अबको केही वर्षपछि विद्यालय र विश्वविद्यालयका कक्षा कोठाहरूमा एउटै आकारका डेस्क–बेन्चमा पङ्क्तिबद्ध भएर बसेका विद्यार्थी हुने छैनन्, सबैलाई एउटै गृहकार्य दिइएको हुने छैन र अध्यापकको भूमिका केवल पाठ्यपुस्तकका पाना पल्टाउँदै व्याख्या गर्नेमा सीमित हुने छैन।
प्रत्येक विद्यार्थीको सिकाइ गति, रुचि, क्षमता र कमजोरीअनुसार सिकाइ सामग्री उपलब्ध हुनेछन्। यही सम्भावनाको केन्द्रमा कृत्रिम बौद्धिकता अर्थात् एआई रहेको छ। आज एआई शिक्षा क्षेत्रका लागि केवल नयाँ प्रविधि होइन, शिक्षाको उद्देश्य, पद्धति र मूल्याङ्कनलाई पुनर्विचार गर्न बाध्य पार्ने आधारशिला बनेको छ।
नेपालमा पनि विभिन्न एआई टुलहरू विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताको दैनिक अभ्यासमा प्रवेश गरिसकेका छन्। प्रश्न अब एआई विद्यालयमा आउँछ कि आउँदैन? भन्ने होइन; प्रश्न हो— हामी यसलाई शिक्षामा परिष्कार ल्याउन के–कसरी प्रयोग गर्छौँ? त्यसैले अबको बहस उपकरणको होइन, शिक्षाको पुनर्संरचनाको हुनुपर्छ।
नेपालको परम्परागत शिक्षा प्रणाली लामो समयदेखि पाठ्यपुस्तक, शिक्षकको व्याख्या, गृहकार्य, वार्षिक परीक्षा र प्राप्ताङ्क वरिपरि घुम्दै आएको छ। यसले आधारभूत ज्ञान हस्तान्तरणमा भूमिका खेले पनि सबै विद्यार्थी एउटै तरिकाले सिक्छन् भन्ने प्रकृतिको बोकेको छ। तर वास्तविकता फरक छ।
कोही विद्यार्थी भाषामा त कोही गणितीयतामा अब्बल हुन्छन्। कोही दृश्य सामग्रीबाट छिटो सिक्छ भने कसैलाई अभ्यास र संवाद आवश्यक पर्छ। एआईले यही विविधतालाई सम्बोधन गर्ने सम्भावना बोकेको आभास हुन्छ। भविष्यमा एउटै कक्षामा बसेका विद्यार्थीले आफ्नो स्तरअनुसार फरक उदाहरण, अभ्यास र प्रतिक्रिया पाउन सक्छन्।
कमजोर विद्यार्थीलाई एआईले सरल भाषामा पुनः व्याख्या गर्न सक्छ भने उन्नत विद्यार्थीलाई थप चुनौतीपूर्ण समस्या दिन सक्छ। नेपाली भाषामा समेत स्थानीय सन्दर्भ अनुकूल सामग्री सिर्जना गर्ने सम्भावना बढ्दै गएको छ। तर व्यक्तिगत सिकाइको अर्थ शिक्षक हटाउनु होइन। बरु शिक्षकले प्रत्येक विद्यार्थीको सिकाइ यात्रालाई बुझ्न बढी समय पाउने वातावरण सिर्जना गर्नु हो। एआईले सूचना दिन सक्छ; शिक्षकले त्यस सूचनालाई अर्थ, सन्दर्भ र मानवीय संवेदनासँग जोड्नुपर्छ।
एआईको प्रवेशसँगै मूल्याङ्कनको परम्परागत अवधारणामाथि पनि गम्भीर प्रश्न उठेको छ। विद्यार्थीले कुनै निबन्ध आफैँ लेखेको हो कि एआईको सहयोगमा तयार गरेको हो भन्ने प्रश्नले विद्यालय र विश्वविद्यालयलाई चुनौती दिइरहेको छ। तर समस्याको समाधान एआईलाई पूर्ण रूपमा निषेध गर्नु होइन।
यदि कुनै उपकरणले विद्यार्थीलाई उत्तर तयार गर्न सहयोग गर्न सक्छ भने शिक्षाले पनि प्रश्न सोध्ने तरिका परिवर्तन गर्नुपर्छ। कण्ठ गरेर लेख्ने परीक्षाभन्दा समस्या समाधान, तर्क, सृजनशीलता, प्रस्तुतीकरण, परियोजना कार्य, मौखिक प्रतिरक्षा र वास्तविक जीवनका समस्यासँग जोडिएका मूल्याङ्कन बढी महत्त्वपूर्ण बन्नुपर्छ। उदाहरणका लागि, ‘जलवायु परिवर्तनलाई परिभाषित गर्नुहोस्’ प्रश्नको सट्टा ‘आफ्नो पालिकामा जलवायु परिवर्तनका दुई प्रभाव पहिचान गरी समाधानका उपायहरू सुझाउनुहोस्’ भन्न सकिन्छ।
यस्तो काममा एआई सहयोगी बन्न सक्छ तर स्थानीय तथ्य खोज्ने, प्रमाण जाँच्ने, निर्णय गर्ने र आफ्ना निष्कर्षको जिम्मेवारी लिने काम विद्यार्थीले नै गर्नुपर्छ। त्यसैले एआई युगमा परीक्षाको अन्त्य होइन, परीक्षाको उद्देश्य परिवर्तन हुँदै छ। शिक्षा अब उत्तर सम्झिने क्षमताभन्दा सही प्रश्न सोध्ने र उत्तरको विश्वसनीयता जाँच्ने क्षमतातर्फ जानुपर्छ।
एआई आएपछि शिक्षकको आवश्यकता समाप्त हुन्छ भन्ने धारणा प्राविधिक रूपमा आकर्षक सुनिए पनि शैक्षिक रूपमा कमजोर छ। असल शिक्षक केवल सूचना दिने व्यक्ति होइन; उनी प्रेरक, मार्गदर्शक, मूल्यनिर्माता, सामाजिक सम्बन्धको संयोजक र विद्यार्थीको भावनात्मक अवस्थालाई बुझ्ने मानव हुन्।
एआईले विद्यार्थीलाई भिन्न सिकाउन सक्छ तर विद्यार्थी किन निराश छ, किन कक्षामा बोल्न चाहँदैन, घरको सामाजिक अवस्थाले उसको सिकाइमा कस्तो प्रभाव पारेको छ वा उसलाई कसरी आत्मविश्वासी बनाउन सकिन्छ भन्ने कुरा मानव शिक्षकले अझ गहिरोसँग बुझ्छ। नेपालको सन्दर्भमा यो झन् महत्त्वपूर्ण छ किनकि हाम्रा विद्यालयमा प्रविधिको पहुँच मात्र होइन, सामाजिक–आर्थिक असमानता पनि ठुलो चुनौती हो। त्यसैले भविष्यको शिक्षक ‘प्रविधिसँग प्रतिस्पर्धा गर्ने’ होइन, ‘प्रविधिलाई शैक्षिक उद्देश्यमा परिचालन गर्ने’ पेशेवर हुनुपर्छ। शिक्षक तालिममा एआई साक्षरता, डिजिटल सामग्री निर्माण, प्रम्प्ट लेखन, तथ्य प्रमाणीकरण, डेटा गोपनीयता र एआई नैतिकता अनिवार्य विषय बन्न आवश्यक छ।
एआईले अवसरसँगै गम्भीर जोखिम पनि ल्याएको छ। नेपालको डिजिटल विभाजनलाई बेवास्ता गरेर एआई शिक्षाको सपना देख्नु खतरनाक हुन्छ। काठमाडौँका निजी विद्यालयका विद्यार्थीले उच्च गतिको इन्टरनेट, व्यक्तिगत उपकरण र सशुल्क एआई सेवामा पहुँच पाउन सक्छन्। दुर्गम गाउँको विद्यार्थीले भने कहिलेकाहीँ नियमित विद्युत् र इन्टरनेटसमेत नपाउन सक्छ। यस्तो अवस्थामा एआईले शैक्षिक असमानता घटाउनुको सट्टा बढाउन सक्छ।
त्यसैले सरकार र स्थानीय तहले एआईलाई केवल विद्यालयमा कम्प्युटर वितरण गर्ने परियोजनाका रूपमा बुझ्नु हुँदैन। भरपर्दो इन्टरनेट, विद्युत्, उपकरण, शिक्षक क्षमता विकास, नेपाली तथा स्थानीय भाषामा डिजिटल सामग्री र सुरक्षित शैक्षिक प्लेटफर्ममा सार्वजनिक लगानी आवश्यक छ।
त्यस्तै, विद्यार्थीको व्यक्तिगत डेटा कसरी सङ्कलन हुन्छ, कहाँ भण्डारण हुन्छ र कसले प्रयोग गर्छ भन्ने विषयमा स्पष्ट नीति चाहिन्छ। एआईले विद्यार्थीको सिकाइ कमजोरी पहिचान गर्न सक्छ तर त्यही डेटा भविष्यमा उसको अवसर सीमित गर्ने माध्यम बन्नु हुँदैन। प्रविधिको गति जति तीव्र भए पनि शिक्षा न्याय, समानता र मानव अधिकारको मूल्यभन्दा अगाडि जानु हुँदैन।
हामीले एआईलाई केवल विद्यार्थीको निजी ट्युटरका रूपमा मात्र हेर्नु पनि पर्याप्त हुँदैन। यसको प्रयोग विद्यालय व्यवस्थापन, पाठ्यक्रम निर्माण, अनुसन्धान, प्रशासन र समावेशी शिक्षामा पनि गर्न सकिन्छ। उदाहरणका लागि, विद्यार्थीको सिकाइ प्रगतिबाट शिक्षकले कुन अवधारणा धेरै विद्यार्थीले नबुझेका छन् भन्ने पहिचान गर्न सक्छन्। दृष्टिविहीन विद्यार्थीका लागि सामग्रीलाई श्रव्य स्वरूपमा, श्रवण कठिनाइ भएका विद्यार्थीका लागि पाठ वा दृश्य संकेतमा र फरक सिकाइ आवश्यकताका विद्यार्थीका लागि व्यक्तिगत अभ्यासमा रूपान्तरण गर्न सकिन्छ।
नेपालजस्तो भौगोलिक र भाषिक विविधता भएको देशमा एआईले स्थानीय ज्ञानलाई राष्ट्रिय शैक्षिक प्रणालीसँग जोड्ने अवसरसमेत दिन्छ। हिमाली क्षेत्रको कृषि, पहाडी क्षेत्रको जलस्रोत, तराईको कृषि प्रणाली वा स्थानीय संस्कृति र परम्परालाई विद्यार्थीका परियोजनासँग जोडेर डिजिटल सिकाइ सामग्री बनाउन सकिन्छ। यसले शिक्षा ‘पाठ्यपुस्तकभित्रको ज्ञान’ बाट ‘समाजभित्रको ज्ञान’ तर्फ लैजान सक्छ। तर एआईले तयार गरेको सामग्री सही छ भन्ने पूर्वधारणा राख्नु हुँदैन। तथ्य जाँच, स्रोत परीक्षण र आलोचनात्मक सोच एआई साक्षरताको आधार बन्नुपर्छ।
अब प्रश्न उठ्छ— नेपालले कहाँबाट सुरु गर्ने? पहिलो आवश्यकता स्पष्ट राष्ट्रिय एआई–शिक्षा नीति हो, जसले एआईको प्रयोग, शिक्षक तालिम, विद्यार्थी सुरक्षा, डेटा गोपनीयता, मूल्याङ्कन र डिजिटल समानताका विषयलाई एकीकृत रूपमा सम्बोधन गरोस्।
दोस्रो, शिक्षकलाई एआई प्रयोग गर्न सिकाउने मात्र होइन, एआईको शैक्षिक सीमा बुझाउने तालिम आवश्यक छ।
तेस्रो, विद्यालय तहदेखि नै ‘एआई साक्षरता’लाई डिजिटल सीपको विस्तारित रूपका रूपमा विकास गर्नुपर्छ। विद्यार्थीले प्रम्प्ट कसरी लेख्ने भन्ने मात्र होइन, एआईले दिएको उत्तर सही छ कि छैन, पूर्वाग्रहपूर्ण छ कि छैन, स्रोत विश्वसनीय छ कि छैन र यसको प्रयोग नैतिक छ कि छैन भन्ने बुझ्नुपर्छ।
चौथो, विश्वविद्यालयहरूले परीक्षा र अनुसन्धान प्रणाली पुनर्विचार गर्नुपर्छ।
पाँचौँ, सार्वजनिक विद्यालयलाई निजी क्षेत्रको प्रविधि बजारको उपभोक्ता मात्र होइन, आफ्नै स्थानीय शैक्षिक नवप्रवर्तनको केन्द्र बनाइनुपर्छ। नेपालले एआईमा विश्वका विकसित देशसँग प्रविधिगत प्रतिस्पर्धा गर्न नसके पनि यसको मानवीय र स्थानीय प्रयोगमा उदाहरण बन्न सक्छ। हाम्रो प्राथमिकता ‘सबैभन्दा नयाँ एआई’ होइन, ‘सबैभन्दा उपयोगी शिक्षा’ हुनुपर्छ।
निष्कर्षमा, एआई युगमा बदलिँदो शिक्षा भनेको शिक्षकको अन्त्य, किताबको अन्त्य वा विद्यालय भवनको अन्त्य होइन। यो शिक्षाको केन्द्र परिवर्तन हुने प्रक्रिया हो—शिक्षकबाट विद्यार्थी, पाठ्यपुस्तकबाट अनुभव, उत्तरबाट प्रश्न, कण्ठबाट सिर्जना र समान ढाँचाबाट व्यक्तिगत सिकाइतर्फको यात्रा।
भविष्यमा प्रत्येक विद्यार्थीसँग एआई सहयोगी हुन सक्छ, तर प्रत्येक विद्यार्थीलाई असल मानव मार्गदर्शन अझै आवश्यक हुनेछ। नेपालले यही सन्तुलन बुझ्नुपर्छ। प्रविधिलाई अन्ध रूपमा स्वीकार गर्ने वा डरका कारण अस्वीकार गर्ने दुवै बाटो गलत हुन्। हामीले एआईलाई मानव क्षमताको विकल्प होइन, विस्तारका रूपमा प्रयोग गर्नुपर्छ।
विद्यालयले विद्यार्थीलाई एआईसँग प्रतिस्पर्धा गर्न सिकाउने होइन, एआईको प्रयोग गरेर अझ बढी जिज्ञासु, सृजनशील, आलोचनात्मक र जिम्मेवार मानव बन्न सिकाउनुपर्छ। त्यसैले अब नेपालको शिक्षा नीतिले एउटा गम्भीर प्रश्नको सामना गर्नै पर्छ— हामी एआईलाई शिक्षा बदल्न दिनेछौँ, कि शिक्षा परिवर्तन गर्ने आफ्नो उद्देश्यअनुसार एआईलाई प्रयोग गर्नेछौँ? उत्तरले आगामी पुस्ताको भविष्य निर्धारण गर्नेछ।