'तिमीले दायाँ कानमा सिउरिएको फूलको अर्थ के हुन्छ, थाहा छ?'
मेरो प्रश्नले उनी आश्चार्यचकित भइन्।
कानमा फूल सिउरिनुको पनि कुनै खास अर्थ हुन्छ र!
सोचमा परिन्।
साथीलाई थाहा छ कि भनेर पुलुक्क उनीतिर हेरिन्।
'तेरो कानमा भएको फूलको अर्थ मलाई के था' भन्ने भावमा साथीले कुम हल्लाइन्।
उनीहरू दुई जनालाई मैले केही दिनअघि अमेरिकाको सबैभन्दा कान्छो राज्य हवाईको राजधानी होनोलुलुमा भेटेको हो।
एक्लै हिँड्नुको फाइदा, बाटोमा भेटिनेजति सबैलाई साथी मान्न सकिन्छ। अनि घाटा भनेको ठाउँमा चाहेजस्तो फोटो खिचिदिने मान्छे भेटिँदैनन्। दुनियाँमा फाइदै-फाइदामात्र भएको र घाटै-घाटामात्र हुने चिज त के नै पो छ र! त्यसैले म प्राय: एक्लै हिँड्छु। निख्खर एक्लै!
गत अप्रिल पहिलो साता म प्रशान्त महासागरले घेरिएको होनोलुलु घुम्न निस्किएको थिएँ। जहाँ-जहाँ पुग्थें, त्यहाँ-त्यहाँ नजिकै भएकालाई फोन दिन्थें र फिस्स हाँस्दै भन्थें- एउटा फोटो खिचिदिनू न प्लिज!
त्यो बिहान होनोलुलुमा पर्ने माकापु लाइटहाउसको भ्यु पोइन्टमा मलाई एक्लै देखेपछि दुई मध्येकी एक युवतीले आफै सोधेकी थिइन्- तिम्रो फोटो खिचिदिनुपर्छ?
'गज्जब हुन्छ,' मैले फोन उनलाई दिएँ।
फोटो खिचिसकेपछि उनले सोधिन्- कहाँदेखि आएको?
'नर्थ क्यारोलिना।'
उनले आँखा ठूल्ठूला पारेर साथीलाई हेरिन् र भनिन्- ह्वाट!
उनीहरू पनि नर्थ क्यारोलिनाबाटै आएका रहेछन्।
अघिसम्म अपरिचित उनीहरू अब आफ्नाजस्तै लाग्न थाले। भूगोलको नाताले मानिसलाई कसरी यति नजिक र एकै हौं जस्तो बनाइदिन्छ!
जब हामी सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर आउँथ्यौं। कसैले तपाईंको घर कता भनेर सोध्दा, भन्थ्यौं – पश्चिम।
वीरेन्द्रनगरमा पश्चिम भन्नाले कर्णाली राजमार्गको बड्डीचौरदेखि उता सबै मानिन्थ्यो। तत्कालीन लगाम, बेतान गाविस त पश्चिमका पनि पश्चिम थिए।
जब म काठमाडौं आएँ। कसैले घर कहाँ हो भनी सोध्दा, भन्थें- मध्यपश्चिम, सुर्खेत। संघीयता आएपछि घर भएको त्यही ठाउँलाई कर्णाली भन्न थालियो।
अमेरिकामा मानिसहरू मलाई तिमी इन्डियनजस्तो देखिन्छौ भन्छन्।
इन्डियन होइन, म नेपाली हुँ भन्छु। उनीहरू त्यसलाई खास वास्ता गर्दैनन्। दुनियाँको त्यो भाग उनीहरूलाई इन्डियाजस्तो लाग्छ। पाकिस्तानी होस् कि बंगलादेशी, नेपाली होस् कि श्रीलंकन उनीहरूलाई उस्ताउस्तै लाग्छन्। जसरी हामीलाई मेक्सिकोभन्दा तलका सबै स्पानिस लाग्छन्, अफ्रिकाका सबै देशका मानिसलाई अफ्रिकन भनिदिन्छौं। अनि काठमाडौंमा हिँड्ने गोरो छाला भएका पर्यटक सबै कुइरे लाग्छन्।
बस्न थालेको दुई वर्षमात्र भएको नर्थ क्यारोलिनाबाट आएका उनीहरू मलाई कसरी आफ्नैजस्ता लागे!
पहिचान एक सापेक्षिक कुरा रहेछ, समय र ठाउँअनुसार बदलिरहने!
केटी मान्छे र फूलको सम्बन्ध भने सायद दुनियाँभरि उस्तै छ। हवाईमा त फूलको विशेष महत्व छ। स्थानीय भाषामा लेई भनिने फूलको माला प्रेम, सम्मान र आथित्यताको प्रतीक मानिन्छ। रेष्टुरेन्टमा खान जाँदा पनि ग्राहकलाई माला लगाएर स्वागत गर्ने चलन छ।
सन् १९५९ मा संयुक्त राज्य अमेरिकाको राज्य बनेको हवाईमा ८ वटा टापु छन्। ती आठ वटै टापुका आ-आफ्ना आधिकारिक फूल छन्। होनोलुलु सहर भएको टापु ओआहु हो। जहाँ पहेँलो रङको इलिमालाई आधिकारिक फूल मानिन्छ।
हवाईमा केटी मान्छेले कानमा फूल सिउरिने कुरा कति लोकप्रिय छ भने हवाइएन एयरलाइन्सको लोगोमै फूल सिउरिएकी महिलाको आकृति छ। उनले बायाँ कानमा फूल लगाएका छिन्।
'कुनै महिलाले दायाँ कानमा फूल छ भने बुझ्नु उनी अविवाहित हुन् वा नयाँ सम्बन्धका लागि तयार छिन्। अनि कुनै महिलाले बायाँ कानमा फूल लगाएकी छन् भने थाहा पाउनुस् उनी जिन्दगीमा सेटल भइसकिन्। अब उनलाई नयाँ सम्बन्धमा कुनै रूची छैन।'
यो कुरा अघिल्लो दिन हामीलाई होनोलुलु घुमाउने गाइडले भनेका थिए। त्यही कुरा मैले माकापु लाइटहाउसको भ्यु पोइन्ट भेटिएकी ती युवतीलाई सुनाइदिएँ।
मेरो कुरा सकिनासाथ उनले हत्तपत्त दायाँ कानको फूल बायाँ कानमा सारिन्।
उही फूल, उही मान्छेका दुई कान तर त्यही एक बित्ताको दूरीमा कस्तो विपरित अर्थ!
यसपालिको हवाई यात्रामा मैले यस्ता तमाम दृष्टान्त देखें र भोगें जो विपरीत भइकन पनि सँगसँगै छन्। र त्यही विरोधाभाषको सन्तुलनमा उनीहरू सुन्दर देखिएका छन्।
होनोलुलु पुगेको पहिलो रात म होस्टेलमा बस्दै थिएँ। होस्टेल शब्द मैले आजसम्म सुनेको मात्र छु, सुतेको छैन।
होस्टेलमा फ्रन्ट डेस्कमा एक जना युवती थिइन्।
मैले आफ्नो बुकिङ देखाएँ।
उनले आइडी कार्ड मागिन्।
मेरो अनुहार र आइडीको फोटो रूजु गरिन्।
'तपाईंको रूम सी बिल्डिङको ४०४ हो।'
एउटा ठूलो कार्ड दिइन्, जसमा रूम नम्बर र मेरो नाम लेखिएको थियो।
रूमको चाबी भनेर उनले मलाई नाडीमा लगाउने एउटा रबर ब्यान्ड दिइन्। सुरू-सुरूमा कार्ड टच गर्दा ढोका खुल्ने होटलमा पुग्दा म चकित हुन्थें। अहिले त नाडीमा लगाएको रबर ब्यान्ड टच गर्दा ढोका खुल्ने। प्रविधि पनि के-के हो के-के!
स्टोरेजबाट एउटा बेड सिट, पातलो ब्ल्यांकेट, सिरानीको खोल र टावल निकालेर मलाई दिँदै उनले भनिन्- भोलि चेक- आउट हुँदा यी सामान यहीँ फिर्ता गरिदिनू।
मैले भनें- हस्। तर चार तलामाथि कसरी जाने, लिफ्ट छैन?
'तपाईं होस्टेलमा बस्न आउनुभएको छ, लिफ्ट हुनलाई यो होटल होइन,' उनले रूखो जबाफ फर्काइन्।
रातको झन्डै ९ बज्न थालेको थियो। मलाई त्यो होस्टेलको सी बिल्डिङ पत्ता लगाउनै १० मिनेट लाग्यो।
एक जना अर्को गेष्टको सहयोगमा म सी बिल्डिङमा पुगें।
ढोका खोल्नासाथ देखें- एक जना केटी बेडमा पल्टिरहेकी छन्।
'ओ माइ गुडनेस' मैले होस्टेलको कोठा अरूसँग सेयर गर्नुपर्छ भन्नेसम्म सोचेको थिएँ तर केटाकेटी एउटै रूममा बस्छन् भन्ने कल्पना पनि गरेको थिइन्।
उनी सुतिरहेको ठाउँमा ४ वटा बेड थिए।
'यी सबै बेड बुक भइसके,' मोबाइल चलाइरहेकी उनले भनिन्, 'अर्कोपट्टि खाली हुन सक्छ।'
कोठाको बिचमा पार्टेसन थियो।
अर्को पट्टी फेरि ४ वटा बेड थिए। भुइँतिरका दुबै बेडमा केटीहरू पल्टिरहेकी थिइन्। एक जनाले भनिन्- त्यो माथिको बेड खाली छ।
सामान कता राख्ने, लुगा कसरी फेर्ने, सिँढी चढेर त्यो माथिको बेडमा कसरी पुग्ने? म केहीबेर वाल्ल परें।
त्यहाँ भएका दुबै जना केटीहरूलाई मैले भनेँ- म जिन्दगीमै पहिलो पटक होस्टेलमा बस्दै छु। मैले कल्पना पनि गरेको थिइनँ कि युवा-युवतीहरू एउटै कोठामा यसरी सुत्छन्। मलाई निकै असहज भइरहेको छ।
दुबै केटीहरूले भने- यु विल बि अल राइट। यहाँ सबै जना सुत्नमात्र आउँछन्। बरू त्यो माथिको बेडमा तिम्रो नाम लेखेको कार्ड टाँसिहाल।
सबै जनाले आफू सुतेको बेडमा नाम भएको कार्ड टाँसेका थिए।
मैले बेडको कुनामा कार्ड झुन्डाएँ। कोठाभरि सबका सामान छरपस्ट थिए।
-1776496809.png)
'तिम्रो सामान यसो मिलाएर जता राख्दा पनि हुन्छ। कसैले केही गर्दैन,' बेडमा पल्टिरहेकी एउटी केटीले भनिन्।
सामान राखेर बेड सिट हाल्नतिर लागें। त्यसै त मलाई बेड सिट मिलाउन आउँदैन। त्यसमाथि भर्याङ उक्लिनु पर्ने बेडमा कसरी चार कुना मिलाउनु! मैले सक्दै सकिनँ।
कोठाको अर्कोपट्टि बस्ने केटाले मेरो संघर्ष देख्यो। उसले 'त्यसरी होइन, यसरी हो' भनेर सिकायो। बेड सेट मिलाइदियो।
त्यहाँ बसेकाहरू एक-आपसमा साथीजस्ता थिए। सबैसँग कुरा गर्थे। मेरो कोठामा बसेकी एक जना केटी अर्जेन्टिनाका थिइन् अर्की वासिङट्न सियाटलकी। दुबै जनाले हवाईमा उनीहरू कहाँ-कहाँ घुमिसके भन्न भ्याए।
एकछिन अर्की केटी बाथरूमबाट निस्किइन्। उनले कपाल टावलले बाँधेकी थिइन।
'हेलो, आइ एम सबिना।'
'अरे!' उनी कतै नेपाल वा भारतकी त होइनन् भनेर मैले एक टक हेरें।
'ह्वेयर आर यु फ्रम?'
'आइ एम फ्रम चिली। तर सबै जनाले मेरो नाम र वर्ण हेरेर इन्डियन भन्छन्।'
मलाई उनी जिस्किरहेकी छन् जस्तो लाग्यो। सोधें- स्पानिस बोल्न आउँछ?
उनले भनिन्- सी। अर्थात् हजुर।
एलएलबी सकेकी उनले हवाईकै अर्को टापुमा काम गरेकी रहिछन्।
'म एक होटलमा हाउसकिपिङको काम गर्थें। सबजना सोध्थे- कानुन पढेकी मान्छे होटलमा हाउस किपिङको काम किन गर्छौ। उनीहरूलाई के थाहा अमेरिकामा विद्यार्थीले के-के गर्नुपर्छ,' उनले भनिन्, 'तर अब म चिली फर्किन्छु। उतै आफ्नो फिल्डमा काम गर्छु। फर्किनुअघि होनोलुलु घुमिहालौं भनेर आएकी।'
'कस्सम, तिमी त नेपाल वा इन्डिया गयौ भने उतै भीडमा हराउँछौ,' मैले भनें।
उनी फिस्स हाँसिन्।
अर्जेन्टिनाकी केटीको पनि कथा लगभग उस्तै थियो। पढाइ सकेर अर्जेन्टिना फर्किन लागेकी।
उनीहरूले मलाई होस्टेलको सिस्टम कसरी चल्छ भन्नेबारे बताए।
महंगा सहरहरूमा होटलभन्दा निकै सस्तो हुने भएकाले सोलो ट्राभलरको रोजाइमा होस्टेल पर्दा रहेछन्। एक्लै हिँड्ने उनीहरूलाई धेरै सुविधा चाहिँदैन, सुत्ने र नुहाउन पाइने कोठा भए पुग्छ। आफैले खाना पकाउन होस्टेलमा साझा किचन बनाइएको हुन्छ। आफूलाई खान मन लागेको सामान ल्यायो, पकायो, खायो, भाँडा माझ्यो र राखिदियो।
-1776496809.png)
होस्टेलमा केटामात्र सुत्ने, केटीमात्र सुत्ने र केटाकेटी दुबै सुत्ने तीन थरीका रूम हुँदा रैछन्।
'यत्ति कुरा त तिमीले एआईलाई सोधेको भए पनि भनिदिन्थ्यो,' अर्जेन्टिनाकी केटीले भनिन्।
मैले सहमति जनाएँ। अचेल एआईलाई थाहा नहुने र एआई नपुगेको ठाउँ कहाँ बाँकी छ र!
केहीबेरपछि एक जना अर्का युवक हाम्रो कोठामा आए। उनले हात-खुट्टाभरि जताततै ट्याटु खोपेका थिए। क्यालिफोर्निया बस्ने उनी केही वर्षअघि फिलिपिन्सबाट बसाइ सरेका रहेछन्। उनलाई त्यो एक रातमात्र होनोलुलुमा बिताउनु थियो।
फिलिपिन्सदेखि चिलीसम्मका मानिस भएको होस्टेलको त्यो कोठा ग्लोबल भिलेज बन्यो।
संसारमा ममात्र होइन, अरू तमाममा मानिस पनि एक्लै हिँडिरहेका रहेछन् भन्ने थाहा पाएर म अलिअलि दंग परें।
दुई रात होस्टेलमा कटाएपछि म तेस्रो दिन मेरियट ब्रान्डको कोर्टयार्ड होटलमा गएँ।
लिफ्ट चढेर १२ तला माथिको रूममा पुगें। कोठामा कफी ब्रु गर्ने मेसिन, हेयर ड्राएर, स्त्री, बाथरूममा चार-पाँच थरी टावल, बेडमा तीन-चार वटा सिरानी थिए। बेड सिट पनि डिजाइन निकालेर मिलाइएको थियो। वर्किङ टेबलदेखि टिभी अनि बाल्कोनीमा पनि दुई कुर्सी र टेबल। प्राय: सबै होटलमा हुने यी कुरा मलाई निकै 'सफिस्टिकेटेड' लागे। खासमा रात कटाउन त मलाई एउटा टावल र ब्ल्यांकेट भए पनि पुग्ने रैछ। होटलको कोठामा यति धेरै कुरा किन राखेको होला!
दुई दिन होटलमा बस्दा मैले कोही नयाँ मानिससँग कुरा गरिनँ, कसैका कथा सुन्न पाइनँ।
सहर उही थियो, मानिस उस्तै थिए। तर केही मिटरको दूरीमा रहेका होस्टेल र होटलभित्रको माहौलबीच आकाश-पातालको फरक थियो।
विरोधाभाषको शिलशिला निरन्तर चलिरहेको थियो।
होनोलुलु पुगेको अर्को दिन बिहान उज्यालो नहुँदै म समुद्र हेर्न प्रसिद्ध वाइकिकी बिच गएँ। चन्द्रमाको छायाँ समुद्रमा परेको हेर्न मलाई खुब आनन्द लाग्छ।
-1776496555.png)
त्यो बिहान मैले झन्डै डेढ घन्टा मधुरो चन्द्रमा र प्रशान्त महासागर हेरेर बिताएँ। डेढ घन्टाको त्यो सम्झनाले सायद धेरै लामो समयसम्म पछ्याइरहने छ।
सूर्य उदाएपछि चन्द्रमा फिक्का भयो। म बीचसँगै जोडिएको पार्क डुल्न हिँडे। पार्कमा महात्मा गान्धीको शालिक देखेर म अचम्मित भएँ। संसारको यो कुनामा शालिक बनेर उभिएका गान्धीसँग भेट होला भन्ने मैले सोचेकै थिइनँ।
गान्धीको अंग्रेज विरूद्धको भारत छोडो आन्दोलनबारे धेरैले सुनेका हुन्छन्। उनका राम्रा पक्षबारे धेरै लेखिएका छन्। ५ वर्षअघि मैले गान्धीको पुस्तक 'द स्टोरी अफ माई एक्पेरिमेन्ट अफ ट्रुथ' पढेको थिएँ। त्यो किताबमा उनले आफ्ना कमजोरीबारे पनि उल्लेख गरेका छन्। आफ्ना कमजोरी पनि अटोबायोग्राफीमा लेखेको देखेर मलाई गान्धीप्रति अझ धेरै श्रद्धा जागेको थियो।
युनिभर्सिटीको पढाइमा पनि गान्धीको चर्चा बेलाबेला भइरहन्थ्यो। धेरै मानिसलाई लाग्छ- नेता भनेका राजनीतिक दलका नेता हुन्, जोसँग पद र शक्ति हुन्छ।
पहिला मलाई पनि त्यस्तै लाग्थ्यो।
त्यो बुझाइ गलत रैछ। नेता हुनु कुनै पदमा पुग्नु वा शक्ति प्रयोग गर्नु होइन। यो त मानिसहरूलाई प्रभावित पार्ने र समग्र समाजलाई अगाडिको बाटो देखाउन सक्ने कला हो, क्षमता हो। भारतका महात्मा गान्धी हुन् वा अमेरिकाका मार्टिन लुथर किङ जुनियर, उनीहरू कहिल्यै राजकीय पदमा पुगेनन्। शक्तिको प्रयोग गरेनन् तर उनीहरूले समाजलाई यस्तो बाटो देखाए जुन बाटोमा उनीहरू बितेको कैयौं वर्षपछि पनि समाज हिँडिरहेको छ। यस्ता नेताहरू समाजका अरू क्षेत्रमा पनि छन्, जसको प्रभाव केही दिनलाई होइन, वर्षौंवर्षसम्म महशुस हुन्छ।
गान्धीको शालिकसँग सेल्फी खिचेर म पार्कबाट निस्किएँ।
-1776496555.png)
होनोलुलुको पहिलो दिन पर्ल हार्बर घुम्ने योजना थियो। बस चढेर पर्ल हार्बरतिर लागें।
पर्ल हार्बर त्यहीँ ठाउँ हो, जहाँ सन् १९४१ डिसेम्बर ७ को बिहान सबेरै एउटा घटना नभएको भए तपाईं-हामी बाँचेको दुनियाँ अहिलेको भन्दा धेरै फरक हुन सक्थ्यो।
दोस्रो विश्वयुद्ध चलिरहेको थियो। ठूल्ठूला साम्राज्यहरू लडाइँमा थिए। अमेरिका युद्धमा होमिएको थिएन। उसका युद्धपोतहरू पर्ल हार्बरमा राखिएका थिए।
डिसेम्बर ७ को बिहान जापानले अचानक पर्ल हार्बरमा आक्रमण गर्यो। युएसएस एरिजोनालगायत युद्धपोतहरू ध्वस्त बनायो। त्यो आक्रमणमा २ हजार ४ सयभन्दा बढी अमेरिकी सैनिक मारिए। त्यसपछि अमेरिका जापान-जर्मनी र इटाली खेमाको विरूद्ध युद्धमा उत्रियो। सन् १९४५ मा जापानको हिरोसिमा र नाकाशाकीमा आणविक बम खसाल्यो। त्यसपछि के भयो सबैलाई थाहा छ।
जापानले आक्रमण गरेको पर्ल हार्बरमा अहिले संग्रहालय बनाइएको छ। डुंगामा चढाएर आगन्तुकलाई युएसएस एरिजोनाको म्युजियमसम्म लगिन्छ। डुंगाबाट उत्रिएपछि अमेरिकी सैनिक पोशाकमा रहेका चालक भने- कृपया म्युजियमभित्र शान्त रहिदिनुहोला किनकी तपाईं सयौं मानिसहरूको चिहान भएको ठाउँमा हुनुहुन्छ!
समुद्रको पानीमा युएसएस एरिजोनाको भग्नावशेष देखिन्थ्यो। म्युजियमभित्र जापानको आक्रमण परी ज्यान गुमाउनेहरू नाम लेखिएको थियो।
अमेरिकी समाजका लागि युद्ध एक अभिन्न अंगजस्तै बनेको छ। चाहे फोरेस्ट गम्पजस्ता चलचित्र हेर्नुस्, न्युयोर्कको ट्वीन-टावर स्मृति पार्कमा जानुस् वा वासिङट्न डिसीको नेशनल मोनोमेन्टसँगै रहेको भियतनाम युद्धमा ज्यान गुमाउनेहरूको नाम पढ्नुस्। युद्धले अमेरिकी समाजलाई जताततै छोएको देखिन्छ। त्यसैले मिलिटरीमा सेवा गर्नेहरूले पाउने सेवा-सुविधा र सम्मान पनि विशेष खालको छ।
म्युजियमबाट फर्किँदा सबै जना लगभग मौन थिए। अडेटिरियममा पर्ल हार्बर आक्रमणबारे डकुमेन्ट्री बज्न सुरू भएको थियो।
मलाई छेउमै रहेको पनडुब्बी म्युजियम हेर्न मन थियो। जहाँ युएसएस बोफिन पनडुब्बीलाई पनि म्युजियममा राखिएको छ।
अमेरिकाले गत मार्चमा श्रीलंका नजिकैको हिन्द महासागरमा भारतबाट फर्किँदै गरेको इरानी युद्धपोतलाई टोर्पेडो आक्रमण गरेर ध्वस्त बनाएको थियो।
त्यो पानीमुनि लुकेर हिँड्ने भीमकाय पनडुब्बी कस्तो हुन्छ होला भनेर म उत्सुक थिएँ।
जापानले पर्ल हार्बरमा आक्रमण गरेको ठ्याक्कै एक वर्षपछि सन् १९४२ डिसेम्बर ७ मा लञ्च भएको युएसएस बोफिनको नाम ग्रेट लेकदेखि गल्फ अफ मेक्सिकोसम्म पाइने बोफिन माछाको नामबाट राखिएको हो। त्यतिबेला लगभग सबै सबमरिनको नाम माछाको नामबाट राख्ने गरिन्थ्यो। 'पर्ल हार्बर एभेन्जर' उपनाम पाएको यो पनडुब्बीले दोस्रो विश्वयुद्धमा ९ वटा प्याट्रोल गरेको थियो भने ४४ वटा युद्धपोत डुबाएको थियो। सन् १९८० मा रिटायर भएको पनडुब्बीलाई अहिले म्युजियम बनाएर राखिएको छ।
युएसएस बोफिनबाट निस्केर म सबमरिन म्युजियम भित्र पसें। त्यो म्युजियमको भित्तामा ठूल्ठूला अक्षरमा लेखिएको एउटा वाक्यले मेरो ध्यान तान्यो- फ्रिडम इज नट फ्री!
साँच्चै आज मानिसहरूले अमेरिकामा जे-जति स्वतन्त्रता उपभोग गरिरहेका छन्, त्यसका लागि हजारौंले आफ्नो जीवन अर्पण गरेका छन्। जीवनका हरेक घुम्तीमा कसैले पनि सित्तैमा स्वतन्त्रता पाउँदैन!
९ दशकअघि जापानले आक्रमण गरेको होनोलुलुमा अहिले अमेरिकन सैनिकका थुप्रै बेसहरू छन्। यो निकै सामरिक महत्वको ठाउँ बनेको छ।
सहरको एक कुनामा शान्ति र अहिंसा हिमायती महात्मा गान्धीको शालिक अडिएको होनोलुलुमा अर्कातिर युद्धपोतहरू तम्तयार छन्। एकैदिन यी दुबै ठाउँमा पुग्दा मैले होनोलुलु भित्रको विरोधाभाष निकै गहिरो गरी महसुस गरें।
अर्को दिन हाइकिङ गर्नु थियो। होनोलुलुमा धेरै हाइकिङ रूट छन्। तीमध्ये एक हो- डायमन्ड हेड स्टेट पार्क। झन्डै साढे दुई किलोमिटरको यो हाइक यति लोकप्रिय छ कि रिजर्भेसनबिना टिकट पाउन मुस्किल हुन्छ।
मलाई पहिले नै कहाँ जाने भनेर रिजर्भेसन गरिवरि व्यवस्थित तरिकाले हिँड्नु नै थिएन!
त्यो बिहान म डायमन्ड हेड स्टेट पार्कको जाने गाडी कुरिरहेको थिएँ। बस स्टपको बेञ्चमा एक जोडी बसिरहेको थियो। उनीहरू पनि हाइक जान लागेका रहेछन्।
स्वीट्जरल्याण्डबाट आएको बताए।
'साँच्चै तपाईंहरूको स्वीट्जरल्यान्ड कस्तो छ, हाम्रो देशका पुराना नेताहरू उहिले नेपाललाई स्वीट्जरल्यान्ड बनाउँछौं भन्थे,' मैले जिस्किँदै सोधे।
'स्वीट्जरल्यान्डमा धेरै अग्ला-अग्ला पहाड छन्। नेपालमा पनि हिमाल छन् तर नेपाल किन स्वीट्जरल्यान्ड बन्नु पर्यो, नेपाल त नेपालजस्तै बनेको राम्रो नि!,' बेन्चमा बसेका पुरूषले भने, 'नेताहरू जहाँका पनि त्यस्तै हुन्, केही न केही भनिरहेका हुन्छन्।'
हामी तीनै जना सँगै बस चढ्यौं।
बसले एकछिनमै पार्कको गेटसम्म पुर्याइदियो।
मलाई आशा त थिएन, तै पनि सोधी हेरौं न भनेर त्यहाँका गार्डलाई आफ्नो कुरा बताएँ।
उनले एउटा कागजमा भएको क्युआर कोड स्क्यान गर्न लगाए। त्यसका लागि त्यहाँकै वाइफाइ चाहिने रैछ। उनले वाइफाइको पासवर्ड पनि भनिदिए। क्रेडिट कार्डको डिटेल हालेपछि रिजर्भेसन त ठ्याक्कै भइहाल्यो।
'अब, के गर्नु?'
'उ त्यो काउन्टरमा जानु, १६ डलर तिर्नु अनि हाइक गर्नु' उनले भने।
तर मैले त जुत्ता पनि लगाएको छैन। चप्पलमा सकिन्छ त यत्रो हाइक गर्न?
'किन नसकिनु, मजाले सकिन्छ। तिमी फेरि होटलमा गएर आउँदासम्म त हाइक सकेर फर्किसक्छौ।'
'मैले त केही खाएको पनि छैन।'
'त्यहीँ माथि फुड ट्रकमा खाना पनि पाइन्छ।'
उनले यसरी उक्साए कि म भोकभोकै चप्पलमा हाइक गर्न तयार भएँ।
बाटोभरि टुप्पोमा जाने र फर्किने मानिसको भीड थियो। टुप्पोमा पुग्नुभन्दा केही तल सुरूङभित्रबाट जानु पर्ने थियो। टुप्पोमा रहेको भ्यु पोइन्टबाट एकातिर निलो र कञ्चन प्रशान्त महासागरले छाल हानिरहेको, अर्कातिर छेउमै होनोलुलु सहरका गगनचुम्बी महलहरू उभिएका अनि अलि माथि पहाडलाई कुहिरोले ढाकेको दृश्य जति हेर्दा पनि धित नमर्ने खालको थियो।
-1776497161.jpeg)
हाइकको टुप्पोमा एक हुल जापानी केटीहरू भेटिए। होनोलुलुमा पढिरहेका उनीहरू साथीहरूसँग मिलेर हाइकिङ आएका रहेछन्। फोटो खिच्ने बहानाले हामीलाई साथी बनायो। उनीहरूले मलाई 'कोनिचिवा' भन्न सिकाए। मैले उनीहरूलाई दुई हात जोडेर नमस्ते गर्न सिकाएँ। उनीहरू नै मलाई फोटो खिच्दा हवाईको प्रसिद्ध अलोहा साइन गर्न पनि सिकाए। बीचका तीन औंला हत्केलातिर फर्काउने अनि बुढी र कान्छी औंला सिधा गर्ने तरिकालाई साका भनिँदो रहेछ।
केही समय टुप्पोमा बिताएपछि मन नलागी-नलागी म फर्किएँ। टिकट काट्न सघाउने दाइलाई धन्यवाद भन्न गएँ। म बसेको होस्टेलमा फर्किने ट्रली बस आउन अझै समय थियो।
म उनीसँग गफिन थालें।
'तपाईं त धेरै पटक पुग्नुभएको होला है त्यो माथि टुप्पोमा।'
'अहँ, म त एक पटक पनि गएको छैन।'
'किन?'
'मैले यहाँ काम गर्न थालेको जम्मा ५ दिन भयो।'
'पहिला के गर्नुहुन्थ्यो र?'
उनले भने- जेलमा थिएँ।
मलाई लाग्यो उनी जिस्किरहेका छन्- जेलमा किन?
'मान्छे मारेर।'
उनी जिस्किएका होइन रहेछन्।
हवाईका आदिवासी उनको परिवार र अर्को परिवारबीच उनी १८ वर्षको हुँदा विवाद भएछ। त्यही बेला उनले अर्को पक्षका मानिसको ज्यान लिएछन्।
त्यसैको सजायमा उनले ४७ वर्ष जेलभित्र बिताए।
'अहिले ६५ वर्षको भएँ। जेलबाहेक मेरो जिन्दगीमा अरू केही पनि भएन। यहाँ पनि भर्खर काम सुरू गरेको छु, कति दिनसम्म काम दिन्छन् थाहा छैन,' उनले भने।
मसँग भन्ने कुनै शब्द थिएन।
मैले उनलाई अँगालो मारें। सम्झनाको लागि एउटा सेल्फी खिचें। ज्यान मुद्दामा ४७ वर्ष जेलमा बिताएका उनको अनुहारमा कैदी बनेर बिताएको विगत र आँखाले देख्न सक्नेभन्दा परको स्वतन्त्र संसारबीच विरोधाभाष भरिएको थियो।
-1776497209.jpeg)
बस चढ्न जान लाग्दा उनले भने- म अहिले गार्डमात्र छु, यहाँको हाकिम भएको भए तिमीलाई टिकटको पैसा नलिइकनै हाइक गर्न जान दिन्थें।
म मुसुक्क हाँसेर बसमा चढें।
अरू दुई दिन म होनोलुलुका प्रसिद्ध पर्यटकीय ठाउँ डोल प्लान्टसेसन, नर्थ सोर र पोलिनेसियन कल्चरल सेन्टर पुगें। जहाँ गयो त्यहीँ मन लोभ्याउने यो टापुका धेरै ठाउँमा पुग्नै सकिएन।
होनोलुलुको अन्तिम रात मैले फेरि होस्टेलमा बिताउने निर्णय गरें। वाइकिकी बिच नजिकैको एक होस्टेलमा रूम बुक गरें।
चेक इन गर्दा फ्रन्ट डेक्समा बसेको केटाले मलाई तीन वटा कुरा स्क्यान गर्न लगायो। तीमध्ये एउटा होस्टेलमा बस्दा पालना गर्नुपर्ने नियमको फाइल थियो। अर्को वाइफाइको पासवर्ड थियो अनि तेस्रोचाहिँ गोकी नामको एप थियो।
अब कोठाको ढोका खोल्न कार्डवाला चाबी र नाडीमा लगाउने ब्यान्ड चाहिएन। गोकी एप खोलेर त्यसमा आएको कोठा नम्बरमा एकछिन थिचिराख्दा ढोकाको लक आफैं खुल्ने भयो। प्रविधि पनि के-के हो, के-के!
अब म होस्टेलको वातावरणमा रमाउन सक्ने भइसकेको थिएँ।
त्यो होस्टेलमा सामूहिक किचन थियो। कोही खाना बनाइरहेका थिए, केही बियर पिइरहेका थिए।
म उनीहरूको नजिकै गएर भनेँ- गाइज, ह्वाट्स गोइन अन?
उनीहरूले मलाई स्वागत गरे।
हामी कुराकानी गर्न थाल्यौं। एकछिनमा एउटा केटीले मैले चिकपिक र चिकेन पकाएकी छु- क-कसलाई खान मन छ भनेर सोधिन्।
मैले खाना त खाएर आइसकेको थिएँ। तर उनले होस्टेल पकाएको खाना चाख्न मन लाग्यो। अमेरिकाको पूर्वमा पर्ने डेलावर राज्यबाट आएकी उनले खाना बनाएर अरूलाई खुवाउन पाउँदा आफूलाई आनन्द लाग्ने बताइन्।
होस्टेलको यो आत्मियता देखेर मलाई दुई रात होटलमा बस्नुको साटो होस्टेलमा बसेको भए कति नयाँ मानिस भेटिन्थे र कति नयाँ अनुभव हुन्थ्यो भन्ने सोचेर थकथकी लाग्यो।
होनोलुलुमा बस्दा मलाई एउटा प्रश्न मनमा आइहन्थ्यो- म पूर्वमा छु कि पश्चिममा?
पूर्व भनौं भने अमेरिकाकै सबैभन्दा पश्चिम हो, पश्चिम भनौं भने संसारकै पूर्वमा पर्ने जापानदेखि केही हजार किलोमिटरमात्र टाढा छु।
हवाईमा शनिबार चलिरहँदा, जापानमा आइतबार भइसक्छ।
तर रात र दिन ठ्याक्कै छुट्टिन्छ कहाँदेखि?
पृथ्वीमा प्राकृतिक रूपमा एक दिन ठ्याक्कै सकिने र अर्को दिन सुरू हुने कुनै ठाउँ छैन।
बरू प्रशान्त महासागरको बीचमा मानिसहरूले नै एउटा यस्तो काल्पनिक रेखा कोरका छन् कि त्यही रेखाभन्दा वारि आजको दिन सुरू हुन्छ, अनि पारि अर्को दिन। सन् १८८४ देखि लागु भएको त्यो काल्पनिक रेखालाई 'इन्टरनेशनल डेट लाइन' भनिन्छ। जुन हवाईदेखि ४ हजार ५ सय किलोमिटरको औसत दूरीमा छ। यो रेखा बांगो टिंगो छ किनभने रेखा सिधा बनाउँदा किरीबाटीजस्ता साना टापु मुलुकमा समय २४ घन्टाको फरक हुने देखियो। अहिले पनि साओमा र टोंगा नामका दुई देशबीचको दूरी झन्डै ८ सय किलोमिटर छ। ती दुबै देशमा सूर्य सँगै आइपुग्छ। तर टोंगामा त्यो सूर्यसँग नयाँ दिन सुरू हुँदा साओमामा अघिल्लो दिन सुरू भएको मानिन्छ।
ठाउँ उही, सूर्य आइपुग्ने समय उही। तर इन्टरनेशनल डेट लाइनको वारि र पारि ठ्याक्कै एक दिनको फरक। दुनियाँको सबैभन्दा ठूलो विरोधाभाष भएको ठाउँ यही इन्टरनेशनल डेटलाइनको वारिपारि होला!
होनोलुलुको बसाइ सकिन लागेको थियो। घुम्नु पर्ने ठाउँ अझै धेरै बाँकी थिए। प्रकृति, संस्कृति र प्रविधि मिसिएको होनोलुलु छोड्न पटक्कै मन थिएन। धित मरेकै थिएन। तर प्लेनको टिकट काटिसकेको थिएँ। फर्किनु त छँदै थियो।
एयरपोर्टसम्म बसमा जाने सोचें। होनोलुलुमा यति राम्रो बस सिस्टम छ कि होलो कार्डमा साढे ७ डलर लोड गर्दा दिनभरि जति यात्रा गरे पनि हुन्छ।
बस स्टपमा एउटा बस रोकिएको थियो।
ड्राइभरलाई सोधें- यो बस एयरपोर्टसम्म जान्छ नि?
ड्राइभरभन्दा पहिला एक जना यात्रु बोलिन्- जान्छ जान्छ, म पनि त्यहीँ जान लागेको।
मैले मुसुक्क हाँस्दै थ्यांक यु भने।
उनी अमेरिकाबाट आफ्नो घर न्युजील्यान्ड फर्किन लागेकी रहिछन्।
'म सगरमाथाको देशको मान्छे, तपाईं एडमन्ड हिलारीको देशको मान्छे। कस्तो संयोग मिलेछ,' मैले भनें, 'अनि एक्लै हुनुहुन्छ?'
८० वर्ष पार गरिसकेकी उनी पनि एक्लै यात्रामा निस्केकी रहिछन्।
उनले भनिन्- सन् १९५४ मा पनि म यहाँ आएकी थिएँ। त्यतिबेला साsनी थिएँ। तिमी त सायद कसैको कल्पनामा पनि थिएनौं होला।
'त्यतिबेला म त परको कुरा, मेरा आमाबुवा पनि कसैको कल्पना थिएनन्,' मैले हाँस्दै भने।
एयरपोर्ट पुगेपछि उनी जहाज चढ्न अर्कै टर्मिनल जानुपर्ने भयो, म अर्कै।
'तपाईं मेरी हजुरआमा समान हुनुहुन्छ, भेटेर खुसी लाग्यो। एक्लै हुनुहुँदो रैछ, राम्ररी जानु होला,' मैले उनीसँग बिदा मागें।
केही मिनेट वा केही घन्टाका लागि मात्र भेटिएका मानिसहरूसँग छुट्टिँदा पनि यो मन किन अमिलो हुन्छ!
होनोलुलु अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढ्दा सूर्य अस्ताउन लागेको थियो। वाइकिकी बिच नजिकैको आकाशबाट जहाज उड्दा बिचमा रमाइरहेका मानिसहरू देखिन्थे। त्यही बीचमा मैले पछिल्ला केही साँझ बिताएको थिएँ।
-1776496318.png)
होनोलुलुमा रात छिप्पिँदै थियो। अमेरिकन एयरलाइन्सको जहाज प्रशान्त महासागरमाथि पूर्वतिर उड्दै थियो।
उडेको ७ घन्टा नबित्दै जहाज टेक्सासको डिएफड्ब्लु एयरपोर्टमा ल्यान्ड भयो।
जहाज अवतरण हुनासाथ एयर होस्टेसले अनाउन्स गरिन्- यात्रुगण! यो स्मुथ ल्यान्डिङसँगै हाम्रो जहाजका क्याप्टेनले ४० वर्ष लामो आफ्नो उडान करियरबाट अवकाश लिँदै हुनुहुन्छ। 'वी विस हिम भेरी ह्यापी रिटायर लाइफ!'
पाइलटको सम्मानमा जहाजभरिका यात्रुले पररररर ताली बजाए। कुनै मानिसको ४० वर्ष लामो सेवालाई सम्मान गर्दा जहाजभित्र माहौल भावुक बन्यो।
जहाजबाट निस्कन लाग्दा मैले ककपिटबाट ढोकामा आइपुगेका क्याप्टेन देखें। उनी आफ्नो अन्तिम उडानका यात्रुलाई विदाइ गरिरहेका थिए।
मैले उनीसँग हात मिलाएँ र भनें- थ्यांक यु सो मच फर योर सर्भिस। एन्ड, ह्यापी रिटायर्ड लाइफ!
उनी मुस्कुराए।
मलाई नर्थ क्यारोलिना पुग्न फेरि अर्को जहाज चढ्नु थियो। डिएफड्ब्लु विमानस्थलको सटल चढेर टर्मिनलतिर जाँदा पूर्वको आकाश लालीले रंगिएको थियो। त्यही सूर्य उदाइरहेको थियो, जुन सात घन्टाअघि मैले होनोलुलुमा अस्ताइरहेको देखेको थिएँ।

उदाउनु र अस्ताउनु एकअर्कामा विपरीत प्रक्रिया हुन्, तर दुनियाँ यिनीहरू बीचको सन्तुलनमा निरन्तर घुमिरहेको छ!
जिन्दगी धेरै वर्षसम्म म दुनियाँलाई एकै नजरले हेरिरहेको थिएँ। एक-अर्कासँग विपरीत लाग्ने कुराहरू स्वीकार्न मलाई कठिन हुन्थ्यो। हवाई यात्रामा भेटिएका मानिस र तिनीहरूका कथाले मलाई जिन्दगीका विरोधाभाष र तिनको सुन्दर सन्तुलनको चित्र स्पष्टसँग देखाइदियो।