प्राविधिक रूपमा भन्नुपर्दा, खर्क भन्नाले प्राकृतिक रूपमा फैलिएका विशाल घाँसे मैदान, सामुदायिक चरन क्षेत्र तथा विभिन्न किसिमका झाडी र बुट्यानयुक्त वनस्पति पाइने उच्च र मध्य पहाडी भूमि बुझिन्छ।
यहाँ उपलब्ध हुने पौष्टिक घाँस र जडीबुटीहरू नै नेपालको रैथाने पशुपालनको मुख्य आधार हुन्। नेपालको भौगोलिक बनावट अनुसार हिमाली, पहाडी र चुरे क्षेत्रको ठुलो भू-भाग खर्कहरूले ओगटेका छन्। यी खर्कहरू पशु चराउने खुल्ला प्राकृतिक भूमि मात्र नभएर जटिल र बहुआयामिक पारिस्थितिक प्रणाली हुन्। यसले जैविक विविधताको संरक्षण, बहुमूल्य जडीबुटीको भण्डारण, जलस्रोतको मुहान संरक्षण र ग्रामीण अर्थतन्त्रको जगलाई प्रत्यक्ष रूपमा डोर्याइरहेको हुन्छ।
परम्परागत रूपमा हेर्ने हो भने, नेपालको उच्च हिमाली भेगमा हुने याक र चौँरीपालनदेखि पहाडी क्षेत्रका भेडाच्यांग्रा र गाईवस्तु पालनसम्मको चक्र यिनै खर्कहरूमा आश्रित छ। यी क्षेत्रहरू घाँसका स्रोत मात्र नभई नेपाली मौलिक पहिचान बोकेका उत्पादनहरू जस्तै, ऊन, छुर्पी, घिउ, पस्मिना र अर्गानिक दुग्धजन्य पदार्थको सम्पूर्ण मूल्य शृंखलाका मुख्य केन्द्र हुन्। उचित व्यवस्थापन हुन सकेमा यी खर्कहरूले एकातिर पारिस्थितिकीय सन्तुलन कायम राख्छन् भने अर्कोतिर आयातित दानामा निर्भरता घटाउँदै स्थानीय स्तरमा रोजगारी र आयआर्जनको बलियो स्रोत खडा गर्छन् । त्यसैले, खर्कलाई नेपालको ग्रामीण जीवनस्तर सुधार र राष्ट्रिय आर्थिक संरचनाको एउटा महत्वपूर्ण मेरूदण्डका रूपमा स्वीकार गर्न सकिन्छ।
खर्कको राष्ट्रिय तथा पारिस्थितिक महत्व
नेपाल सरकारद्वारा जारी खर्क नीति, २०६८ ले खर्कलाई प्राकृतिक चरन क्षेत्र, खुल्ला घाँसे मैदान तथा विभिन्न किसिमका झाडी र बुट्यानले भरिएको क्षेत्रका रूपमा परिभाषित गरेको छ। तथ्यांकीय दृष्टिले हेर्दा, नेपालको कुल भू-भागको करिब २२.६ प्रतिशत हिस्सा (झन्डै ३३ लाख हेक्टर) खर्क क्षेत्रले ओगटेको छ। यसको ठुलो हिस्सा उच्च हिमाली भेगमा केन्द्रित भए तापनि मध्य पहाड र चुरे क्षेत्रमा पनि यसको उपस्थिति महत्वपूर्ण छ। खर्कहरू पशुपालनका लागि घाँस आपूर्ति गर्ने थलो मात्र होइनन्, यिनले विश्वव्यापी वातावरणीय सन्तुलनमा समेत अहंम भूमिका खेल्छन्।
खर्कहरूले ठुलो मात्रामा कार्बन सञ्चितीकरण गरी जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत गर्छन्। साथै, पहाडी भेगमा वर्षाको पानी जमिनमुनि सोस्न र जलस्रोत पुनर्भरणमा सहयोग पुर्याई तल्लो तटीय क्षेत्रका मुहानहरूलाई जीवन्त राख्छन्। माटोको क्षय नियन्त्रण गर्ने र दुर्लभ वन्यजन्तु तथा वनस्पतिको सुरक्षित बासस्थान प्रदान गर्ने भएकाले खर्कलाई मानव र प्रकृतिबीचको सन्तुलन कायम राख्ने एक गतिशील पारिस्थितिक प्रणाली मानिन्छ।
यति धेरै महत्व हुँदाहुँदै पनि हाल नेपालका खर्क क्षेत्रहरू विविध जटिल समस्याबाट गुज्रिरहेका छन्, जसले यसको उत्पादन क्षमता र दिगोपनमा गम्भीर प्रश्न खडा गरेको छ। पहिलो र प्रमुख समस्या अव्यवस्थित चरिचरण हो। खर्कको क्षमताभन्दा बढी पशु संख्या हुनाले घाँसे मैदानहरू अत्यधिक दोहनमा परेका छन्, जसले गर्दा पुनरुत्पादन प्रक्रिया कमजोर बनेको छ। दोस्रो, वन डढेलो र जलवायु परिवर्तनका कारण खर्कको प्राकृतिक चक्र खल्बलिन पुगेको छ। बढ्दो तापक्रम र अनिश्चित वर्षाले गर्दा पोसिला घाँसका प्रजातिहरू लोप हुँदै जाने र वनस्पतिको वृद्धि विकास रोकिने क्रम बढेको छ।
यसैगरी, मिचाहा प्रजातिको विस्तार अर्को डरलाग्दो चुनौती बनेको छ। स्थानीय र पौष्टिक घाँसलाई विस्थापित गर्दै काम नलाग्ने झाडीहरू फैलिँदा खर्कको गुणस्तर दिनानुदिन खस्कँदो छ। व्यवस्थापकीय पक्षलाई हेर्दा, वन विभाग, राष्ट्रिय निकुञ्ज, स्थानीय तह र सरोकारवाला निकायहरूबीच स्पष्ट कार्यक्षेत्र र समन्वयको अभाव देखिन्छ, जसले गर्दा खर्कहरू अभिभावकविहीन जस्तै बनेका छन्।
अन्ततः, पुस्तौँदेखि चल्दै आएका घुम्ती गोठ र मौसमी चरन जस्ता रैथाने प्रणालीहरू नयाँ पुस्ताको अनिच्छा र श्रमशक्तिको अभावका कारण संकटमा पर्दै गएका छन्। यसले खर्कको परम्परागत संरक्षण र दिगो उपयोगको कडीलाई कमजोर बनाउँदै लगेको छ ।
हिमाली अर्थतन्त्रको मेरूदण्ड
नेपालको हिमाली अर्थतन्त्रको जग नै खर्क प्रणालीमा अडिएको छ। यसले पशुपालन मात्र नभई बहुमूल्य जडीबुटी संकलन, ऊन तथा पस्मिना उद्योग र अर्गानिक कृषिका माध्यमबाट ग्रामीण जीविकोपार्जनलाई सुदृढ बनाएको छ। भौगोलिक रूपमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, सोलुखुम्बु र ताप्लेजुङजस्ता उच्च हिमाली जिल्लाहरू खर्क आधारित अर्थतन्त्रका प्रमुख केन्द्र हुन्। यी क्षेत्रमा व्यावसायिक रूपमा पालिने याक, चौँरी, भेडा र च्यांग्राले स्थानीयको आयआर्जनमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत विशिष्ट योगदान दिन्छन्।
यहाँबाट प्राप्त हुने उच्च गुणस्तरको पस्मिना, ऊन, छुर्पी र अर्गानिक मासुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनसकेमा यसले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन दुवैमा ठुलो टेवा पुर्याउने देखिन्छ। खर्क नीति, २०६८ ले खर्कलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्दै यसको उत्पादकत्व वृद्धि र जैविक विविधताको संरक्षणलाई मुख्य लक्ष्य बनाएको छ। यस नीतिले स्थानीय समुदायलाई अधिकारसहितको जिम्मेवारी दिने ‘समुदायमा आधारित व्यवस्थापनको परिकल्पना गरेको छ, जसले पर्यटन प्रवर्द्धन र वातावरणीय सन्तुलनलाई सँगसँगै लैजान खोज्छ।
यसै सन्दर्भमा फोडर बैंकको अवधारणा अत्यन्त सान्दर्भिक छ। यसअन्तर्गत पोसिलो घाँस, साइलेज र मिनिरल ब्लक जस्ता पशु आहारलाई वैज्ञानिक ढंगले संकलन र भण्डारण गरिन्छ। यसो गर्दा हिउँदको कठोर मौसम वा प्राकृतिक विपत्तिका बेला पशुधनलाई भोकमरीबाट जोगाउन सकिन्छ, यद्यपि नेपालमा यसको व्यावहारिक कार्यान्वयन अझै पनि प्रारम्भिक चरणमै छ।
खर्कको उत्पादनलाई विश्व बजारसँग जोड्न फार्म टु फेसन को अवधारणा लागू गर्न ढिला भइसकेको छ। यदि खर्कमा उत्पादित ऊन र पस्मिनालाई स्थानीय स्तरमै प्रशोधन गरी उच्च मूल्यका तयारी पोसाकहरू उत्पादन गर्न सकिएमा यसले ग्रामीण क्षेत्रमा ठुलो संख्यामा रोजगारी सिर्जना गर्नेछ। यसका साथै, पशु पोषण अडिट अर्को एक वैज्ञानिक आवश्यकता हो। यसले खर्कमा पाइने विभिन्न प्रकारका घाँसहरूको पोषणस्तर परीक्षण गरी कुन पशुका लागि कुन समयमा कस्तो आहार आवश्यक पर्छ भन्ने कुराको वैज्ञानिक मार्गदर्शन गर्छ। यस्तो व्यवस्थित र वैज्ञानिक पहुँचले हिमाली अर्थतन्त्रलाई परम्परागत अवस्थाबाट आधुनिक र व्यावसायिक दिशामा रूपान्तरण गर्दै दिगो आर्थिक समृद्धिको ढोका खोल्न सक्छ।
पशु पोषण अडिट (Livestock Nutrition Audit) पनि खर्क व्यवस्थापनको आधुनिक तथा वैज्ञानिक पक्ष हो। खर्कमा पाइने विभिन्न घाँस तथा वनस्पतिको पोषण विश्लेषण गरी पशुको आवश्यकता र उपलब्ध पोषणबीचको अन्तर (Nutrient Gap) पहिचान गर्न सकिन्छ। यसका आधारमा आवश्यक पूरक आहार, मिनरल मिश्रण तथा व्यवस्थापन सुधारका उपायहरू सिफारिस गर्न सकिन्छ। पोषण अडिटले उत्पादन लागत घटाउने, उत्पादकत्व बढाउने तथा खर्क स्रोतको अधिकतम उपयोग गर्न सहयोग पुर्याउँछ।
अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्नुपर्ने पाठ
खर्क व्यवस्थापनलाई दिगो र वैज्ञानिक बनाउन विश्वका धेरै देशहरूले सफल प्रयोगहरू गरेका छन्, जसबाट नेपालले आफ्नो भौगोलिक र सामाजिक परिवेश सुहाउँदो मोडल तयार गर्न सक्छ। यस सन्दर्भमा जोर्डनको अनुभव निकै प्रेरणादायी छ। जोर्डनले आफ्नो प्राचीन र परम्परागत हिमा प्रणालीलाई पुनर्जीवित गर्दै आधुनिक वैज्ञानिक दृष्टिकोणसँग जोडेको छ।
यो प्रणालीमा घुम्ती चरनलाई अनिवार्य बनाइएको छ, जसले चरन क्षेत्रलाई निश्चित समयसम्म विश्राम दिई प्राकृतिक रूपमा घाँस पलाउन मद्दत गर्छ। यसका साथै, जोर्डनले स्थानीय समुदायलाई नै व्यवस्थापनको पूर्ण अधिकार सुम्पेको छ र खर्कको अनुगमनका लागि भौगोलिक सूचना प्रणाली जस्ता आधुनिक प्रविधिको प्रयोग गरेको छ। यसले गर्दा त्यहाँ घाँसको उत्पादनमा वृद्धि हुनुका साथै जैविक विविधता संरक्षण र भू-क्षय नियन्त्रणमा समेत ठुलो सफलता मिलेको छ।
त्यसैगरी, हाम्रो छिमेकी मुलुक भुटानको अभ्यास पनि नेपालका लागि उत्तिकै सान्दर्भिक छ। भुटानले परम्परागत चरन क्षेत्र वा खर्क सामुदायिक संरक्षण र न्यायोचित बाँडफाँट मोडलमार्फत खर्क व्यवस्थापनमा एउटा उदाहरणीय पद्धति विकास गरेको छ। यसअन्तर्गत मौसमी घुम्ती चरन, निश्चित अवधिको लिज व्यवस्था र सामुदायिक सहभागितालाई मुख्य आधार बनाइएको छ।
भुटानमा चरन क्षेत्रको न्यायोचित बाँडफाँट गर्ने, खर्कको क्षमताअनुसार पशु संख्या नियन्त्रण गर्ने र वन संरक्षणलाई उच्च प्राथमिकता दिने गरिन्छ। कुनै विवाद उत्पन्न भएमा स्थानीय परम्परागत संयन्त्र र कानुनी विधिमार्फत त्यसको समाधान गरिन्छ। भुटानी प्रणालीको सबैभन्दा सुन्दर पक्ष भनेको प्राकृतिक स्रोतमा सबैको पहुँच सुनिश्चित गर्नु हो। परम्परागत रूपमा पहुँचवाला वा धेरै पशु भएकाहरूले मात्र राम्रा खर्कहरू ओगट्ने प्रवृत्तिलाई निरुत्साहित गर्न त्यहाँ ‘सामुदायिक उपयोगिता नियम लागू गरिएको छ।
यस अन्तर्गतको पालो प्रणालीअनुसार खर्कलाई विभिन्न ब्लकहरूमा विभाजन गरिन्छ र कुन गोठले कुन समयमा कुन ब्लक प्रयोग गर्ने भन्ने कुरा पहिले नै तय गरिन्छ। यसले गर्दा कुनै पनि खर्कमाथि एउटै व्यक्तिको स्थायी कब्जा हुँदैन। गरिब वा थोरै पशु भएका किसानहरूलाई पनि खर्कको उपयोगबाट वञ्चित गरिँदैन, जसले गर्दा ग्रामीण क्षेत्रमा सामाजिक असमानता कम गर्न मद्दत पुगेको छ।
कुनै पनि खर्कको घाँस उत्पादन गर्ने एउटा निश्चित क्षमता हुन्छ। भुटानले यो प्राविधिक पक्षलाई कडाइका साथ लागू गरेको छ। कृषि तथा वन मन्त्रालयका प्राविधिकहरूले खर्कको क्षेत्रफल र त्यहाँ पाइने घाँसको उपलब्धताका आधारमा कति पशु चराउन सकिन्छ भन्ने संख्या निर्धारण गर्छन्। संख्या बढाउनुभन्दा पशुको गुणस्तर र उत्पादकत्व बढाउन किसानलाई प्रोत्साहित गरिन्छ। यसले गर्दा खर्कमा अत्यधिक चाप पर्दैन र माटोको उर्वराशक्ति कायमै रहन्छ। भुटानमा खर्कलाई वनकै एउटा अंग मानिन्छ। पशु चराउने क्रममा साना बिरुवाहरूलाई क्षति नपुगोस् भन्नका लागि निश्चित क्षेत्रहरूलाई समय-समयमा नो-ग्रेजिङ जोन (चराउन निषेध गरिएको क्षेत्र) घोषणा गरिन्छ। खर्क व्यवस्थापन गर्दा रेड पाण्डा, हिउँ चितुवा जस्ता संरक्षित वन्यजन्तुको बासस्थानलाई असर नपर्ने गरी योजना बनाइन्छ, जसले गर्दा पारिस्थितिकीय पर्यटनमा समेत सहयोग पुग्छ।
खर्कका सिमाना वा पानीका मुहान उपयोगलाई लिएर हुने विवाद समाधान गर्न भुटानले आधुनिक कानुन र परम्पराको राम्रो फ्युजन गरेको छ। अदालत जानुअघि स्थानीय ग्याल्पो (परम्परागत मुखिया) वा उपभोक्ता समितिको रोहवरमा विवाद मिलाइन्छ। यसले गर्दा कृषकहरूको समय र पैसा वचत हुन्छ। स्थानीय स्तरमा भएका निर्णयहरूलाई कानुनी मान्यता दिइन्छ, जसले गर्दा व्यवस्थापनमा समुदायको अपनत्व र विश्वास बढ्छ।
स्विट्जरल्याण्डले अल्पाइन चरन प्रणालीलाई पर्यटनसँग जोडेको छ। त्यहाँका उच्च पहाडी खर्कहरू दुग्ध उत्पादन मात्र नभई पर्यटन आकर्षणका केन्द्र पनि बनेका छन्। स्थानीय चिज, मक्खन तथा अन्य दुग्धजन्य उत्पादनलाई पर्यटन बजारसँग जोडेर किसानको आय उल्लेखनीय रूपमा वृद्धि गरिएको छ।
न्युजिल्याण्डले चरनमा आधारित पशुपालनलाई वैज्ञानिक व्यवस्थापनमार्फत विश्वस्तरीय उत्पादन प्रणालीमा रूपान्तरण गरेको छ। चरन क्षेत्रको उत्पादकत्व, पोषण गुणस्तर तथा पशु व्यवस्थापनलाई प्रविधिसँग जोडेर दुग्ध तथा मासु उत्पादनमा विश्वकै अग्रणी राष्ट्र बन्न सफल भएको छ।
यी अन्तर्राष्ट्रिय अभ्यासहरूले के प्रमाणित गरेका छन् भने खर्कलाई केवल पशु चराउने ‘खुल्ला भूमिका रूपमा मात्र छाड्नु हुँदैन। यसलाई दिगो, समावेशी र वैज्ञानिक रूपमा व्यवस्थापित प्राकृतिक स्रोतका रूपमा विकास गर्नुपर्छ। नेपालले पनि यी सफल मोडलहरूबाट सिकेर आफ्ना स्थानीय समुदायको रैथाने ज्ञान र आधुनिक प्रविधिलाई फ्युजन गरी खर्क नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ। यसो गर्नसकेमा मात्र हाम्रा खर्कहरू ग्रामीण समृद्धिको स्थायी आधार बन्न सक्छन्।
खर्कको भविष्य
निष्कर्षमा भन्नुपर्दा, खर्कहरू पशु चराउने सामान्य भूमि मात्र नभई नेपालको जल, जंगल, जमिन, जैविक विविधता, पशुपालन प्रणाली तथा ग्रामीण जनजीवनसँग अभिन्न रूपमा गाँसिएका बहुआयामिक प्राकृतिक सम्पदा हुन्। यिनले खाद्य तथा पोषण सुरक्षा, पशु आहार आपूर्ति, जलाधार संरक्षण, कार्बन सञ्चितीकरण, वन्यजन्तु तथा वनस्पतिको संरक्षण र स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर बढ्दो जनसङ्ख्या, अव्यवस्थित चरिचरण, जलवायु परिवर्तन, वन डढेलो, मिचाहा प्रजातिको विस्तार तथा श्रमशक्तिको अभावजस्ता चुनौतीका कारण खर्कहरूको उत्पादकत्व र दिगोपनमा गम्भीर असर परेको छ। त्यसैले खर्कको भविष्यलाई सुरक्षित, उत्पादनशील र वातावरणमैत्री बनाउन अब परम्परागत सोच र अभ्यासभन्दा माथि उठेर वैज्ञानिक, योजनाबद्ध र दिगो व्यवस्थापनको बाटो अवलम्बन गर्नु अपरिहार्य भइसकेको छ।
आगामी दिनमा खर्क व्यवस्थापनलाई केवल चरन भूमि व्यवस्थापनका रूपमा मात्र नभई समग्र ग्रामीण विकास, जलवायु अनुकूलन र हरित अर्थतन्त्रसँग जोडेर हेर्न आवश्यक छ। खर्कको वैज्ञानिक व्यवस्थापनले पशुधनको पोषण अवस्था सुधार गरी दूध, मासु, ऊन, पस्मिना, घिउ, छुर्पी तथा अन्य पशुजन्य उत्पादनको मात्रा र गुणस्तरमा उल्लेखनीय वृद्धि गर्न सक्छ। यसबाट पशुपालक किसानको आम्दानी बढ्नुका साथै आयातित पशु आहारमा निर्भरता घटाउन पनि सहयोग पुग्नेछ।
विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा खर्कमा आधारित पशुपालनलाई आधुनिक प्रविधि, पशु स्वास्थ्य सेवा, पोषण व्यवस्थापन तथा मूल्य शृंखलासँग जोड्न सकिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा थप योगदान पुर्याउन सक्छ। खर्कको भविष्यलाई थप उज्ज्वल बनाउन पशु पोषण अडिटको अवधारणालाई व्यवहारमा उतार्न आवश्यक छ। खर्कमा उपलब्ध घाँस तथा वनस्पतिको पोषण गुणस्तर परीक्षण गरी पशुको आवश्यकता र उपलब्ध पोषणबीचको अन्तर पहिचान गर्न सकिन्छ। यसका आधारमा उपयुक्त चरन व्यवस्थापन, पूरक आहार, मिनरल मिश्रण तथा फोडर विकास कार्यक्रम सञ्चालन गर्न सकिन्छ। यसले पशुधनको उत्पादकत्व वृद्धि गर्नुका साथै उत्पादन लागत घटाउन समेत मद्दत पुर्याउँछ।
त्यसैगरी, जलवायु परिवर्तनको बढ्दो प्रभावलाई ध्यानमा राख्दै खर्क व्यवस्थापनलाई जलवायु-उत्थानशील बनाउनु आवश्यक छ। सुख्खा तथा चिसो सहन सक्ने घाँसका प्रजातिको विकास, जल संरक्षण संरचनाको निर्माण, फोडर बैंक स्थापना तथा चरन व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोगले भविष्यका चुनौतीहरूको सामना गर्न सहयोग पुर्याउनेछ। खर्क क्षेत्रले कार्बन सञ्चितीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले भविष्यमा कार्बन क्रेडिट तथा वातावरणीय सेवा भुक्तानी जस्ता अवधारणाबाट समेत स्थानीय समुदायले आर्थिक लाभ लिन सक्ने सम्भावना छ। पर्यटन विकासको दृष्टिकोणबाट पनि खर्कहरूको भविष्य अत्यन्त सम्भावनायुक्त छ।
हिमाली तथा उच्च पहाडी क्षेत्रका खर्कहरू प्राकृतिक सौन्दर्य, जैविक विविधता, स्थानीय संस्कृति र परम्परागत पशुपालन प्रणालीका कारण पर्यापर्यटनका आकर्षक गन्तव्य बन्न सक्छन्। खर्कमा आधारित होमस्टे, याक तथा चौँरी फार्म अवलोकन, स्थानीय दुग्धजन्य उत्पादनको प्रवर्द्धन तथा प्रकृतिसँग जोडिएका पर्यटन गतिविधिहरूले ग्रामीण अर्थतन्त्रमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।
यदि संघीय, प्रदेश तथा स्थानीय सरकार, अनुसन्धान संस्था, निजी क्षेत्र र स्थानीय समुदायबीच प्रभावकारी समन्वय स्थापित गर्न सकियो भने नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रहरू दिगो विकासका नमुना क्षेत्रका रूपमा स्थापित हुन सक्छन्। खर्कको सही, न्यायोचित र बुद्धिमत्तापूर्ण उपयोगले नेपाललाई पशुपालनमा आत्मनिर्भर बनाउनुका साथै उच्च मूल्यका अर्गानिक तथा हिमालयन ब्रान्डका पशुजन्य उत्पादनहरू विश्व बजारमा प्रतिस्पर्धात्मक रूपमा निर्यात गर्न सक्षम बनाउनेछ। यसबाट वैदेशिक मुद्रा आर्जन, व्यापार घाटा न्यूनीकरण तथा ग्रामीण गरिबी निवारणमा महत्वपूर्ण योगदान पुग्नेछ।
अन्ततः, खर्क व्यवस्थापन आजको आवश्यकता मात्र नभई नेपालको दिगो विकास, हरित अर्थतन्त्र र समृद्ध ग्रामीण भविष्यको आधार स्तम्भ हो। हाम्रो पुर्खाले विकास गरेको परम्परागत ज्ञान, स्थानीय समुदायको अनुभव, आधुनिक विज्ञान, सूचना प्रविधि तथा प्रभावकारी नीतिगत व्यवस्थाको समन्वय नै खर्कको दीर्घकालीन संरक्षण र उपयोगको मूल आधार हो। समयमै खर्कहरूको संरक्षण, पुनर्स्थापना र वैज्ञानिक व्यवस्थापन गर्न सकिएमा यी क्षेत्रहरूले केवल पशुपालनलाई मात्र होइन, नेपालको समग्र आर्थिक, सामाजिक र वातावरणीय समृद्धिलाई समेत नयाँ उचाइमा पुर्याउनेछन्। त्यसैले खर्कलाई राष्ट्रिय सम्पदाका रूपमा स्वीकार गर्दै यसको दिगो व्यवस्थापनलाई विकासको मूल एजेन्डा बनाउनु आजको प्रमुख आवश्यकता हो।
(लेखक उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश, विराटनगरका पशु विकास अधिकृत हुन्।)