२०४१ सालको कुरा हो, नेपाल सरकारको पूर्ण स्वामित्व भएको वीरगंज चिनी कारखाना लिमिटेडले दरखास्त आह्वान गरेको तेस्रो तह क्लर्क पदका लागि मैले फाराम भरेर केही महिनापछि भएको लिखित परीक्षामा उत्तीर्ण भएँ, अरू चार जना परीक्षार्थी उम्मेदवारहरू सँगै। त्यसपछि अन्तर्वार्ता अर्थात् मौखिक परीक्षाका लागि वीरगंज जाँदै गर्दा भारी बर्सादका कारण बाटो अवरुद्ध भएपछि मनस्थिति बिग्रने अवस्था थियो अनि चिन्ताले छाएको थियो।
साउनको महिना, दिवा बसमा वीरगंजतर्फ जाँदै गर्दा भारी वर्षाका कारण मलेखु खोलाको मोटरेबल पक्की पुल भत्काएपछि वारिका गाडीहरू वारि र पारिका गाडीहरू पारि रहने बाहेक अरू उपाय थिएन। जाममा फसेका तमाम सवारी साधनका चालक, सहचालक अनि अलपत्र यात्रुहरूको हताश मनस्थिति देखेपछि अब के हुने हो भन्ने अवस्था थियो भत्किएको पुलको आसपासमा।
पुल भएको स्थानभन्दा अलिक माथितिर रबर बोट वारपार भइरहेको देखपछि र त्यसकै सहारामा मानिसहरू खोला वारपार गरिरहेको देखिएपछि साथी भुपेन्द्र पौडेल र म त्यतातिर कुद्यौँ। सो रबर बोटबाट खोला पार गर्न हामीले दश-दश रुपियाँ दियौँ। पुलको वारिपट्टि जस्तै पारिपट्टि बाटोमा पनि रोकिएका गाडीहरूको ताँती देखिन्थ्यो। त्यसपछि हामी वीरगंज जाने बस पत्ता लगाएर त्यसमा चढ्यौँ। मैले आफ्नो जन्मथलो रोल्पाको खुंग्री छोडेर काठमाडौँ टेकेपछि काठमाडौँ उपत्यका छोडेको पहिलो पटक थियो त्यो समय। काठमाडौँ बाहिर निस्कँदाका आनन्द अर्कै महसुस भएको थियो।
काठमाडौँको गन्जागोल र उकुसमुकुसबाट मुक्ति पाउन बेलाबेलामा उपत्यका छोड्नुपर्ने रहेछ भन्ने अनुभूति पनि भयो। ठाउँ-ठाउँमा पहिरो गएको दृश्यले वर्षा याममा भ्रमण गर्न त्यति ठिक छैन जस्तो पनि लागिरहेको थियो। मुगलिन पार गरिसकेको केही समयमै नारायणघाट पुगेपछि त्यहाँ बस रोकियो र दिउँसोको चिया-खाजा खायौँ। चिया-खाजा खाने होटेल बाहिरतिर हेर्दा सफा-सुग्घर देखिए पनि शौचालय अत्यन्तै फोहोर थियो। होटेलवाला र स्टाफ चिटिक्क परेका देखिन्थे तर शौचालय सफा गर्ने चलन रहेनछ। त्यस्तो अवस्था त्यहाँ मात्र होइन अरू होटेलहरूमा पनि देखिन्थ्यो। अहिले झैँ सरसफाइप्रति सचेत थिएनन् मानिसहरू। अहिले झैँ रेस्टुरेन्ट वा क्याफे वा फास्टफुड जस्ता शब्द प्रयोग हुने गरेको थिएन साइनबोर्डहरूमा। अहिले थकाली, नेवारी र अन्य अन्य शब्दहरू जोडेर पनि रेस्टुरेन्ट, क्याफे वा फास्टफुड खुलेका देखिन्छन्।
मकवानपुरको मनोहरी खोला पूर्वी राप्ती नदीमा मिसिँदो रहेछ भन्ने कुरा थाहा भयो। आफू साबिक राप्ती अञ्चलमा जन्मिएको र हुर्केको अनि माध्यमिक तह त्यहीँ अध्ययन गरेका कारण मलाई राप्ती नदी हाम्रोतिर मात्र छ भन्ने लागेको थियो। तर यता पनि राप्ती नदी रहेछ भन्ने पहिलो पटक जानकारी पाएँ। विद्यालय पढ्दा मलाई पूर्वी राप्तीका बारेमा जानकारी थिएन। हेटौँडा बजार सानै थियो अहिले झैँ ठुलो थिएन। बसले कर्रा खोलाको पुल पार गरिसकेपछि पथलैया आउनुअघि एक ठाउँमा बाटो स्लोप भएका कारण बस ओर्लिदा बित्तिकै तत्काल छोटो उकालो चढ्नुपर्ने हुँदा मुटु नै सिरिङ्ग भएको थियो।
बाराको पथलैया, सिमरा, जीतपुर, परवानिपुर हुँदै बस गुडिरहँदा पर्साको पिपरामा रहेको कृषि औजार कारखानाको साइनबोर्ड देखेँ। त्यसपछि वीरगंज चिनी कारखानाको साइनबोर्ड पनि देखियो र कारखानाको आवास क्षेत्रको गेटनिर ओर्लिएँ। कृषि औजार कारखानाको काठमाडौँ डिपो कार्यालय पुतलीसडकस्थित हाम्रो कार्यालय रहेको भवनको मुनिको तलामा थियो। त्यहाँबाट काठमाडौँमा कृषि औजारहरू बिक्री हुने गर्दथ्यो। यो त भयो काठमाडौँबाट दक्षिणतर्फको यात्राको संस्मरण।
अब लागौँ काठमाडौँ उत्तरतर्फको भ्रमणको प्रसङ्गतिर। २०५६ माघमा लोक सेवा परीक्षाको दोस्रो चरण अन्तर्वार्तामा सफल भएपछि आयोगले पाँच जनाको नियुक्तिका लागि सिफारिस पत्रहरू मलाई दिएको थियो र मैले सो सिफारिस पत्र लिएर ललितपुरको भनिमण्डलस्थित तत्कालीन मध्यमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयमा गएँ नियुक्ति पत्र लिनका लागि। म त्यहाँ पुग्नुअघि नियुक्तिका लागि अरू चार जना साथीहरू पुगिसक्नु भएको र मैले बोकेर लगेका सिफारिस पत्र कुरेर बस्नुभएको थियो। सिफारिसको बोधार्थ पत्र निर्देशनालयमा पुगिसकेका कारण नियुक्ति पत्र बन्दै गरेको रहेछ अरू साथीहरूका लागि। कसैले धादिङ, कसैले नुवाकोट, कसैले सिन्धुपाल्चोक रोजेपछि म ढिला पुग्नाले रसुवाको लागि नियुक्ति लिनै पर्ने भयो। अरू उपाय थिएन।
त्यति बेला रसुवा निकै दुर्गम जिल्ला भनेर चिनिन्थ्यो। तत्कालीन शाखा अधिकृत केदारबहादुर बोगटीको हस्ताक्षरमा नियुक्ति पत्र लिएँ अरूले झैँ। संस्थान सेवाबाट सम्बन्ध तोडेर निजामती सेवामा हाम फाल्नु मेरा लागि सौभाग्यको कुरा थियो। किनकि २०४६ पछि विशेष गरी २०४८ सालमा बनेको सरकारपछि नेपालमा रहेका सरकारी उद्योगहरू राजनीतिक हस्तक्षेपका कारण धराशायी हुने क्रम चल्दैथ्यो। त्यसमा म कार्यरत वीरगंज चिनी कारखाना लिमिटेड पनि अछुतो रहेन। कारखाना डुब्दै गएपछि सरकारी बैंकबाट ऋण लिएर उखु कृषकहरूलाई उखु खरिद बापतको रकम भुक्तानी गर्ने र मजदुर-कर्मचारीहरूलाई तलब खुवाउनुपर्ने अवस्था आएपछि म निकै हताश भएको थिएँ। भाग्यवश लोक सेवाका दुई चरणका परीक्षा उत्तीर्ण गरेपछि ठुलो राहत महसुस भएको थियो।
संस्थान सेवाको भन्दा एक श्रेणी माथिको पद भए पनि तलब सुविधा भने करिब आधामा चित्त बुझाउनुपर्ने भयो। साधारण नै भए पनि जीवनशैली परिवर्तन गर्नुपर्ने अवस्था आयो मेरो परिवारमा। कारखानाबाट मासिक चार हजार दुई सय बुझिरहँदा यता निजामतीतर्फ दुई हजार सात सयमा चित्त बुझाउनुपर्ने अवस्था आयो। संस्थान सेवाको जागिर अनिश्चित भएको र निजामती तर्फको जागिर निश्चित भएका कारण यसैलाई आधार मानेर मैले चित्त बुझाउनुपरेको थियो।
नियुक्ति लिएकै दिन भोलिपल्ट रसुवा यात्राका लागि बसपार्कमा गएर बिहानको बसको टिकट लिएँ। रसुवामा निकै चिसो छ भन्ने जानकारी साथीहरूले गराएका कारण एउटा सिरक र बाक्लो खालको ज्याकेट किनेँ। अर्को दिन बिहान बसपार्क पुगेँ र रसुवाका लागि प्रस्थान गरेँ। बालाजुको बाइपास भएर नागार्जुन-गोलढुंगा-जितपुरफेदी हुँदै नुवाकोटको ओखरपौवा पुग्यौँ। त्यसपछि ककनी पुग्दा प्रकृतिसँग रमाऊँ रमाऊँ झैँ लागेको थियो। त्यहाँ उकालो बाटो, हरियाली वन-पाखा लगायतका दृश्यहरू देखेपछि अलाई आनन्द लागेको थियो। त्यहाँ राजमार्गको छेउछाउ सामान्य खालका चिया र खाजा पसल देखिन्थे। अहिले जस्तो सुविधायुक्त रिसोर्ट तथा रेस्टुरेन्ट देखिन्थेन त्यहाँ।
बसले रानीपौवा, पैँतीस किलो कटेपछि तादी खोला पुल पार गर्यो। बट्टार आउँदा त्यहाँको फाँट रातो माटोले सजिएको जस्तो देखिन्थ्यो। त्यो स्थान मेरो जन्मथलो रोल्पाको खुंग्रीसँग मिल्दोजुल्दो भएका कारण मलाई जन्मथलोको याद आउनु स्वाभाविकै थियो। नुवाकोटको विदुर नगरपालिका क्षेत्र छिचोल्दै हामी चढेको बस त्रिशूली हुँदै उत्तरतर्फ लाग्यो। त्रिशूली जलविद्युत आयोजनाको नाम उहिल्यै सुनेकोमा प्रत्यक्ष देख्न पाइयो। ढुंगेबजारमा पुगेर खाना खाएर यात्रुहरू बसमा चढे। उत्तरगयासम्म जाँदा बाटोका दायाँ पर्ने खेतका फाँटहरू देख्दा पनि आफ्नै गाउँको सेरा, देउखुरी र गोधुङ खेतको फाँटको झल्को दिन्थ्यो मलाई। काठमाडौँदेखि रसुवाको सदरमुकाम धुन्चेसम्मको पहिलो भ्रमण थियो मेरो। पासाङलाम्हु राजमार्गको दूरी ६५ किलोमिटर अर्थात् ४० माइल मात्र भए पनि घुम्ती र उकालो भएका कारण काठमाडौँदेखि रसुवाको यात्रा लामो र टाढा मानिएको थियो।
म कार्यरत रसुवाको जिल्ला सिँचाइ कार्यालय परिसर छेउको बारीमा गहुँको जस्तै तर सानो बोट भएको देखपछि मैले एकजनालाई सोध्दा सो बोट उवा नामको अनाजको भएको जानकारी पाएँ। कार्यालयको प्रांगणमा मिस्त्रीहरू ग्याब्बियन जाली बुन्दै थिए। चैत महिनामा पनि जाडो हुने स्थान हो रसुवा। दुई महिने जागिरको अवधिमा सार्वजनिक बिदाका दिन म पहिलो पटक गोसाइँकुण्ड तीर्थयात्रा गएको थिएँ दुई जना सहकर्मी साथीहरूसँग। चन्दनबारी, चिज उद्योग, लौरीविनायक हुँदै गोसाइँकुण्ड पुगेपछि टाउको हल्का दुख्यो र ज्वरो आउने जस्तो भएको थियो। गोसाइँकुण्ड छेउको एक होटेलमा एक कप चियाको साठी रुपियाँ तिर्नुपरेको थियो।
उन्नाइस वर्षको उमेरदेखि खाली बस्नुपरेको छैन
२०४० सालको एसएलसी परीक्षा उत्तीर्ण भएको एक महिनापछि काठमाडौँ प्रवेश गरियो भने त्यसको एक महिनापछि संस्थान सेवाको जागिर पाइयो। सोह्र वर्षपछि संस्थान सेवापश्चात् निजामती सेवामा प्रवेश गरेर विभिन्न छ वटा मन्त्रालय वा अन्तर्गतका निकायहरूमा रहेर सरकारी सेवा गरी २०७९ असार २३ देखि लागू हुने गरी निजामती सेवाबाट अनिवार्य अवकाश लिएँ। अवकाशपछि झन् तीन खण्डी बढी व्यस्त हुनुपरेको छ। यसरी अवकाशपछि धेरै व्यस्त हुनेमा सायद म नै हुँ कि जस्तो लाग्छ।
दुई दर्जनभन्दा बढी सञ्चार माध्यमहरूबाट लेख-रचनाहरू निरन्तर प्रकाशन भइरहँदा मलाई वृद्धावस्थामा प्रवेश गरेको महसुस भएको छैन। साहित्य साधना पनि एक प्रकारको ध्यान अर्थात् मेडिटेसन नै हो जस्तो लाग्छ। साहित्य-लेखनका काममा व्यस्त रहँदा आफूलाई मन पर्ने कर्णप्रिय गीतहरू मधुरो स्वरमा बजाउँदै र किबोर्डमा औँलाहरू नचाउँदै गर्दा आफूलाई आनन्द महसुस हुन्छ। आनन्द प्राप्तिका लागि मलाई अन्त कतै जानु पर्दैन। ६२ वर्षीय युवा भनेर मेरो बारेमा एउटा समाचार पनि प्रकाशन भइसकेको छ।
अधिकार रक्षाका लागि गोजीमा ज्येष्ठ नागरिक परिचयपत्र भने बोक्ने गरेको छु दुई वर्षअघिदेखि। सार्वजनिक सवारीका साधनमा भाडा सहुलियतका लागि सहचालकलाई सो परिचयपत्र देखाउँदा ‘केको कार्ड हो?’ भनेर सोध्छन् र मेरो अनुहारमा एक टकले हेर्छन् पनि। सार्वजनिक सवारी साधनमा यात्रा गर्दा परिचयपत्र देखाउँदा झर्किने सहचालकहरू पनि नभएका होइनन्। पैसालाई नै ठुलो ठान्नेहरूले धर्म के हो थाहा पाउँदैनन् पनि।