फोइमहादेव कर्णाली प्रदेशको कालिकोट अन्तर्गत तिलागुफा नगरपालिकामा अवस्थित एक विशिष्ट प्राकृतिक, धार्मिक र सांस्कृतिक गन्तव्य हो। यसको भौगोलिक बनावट, मनोरम प्राकृतिक सौन्दर्य, कृषि उत्पादन, धार्मिक सम्पदा तथा सामाजिक-सांस्कृतिक विविधताले यसलाई अद्वितीय बनाएको छ।
फोइमहादेव कर्णाली राजमार्गको जुम्ला सीमामा पर्ने नाग्म-गमगढी सडक खण्डको नाग्मघाट बजारदेखि करिब ५ किलोमिटर पश्चिममा अवस्थित छ। समुद्री सतहबाट करिब २५०० मिटर उचाइमा रहेको यस क्षेत्रको भूगोल जुम्लासँग मिल्दोजुल्दो छ। रारा ताल यात्राको क्रममा एक आकर्षक ठाउँको रूपमा रहेको यहाँ मंसिरदेखि फागुनसम्म अत्यधिक चिसो, हिउँपात र पानी जम्ने अवस्था रहन्छ भने बाँकी समयमा स्वास्थ्यकर हावापानी पाइन्छ। ‘बर्खा फोइ अ आफै आउँदी जोइ अ’ (बर्खा सिजनमा माइत गएकी पत्नी आफै छिट्टै आउँछिन्) भन्ने उखान फोइमहादेवको सुन्दरतालाई देखेर सदियौँदेखि भनिँदै आएको छ।
ब्राह्मण, क्षेत्री, ठकुरी र दलित जातजातिको बसोबास, सामाजिक सहिष्णुता, एकता, आपसी सम्बन्धयुक्त समाजमा सांस्कृतिक विविधता पनि पाइन्छ। देउडा, हुड्के नाच, ढाल खेल्ने, रंग रतेणी, मागल जस्ता मौलिक परम्परा जसले छुट्टै पहिचान स्थापित गरेको छ।
धार्मिक आस्थाको हिसाबले देवभूमि पनि मानिएको फोइमहादेवमा पुगेली माई, महादेव, बाबिरामष्टा, थार्पमष्टा, कालाशिल्ला मष्टा, महावै जगन्नाथ लगायतका देवतालाई भव्यताका साथ पुजिन्छ। उक्त देवताका थानहरूको संरक्षण संवर्धन गर्दा आफ्नो ऐतिहासिक मौलिकतालाई बचाउँदै पुनर्निर्माण गरिनु आवश्यक देखिन्छ। जस्तो सिमेन्ट प्रयोग नगरी स्थानीय काठ, ढुङ्गा, माटोको प्रयोग गरिनुपर्छ यसले गर्दा पुराना सम्पदाको अध्ययनमा टेवा पुग्छ पर्यटकीय सम्भावना बढ्छ। धार्मिक तीर्थस्थल पूर्वीय मुलो, बाबिरा झाण, दहचौरले जोसुकैको पनि मन लोभ्याउँछ।
महाभारत कालमा पाण्डवहरूद्वारा बनाएको किंवदन्ती रहेको मुग्रायाँ धारा, परापूर्व कालदेखि सभा-सम्मेलन गरिने गणेश आकृतिको सभाढुङ्गा, हजारौँ हजार वर्ष पुरानो काठे दियारको रुख, रमणीय पुग पाटन, पानीघट्ट जस्ता स्थानीय स्रोतसाधनहरू रहेका छन्।
कृषिको प्रचुर सम्भावनायुक्त फोइमहादेवमा स्याउ, दाँते/हाडे ओखर, आरु, मार्सी चामल, सिमी, आलु, मकै, कोदो, गहुँ, जौ, फापर, भट्ट, गुराँस, मार्या, चोतो लगायत प्रशस्त फलफूल अन्नबाली उत्पादन हुन्छ। सिँचाइको लागि सदाबहार कुलोको व्यवस्था गरियो भने स्थानीय उत्पादनलाई थप वृद्धि गर्न सकिन्छ। बाँझो जमिनको उपयोग गरी कृषियोग्य भूमि विस्तार गर्न सकिन्छ।
यहाँ पाउने चुले आरुको तेल, ढँटेलोको तेल, ओखरको तेल, भाँगोको तेल अत्यन्तै शक्तिवर्द्धक हुन्छ। ऐरीको चुक र खुर्सानी मिसाएर बनेको अचार खाँदा कहिल्यै नबिर्सिने स्वाद मुखमा रहिरहन्छ। यी दुर्लभ स्थानीय चिजहरूको उत्पादन गर्दै बजारीकरण गर्न सकियो भने फोइमहादेवको ग्रामीण अर्थतन्त्रलाई थप टेवा दिन सकिन्छ।
पुदिना, घोडामच्चो, सतुवा, गधान्नु, बायाजणी, उत्तिसजस्ता हिमाली जडीबुटी प्रशस्त पाइन्छ यिनको दिगो उपयोगको खाँचो देखिन्छ।
सौर्य ऊर्जा र वायु ऊर्जाको पनि धेरै सम्भावना रहेकाले यसको उपयोग गरी दाउरा बाल्दा हुने धुवाँ र एलपिजी ग्याँस बापतको खर्च जोगिँदै मानवीय तथा वातावरणीय स्वच्छता कायम गर्न सकिन्छ। बजार, विद्यालय क्षेत्र, खाली ठाउँ, मेलापातमा प्लास्टिक, पेय पदार्थका सिसाका बोतल व्यवस्थापन आजैबाट गरिएमा सुन्दरता कायम गर्न सकिन्छ।
‘भित्त बुन बँदेरी आइगो धपाल्त बाँजो छ, घुगान्याँको पानी काँ छै रदाण बाँझो छ।’ भैँसी, गाई, बाख्रा, कुखुरा, खराया लगायत पशुपन्छी प्रशस्त हुनाले उपलब्ध वन-जंगलको आपसी मेलमिलापबाट स्याउला, पिरलको प्रयोग गरी अर्गानिक मलद्वारा कृषि उत्पादन वृद्धि गर्न सकिन्छ। एक घर एक धाराभन्दा पनि गाउँ-गाउँमा सदाबहार पानी आउने धाराहरू बनाउनु उत्तम देखिन्छ।
स्थानीय उत्पादन स्याउ, आलु, लगायत बस्तुको बजारीकरणको पूर्वाधारको रूपमा रहेको रोपवे, स्थानीय सडक हुँदै कर्णाली राजमार्गको थप स्तरोन्नति गर्न सके निर्यात फलफूल तरकारीको गुणस्तर कायम गर्न सकिन्छ।
विसं २०६६ मा प्रवीणता तहमा विज्ञान विषय अध्ययन गराउने साबिक कर्णाली अञ्चलकै पहिलो श्री महादेव मावि फोइकोट जुन कालिकोटको नमुना र आकर्षक विद्यालय पनि हो। हाल यहाँ सुविधा सम्पन्न छात्रावास सहित व्यवस्थापन विषय र कृषि विषयमा डिप्लोमा तहसम्मको अध्ययन भइरहेको छ।
असुरो (चोतोको गुन्द्रुक), स्याउ आरुको रक्सी, जाम, निगालाका डोकाडाला, भेडाबाख्राको ऊनबाट बन्ने राडी, स्थानीय जडीबुटीबाट चियापत्ति, ढँटेलो, ओखर, भाँगो, दियार, आरुको तेल, ऐरीको चुक र खुर्सानी मिश्रित अचार लगायत थुप्रै घरेलु उद्योगको रूपमा विकास र विस्तार गर्न सकिने सम्भावनाले भरिपूर्ण फोइमहादेव ग्रामीण अर्थतन्त्रको हबको क्षेत्रको रूपमा रहेको छ। ग्रामीण लगानी भित्राएर आत्मनिर्भर हुँदै रोजगारीको सिर्जना गरी गरिबी न्यूनीकरण गर्न सकिन्छ। यसका लागि सम्पूर्ण फोइबासी, स्थानीय सरकार तिलागुफा नगरपालिका र कर्णाली प्रदेश सरकारको समन्वय र सहकार्य आवश्यक देखिन्छ।
-1776679276.jpg)
-1776679275.jpg)