै पाएनौँ भेट नहुनाले। कोठा-कोठामा बसेकाहरूबाट मासिक भाडा उठाउने अनि घरधनीलाई दिने जिम्मा साहुजीको थियो। श्रेष्ठ थरका ती साहुजीका छोरा नरेन्द्र, सुरेन्द्र र छोरी बिनुको नाम बिर्सिने कुरा भएन। पहिलो तलामा रहेको साहुजीको बैठक कोठामा भर्खरै रङ्गिन टेलिभिजन राखिएको थियो, जहाँ टेलिभिजन हेर्ने भुराभुरीदेखि वयस्कसम्मका मान्छेहरूको ओहोरदोहोर भइरहन्थ्यो भारतीय टिभी च्यानल दूरदर्शनबाट प्रसारण हुने हिन्दी टेलिशृंखला रामायण र महाभारत हेर्नका लागि। नेपाली दर्शकहरूले आफ्नै राष्ट्रिय प्रसारण च्यानल नेपाल टेलिभिजन झन् नहर्ने कुरै थिएन।
हामी बसेको घर नजिकै बस्नुहुने र हाम्रो अफिसमा सँगै कार्यरत गीता दिदीले नेशनल ट्रेडिङ लिमिटेडबाट १४ इन्चीको रङ्गिन टेलिभिजन किनेर ल्याउनु भएको थियो अठार हजार रुपैयाँमा। त्यति बेलाको त्यो रकम ज्यादै ठुलो हो। नेशनल ट्रेडिङ लिमिटेड सरकारी स्वामित्वको व्यापारिक संस्थान भएकोले त्यहाँबाट खरिद गरिने उपकरण, उपभोग्य वस्तु भरपर्दो मानिन्थ्यो अरू पसलहरूको तुलनामा। जनबोलीमा नेशनल ट्रेडिङ लिमिटेड भनिए पनि संस्थानले आफ्नो नाम कताकतै राष्ट्रिय व्यापार निगम भनेर उल्लेख गरेको देखिन्थ्यो। अहिले सो संस्थानको अस्तित्व पूर्ण रूपमा मेटिएको छ।
त्यति बेला टेलिभिजनको मूल्य महँगो नै थियो, जो कसैले किनेर घरमा राख्ने क्षमता हुँदैनथ्यो। चार/पाँच हजारमा किन्न पाइने श्याम/श्वेत टेलिभिजन भने काठमाडौँको न्युरोडतिरका केही पसलमा हुन्थे। तर पनि टेलिभिजन सबैको घरमा हुँदैनथ्यो। साहुजीको आफ्नो बैठक कोठामा बज्ने टेलिभिजन हेर्न चारढुंगेदेखि नागपोखरीसम्मका केटाकेटी टेलिभिजन हेर्न आउँदा ढोकाको बाहिर जुत्ता-चप्पलको खात लागेको हुन्थ्यो। टेलिभिजन हेर्न पाए भुराभुरीलाई भोक-प्यास लागेको पनि पत्तो हुँदैनथ्यो।
त्यति बेलाका चर्चित बक्सिङ खेलाडी पुष्कर ध्वज शाहीको घर पनि चारढुंगेमै थियो। उहाँका बुवा गरुडध्वज शाही मेरो जन्मथलो रोल्पाको खुंग्रीको छिमेकी गाउँ घोडागाउँबाट कुनै जमानामा काठमाडौँ बसाइ सरेर आउनुभएको रहेछ।
चारढुंगेको बसाइका क्रममा मलाई टाइफाइड भएपछि नजिकै रहेको एउटा औषधि पसलमा बस्नुहुने बालरोग विशेषज्ञले जाँचेर औषधि दिएपछि केही हप्तापश्चात् टाइफाइड निको भयो। टाइफाइड रोग स्वास्थ्यलाई अत्यन्त कमजोर बनाउने रोग रहेछ भन्ने महसुस गरेँ। त्यसको दुई वर्षअघि डिल्लीबजारमा बस्दा मलाई जन्डिस भइसकेको थियो। जन्डिसको उपचारका लागि एलोप्याथी औषधोपचारतिर नलागेर महाबौद्धमा रहेका एकजना वैद्यकोमा गएँ। उनले एउटा सानो बोतलमा झोल औषधि दिएपछि सो औषधि दहीमा फिटेर नियमित खान थालेँ।
जन्डिसले ज्यान निकै नै गलाउँदो रहेछ भन्ने कुरा पनि महसुस भइसकेको थियो। त्यसको असर वर्ष दिनभन्दा बढीसम्म रहन गयो। एक वर्ष चारढुंगेको सो घरमा बिताएर २०४४ सालमा हामी साहुजी सँगसँगै नजिकैको भगवतीबहालमा सर्यौँ। जहाँ साहुजीले आफ्नो घर निर्माणाधीन हुँदादेखि नै ‘अन्त नजानुस् हाम्रै घरमा बस्नुहोला’ भनेकाले हामी नाइँ भन्न सकेका थिएनौँ। भगवतीबहाल स्थित भगवती मन्दिर नजिक रहेको सो नयाँ घरको पहिलो तलामा बस्न थाल्यौँ। डेरा कोठामा बस्ने हामी दुई जना थियौँ; म र रोल्पाकै लिबाङका एकजना आफन्त।
२०४४ फागुन २९ गते दशरथ रंगशालामा त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल खेलमा जनकपुर चुरोट कारखाना (जचुका) र बंगलादेशको मुक्तिजोद्धा क्लबबिच प्रतिस्पर्धा हुने समय निर्धारण भएको थियो। त्यसअघि जनकपुर चुरोट कारखाना लिमिटेड तत्कालीन शाही नेपाल वायुसेवा निगम (आरएनएसी) लाई हराएर फाइनलमा पुगेको थियो। खेल हेर्न काठमाडौँका दर्शकहरू मात्र नभएर मोफसलका स्थानहरूबाट समेत काठमाडौँ आएर रंगशालाको दर्शकदीर्घा भरिभराउन पारेका थिए। रोमाञ्चक मानिएको सो फुटबल खेलको प्रतिस्पर्धा हेर्ने सपना बोकेर हजारौँ दर्शक तथा समर्थकहरू त्यहाँ छिरे। तर रोमाञ्चकको ठिक उल्टो हुन गयो अर्थात् भावुकतामा डुब्यो सो फुटबल प्रतियोगिता।
दिउसो दुई बज्दा बित्तिकै दुवै टोलीका खेलाडीहरू रंगशालाको फुटबल मैदानमा प्रवेश गरिसकेका थिए। खेल भइरहँदा एक्कासि तुफानसहित बर्साद सुरु हुन थाल्यो। आर्मी मुख्यालयको परिसरतिरबाट रुखका हाँगाहरू समेत उडेर आयो रंगशालातिर र तत्कालै मुसलधारे पानी पर्न थाल्यो। असिना सहितको मुसलधारे पानीबाट बच्न दर्शकहरू अतालिएर यता जाऊँ कि उता जाऊँ जस्तो गर्दै दौडेर प्रवेश द्वारहरूमा ओत लाग्न थाल्दा खाँदाखाँद वा एकअर्कामा खप्टिने अवस्था र कुल्चिने अनि मिचिने अवस्था आयो र एकैछिनमा त्यहाँ ९३ जनाले ज्यान गुमाए।
रंगशालाका ढोकाहरू बन्द गरिनाले पनि दर्शकहरू एकाएक बाहिर निस्किन खोज्दा एकअर्कामाथि च्यापिएर अर्थात् खप्टिएर दुई भर्याङबिचको चेपमा खुट्टा फसेर अड्किएर अनि ढलेर उनीहरूको ज्यान गयो भने कैयन दर्शकहरू घाइते हुन पुगे। बरु कोचाकोच भीडतर्फ नगएर बाहिर असिना पानी सहेर अनि भिजेर बसेकाहरू भने सौभाग्यवश बाँचे।
तत्काल खेलाडी र दर्शकहरूमा निराशाले छायो। दुर्घटनाको प्रत्यक्षदर्शी बनेका सबैको मनमा सो अविस्मरणीय दुर्घटनाको झझल्को पक्कै पनि जीवनभर आई नै रहन्छ होला। आजभन्दा ३८ वर्षअघिको त्यो त्रासदीपूर्ण घटना मैले कहिल्यै पनि बिर्सिन्न। प्रत्यक्ष रूपमा रंगशालाभित्रका दृश्यहरू नदेखे पनि टेलिभिजनको समाचारमा देखाइने दृश्यहरू नै काफी थिए हाम्रा लागि। रेडियोबाट प्रसारण गरिने समाचारले त भनेको मात्र थियो, दृश्य देखिने कुरा थिएन।
त्यस दिनलाई नेपाली खेलकुदको क्षेत्रमा ‘कालो दिन’ भनेर बुझिन्छ। यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकाय बेलैमा सचेत हुनै पर्छ। ‘जब पर्यो राति तब बुढी ताती’ उखान लागू नहोओस्! नेपालमा धेरै नै बेथितिहरू देखिने हुँदा त्यसै अनुसार उखानहरूको विकास भएको पाइन्छ। जनता मात्र के नेताहरू समेत उखानमा माहिर देखिने गरेका छन्। गम्भीरतालाई पनि सामान्य किसिमबाट उखान जोडेर रमाइलो गरिदिँदा आलोचित हुनुपर्ने अवस्था पनि आउन सक्छ। यसतर्फ नेताहरू र समाजसेवीहरू सचेत हुनु जरुरी छ। कुनै सम्प्रदायलाई असर पर्ने गरी कुनै पनि उखानहरू बोल्नु र लेख्नु हुँदैन। पछि चिनियाँ सरकारको सहयोगमा दशरथ रंगशाला मर्मत गरियो। त्यसपछि त्यस्ता किसिमका दुर्घटना त्यहाँ दोहोरिएन, नदोहोरियोस् पनि।
त्यो दुर्घटना हुनुभन्दा पन्ध्र/बिस मिनेटअघि हामी सहिदगेट पुगेर गाडीबाट ओर्लिँदा बित्तिकै हल्का वर्षा र हुण्डरी सुरु भएको थियो। सुनधारातर्फबाट जस्ता पाताहरू उडाएको दृश्य देखिन थाल्यो र डर लाग्दो आवाज पनि सुनिन थाल्यो। हामी आत्तिन थाल्यौँ र यता जाऊँ कि उता जाऊँ भन्ने अवस्था आयो। ‘लौ अब यस्तो अवस्थामा हामी रंगशाला नजाऔँ! डेरा कोठामा नै फर्किऔँ’ भन्दै दौडियौँ भद्रकालीतर्फ। एकैछिनमा सुनधारातर्फबाट कोलाहलको आवाज पनि आउन थाल्यो। उत्तरतर्फ टुँडिखेल र दक्षिणतर्फ सैनिक मुख्यालय भएका कारण अग्ला बारहरूको अगाडि हाम्रो केही लागेन, खुला ठाउँमा जानका लागि। हामी बाटोको किनारै किनार दौडियौँ। सातो जाने गरी एकाएक आएको हुण्डरी, असिना र पानी केही मिनेटपछि रोकियो, ठाउँ-ठाउँमा रुखहरू ढलेका देखिन्थे। हामी हस्याङफस्याङ गर्दै नक्सालस्थित आफ्नो डेरा कोठामा पुग्यौँ। घरबेटी साहुजी आफ्नो पसलमा व्यस्त रहे पनि अवस्था बतायौँ।
हुरी र असिना-पानीका कारण रंगशालामा भागदौड मच्चिँदा ९३ जनाले ज्यान गुमाएको समाचार टेलिभिजनबाट प्रसारण भएपछि विस्तृत कुराहरू थाहा पाइयो। घरबेटीका छोरा नरेन्द्र श्रेष्ठ नक्साल क्लबसँग आबद्ध थिए। उनी अलि पछि चोटपटक लागेकै अवस्थामा आफ्नो घर अर्थात् हामी भाडामा बसेको घरभित्र छिर्दै गर्दा साहुजीको दम्पती आत्तिनु स्वाभाविकै थियो। घाउ सफा गरेर प्राथमिक उपचारपछि पनि नरेन्द्र हतोत्साहित अवस्थामा नै देखिन्थे। हामी टेलिभिजन सेटको अगाडि बसेर ध्यानपूर्वक समाचार हेरिरहेका थियौँ।
करिब पाँच मिनेटको आँधीले ९३ जनाको ज्यान क्षणभरमै लियो। डेढ सयभन्दा बढी घाइतेहरू उपचारार्थ वीर अस्पतालमा भर्ना भए। रंगशालाका चारैतिरका ढोका खुला गरिएन जुन साङ्लाले बाँधेर खिया लागेको ताल्चा खोल्न कठिनाइ भएका कारण पनि मान्छेहरू बाहिर निस्किएर बाँच्न पाएनन्। सुरक्षित र फराकिलो भर्याङ नभएका कारण पनि त्यसो भएको थियो। नेपालकै पहिलो घटना थियो त्यो हावाहुरीका कारण भागदौड मच्चिएर त्यति ठुलो संख्यामा मान्छेको मृत्यु हुनु। त्यसका पछाडि मापदण्ड अनुसारको पूर्वाधार नभएको वा भौतिक संरचना नमिलेको भन्न सकिन्छ। आपत्कालीन अवस्थामा ढोका आफै खुल्ने बनाइएको भए त्यति धेरैको ज्यान जाने थिएन।
घटनापछि सम्बन्धित मन्त्रालयका मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपरेको थियो। मन्त्रीको त्यो कदमको सबैले सराहना गरेका पनि थिए। किनकि नेपालमा नैतिकताका आधारमा मन्त्री पदबाट हत्तपत्त राजीनामा दिने गरेको पाइँदैन। लाज पचाएर कुर्सीमा टाँसिइरहने बानी परेको छ हाम्रा नेताहरूलाई।
कहिलेकाहीँ पानी र बतास सँगसँगै चल्दा मैले २०४४ फागुन २९ को सहिदगेटदेखि नक्सालसम्मको त्यो भयावह घटना सम्झिन्छु र हाम्रो हस्याङफस्याङको त्यो कुदाइ सम्झिन्छु। किनकि त्यो दिन हाम्रो सातो लैजाने र रंगशालामा ठुलो संख्यामा मानवीय क्षति पुग्ने अनि सयौँ घाइते हुने किसिमले प्राकृतिक विपत्ति भएको दिन थियो। हामी सहिदगेट पुग्नुभन्दा आधा घण्टाअघि रंगशाला प्रवेश गरेको भए त्यहाँ हाम्रो के अवस्था हुन्थ्यो? अहिले कल्पना गर्न पनि सकिँदैन। कोठाबाट रंगशाला जानका लागि ढिला निस्किएकाले पनि हामी भाग्यवश बाँच्न पुग्यौँ।