अमेरिका भ्रमणको एउटा अविस्मरणीय दिन थियो— ह्युस्टनस्थित स्पेस सेन्टर ह्युस्टनको भ्रमण। भाइ ठाकुरले आफ्नो परिवारसहित हामीलाई स्पेस सेन्टर घुमाउने कार्यक्रम मिलाएका थिए। अन्तरिक्ष, विज्ञान र प्रविधिको संसारलाई नजिकबाट हेर्ने अवसर मेरा लागि विशेष महत्त्वको थियो।
नासाको विशाल परिसरमा प्रवेश गरेपछि मलाई लाग्यो— यो कुनै साधारण संग्रहालय वा प्रदर्शनीस्थल मात्र होइन रहेछ। मानवले आफ्नो ज्ञान, श्रम, अनुसन्धान, जिज्ञासा र प्रविधिको बलमा पृथ्वीको सीमाभन्दा बाहिर पुग्न गरेको लामो यात्राको इतिहास यहाँ जीवित रहेछ।
विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित अर्थात् ‘स्टिम’ शिक्षासँग सम्बन्धित विभिन्न सामग्री, उपकरण र प्रदर्शनी त्यहाँ राखिएका थिए। विद्यार्थी तथा सर्वसाधारणलाई अन्तरिक्ष विज्ञान र अनुसन्धानका बारेमा जानकारी दिने उद्देश्यले तयार गरिएका विभिन्न कक्ष र प्रदर्शनी हेर्न पाइन्थ्यो।
अन्तरिक्ष यात्रामा प्रयोग भएका उपकरण, अन्तरिक्ष यात्रीले लगाउने पोसाक, अन्तरिक्षयानका नमुना, चन्द्रमाबाट ल्याइएका चट्टान तथा अन्तरिक्ष अनुसन्धानसँग सम्बन्धित सामग्रीहरू त्यहाँ सुरक्षित राखिएका थिए। ती सामग्री आफ्नै आँखाले हेर्दा मानवले विज्ञान र प्रविधिको क्षेत्रमा गरेको प्रगति सम्झेर आश्चर्य लाग्यो।
कुनै समय मानिसका लागि चन्द्रमा आकाशमा टाढाबाट देखिने एउटा रहस्यमय पिण्ड मात्र थियो। तर मानिसले त्यही चन्द्रमामा पुग्यो, त्यहाँ हिँड्यो र त्यहाँबाट ढुङ्गा तथा माटो पृथ्वीमा ल्यायो। एपोलो १७ सहितका अभियानले चन्द्रमाका नमुना पृथ्वीमा ल्याएका थिए। स्पेस सेन्टर हाउसटनमा आज पनि वास्तविक चन्द्रनमुनाहरू सुरक्षित र प्रदर्शित छन्।
चन्द्रमामा पहिलोपटक अन्तरिक्षयान कसरी अवतरण भयो, अन्तरिक्ष यात्रीहरूले कसरी प्रशिक्षण लिए, अन्तरिक्षमा काम गर्दा कस्ता उपकरण प्रयोग गरे— यी सबैबारे जानकारी पाउँदा मानव जिज्ञासाको शक्ति कति ठूलो रहेछ भन्ने महसुस हुन्थ्यो।
अन्तरिक्ष यात्रीहरूका प्रशिक्षण र अनुसन्धानसँग सम्बन्धित विभिन्न सामग्री हेर्दै जाँदा मलाई लाग्यो— चन्द्रमासम्म पुग्नु केवल एउटा रकेट उडाउनु मात्र रहेनछ। त्यसका पछाडि वर्षौँको अध्ययन, परीक्षण, असफलता, पुनःप्रयास, वैज्ञानिक अनुसन्धान, इन्जिनियरिङ र हजारौँ मानिसको श्रम जोडिएको रहेछ।
नासाको जोनसन स्पेस सेन्टरमा अन्तरिक्ष यात्रीको प्रशिक्षण, वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष अभियानसँग सम्बन्धित विभिन्न सुविधा रहेका छन्। एपोलो अभियानका अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको सतहमा प्रयोग गर्नुपर्ने उपकरण र नमुना संकलनसमेतको प्रशिक्षण लिएका थिए।
स्पेस सेन्टरको विशाल क्षेत्र सबै पैदल हिँडेर हेर्न सम्भव नहुने भएकाले ट्रामबाट पनि अवलोकन गराउने व्यवस्था थियो। ट्राम यात्राका क्रममा अन्तरिक्ष अभियानसँग सम्बन्धित विभिन्न संरचना र ऐतिहासिक स्थलहरू देखाइन्थे। एपोलो ११ देखि एपोलो १७ सम्मका चन्द्र अभियानको नियन्त्रण र सञ्चालनसँग जोडिएको मिसन कन्ट्रोल सेन्टर पनि यही ह्युस्टनको जोनसन स्पेस सेन्टर परिसरमा रहेको छ।
अन्तरिक्षयान निर्माणदेखि अन्तरिक्ष यात्रीको प्रशिक्षण, वैज्ञानिक अनुसन्धान र विभिन्न अन्तरिक्ष अभियानसम्मका कामबारे जानकारी पाउँदा अमेरिकाले विज्ञान र प्रविधिमा गरेको लगानीको महत्त्व बुझ्न सकिन्थ्यो।
तर नासाको भ्रमणमा मैले विज्ञान र प्रविधि मात्र देखिनँ। त्यहाँ पुगेपछि मेरो आफ्नै जीवनसँग जोडिएको एउटा पुरानो प्रसङ्ग अचानक सम्झनामा आयो।
औँसीमा जन्मनु मेरो अपराध थिएन।
म औँसीमा जन्मिएको हुँ। मेरो जन्म विसं २०१३ साल साउन २२ गते भएको हो।
हाम्रो समाजमा औँसीमा जन्मनुलाई कतिपयले शुभ मान्दैनथे। मेरो बाल्यकालमा मलाई ‘औँस्याहा’ भनेर चिनाउने चलन नै बनेको थियो। त्यो शब्द सामान्य सम्बोधनजस्तो लागे पनि बालमनमा त्यसले कस्तो असर पार्दोरहेछ भन्ने कुरा मैले पछि मात्र बुझ्दै गएँ।
जन्मँदा मानिसले आफ्नो जन्मको दिन वा तिथि रोज्न सक्दैन। कसैको जन्म पूर्णिमामा हुन्छ, कसैको औँसीमा। यो प्राकृतिक प्रक्रिया हो। तर हाम्रो समाजमा लामो समयदेखि चलिआएका केही विश्वासका कारण जन्मको तिथिलाई मानिसको भाग्य, स्वभाव र भविष्यसँग जोड्ने गरिन्थ्यो।
मेरो जीवनमा पनि त्यस्तै भयो।
मेरो जन्मसँग जोडिएको एउटा घटना परिवारमा सुनाइन्थ्यो। म जन्मेकै वर्ष बुबाले खेत बेचेर रोजगारीका लागि देहरादून जानुभएको रहेछ। त्यहाँ गएर काम गर्ने उहाँको प्रयास सफल भएनछ र अन्ततः फर्केर आउनुभयो।
पछि खेत बेचिनु, बुबा रोजगारीका लागि बाहिर जानु र त्यो प्रयास असफल हुनुजस्ता घटनासमेत मेरो जन्मसँग जोडेर हेर्ने गरियो।
बालक हुँदा मैले यी कुरा कति बुझ्थेँ, थाहा छैन। तर मनमा एउटा प्रश्न भने रहिरहन्थ्यो— म जन्मिनु मेरो दोष कसरी भयो?
मैले आफ्नो जन्मको दिन रोजेको थिइनँ। न मैले बुबालाई खेत बेच्न लगाएको थिएँ, न देहरादून जान। परिवारमा भएका घटनालाई मेरो जन्मको तिथिसँग जोडेर हेर्नु मेरो नियन्त्रणभन्दा बाहिरको कुराको दोष पनि मेरो काँधमा राख्नुजस्तै थियो।
आज जीवनको लामो अनुभव र विज्ञानको सामान्य ज्ञानलाई आधार बनाएर पछाडि फर्केर हेर्दा म स्पष्टसँग भन्न सक्छु— औँसीमा जन्मनु मेरो अपराध थिएन। पूर्णिमामा जन्मनु कसैको महानता होइन।
चन्द्रमाको अवस्था पृथ्वी, सूर्य र चन्द्रमाबीचको प्राकृतिक सम्बन्धका कारण परिवर्तन भइरहन्छ। औँसी त्यही प्राकृतिक अवस्थामध्ये एउटा हो। त्यसैले औँसीमा जन्मनु आफैँमा शुभ वा अशुभ हुने कुनै आधार मैले देखेको छैन।
तर यो कुरा बुझ्न मलाई धेरै समय लाग्यो।
चन्द्रमा र गाउँघरको विश्वास
हाम्रो गाउँघरमा चन्द्रमा केवल आकाशमा देखिने पिण्ड मात्र थिएन। त्यससँग धार्मिक विश्वास, संस्कार र परम्परा पनि जोडिएका थिए।
चन्द्रग्रहण लाग्दा गाउँघरमा छुट्टै धार्मिक वातावरण बन्थ्यो। ‘छोड चमारे, छोड’ भन्दै ग्रहण हटोस् भनेर आह्वान गर्ने, ग्रहण सकिएपछि पूजा र स्नान गर्ने तथा ग्रहशान्ति र दान गर्ने चलन थियो। ग्रहणका बेला खाना खान हुँदैन, सुतक लाग्छ भन्ने धारणा पनि थियो।
हामीले घरपरिवार र गाउँसमाजबाट देखेर, सुनेर र गर्दै हुर्केका संस्कार थिए ती। त्यतिबेला ती कुरा किन गरिन्थे भन्ने प्रश्न मनमा आउँदैनथ्यो। समाजले जे गरिरहेको छ, त्यही सही हो भन्ने लाग्थ्यो।
मेरो बाल्यकाल पनि धर्म र संस्कारमै बित्यो। व्रतबन्धपछि धोती फेरेर आफैँ खाना पकाउने, पूर्ण शाकाहारी रहनेजस्ता धार्मिक संस्कारलाई मैले पालना गरेँ। कसैले ‘भगवान् देखेका छौ?’ भनेर सोध्यो भने बुबाले पूजा गर्ने पञ्चायतनका मूर्तिहरू देखाइदिन्थेँ।
करिब पचास वर्षको उमेरसम्म म पूर्ण आस्तिक थिएँ। हरेक शनिबार पशुपतिनाथ पुग्थेँ, पूजा गर्थें र भाकलसमेत गर्थें। ती भाकल भने कहिल्यै पूरा भएनन्। तर पनि धर्म, संस्कार र परम्पराप्रति मेरो गहिरो आस्था थियो।
समय बित्दै गयो।
उमेर बढ्दै जाँदा जीवनका विभिन्न अनुभवले मलाई प्रश्न गर्न सिकाए। पूजापाठ र धार्मिक अभ्यास आफ्नै ठाउँमा भए पनि मानिसको जीवनमा कर्म, श्रम, ज्ञान, विवेक र सामाजिक जिम्मेवारीको पनि उत्तिकै महत्त्व रहेछ भन्ने बुझ्दै गएँ।
मैले धर्म र संस्कारलाई एकैपटक अस्वीकार गरेको होइन। आफ्नै अनुभव र अध्ययनबाट प्रश्न गर्दै, बुझ्दै र आफ्नो धारणा बनाउँदै गएँ।
त्यही सोचको एउटा महत्त्वपूर्ण क्षण नासा स्पेस सेन्टरमा आयो।
ग्रहण: गाउँको विश्वासदेखि विज्ञानको व्याख्यासम्म
हाम्रो गाउँघरमा चन्द्रग्रहण र सूर्यग्रहण केवल आकाशमा देखिने खगोलीय घटना थिएनन्। तिनसँग धार्मिक विश्वास, डर र अनेकौँ परम्परा जोडिएका थिए। ग्रहण लाग्दा घरमा छुट्टै वातावरण बन्थ्यो। खाना खान हुँदैन, सुतक लाग्छ, ग्रहणको समयमा पूजा–पाठ गर्नुपर्छ भन्ने धारणा थियो। ग्रहण सकिएपछि स्नान गर्ने, घर सफा गर्ने र दान–धर्म गर्ने चलन पनि थियो।
बाल्यकालमा मैले पनि यिनै कुरा देखेर र सुनेर ग्रहणलाई बुझ्थेँ। तर ग्रहण वास्तवमा कसरी लाग्छ भन्ने वैज्ञानिक कारण भने धेरै पछि मात्र बुझ्दै गएँ।
पृथ्वी सूर्यको वरिपरि घुम्छ र चन्द्रमा पृथ्वीको वरिपरि घुम्छ। सूर्यको प्रकाश चन्द्रमामा पर्दा चन्द्रमा उज्यालो देखिन्छ। यी तीनवटै आकाशीय पिण्ड आ–आफ्नो कक्षमा निरन्तर गतिशील छन्। कहिलेकाहीँ तिनीहरूको अवस्थिति यस्तो मिल्छ कि एउटा पिण्डको छायाँ अर्को पिण्डमा पर्न जान्छ। यही अवस्थाबाट ग्रहण हुन्छ।
चन्द्रग्रहण त्यतिबेला लाग्छ, जब सूर्य, पृथ्वी र चन्द्रमा लगभग एउटै सिधामा आउँछन् र पृथ्वी बीचमा पर्छ। सूर्यको प्रकाश पृथ्वीले रोक्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ। त्यसैले चन्द्रमा आंशिक वा पूर्ण रूपमा अँध्यारो देखिन सक्छ। पूर्ण चन्द्रग्रहणका बेला चन्द्रमा रातो–ताम्रवर्णको देखिन सक्छ, जसलाई सामान्यतया ‘ब्लड मुन’ पनि भनिन्छ।
त्यसको ठीक उल्टो अवस्था सूर्यग्रहणमा हुन्छ। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यको प्रकाशलाई केही समयका लागि पृथ्वीको केही भागबाट छेकिदिन्छ। त्यसबेला पृथ्वीको निश्चित क्षेत्रमा सूर्य आंशिक वा पूर्ण रूपमा ढाकिएको देखिन्छ। अर्थात् सूर्यग्रहणमा चन्द्रमाको छाया पृथ्वीमा पर्छ भने चन्द्रग्रहणमा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ।
यी दुवै घटना कुनै अदृश्य शक्ति वा अलौकिक कारणले हुने होइनन्। सूर्य, पृथ्वी र चन्द्रमाको नियमित गति र तिनीहरूको निश्चित अवस्थिति तथा प्रकाश र छायाको प्राकृतिक प्रक्रियाका कारण हुने खगोलीय घटना हुन्।
तर एउटा कुरा अझ रोचक छ— हरेक औँसीमा सूर्यग्रहण र हरेक पूर्णिमामा चन्द्रग्रहण लाग्दैन।
किन?
चन्द्रमाको कक्षा पृथ्वीले सूर्यको वरिपरि घुम्ने कक्षासँग केही कोणमा झुकेको छ। त्यसैले अधिकांश औँसी र पूर्णिमामा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधा रेखामा पर्दैनन्। जब तिनीहरूका कक्षा एकअर्कासँग मिल्ने निश्चित स्थाननजिक पुगेर आवश्यक रूपमा एकै दिशामा पर्छन्, त्यतिबेला मात्र ग्रहण लाग्छ।
बाल्यकालमा यी वैज्ञानिक कुरा मलाई थाहा थिएनन्। त्यसैले ग्रहण लाग्दा गाउँघरमा जे विश्वास गरिन्थ्यो, त्यही सत्यजस्तो लाग्थ्यो। तर पछि विज्ञान बुझ्दै गएपछि ग्रहणप्रतिको मेरो दृष्टिकोण पनि बदलियो।
ग्रहणलाई लिएर मानिसले बनाएका धार्मिक संस्कारको आफ्नै सामाजिक र सांस्कृतिक इतिहास हुन सक्छ। ती संस्कारलाई सम्मान गर्नु एउटा कुरा हो। तर प्राकृतिक घटनाको वैज्ञानिक कारण बुझ्नु अर्को कुरा हो।
आज चन्द्रग्रहण लाग्दा मलाई बाल्यकालको गाउँ सम्झना आउँछ। ‘छोड चमारे, छोड’ भन्दै ग्रहण हटोस् भनेर आह्वान गरेको आवाज सम्झन्छु। ग्रहण सकिएपछि गरिने स्नान, पूजा र दान सम्झन्छु। अनि अहिले विज्ञानले दिएको ज्ञान सम्झँदा लाग्छ— हामीले जुन आकाशलाई कहिल्यै रहस्य र भयका आँखाले हेर्थ्यौँ, त्यसै आकाशका धेरै रहस्य मानिसले अध्ययन र अनुसन्धानबाट बुझ्दै गइरहेको छ।
सायद चेतनाको विकास पनि यस्तै रहेछ।
पहिले हामीले देखेको घटनालाई विश्वासका आधारमा बुझ्छौँ। त्यसपछि प्रश्न गर्न सिक्छौँ। अनि प्रश्नको उत्तर खोज्दै जाँदा ज्ञान र विज्ञानसम्म पुग्छौँ।
मेरो जीवनमा पनि चन्द्रमासँग जोडिएको यात्रा केही यस्तै रह्यो— गाउँघरको विश्वासबाट सुरु भएर नासाको वैज्ञानिक संसारसम्म पुग्यो।
चन्द्रमाको ढुङ्गा र मेरो प्रश्न
नासामा चन्द्रमाबाट ल्याइएको ढुङ्गा नजिकबाट हेर्ने अवसर पाएँ।
बाल्यकालदेखि आकाशमा हेर्दै आएको चन्द्रमा र त्यसबाट ल्याइएको ढुङ्गा मेरा आँखाअगाडि थियो।
म केहीबेर त्यो ढुङ्गालाई नियालिरहेँ।
मानिस चन्द्रमामा पुगिसकेको छ। त्यहाँको माटो र ढुङ्गा पृथ्वीमा ल्याइसकेको छ। वैज्ञानिकहरूले चन्द्रमाको संरचना, दूरी, गति र प्रकृतिबारे अध्ययन गरिरहेका छन्। एपोलो अभियानबाट ल्याइएका चन्द्रनमुनाहरू अझै वैज्ञानिक अनुसन्धानका लागि सुरक्षित राखिएका छन्।
त्यो ढुङ्गा हेर्दा बाल्यकालमा आफूले सुनेका र विश्वास गरेका धेरै कुरा सम्झना आउनु स्वाभाविक थियो। हाम्रो समाजमा जसलाई श्रद्धापूर्वक चन्द्र भगवान् भनेर सम्बोधन गरिन्थ्यो, त्यही चन्द्रमामा मानिस पुगिसकेको थियो।
त्यसै क्रममा फेरि मेरो आफ्नै जन्मको कुरा मनमा आयो।
औँसीमा जन्मेकै कारण मलाई अशुभ मान्नुको आधार के थियो?
चन्द्रमाको एउटा प्राकृतिक अवस्थालाई मानिसको जन्मसँग जोडेर उसको भाग्य वा चरित्र निर्धारण गर्न मिल्छ? यदि औँसी एउटा प्राकृतिक अवस्था हो भने त्यसलाई मानिसको दोष कसरी बनाउन सकिन्छ?
नासामा उभिएर यी प्रश्नहरू सोच्दा मलाई आफ्नो बाल्यकालको ‘औँस्याहा’ शब्द फेरि सम्झना आयो।
आमाको विश्वास र मेरो विवाह
मेरी आमाको मनमा पनि औँसीमा जन्मेको मानिस अशुभ हुन्छ भन्ने विश्वास गहिरोसँग बसेको थियो। उहाँको अर्को धारणा पनि थियो— औँसीमा जन्मेको छोराले औँसीमै जन्मेकी कन्यासँग मात्र विवाह गर्नुपर्छ।
मेरो विवाहको प्रसङ्ग आउँदा उहाँले यही कुरालाई आधार बनाउनुभएको थियो। उहाँका लागि यो सामान्य कुरा थिएन; उहाँको विश्वाससँग जोडिएको विषय थियो।
म आमाको भावनाको सम्मान गर्थें। उहाँले आफ्नो समय, परिवार र समाजबाट जे सिक्नुभयो, त्यही विश्वास गर्नुभयो। त्यसैले उहाँको विश्वासलाई लिएर मैले कहिल्यै उहाँको उपहास गर्न चाहिनँ।
तर आफ्नो जीवनको निर्णयमा भने म त्यो मान्यतालाई स्वीकार गर्न सकिनँ। अन्ततः मैले अर्कै तिथिमा जन्मेकी भागीरथीसँग विवाह गरेँ।
आज हामी चार दशकभन्दा लामो वैवाहिक जीवन सँगसँगै बिताइरहेका छौँ। हाम्रो दाम्पत्य जीवनले नै आमाको त्यो मान्यतालाई व्यवहारबाट अस्वीकार गरिसकेको छ।
यस घटनाले मलाई एउटा कुरा बुझायो— परम्परा र विश्वासलाई सम्मान गर्नु एउटा कुरा हो, तर आफ्नो जीवनको निर्णय विवेकपूर्वक गर्नु अर्को कुरा हो।
आमाको विश्वासप्रति मेरो सम्मान थियो, तर त्यो विश्वासलाई आफ्नो जीवनको निर्णयमाथि हाबी हुन दिन म तयार भइनँ।
सहस्र चन्द्र दर्शन र चौरासी पूजा
चन्द्रमासँग जोडिएका धार्मिक विश्वास हाम्रो समाजमा धेरै छन्। ‘सहस्र चन्द्र दर्शन गरेपछि स्वर्ग प्राप्त हुन्छ’ भन्ने विश्वास पनि त्यसमध्ये एक हो।
मेरी आमाको पनि यसप्रति गहिरो आस्था थियो।
उहाँ साढे ८२ वर्ष पुग्दा उहाँकै इच्छाअनुसार घरमा चौरासी पूजा लगाइयो। त्यस अवसरमा उहाँले सहस्र चन्द्र दर्शन गर्नुभयो।
आमाको विश्वासका दृष्टिले त्यो उहाँका लागि महत्त्वपूर्ण धार्मिक अवसर थियो। उहाँको इच्छा पूरा गर्नु मेरो कर्तव्य पनि थियो। त्यसैले उहाँको विश्वास र भावनालाई सम्मान गर्दै चौरासी पूजा गरियो।
तर पछि नासामा पुगेर चन्द्रमाबाट ल्याइएको ढुङ्गा आफ्नै आँखाले देख्दा यही विषयले मेरो मनमा अर्को प्रश्न उठायो।
मानिस चन्द्रमामा पुगिसकेको छ। त्यहाँबाट माटो र ढुङ्गा पृथ्वीमा ल्याइसकेको छ। चन्द्रमाको दूरी, संरचना र प्रकृतिको अध्ययन गरिसकेको छ। यस्तो अवस्थामा चन्द्र दर्शनसँग जोडिएको ‘स्वर्ग प्राप्ति’ भन्ने विश्वासलाई मैले कसरी बुझ्ने?
यो प्रश्न अरूको आस्थालाई अस्वीकार गर्न उठेको थिएन। यो मेरो आफ्नै सोचमा आएको परिवर्तनसँग सम्बन्धित प्रश्न थियो।
आज म स्वर्गलाई कुनै निश्चित भौगोलिक स्थानका रूपमा बुझ्दिनँ।
मेरी आमाले जीवनभर गरेको माया, त्याग, दुःख र सन्तानका लागि गरेको जिम्मेवारी नै उहाँको ठूलो सम्पत्ति थियो। उहाँले हामीलाई दिएको संस्कार, माया र सम्झना नै उहाँको सबैभन्दा ठूलो विरासत हो।
त्यसैले मेरो बुझाइमा स्वर्ग मानिसले अरूको जीवनमा छोडेर जाने असल कर्म र सम्झनामा पनि खोज्न सकिन्छ।
आमाले सहस्र चन्द्र दर्शन गर्नुभयो। मैले उहाँको इच्छा पूरा गराएँ। त्यो उहाँप्रतिको मेरो सम्मान थियो। तर त्यसलाई मैले आफ्नो जीवनको अन्तिम सत्य मानेको छैन।
आस्थाबाट विवेकतर्फ
नासाको भ्रमणपछि मैले आफ्नो विगतको धार्मिक जीवनलाई गलत ठान्न थालेको होइन। व्रतबन्ध, पूजापाठ, चाडपर्व, संस्कार र धार्मिक अभ्यास मेरा जीवनका अभिन्न अनुभव हुन्। तिनको आफ्नै सामाजिक र पारिवारिक महत्त्व छ। तर अनुभवले मलाई कुनै पनि विश्वासलाई प्रश्न गर्न नहुने सोचबाट बाहिर निकाल्यो।
विज्ञानले संसारलाई अर्को दृष्टिले हेर्न सिकाउँछ। त्यसले प्रमाण खोज्छ, प्रश्न गर्छ र कारण बुझ्न खोज्छ। जीवनका अनुभवले पनि मलाई यस्तै प्रश्न गर्न सिकाए।
पहिले मैले आकाशमा हेर्दा धार्मिक विश्वासका आँखाले चन्द्रमा हेर्थें। नासामा पुगेपछि त्यसलाई वैज्ञानिक दृष्टिले बुझ्ने प्रयास गरेँ। यसले मेरो सोचमा परिवर्तन ल्यायो। तर मेरो यो परिवर्तन धर्म वा आस्थाप्रति घृणाबाट आएको होइन। यो मेरो आफ्नै जीवनको अनुभव र चेतनाको क्रमिक विकास हो।
आज म कसैको आस्थाको मजाक उडाउन चाहन्नँ। तर जन्मको तिथिका आधारमा कसैलाई अशुभ मान्ने, उसको जीवनका दुःखद घटनाको दोष उसको जन्ममा थोपर्ने वा त्यसकै आधारमा उसको भविष्य निर्धारण गर्ने सोचलाई भने स्वीकार गर्न सक्दिनँ। किनकि मैले आफ्नै जीवनबाट त्यसको पीडा भोगेको छु।
यी सबै घटना मेरो जीवनका अलग–अलग प्रसङ्ग थिए। तर नासामा चन्द्रमाबाट ल्याइएको ढुङ्गा हेर्दा ती सबै एकअर्कासँग जोडिएर सम्झनामा आए।
त्यस क्षण मलाई एउटा कुरा स्पष्ट भयो—जन्मको तिथि मेरो हातमा थिएन, तर त्यसपछि आफ्नो जीवन कसरी जिउने भन्ने निर्णय भने मेरो हातमा थियो।
आमाको विश्वास उहाँको आस्था थियो। चौरासी पूजा उहाँप्रतिको मेरो सम्मान थियो। तर आफ्नो जीवनका निर्णय गर्नु र सत्यलाई आफ्नै विवेकले बुझ्नु मेरो जिम्मेवारी थियो।
आज म आफ्ना पुराना अनुभवलाई सम्झँदा आमाको विश्वासप्रति विद्रोह देख्दिनँ। बरु उहाँ आफ्नो समय र संस्कारकी प्रतिनिधि हुनुहुन्थ्यो भन्ने बुझ्छु। तर त्यसैका आधारमा आफूलाई जीवनभर दोषी ठानिरहनुपर्ने कारण पनि देख्दिनँ।
नासामा पुगेर चन्द्रमाको ढुङ्गा देख्दा मैले आफ्नो बाल्यकालको एउटा पुरानो पीडालाई नयाँ ढङ्गले बुझ्ने अवसर पाएँ। जुन चन्द्रमाको अवस्थालाई आधार बनाएर मलाई ‘औँस्याहा’ भनिएको थियो, त्यही चन्द्रमामा मानिस पुगिसकेको रहेछ।
मानिसको परिचय जन्मको तिथिले होइन
मानिसले चन्द्रमासम्म पुग्न सकेको छ। तर पृथ्वीमा मानिसले अर्को मानिसलाई उसको जन्मको तिथि, जात, परिस्थिति वा सामाजिक धारणाका आधारमा मूल्याङ्कन गरिरहनु भने अझै विडम्बनापूर्ण लाग्छ।
विज्ञानले चन्द्रमाको रहस्य खोल्यो। तर मानिसको मनभित्रका पुराना विश्वास र पूर्वाग्रह हटाउन विज्ञानसँगै विवेक पनि आवश्यक रहेछ।
मेरो जीवनमा ‘औँस्याहा’ एउटा शब्द मात्र थिएन। त्यो मेरो बाल्यकालको एउटा मानसिक बोझ थियो। तर समयले मलाई सिकायो— अरूले दिएको नामभन्दा मानिसले आफैँ बनाएको परिचय ठूलो हुँदो रहेछ।
मैले जीवनमा जति संघर्ष गरेँ, जति जिम्मेवारी पूरा गरेँ, परिवार र समाजका लागि जति सकेँ योगदान गर्ने प्रयास गरेँ— त्यही नै मेरो वास्तविक परिचय हो। मेरो जन्मको तिथिले होइन, मेरो कर्मले मेरो परिचय बनाएको छ।
नासाको भ्रमण त्यसैले मेरो अमेरिका यात्राको एउटा पर्यटकीय कार्यक्रममा मात्र सीमित रहेन। यसले मेरो बाल्यकालको एउटा पुरानो पीडा, आमाको आस्था, मेरो वैवाहिक निर्णय र मेरो सोचमा आएको परिवर्तनलाई एउटै ठाउँमा जोडिदियो।
आज म निर्धक्कसँग भन्न सक्छु— औँसीमा जन्मनु मेरो अपराध थिएन। पूर्णिमामा जन्मनु कसैको महानता होइन। मानिसलाई जन्मको तिथिले होइन, उसको कर्म, चरित्र र व्यवहारले चिनाउँछ।
नासामा चन्द्रमासम्म पुगेको मानव बुद्धिको उपलब्धि देखेँ। त्यससँगै आफ्नै जीवनमा अन्धविश्वासबाट विवेकतर्फ आएको परिवर्तन पनि सम्झिएँ। त्यसैले मेरो लागि नासाको त्यो भ्रमण केवल अन्तरिक्ष हेर्ने यात्रा थिएन। त्यो आफ्नै विगतलाई नयाँ आँखाले हेर्ने यात्रा पनि थियो।
र अन्ततः मैले बुझेँ— चन्द्रमाको रहस्य विज्ञानले खोल्दै गयो; मेरो जन्मसँग जोडिएको ‘औँस्याहा’को रहस्य मेरो आफ्नै विवेकले खोल्दै गयो।
मानिस चन्द्रमासम्म पुग्नु विज्ञानको ठूलो उपलब्धि हो। तर पृथ्वीमा बसेर अर्को मानिसलाई उसको जन्म, तिथि वा परिस्थितिका आधारमा अशुभ नठान्नु र मानिसलाई मानिसकै रूपमा सम्मान गर्नु मेरो दृष्टिमा त्यसभन्दा कम ठूलो कुरा होइन।
मेरो जन्मको तिथिले होइन, मेरो कर्मले मेरो परिचय बनाएको छ।