हाम्रो समाजमा गृहिणीको कामलाई अझै पनि ‘सामान्य जिम्मेवारी’ भनेर मात्र लिने गरिन्छ। तर यदि एउटै गृहिणीले दिनभरि गर्ने कामलाई छुट्टाछुट्टै व्यक्तिमा बाँडेर हेर्ने हो भने त्यसको वास्तविक मूल्य कति हुन्छ भन्ने कुरा स्पष्ट रूपमा देखिन्छ। यो केवल एक उदाहरण मात्र नभई हाम्रो दैनिक जीवनको यथार्थ चित्र पनि हो, जसले हामीलाई सोच्न बाध्य बनाउँछ र हाम्रो मूल्यांकनको तरिका कति एकपक्षीय छ भन्ने कुरा उजागर गर्छ।
कल्पना गरौँ, एउटा सामान्य परिवार छ। घरमा श्रीमान् बाहिर जागिरमा जानुहुन्छ र उहाँको कमाइ पाँचौँ तह (सुब्बा सरह) मा काम गरेर महिनाको ३४ हजार ७३० रुपैयाँ कमाउनुहुन्छ। उहाँकी श्रीमती गृहिणी हुनुहुन्छ। उहाँ घरमै बसेर परिवारको सम्पूर्ण जिम्मेवारी सम्हालिरहेको हुनुहुन्छ।
अब यदि श्रीमतीले गर्ने सबै कामका लागि अलग–अलग मानिस राख्ने हो भने खर्च कति होला?
यो प्रश्नले नै गृहिणीको वास्तविक मूल्यलाई उजागर गर्छ र हाम्रो सोचलाई प्रश्न गर्छ।
सबैभन्दा पहिले, घरको सरसफाइका लागि झाडु–पोछा गर्ने व्यक्ति राख्नुपर्छ, जसका लागि करिब ८००० रुपैयाँ महिना तिर्नुपर्छ। त्यसपछि खाना पकाउने कुक राख्दा थप १२ हजार रुपैयाँ खर्च हुन्छ। साना बच्चाहरूको हेरचाहका लागि न्यानी राख्दा १० हजार रुपैयाँ जति लाग्छ। बच्चाको पढाइ, टिफिन तयारी र दैनिक शैक्षिक ध्यानका लागि कम्तीमा ५००० रुपैयाँ खर्च हुन्छ। यी सबै कामहरू केवल काम मात्र होइनन्, निरन्तर धैर्यता, समय र जिम्मेवारी माग्ने महत्त्वपूर्ण दायित्वहरू हुन्।
यदि घरमा बुढा बाआमा छन् भने, उनीहरूको हेरचाहका लागि थप ७००० रुपैयाँ जति आवश्यक पर्छ। घरबारीको काम, तरकारी उत्पादन वा साना कृषिजन्य कामका लागि करिब ५००० रुपैयाँ खर्च हुन्छ। साथै, पाहुना सत्कार, सामाजिक जिम्मेवारी र घरको व्यवस्थापनका लागि पनि कम्तीमा ३००० रुपैयाँ बराबरको श्रम आवश्यक पर्छ। यी सबै जिम्मेवारीहरू एउटै व्यक्तिले सम्हाल्नु सजिलो मात्र होइन, अत्यन्तै चुनौतीपूर्ण कार्य हो, जसमा कुनै विश्राम वा निश्चित समय हुँदैन।
यी सबैलाई जोड्दा: सरसफाइ: रु. 8,०००
खाना पकाउने: रु. १२,०००
बच्चा हेरचाह: रु. १०,०००
पढाइ र टिफिन: रु. ५,०००
बुढा बाआमाको हेरचाह: रु. ७,०००
घरबारी/तरकारी: रु. ५,०००
पाहुना सत्कार: रु. क३,०००
कुल जम्मा: रु. ५०,००० प्रति महिना।
यो तथ्याङ्क केवल संख्या होइन, यो एउटा संकेत हो जसले देखाउँछ कि गृहिणीको श्रमको आर्थिक मूल्य कति ठुलो हुन्छ भन्ने कुरा हामीले अझैसम्म पूर्ण रूपमा बुझ्न सकेका छैनौँ।
अब सोच्नुहोस्— एउटी गृहिणीले यही सबै काम एक्लैले, बिना तलब, बिना बिदा, बिना समयसीमा दिनहुँ गरिरहेकी हुन्छिन्। बिहानदेखि बेलुकासम्म मात्र होइन, धेरै पटक राति पनि उनी जिम्मेवारीमा नै हुन्छिन्। बिरामी हुँदा पनि काम रोकिँदैन, थकान हुँदा पनि विश्रामको सुविधा हुँदैन। यदि यी सबै कामका लागि मानिस राख्ने हो भने परिवारले महिनामा ५० हजारभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ। यसले स्पष्ट देखाउँछ कि गृहिणीको योगदान केवल आर्थिक होइन, अत्यन्त गहिरो र बहुआयामिक छ।
यस उदाहरणले के स्पष्ट पार्छ भने, गृहिणीले गर्ने काम कुनै सानो कुरा होइन। उनी केवल ‘घरमा बस्ने’ होइनन् बरु एकैसाथ सरसफाइकर्मी, कुक, शिक्षक, नर्स, कृषक र व्यवस्थापकको भूमिका निभाइरहेकी हुन्छिन्। उनी घरको आधारस्तम्भ हुन् जसले सम्पूर्ण परिवारलाई एकजुट, व्यवस्थित र स्थिर बनाइरहेकी हुन्छिन्।
तर यति ठुलो योगदान दिँदा पनि प्रश्न उठ्छ—
किन गृहिणीले सम्मान र इज्जत कम पाउँछन्?
किन उनको श्रमलाई सामान्य ठानिन्छ?
किन उनको भूमिका समाजमा देखिँदैन?
किन उनको थकानलाई कसैले महसुस गर्दैन?
वास्तवमा समस्या उनीमा होइन, हाम्रो सोचमा छ। हामी देखिने आम्दानीलाई मात्र मूल्य दिन्छौँ तर अदृश्य श्रमलाई बेवास्ता गर्छौँ। हामीले मूल्यांकन गर्ने दृष्टिकोण नै अपूर्ण छ र त्यही कारणले समाजमा असन्तुलन देखिन्छ। समय आएको छ, यो सोच परिवर्तन गर्ने। गृहिणीको कामलाई केवल जिम्मेवारी होइन, अत्यन्त महत्त्वपूर्ण सामाजिक योगदानको रूपमा हेर्नुपर्छ।
यदि पैसाले मात्र मूल्यांकन गर्ने हो भने पनि गृहिणीको काम ५० हजारभन्दा बढीको हुन्छ। तर वास्तविकता अझ ठुलो छ— किनभने उनले दिने माया, त्याग, धैर्यता र समर्पण कुनै पैसाले किन्न सकिँदैन। उनको भूमिका केवल आर्थिक मात्र होइन, भावनात्मक र सामाजिक रूपमा पनि अत्यन्त महत्त्वपूर्ण छ, जसले परिवारलाई जीवन्त र स्थिर राख्छ।
त्यसैले, अब हामी सबैले गृहिणीको योगदानलाई केवल देखिने कामको रूपमा होइन, जीवनको आधारको रूपमा बुझ्न र सम्मान गर्न सिक्नुपर्छ।