रङ्गीविरङ्गी फूलहरूले सजिएको पहाडमाथिको डाँडा जहाँबाट कोशौं टाढा हेर्दासम्म पनि आँखाहरू नथाक्ने गर्दोरहेछ।
घन्टौं उकालो उक्लिएर पुगिने बुकी पाटनको मनोरम दृश्य त्यसमाथि भेडाको बथान अनि ती भेडाको चरन जत्ति हेरे पनि हेरिरहूँझैँ लाग्ने।
गोठालाहरूको सुरिलो भाकाको गीत, सरसर बहने चिसो हावाले जोकोहीलाई पनि घन्टौं डाँडामाथिको पाटन (समथर) मा समय बितेको पत्तै नहुने रहेछ।
त्यहाँ न कुनै कृत्रिमता छ न त कुनै कुटिलता। छ त केबल प्रकृतिको सुन्दरता। जे छ, नाङ्गा आँखाले देखिने प्रकृतिप्रदत्त छ। यस्तो गज्जबको प्रकृतिले भरिपूर्ण ठाउँ जसको बारेमा सुनेपछि त्यहाँ नपुगी धरै पाइएन। त्यहाँ पुगेपछि मनमा उठेका कौतुहलताहरू सबै मेटिए।

सुन्दर बुकी पाटन र अघिल्लो दिन भेडा चरनले रातम्मै भएको ठाउँ अर्को दिन टुसाएका बुकीहरूले हरियाली गराउँदाको हरियाली डाँडामा जत्ति लडिबुडी खेलिरहे पनि नथाकिने रहेछ। बाग्लुङको ढोरपाटनबाट एकदिनको पदयात्रामा पुगिने पदयात्रा प्रकृति पर्यटनमा रमाउनेहरूको लागि साँच्चिकै जानैपर्ने ठाउँ हो।
लुम्बिनी प्रदेशको तराईको जिल्ला रूपन्देही भारतसँग जोडिएको छ। करोडौं जनसंख्या रहेको छिमेकी मुलुक भारतको गोरखपुर सुनौली हुँदै नेपालको बेलहिया नाकाको स्थल मार्ग हुँदै सबभन्दा बढी पर्यटक नेपाल भित्रिने गरेका छन्।
उक्त नाका हुँदै नेपाल प्रवेश गर्ने लाखौँ विदेशी पर्यटकहरूलाई भैरहवाबाट सिधै सवारीमार्फत बाग्लुङको ढोरपाटन पुर्याउन सके एकातिर पर्यटकहरूले पर्या–पर्यटनको आनन्द लिन सक्छन् त अर्कोतिर ढोरपाटन क्षेत्रका स्थानीयहरूले घरमै बसीबसी मनग्ये आर्जन गर्न सक्ने सम्भावना धेरै रहेका छन्। बिहान ४० डिग्रीको तापक्रममा रहेका पर्यटकहरू साँझ ६ डिग्रीको तापक्रममा पुग्ने वातावरण पनि बन्दछ।
बाग्लुङको ढोरपाटन हुँदै बुकी जाने मुख्य सिजन हो अहिले। जनैपूर्णिमा नजिकिँदै गर्दा ढोरपाटन बुकी जानेहरूको लर्को नै लाग्छ। यो बेला स्वदेशी पर्यटकहरू धेरैको संख्यामा ढोरपाटन र माथि बुकी पाटन पुगेर रमाइरहेका छन्। ठीक यही बेला नेपाली पर्यटन व्यवसायीहरूले प्रचार–प्रसार गर्न सके छिमेकी मुलुक भारतको उत्तरप्रदेशका लाखौँ पर्यटकलाई बुकी पुर्याउन सकिन्छ।
भारतको उत्तर प्रदेशको मुख्य सहर गोरखपुर, लखनऊ, बनारस, प्रयागराजमा यतिबेला चर्को गर्मी छ। करिब ४० डिग्रीको उखरमाउलो गर्मी खेपिरहेको भारतीयहरू गर्मी छल्न सयौँ किलोमिटरको दूरी पार गरेर हप्तौं लगाई भारतकै उटी, मसुरी, सिक्किम, दार्जिलिङ, नैनीताल गइरहेका छन्।
-1753356371.JPG)
गोरखपुरबाट करिब ८/९ सय किलोमिटर दूरीमा रहेको उक्त ठाउँ जाँदा एकातिर खर्च पनि बढेको छ भने अर्कोतिर समय पनि धेरै लाग्ने गरेको छ। तर त्यही ठाउँका पर्यटकहरू करिब अढाइ सय किलोमिटरको दूरीमा रहेको ढोरपाटन पुग्ने वातावरण मिलाउन सके नेपाल र नेपालीहरूलाई आर्थिक र भारतीयहरूलाई खुसी मिल्ने थियो।
गज्जबको कुरा के छ भने, नेपाल भारत सीमा नाका सुनौली बेलहियामा आएको पर्यटक जो कोही पनि रूपन्देही सदरमुकाम भैरहवाबाट एकैदिन गाडीको यात्रा गरेर साँझपख बाग्लुङको ढोरपाटन पुगी ६ डिग्रीको तापक्रममा प्रकृतिसँग रमाउन सक्दछ।
बेलहिया आएका भारतीय पर्यटकलाई यसरी पुर्याउन सकिन्छ बुकी
गोरखपुरबाट ९३ किलोमिटर मात्रै दुरीमा रहेको सुनौली बोर्डर पार गरेर आउने भारतीयहरूलाई ढोरपाटन हुँदै बुकी पठाउने गरी सस्तोदरमा प्याकेज तयार गर्न सकिने पर्यटन व्यवसायी सागर अधिकारीको भनाइ छ।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बिनीका पूर्वअध्यक्ष समेत रहेका अधिकारीका अनुसार अत्यन्तै व्यस्त सहरको गर्मीमा बसेका भारतीयहरूलाई प्रकृतिले हराभरा भएको सुन्दर ठाउँहरू देखाउँदै बुकी पुराउन सके एकातिर पर्यटन व्यवसायीलाई पनि लाभ हुने, अर्कोतिर स्थानीयहरूलाई पनि फाइदा हुने देखिन्छ।
भैरहवा बजारबाट सिधै बुटवल, सिद्धबाबा, तानसेन, हार्थोक हुँदै रिडी पुगेर तीनमुखे पुल हेर्दै रुद्रबेणी–वामी सडकखण्डमा जब गाडी हुइँकिन थाल्छ। अनि त्यसपछि बडिगाडको तिरैतिरको बाटो गुल्मीको उल्लीखोला, चोरकाटे, मजुवा, आँपचौर, वामिटक्सार हुँदै बाग्लुङको खर्बाङ, राक्से अनि भीमगीठे हुँदै बुर्तिबाङ पुग्दाको आनन्द नै गज्जबको हुन्छ।
ढोरपाटन नगरपालिकाको केन्द्रको रूपमा रहेको बुर्तिबाङ बजारबाट २६ किलोमिटरको कच्ची ग्राभेल बाटोको ग्रामीण सडकको दायाँबायाँ रहेका बुढाथोक, सइखोला, दोगरी, सिंघा, बोबाङ, चबीर, मोम्ला, सुकुरडुङ, सुप्राङ, दुवाल, फल्लेबास, रूद्रतालमा रहेका सुन्दर बस्तीहरू साँच्चिकै मनमोहक छन्। अप्ठयारो र साँघुरो सडकमा यात्रा गर्दा यात्रुको शरीरले खेपिरहेको पीडा ती सडकको दायाँबायाँका सुन्दर गाउँबस्ती हेर्दा जो कोही यात्रीले पनि भुल्ने गर्दछ।
उकालो ओरालो पहाडी खोँचहरू पार गर्दै देउराली डाँडामा रहेको ढोरपाटन शिकार आरक्षण केन्द्रको प्रवेशद्वारबाट प्रवेश गरेसँगै क्षितिज पारिसम्म देखिने ढोरपाटनको फाँट हेर्दा मानिसहरू आश्चर्यचकित बन्न पुग्छन्। जति हेरे पनि नथाक्ने आँखालाई समयको व्यवस्थापनको कारण मात्रै त्यहाँबाट ओझेल पर्नुपर्ने बाध्यता हुन्छ।

शिकार आरक्षणका कर्मचारी समेत रहेका सन्तोष बुढामगरले ढोरपाटन हेर्न दैनिक सय डेढ सय मानिसहरू नियमित आइरहेको बताए। बुढामगरले सिकारको समयमा नेपालीहरू आउने गरेको र अन्य समयमा नेपालीहरू तथा केही भारतीयहरू पनि आउने गरेको बताए।
देउरालीको बायाँतर्फको बाटो हुँदै तल फाँटमा नपुग्दै घोड सवार गराउनेहरूको लर्को हुन्छ। घोडामा सरर सयर गराउनेहरूमा महिलाहरूको सक्रियता अनुकरणीय छ। समथर भूगोल, चारैतिर पहाडै पहाडको बीच भागमा रहेको ढोरपाटन उपत्यकामा सयर गर्दाको मज्जा शब्दमा वर्णन गरेर सकिँदैन।
गाडीको यात्रापश्चात घोडसवार र फाँटको मनोरम दृश्य हेरेपछि फाँटकै आसपासमा रहेका होटल तथा होम स्टेमा रात्रि आराम गरेपछि अर्कोदिन बिहानै ढोरबराही मन्दिर परिसरमा रहेका २२ धारामा स्नान गर्न सकिन्छ। स्नानसँगै ढोरबराहीको पूजा–आजा र कुवाबाट सुतेर सिक्का टिप्ने परम्परालाई मान्ने प्रचलन झनै रमाइलो छ।
भाकल अनुसार साँढेहरू चढाउने उक्त सयौँ वर्ष पुरानो ऐतिहासिक मन्दिर भित्रको पानीको कुवाबाट बग्ने उत्तर बहने नदी जसलाई उत्तर गंगा भनिन्छ त्यसको दृश्य अवलोकनपश्चात ढोरपाटनको वरिपरिको डाँडाकाँडा नियाल्दै त्यहाँका सुन्दर बस्तीहरूमा मन डुलाउन सकिन्छ। सबै नदीहरू दक्षिणतर्फ बग्ने संसारभरि प्रकृतिको नियम छ तर ढोरबराहीमा मुहान भएको उत्तरगंगा उत्तरतर्फ मात्रै बग्दै भेरीमा पुगेर मिसिन्छ।
मध्याह्न १ बजेतिर ट्रेकिङको सामानसहित ढोरपाटनबाट बुकी पाटनको यात्रातर्फ निस्किएपछि झनै यात्रा रोमाञ्चक बन्छ। ढोरपाटनबाट पाखाथर , पावरहाउस, साँगुरे गौडा, गरपा खोला, ठूलो ढाड, कुडा खर्क, चेप्टेजुर, ठाडो खोल्सी हुँदै ढुंगे देउरालीमा पुगेर गोठमा भैंसीको दुध पिउँदा हिँड्दा हिँड्दै गलेका पिडूँला अनि निथ्रुक्कै पसिनाले भिजेको शरीर पनि तङ्ग्रिन पुग्छ।
त्यसपछि त्यहाँबाट तेरपाएँ तेरपाएँ हिँडेको केहीबेरमा रेडपान्डा, झारल, नाउ, रतुवा, डाँफेहरूको चरण क्षेत्र रहेको जंगलको बाटो उक्लिएर देउरालीमा पुगेर केहीबेर सुस्ताउँदै दहखर्क हुँदै गड्पाको धुरी अर्थात् बुकी पाटन पुग्न सकिने स्थानीय बासिन्दा समेत रहेका जंगबहादुर अधैरले बताए।

बुकी पाटन पुग्दा पदयात्रीहरूको शरीर थाकेता पनि मन झनै चङ्गा र उत्साहित भएको हुन्छ। साढे चार घन्टाको थकान भुसुक्कै बिर्सिन पुग्छ जब त्यहाँका भेडाको बथान, गोठहरू अनि वरिपरिका डाँडाकाँडाका दृश्य हेर्न पुग्दछन्।
माथि पाटनमा अघिल्लो दिन भेडा, गाईभैंसी र चौपायाले खाएको बुकी अर्को दिन फेरि जस्ताको तस्तै हुने गर्छ। यात्रामा सँगै रहेका स्थानीय जंगबहादुरले हामीहरूलाई बुकी चपाउँदै लेक लाग्दा समेत मानिसहरूले भेडाझैँ गरेर बुकी चपाउने पुरानो चलन भएको बताए।
पहिलो गोरेटो बाटो मात्रै रहेको उक्त क्षेत्रमा यतिबेला सरकारले पनि धेरै थोरै लगानी गरेको छ।
ढोरपाटन बुकी पाटनलाई पछिल्लो समय गण्डकी प्रदेश सरकारले पनि महत्व दिएर पदमार्ग मर्मत सम्भार गराइरहेको छ।
साँझको गोधुलीमा टाढा टाढासम्म देखिने पहाड र हिमाल नियाल्दै राति त्यही बसेर पर्या–पर्यटनको मनोरम दृश्यको आनन्द लिँदै रात बिताउने चलन छ।
गाउँले भाकाको गीत, बजाना सुनेर, गोठमा बस्न चाहने गोठमा त कतिपय टेन्टबाट बनाइएको क्याम्पमा बसेर अर्कोदिन बिहानै टिकाधारा र फुर्से देउराली पुगेर फेरि उकालिएको बाटो फर्किँदै साँझ ढोरपाटन झर्दा पदयात्रीको अनुभव फरक फरक हुने गर्दछ। पोखरादेखि पदयात्रामा आएका सम्राट कार्कीको अनुभव पनि गज्जबको छ।

२ दिनको यात्रामा नेपाल भारत अन्तर्राष्ट्रिय सिमाना बेलहियाबाट सिधै भारतीय पर्यटकलाई बुकी क्षेत्र पुर्याउन सके उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप मद्दत मिल्ने देखिन्छ। बुकी पाटनमा स्थानीय गोठालाहरूको दैनिकी अनि तिनीहरूको गीत गाउने शैलीले पनि धेरैको मन जित्ने गर्दछ।
करिब १६ करोड जनसंख्या रहेको भारत उत्तरप्रदेशको मुख्य सहर लखनऊ, अयोध्या, प्रयागराज, मेरठ, आगरा, गोरखपुर, बनारस क्षेत्रका मानिसहरूलाई प्याकेजमा सुनौलीदेखि ढोरपाटन बुकीको यात्रा गराउन सके एकातिर ४० डिग्री बढीको तापक्रममा उकुसमुकुस भएका भारतीयहरूले पर्यापर्यटनको आनन्द लिनेछन् भने अर्कोतिर नेपालको पर्यटन बजार थप चलायमान हुनेछ।


